कथा : माटो

~विश्वराज अधिकारी~

आइतवारको दिन थियो । हामी, म र महेश अड्ढल, ओक्लहोमा सिटी जाँदै थियौं । ओक्लहोमा सिटी अर्थात् अमेरिकाको ओक्लहोमा राज्यको राजधानी । हाम्रो स्वादसँग एकदमै मिल्दोजुल्दो खाद्य सामग्रीहरू त्यस शहरका केही पसलहरूमा पाइने हुनाले ती खाद्य सामग्रीहरू खरिद गर्न हामी एक वा दुई महिनामा एकपटक त्यस शहरमा जाने गथ्र्यौं । म अमेरिका आएको केवल छ महिना मात्र भएको थियो । तर महेश अड्ढल आएको दश वर्ष जति भइसकेको थियो । उहाँको बसाइँ लामो भइसकेकोले सबै थोकको व्यवस्था मिलाइ सक्नुभएको थियो । राम्रो जागिर, आफ्नै घर अनि बैंकमा केही बचत पनि । करिब करिब सबै थोक । म भने भर्खर गृहस्थी बसाउने तरखरमा थिएँ । आउँदा आउँदै शुरूको अवस्थामा यहाँ आउनेहरूले खोल्नुपर्ने पीडा, समस्या, चुनौती, अवसर, उम· आदि मिसिएको परिस्थितिको पोकोलाई बिस्तारै खोल्दै थिएँ । प्रवासमा बस्दा मनमा उठ्ने आशा र निराशाको ज्वारभाटाहरूको लेखाजोखा गर्ने प्रारम्भिक अवस्थामा म थिएँ ।

म बस्ने शहर, नोरमेनमा आफ्नो निजी गाडी नभएमा अति नै समस्या हुने रहेछ । यहाँसम्म कि सामान्य खाद्य सामग्रीहरू खरीद गर्नसमेत पनि आफ्नो गाडी चाहिने रहेछ । वा भनौं आफ्नो गाडी भएपछि निकै सजिलो हुने रहेछ । मसँग गाडी नभएकोले कहिले योसँग कहिले ऊसँग राइड मागेर काम चलाइरहेको थिएँ । यस्तो अवस्थामा म बसेको शहरदेखि ओक्लहोमा सिटी २०–२५ माइल टाढा भएकोले त्यहाँसम्म पुग्न महेश अड्ढलसँग मैले राइड मागेको थिएँ । उहाँ पनि सपिङ गर्न त्यतै जाँदै हुनुहुन्थ्यो र मलाई पनि केही सामान ल्याउनु थियो, खासगरी दाल, चामल, जीरा, धनिया, परबल आदि । यी सामानहरू प्राय: इन्डियन स्टोरहरूमा मात्र पाइन्छन् ।

सपिङ गरेर नोरमेन फर्किनका लागि हामीले ओक्लहोमा सिटीबाट बाहिर निस्केर आई–३५ हाइवेमा प्रवेश गर्नु थियो । अनि त्यसपछि आई–३५ हाइवेबाट हाइवे ७७ मा प्रवेश गरेर केही क्षण ड्राइभ गरेपछि नोरमेनमा प्रवेश गर्नु थियो । हामीले सोहीअनुरूप गर्‍यौं । नोरमेन पुगेपछि भने रबिन्सन स्ट्रीट क्रस गर्दै बोएड स्ट्रीट र १२ औ स्ट्रीटको क्रसिङनजिकको एक ठाउँमा हामीलाई जानु थियो । त्यहाँ नै महेश अड्ढलको घर थियो । तर त्यता नगएर अड्ढल १२ औ स्ट्रीटमैं हिंडिरहनुभयो । उहाँ अप्रत्याशितरूपमा त्यता गएको देखेर मलाई आश्चर्य भयो । त्यसरी किन गएको होला भनी मैले अनुमानसमेत पनि गर्न सकिनँ ।

कारमा म महेश अड्ढलको छेउमैं बसेको थिएँ । त्यसरी अनपेक्षित दिशातिर लाग्नुभएकोले म उहाँलाई आश्चर्यचकित मुद्राले हेर्दै थिएँ । मेरो त्यो हेराइको उहाँले तत्काल अर्थ निकाल्नुभयो र भन्नुभयो,“कसैको घरतिर जान थालेको होइन । कसैलाई भेट्नुपर्ने पनि छैन । त्यसैले कता हो कता जान थालेको हो भनी आश्चर्य नमान्नु भए हुन्छ ।”

मैले आफूलाई रोक्न सकिनँ र झ्वाट्ट प्रश्न गरे,“अनि, कता जान थाल्नुभएको त ? केही सामान किन्नु छ कि ? कि भ्यालु फूड (ग्रोसरी पसल)तिर पस्ने हो, हँ अड्ढल ?”

