~ज्ञामुराम न्यौपाने~
धर्म
देवीदेवताहरूलाई विश्व ब्रह्मान्डको निर्माता, सञ्चालक ठान्नु र देवीदेवताका सांसारिक प्रतिनिधि पन्डित, पुरोहितहरूलाई ढोग, दान, भेटी चढाएर खुशी बनाएपछि यो जीवन सुरक्षित हुन्छ भन्ठान्नु धर्म हो । तर हामी मानव विकासको सुरूवाती प्राग–ऐतिहासिक कालखन्डलाई बुझ्यौँ भने त्यस समय कुनै देवीदेवता वा तिनका प्रतिनिधि पन्डित पुरोहितहरूको अस्तित्व पाउँदैनौँ । भोग, वली प्रथा सुरूमा थिएन । पशुपालन पनि धेरै पछि मात्र आरम्भ भएको हो । पशुपालन नभएसम्म केको भोगवली दिनु ? मानवोत्पत्ति भएदेखि मानव सभ्यतालाई थप विकसित गर्नु नै थियो । जीवनलाई थप सहज बनाउन औजार, साधनहरू निर्माण गर्ने लगायत सिकार खेलेर सामुहिक परिवारको रक्षा गर्नेको परिवारमा स्तुति गरिन थालियो । औजार बनाउने र शिकार खेल्ने पराक्रमीको गुणगान र प्रशंसाले पछि पूजाआजा र देवीदेवताहरूको प्रारम्भिक रूपधारणा ग¥यो । आफ्नो नियन्त्रण क्षेत्र (प्रारम्भिक राज्य) विस्तार गर्ने क्रममा उनीहरूले आफ्ना पुर्खाहरूको स्तुति बढाइचढाइ गर्दै पछि धर्मग्रन्थमा प्रशंसाको खात नै लगाए । प्रशंसा यहाँसम्म पुग्यो कि हाम्रा पुर्खाहरूको निसन्देह एउटै टाउको थियो, तर स्तुतिका क्रममा कतिपय देवीदेवताहरूको १० वटा टाउका र २० वटासम्म हात भएको प्रचार गरियो ।
खालि भुलवस धर्मको उदय भएको होइन । यसमा केही गम्भीर रहस्य नखुलेका विषयहरू पनि थिए । मान्छे किन मर्छ ? मरेपछि जान्छ कहाँ ? जन्मन्छ कसरी ? भूकम्प जस्ता घटना कसरी घट्छन् ? पानी कसरी पर्छ ? चट्याङ के हो ? यस्ता जटिल प्रश्नहरूको ठीक उत्तर नपाएर आदिम कालका हाम्रा पुर्खाहरू अलौकिक शक्तिमाथि विश्वास गर्न पुगे । कतै बसेर कसैले विश्व ब्रहमान्डको सञ्चालन गर्छ भन्ने भ्रान्त सोच विकास भयो । धनी, गरिब, सुख र दुःखको बाँडफाँड राजा र प्रजा सबैको निर्णय त्यही अलौकिक सञ्चालकले गर्छ भन्ने भ्रामक सोचाइको कारण पनि दैवी शक्तिको उदय भयो । यो भ्रममा पूरा मानव संसार नै प्रभावित भयो । देवदेवीमाथि पुकार गरी देश–दुनियाँलाई आशिर्वाद र वैभव तुल्य बनाउने भ्रामक मनसायले विशाल मठमन्दिरहरू लाखौँ जनता लगाएर निर्माण भए । काठमाडौँ, पाटन र भक्तपुरका मन्दिर यसका नमूना हुन् । तत्कालीन शासक धर्म गुरूपुरोहितहरूको सम्पूर्ण कार्य यही मठमन्दिर बनाउनु र पूजापाठ चलाउनु रह्यो ।
वास्तवमा “मानवले देउताको निर्माण गर्छ तर देवताले मान्छेको निर्माण गर्दैन” भन्ने कुरा उनीहरूले बुझ्न नसकेनन्, जसका कारण राज्यको ढुकुटी र लाखौँ जनश्रम एउटा झुटो काममा खर्चिन पुगे ।
