~इश्वर देवकोटा~
हिम च्यादर ओढी बस्ने पहाड मेरो शिर
लडीबुडी खेल्ने काख तिनै पाखा भिर
प्रभातको किरणमा न्यान्यो आभाष पाउँदा
लेकबेशी उकाली र देउरालीमा छाउँदा
बनका चरी साथि बने छहरा चाहिँ गीत
प्रकृतिमै बस्यो मेरो अनौठो यो प्रित !!
खहरे र खोला अनि चौतारीमा पनि
उडु उडु लाग्थ्यो कहिले डाँफे चरी बनि
वास्ना छर्दै चाँप गुरास फुल्दा बनैभरि
काफल गेडी ऐसेलु पाक्दा झ्याँग भरि
कहिले बादल कहिले घाम बर्षात अनि झरी
सप्तरंगी इन्द्रेणीमा हास्थ्यो सुनाखरी
यहि एउटा स्वर्ग हो की धर्ति आकाश बीच
प्रकृतिमै बस्यो मेरो अनौठो यो प्रित !!
छहरामा भुलें कहिले पहरामा डुलें
लहरमा पिङ खेल्दै आफ्नै नाउँ भुलें
न्याउली रुंदा विरहका आशु बग्यो कहिले
छम छम नाचीदिन्थें कोइली गाउँथ्यो जहिले
बनका चरी साथि बने छहरा चाहिँ गीत
प्रकृतिमै बस्यो मेरो अनौठो यो प्रित !!
– इश्वर देवकोटा , गोरखा
9-04-2013
(स्रोत : रचनाकारको ब्लगबाट सभार)