महेश अड्ढलले जवाफ दिनुभयो,“छैन छैन, केही पनि किन्नु छैन । न त कसैलाई भेट्नु नै छ, न त कुनै ग्रोसरी स्टोरमा पसेर केही किन्नु छ । कुनै ग्यास स्टेशनमा पसेर यो गाडीमा ग्यास हाल्नुपर्ने पनि छैन ।”

यति भनेर उहाँले हामी हिंडिरहेको १२ औ स्ट्रीट छाड्नुभयो र राइट टर्न लिएर लिन्सी स्ट्रीटमा प्रवेश गर्नुभयो । लिन्सी स्ट्रीटमा केही क्षण हिंडेपछि फेरि लेफ्ट टर्न लिनुभयो अनि ह्युस्टन एभेन्युतिर लाग्नुभयो । यो ठाउँमा आएको देखेर उहाँले मलाई ह्युस्टन एभेन्युको छेउमा रहेको स्प्रीङ फिल्ड अपार्टमेन्टमा बस्ने एक नेपाली मित्रकहाँ लगेर सरप्राइज दिन थाल्नुभएको हो कि भनी मैले अनुमान गरें । मलाई एक नेपाली त्यहाँ बसेको थाहा नै नभएको र आज त्यहाँ लगी उनीसँग भेट गराएर ठूलो सरप्राइज दिने विचार महेश अड्ढलले गर्नुभएको हो कि भन्ने तर्कना पनि मेरो दिमागमा आयो । तर एक नेपाली परिवार त्यहाँ बस्ने भनी मलाई थाहा थियो मात्र । त्यो परिवारसँग मेरो भेटघाट भएको थिएन । तैपनि म चुप बसें । महेश अड्ढलले भने मेरो मुहारमा एकै छिन घोरिएर हेर्नुभयो ।

ह्युस्टन एभेन्युमा केही क्षण हिंडेपछि त्यसलाई छाडेर उहाँ ड्रेक ड्राइभतिर लाग्नुभयो तर स्प्रीङ फिल्ड अपार्टमेन्टतिर भने लाग्नुभएन बरु स्प्रीङ फिल्ड अपार्टमेन्ट पस्ने बाटोभन्दा केही पर लाग्नुभयो । स्प्रीङ फिल्ड अपार्टमेन्ट पस्ने बाटोभन्दा केही पर पुगेर गाडीलाई एकै छिन रोक्नुभयो अनि मेरो मुहारतिर हेर्दै भन्नुभयो,“सुनीलजी, तपाईंलाई थाहा छ मानिसले मानिससँग मात्र होइन, भूगोलसँग पनि प्रेम गर्दो रहेछ । कुनै ठाउँ, त्यो ठाउँका छेउछाउका सडकहरू, घरहरू, रूखहरू, पसलहरूसँग प्रेम गर्दो रहेछ । त्यहाँको आकाश, मौसम, वातावरणसमेतसँग प्रेम गर्दो रहेछ । एक किसिमको साइनो गाँसिदो रहेछ, मानिस र ती कुराहरूका बीचमा । त्यो मानिस त्यो ठाउँमा पुग्दा ती कुराहरू सजीव भएर आउँदा रहेछन्, तिनले कुरा गर्न खोज्छन् । मलाई त्यस्तो लाग्छ । ती कुराहरूसँग मानिसको सम्झना गाँसिदो रहेछ, अतीत पनि गाँसिदो रहेछ ।”

यति भनेर उहाँ केही क्षण घोरिनुभयो । त्यसपछि केही सम्झेभैंm गरेर मलाई प्रश्न गर्नुभयो ।

“तपाइँ नोरमेन आउनुभएको छ महिनाभन्दा बढी भयो, होइन त सुनीलजी ?”