धर्महरूमा पछि साम्प्रदायिकता पनि विकास हुँदै गयो । धर्मालम्वीहरूले आफ्नो धर्म सम्प्रदायको विस्तार गर्ने उद्देश्य अर्को प्रकारको धर्म मान्नेहरूप्रति घृणा र दुष्प्रचार गर्न थाले, जसको कारण साम्प्रदायिक लडाइँहरू सिर्जना हुँदै गए । धर्म प्रचारको क्रममा पनि कैयौँ निरर्थक धार्मिक लडाइँहरू हुने गरेका छन् । भारतको अयोध्यास्थित राममन्दिर वा बाबरी मस्जिदको सवालमा हिन्दू–मुश्लिमबीचको लडाइँ यसका केही उदाहरण हुन् । धर्मले सामान्यतया इन्द्रीयग्राह्य ज्ञान, बुद्धि र तर्क पद्धतिको निषेध गर्छ । उसले यस्तो शक्तिको दावी गर्छ, जुन भाषा, बुद्धि र इन्द्रीयहरूको सीमाभन्दा बाहिर छ । यसमा सन्देह, विश्लेषणको निषेध गरिएको हुन्छ । धर्मका संस्थापक र प्रचारकले केही मात्रामा बुद्धिको प्रयोग त गर्छन् तर जब धर्मको अवैज्ञानिकतामाथि प्रश्न–चिन्ह खडा हुन्छ, त्यस बेला धर्म पनि विज्ञानमा आधारित छ भनेर झुटको सहारा लिन पुग्छन् । जब धर्मको प्रमाणिक परीक्षणको कुरा उठाइन्छ, त्यस बेला धर्मका पक्षधरहरूले अबुद्धिवादको सहारा लिएर बिना तर्क अन्धविश्वास गर्न अनुरोध गर्ने गर्छन् । सबै धर्ममा स्वर्गको कल्पना र ईश्वरको अस्तित्वका धारणा विद्यमान छ । कर्मकान्ड फरक फरक हुन सक्छन् । जुन धर्म, जुन परिवेश, ऐतिहासिकता र भौगोलिक परिस्थितिमा जन्मे, त्यसैको आधारमा मूर्ति, प्रतिमा, कल्पना, रीतिरिवाज, संस्कार र पूजाविधि चलाए । धर्म असहिष्णु पनि हुन्छ† किनभने उसले अरू धर्मप्रति नकारात्मक धारणाको विकास गरिरहेको हुन्छ । ईश्वरलाई सबै धर्मले पृथ्वीको मालिक र मानिसलाई ईश्वरको बन्धकको रूपमा अर्थाएको छ । मानिसलाई त ईश्वरको दास सरह व्याख्या गरिएको छ । ईश्वरको इच्छामा निर्भर रहनुपर्ने रे ¤ मानौँ मानिसहरूलाई चलाउने रिमोट ईश्वरसँग छ । मानिस त केवल निमित्त मात्र हो । ईश्वरको खटनपटनमा धर्मले बाँच्न सिकाउँछ कि आफ्नो विवेक प्रविधि र गौरवमा ? आफू र आफ्नो समाजको मुक्तिको बाटो तय गर्न धर्म बाधक बनेर उभिन्छ ।
दर्शन
दर्शन आखिर सत्यको खोजी हो । तर सत्यकै खोजीकै निम्ति यसको वास्तविकता अध्ययन गरिन्न । कतिपय अवस्थामा सत्ता टिकाउन पनि सत्ता अनुकुल दर्शनलाई व्याख्या गरिन्छ । राज्यले जहाँ नरसंहार मच्चाउँछ, त्यहाँ मरेपछि मुक्ति पाउने र ईश्वरमा विलय हुने वा स्वर्गमा वास हुने कुरा अर्थाइन्छ । “भगवान” रामले ताराका पति वालीलाई पछिबाट लुकेर मारेपछि ताराको करूण क्रन्दन र रामप्रतिको घृणा सुनेपछि रामले आफूले वालीलाई मारेर मोक्ष प्रदान गरी स्वर्गमा पठाएको जाली कुरा गरेर स्वाङ पारेका थिए । कठोपनिषदमा यसलाई अलि विस्तृत रूपमा यसरी लेखिएको छ ।
