~रीता खत्री~
जीवनको सुकिलो
ऐना अगाडि उभ्याएर
मैले मनलाई कैयौपटक
दोषी सावित गर्न खोजेँ
इच्छाको युद्ध रोक्न खोजेँ
आवेगको आँधी रोक्न खोजेँ
तर मन, मेरो देशको
पाखा, पखेरा र भीरजस्नै दुख्यो
गाउँ, बेसी र शहरजस्तै दुख्यो
चौतारी, भञ्ज्याङ्ग
र देउरालीजस्तै दुख्यो
यो देश जस्तै दुख्यो
देशको इतिहास जस्तै दुख्यो
र त मैले, मनविरुद्ध
युद्ध नलड्ने निर्णय गरें
मुद्दा नहार्ने निर्णय गरें ,
मन तिमी मलाई मार, काट,
बचाऊ, सिध्याऊ,
हराऊ, जिताऊ
जे गर तिम्रो स्वविवेक,
म तिमीविरूद्ध –
युद्ध लड्न सक्दिन
अदालत धाउन सक्दिन
र मुद्धा जित्न सक्दिन ।