उहाँको त्यो प्रश्नको मैले केवल हो मात्र भनेर उत्तर दिएँ । बोल्ने क्रमलाई जारी राख्दै उहाँले नै पुन: भन्नुभयो, “तपाईं कुनै ठाउँमा बस्नुहुन्छ, त्यो ठाउँमा तपाईंको घर होस् वा डेरा, प्रत्येक दिन तपाईं त्यस घरमा पस्दा निस्कँदा, त्यहाँका छेउछाउका दृश्य परिदृश्यहरूलाई घरिघरि हेर्दा वा नियाल्दा वा आँखा अगाडि ती दृश्य परिदृश्यहरू पर्दा तपाईंको अचेत मस्तिष्कले ती कुराहरूसँग सम्बन्ध गाँस्दो रहेछ, तपाईंको सचेत मस्तिष्कले थाहा नै नपाउने गरी । पछि ती दृश्य परिदृश्यहरूहरूको सम्बन्ध तपाईंको जीवनका घटनाहरूसँग गाँसिन गई तिनले अनेक कालखण्डका विभिन्न घटनाहरूको स्मरण गराउँदा रहेछन् । यसैगरी नै कुनै खास भूगोलमाथि मान्छेको प्रेम बस्दो रहेछ ।”

यति भनेर उहाँले मलाई प्रश्न गर्नुभयो,“तपाईंलाई कस्तो लाग्छ नि ? अनि, तपाईंको के सोचाइ छ, कुनै खास भूगोलमाथि मान्छेको प्रेम बस्नेबारे, हँ, सुनीलजी ?”

मैले छोटो उत्तर दिएँ,“खोई अड्ढल, म त परे साइन्सको स्टुडेन्ट । यहाँको युनिभर्सिटीबाट कम्प्युटर साइन्समा इन्जिनियरिङ गर्दैछु । यस्ता कुराहरूमा त सोच्नेसम्म पनि कहिले फुर्सत भएन । काठमाडौंमा हुँदा सत्र ठाउँमा डेरा सरियो । कहाँ बसिएन ? भैंसेपाटीदेखि जोरपाटीसम्म मैले बस्न भ्याएँ । सायद ती ठाउँहरू छोडेको लामो काल बितेपछि मलाई पनि त्यस्तो बोध हुने हो कि ? अब काठमाडौं फर्केर म ती ठाउँहरूमा पुग्दा मलाई अड्ढलले भनेभैंm बोध हुने हो कि ? हेरौं त्यस्तो हुन्छ कि ?”

मेरो त्यस्तो उत्तर सुनेपछि उहाँ निकै बेरसम्म हाँस्नुभयो । मतिर केही बेरसम्म हेरेको हेरै गर्नुभयो पनि । एकै छिनपछि केही सम्झेभैंm गरेर भन्नुभयो,“सुनीलजी, म यहाँ आएको कारण भने ऊ त्यो घर हो, देख्नुभयो । ऊ त्यो घर, ऊ त्यो रातो घर । ऊ त्यो क्या, त्यो अगाडिको, घर अघिल्तिर सानो चौर अनि पछाडि ठूलो बारी भएको घर । हो, त्यो घरमा म पाँच वर्षसम्म डेरा गरेर बसें । त्यो घरको मलाई अति याद आउँछ । त्यो घरको मात्र होइन, त्यसका वरिपरिका दृश्यहरू पनि अति याद आउँछन् । यहाँको समग्र वातावरणको नै याद आउँछ । यिनको माया पनि उत्तिकै लाग्छ । अहिले म यहाँ नबसे तापनि यो ठाउँलाई मैले बिर्सिन सकेको छैन । लिन्सी स्ट्रीट वा १२ औं स्ट्रीटबाट कतै जाँदा वा कतैबाट यी स्ट्रीटहरूमा आउँदा यो ड्रेक ड्राइभमा आएर, यो ठाउँलाई एकचोटि हेरिहालौं लाग्छ । यो ठाउँको नजिकबाट जाँदा यो ठाउँले मेरो कारसहित मलाई जहिले पनि आफूतिर तानेभैंm लाग्छ ।”