नजायतले म्रियते वा विपश्चिनायं कृतश्चिन्न वभुव कश्चित
अजो नित्यः शाश्वतोदय पुराणो नहयन्ते हन्यमाने सरिरे ।
हन्तर चेन्मयन्ते हन्तु हतश्चेन्मनयते हतम
उमौ तौन विजानितो नायं हन्ति न हन्यते ।।
अर्थात यो (चेतन जीव) न उत्पन्न हुन्छ, न त मर्दछ नै । न यो कुनै कारणले उत्पन्न हुन्छ, न त पहिले कहिल्यैै भएको थियो । यो अचम्म छ । निरन्तर छ, पुरातन छ । शरीर मर्दा पनि यो मर्दैन । यदि यो मर्न लागेको कुनै व्यक्ति म मर्दैछु भन्ठान्छ भने ती दुवै जान्दैनन् कि न यो मार्दछ, न त यो मर्दछ नै । गीतामा यसलाई उदाहरण पेश गरेर यो भनाइलाई सरलीकृत गरिएको छ । आत्माले एक शरीरलाई त्यागेर दोस्रो शरीरलाई त्यही किसिमले ग्रहण गर्दछ, जसरी मानिसले आफ्ना फाटेका पुराना लुगाहरूलाई छाडेर नयाँ वस्त्रधारण गर्छ । निसन्देह आत्माको लागि जीवन र मृत्युको कुनै अर्थ छैन ।
हिन्दू धर्मका मनु एक प्रभावशाली विधि निर्माता हुन्, जसको पूरा जोड धर्मग्रन्थहरूलाई लागु गर्न र थप त्यसलाई व्यवस्थित गर्नमा रह्यो । उनले स्त्री र शुद्रहरूले वेदाध्यन गर्न नहुने विधि बनाए । तर्कशास्त्रको सहारामा धर्मको विरोध गर्ने वा प्रश्न उठाउनेहरूलाई लखेट्न र बोलचालसम्म गर्न नहुने बताए ।
राज्यसत्ता चलाउन सरकार सेना प्रहरी र अदालत जेल मात्र पर्याप्त हुँदैन, दर्शन पनि आवश्यक हुन्छ । दर्शनले राज्यसत्ता टिकाउन र भत्काउन महत्वपूर्ण भूमिका खेल्छ । जस्तै राजालाई विष्णुको अवतार मान्नेहरूले र राजालाई अनिर्वाचित जहानियाँ शासन मान्ने मान्छेहरूबीच ठूलो अन्तर हुन्छ । धर्मको प्रवद्र्धकहरूले अन्धविश्वासलाई आधार स्तम्भ बनाएर राज्यसत्ता सञ्चालन गरे । अहिले पनि इस्लामिक ग्रन्थ कुरानलाई आधार बनाएर कतिपय मुश्लिम राज्य र बादशाहहरू टिकेकै छन् । नेपालमा पनि हिन्दू राज्यको अवधारणा त्यही स्वार्थबाट आएको हो ।
संस्कृति
मानिसले जे–जति ज्ञात–अज्ञात रूपबाट समाजबाट सिक्दछ । त्यो सबै संस्कृतिमा सम्मिलित हुन्छ । तर हामीले सिकेका सबै कुरा संस्कृति बन्न सक्दैनन् । एक दुई व्यक्तिले सिकेको कुराले मात्र संस्कृति निर्माण हुन सक्दैन । हामी ती कुरालाई संस्कृति मान्छौँ, जुन एउटा ठूलो समूहको विशेषता बन्न जान्छ । व्यक्तिगत व्यवहार उसको मृत्युपश्चात् समाप्त हुन्छ । तर सामुहिक व्यवहार पिढी दर पिढी हस्तान्तरण हुँदै जान्छ । व्यक्तिले चाहे÷नचाहे पनि संस्कृतिले व्यक्तिको आचारविचार भेषभुषा व्यक्तित्वमा प्रभावित गरिरहन्छन् । त्यसैले व्यक्तिभन्दा संस्कृतिमाथि ठानिन्छ । एकाध व्यक्तिले संस्कृतिमा