जब म पहिलोचोटि अमेरिका आएँ, यो नोरमेन शहरमा नै आएँ । शुरूमैं यो स्ट्रीटको यो घरमा बसें । त्यति बेला मेरो छोरा जुनियर हाइस्कूलमा पढ्थ्यो । अहिले हाम्रो कार जहाँ रोकिएको छ, हो यै ठाउँमा मेरो छोराको स्कूल बस उसलाई लिन आउँथ्यो । बिहान छोरा स्कूल जाने बेलामा उसलाई यहाँसम्म पुर्‍याउन म आउँथें । उसको स्कूलको बस यो ड्रेक ड्राइभ हुँदै यहीं आइपुग्थ्यो । त्यतिखेर म एक ग्रोसरी स्टोरमा काम गर्थें । मेरो बिहानको ड्युटी हुन्थ्यो । मैले अहिले नाम बिर्सें त्यो देशको, पूर्व युगोस्लाभियाबाट छुट्टिएको कुनै देश थियो क्यारे, हो, त्यहाँका एक व्यक्ति मेरो अपार्टमेन्टको छेउमा बस्थ्ये । पछि उनीसँग परिचय भएर राम्रो मित्रता पनि भयो । ती मित्रका छोरा र मेरो छोरा एउटै स्कूलको एउटै ग्रेडमा पढ्थे । दुवैजना साथी थिए । उनी पनि आफ्नो छोरालाई स्कूल बसमा चढाउन यहीं आउने गर्थे । वालमार्टमा ग्रोसरी किन्न उनले मलाई धेरैपटक त्यहाँ पुर्‍याएका थिए । त्यतिखेर मसँग आफ्नै गाडी थिएन । नोरमेन आएको लगभग एक वर्षपछि मात्र मैले गाडी किनें । अहिले यो ठाउँलाई हेर्दा ती दिनहरू, ती घटनाहरू झलझली मेरो आँखा अगाडि आउँछन् । यो ठाउँलाई हेर्दा सिनेमाको रिलभैंm ती दिनहरू चल्न थाल्छन् । कस्तो अचम्म, है १”

यति भनेर महेश अड्ढल एकै छिन चुप लाग्नुभयो । उहाँ सम्झनाको संसारमा हराउनु भएभैंm मलाई लाग्यो । उहाँको भनाइबाट प्रेरित भएर म पनि सम्झनाको घोडा चढेर विभिन्न स्थानहरूमा पुगें । वायुको गतिमा ती स्थानहरूमा पुगेर तिनलाई स्पर्श गरें । तर लामो समयसम्म कल्पनाको यात्रा मैले गर्न सकिनँ । महेश अड्ढल भने चुपचाप हुनुहुन्थ्यो । उहाँ चुप लागेको देखेर कुराको सिलसिलालाई अगाडि बढाउन मैले नै पहल गरें । मैले उहाँको मुहारतिर हेर्दै भनें,“होइन अड्ढल, केही वर्ष मात्र बस्नुभएको यो ठाउँको तपाईंलाई यति धेरै याद आउँछ । आफू जन्मे, हुर्के, खेले, कुदेको ठाउँको याद त झन् तपाईंलाई कति धेरै आउँदो हो, हैन ?”

उहाँले तत्काल उत्तर दिनुभयो, “ओहो, नसोध्नुस्, कति आउँछ, कति । कति भनौं, कति कति, अति, अति नै । दिनको दशौंचोटि पुग्छु, त्यहाँ मनको हवाईजहाज चढेर । कहिले भानुचोक पुग्छु, कहिले पिडारीचोक । कहिले रामानन्दचोक त कहिले राममन्दिर । कहिले ब्रह्मपुरी त कहिले बारबिघा । कहिले जनकचोक त कहिले जानकीमन्दिर । त कहिले सड्ढटमोचन त कहिले रेलवे स्टेसन । कहिले परिक्रमाका सडकहरू । कहिले‘। कहाँ कहाँ भनौं‘।”

उहाँको बोल्ने क्रम रोकिएन । बोली नै रहनुभयो । त्यो क्रमलाई तोड्दै मैले भनें,“अड्ढलको घर नेपालमा कहाँ नि ?”

अड्ढलले भन्नुभयो,“जनकपुर ।”

br2063_adhikari@yahoo.com

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.