पूर्ण परिवर्तन गर्न असम्भव हुन्छ । आलोचनात्मक चेतनाको आलोकमा सामुहिक प्रयत्नबाट नयाँ संस्कृति निर्माण हुन्छ । संस्कृति व्यक्तिभन्दा माथि हुँदा हुँदै पनि यो अपरिवर्तनीय हुन सक्दैन । यो निरन्तर सुधारको गतिमा हुन्छ । प्रत्येक मानिसले आफ्ना सन्तानलाई कुन ठीक कुन बेठिक र कसरी के गर्ने भन्नेबारे प्रविधि र धारणा हस्तान्तरण गर्दै जान्छन् । यसरी प्रत्येक पुस्तामा ज्ञानको गहिराइ बढ्दै जानुका साथै संस्कृति पनि थप उन्नत बन्दै जान्छ ।
संस्कृतिका दुई पक्ष हुन्छन् ः एउटा, भौतिक पक्ष हो, जसले भौतिक वस्तु वा साकार वस्तु उत्पादन गर्छ† जस्तै, फोन, रेडियो, घर, बाटो आदि । अर्को मनोवैज्ञानिक तत्व, जुन अदृश्य हुन्छ, जसलाई आचरण वा कृपा भन्न सक्छौँ† जस्तो बोल्नु, गाउनु, अभिवादनका तौरतरिका, रहनसहन, शैली, संस्कृतिमा प्रथा, परम्परा, कानुन, धर्मका नियम, लोकाचार, कला, साहित्य आदि सामाजिक गुण समावेश हुन्छन् । समाजको एउटा ठूलो हिस्साले स्वीकार गरेपछि मात्र संस्कृतिमा परिवर्तन देखा पर्दछन् । संस्कृतिमा भौगोलिक अनुकुलन हुन्छ । हिमाली संस्कृति र तराई संस्कृतिमा भौगोलिक अवस्थितिको कारण कैयौँ फरकहरू हून्छन् । प्रत्येक समाजको संस्कृति अलग अलग हुन्छ ।
संस्कृति आफैमा विलक्षण हुन्छ । मानिस एक पटक त्यस्ता साँचोमा ढालिएपछि सजिलै अर्को संस्कृतिमा रूपान्तरित हुन गाह्रो हुन्छ । कुनै पनि संस्कृति पूर्णतयाः नयाँ निर्माण गर्न सम्भव छैन । अहिलेको पछिल्लो चरणसम्म भएको सांस्कृतिक विकाससम्म जनतालाई माथि उठाउनुका साथै त्यसमाथि आलोचनात्मक सोच विकास गर्न लेनिनले जोड दिएका थिए । संस्कृति समाज व्यवस्थाका अन्य वस्तुहरूबाट अलग्याउन सम्भव हुने वस्तु होइन । संस्कृति बिनाको सामाजिक जीवन हुनै सक्दैन । संस्कृति औचित्यपूर्ण र जीवन उपयोगी हुनु पर्छ । तर हाम्रो समाजको संस्कृति जीवन उपयोगीभन्दा पनि भोगी प्रकारको छ । आर्थिक रूपमा अध्ययन गर्ने हो भने हाम्रा चाडवाड, संस्कार पूजाआजा आदि । समाजलाई थप गरिबीतिर डो¥याउने खालको छ । मर्नुभन्दा कठिन र महङ्गो मृत्यु संस्कार छ । चाडवाड झन् तडकभडकपूर्ण र आडम्बरी बन्दा झन् ऋणको भारी बोकाउने खालका बनिरहेका छन् ।
सन्दर्भ सामाग्री :
धर्म संस्कृति र साम्प्रदायिकता : गोरख पान्डेय
समाज र संस्कृति : व. केल्ले र म. कोभाल्जोन
बेदबारे जान्नै पर्ने कुरा : देवी प्रसाद चट्टोपाध्याय
समाज परिवर्तनबारे सांस्कृतिक आन्दोलन : बरूद्दीन उमर
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक ३ – Dec. 4, 2013 – २०७० मंसिर १९ गते, बुधबार)