कविता : विरोध

~रसुवाली कवि~

रुखबाट खसिरहेको पात
धमिलो बगिरहेको बर्खे भेल
बासुरीको लयबद्द धुन
डाँफे, मुनाल, कोइली
भोक, शान्ति, युद्ध
विरोध जेको पनि गर्न सकिन्छ
विरोध जसरी पनि गर्न सकिन्छ

बिश्वयुद्ध लडेको लाहुरे
किन भट्टी मात्र धाउछ ?
जनयुद्धबाट फर्केको नेता
किन जग्गा दलाल मात्र भयो ?
बिश्व साइकल यात्री
किन होटेलमा भाडा माझ्न विवश भए ?
सपनाहरूको क्यानभासमा
किन बिरक्ती मात्र पोख्छ चित्रकार
विरोध यस्तो पनि गर्न सकिन्छ
विरोध जस्तो पनि गर्न सकिन्छ

श्राद्द गरेको घर फर्केको पुरेत जजमानको विरोध गर्छ
उधारो पाएन भने ग्राहक साहुको विरोध गर्छ
बलात्कार उद्योगी पनि बलतकारको विरोध गर्छ
घुस खान पाएन भने नासु शाखा अधिकृतको विरोध गर्छ
लेखक प्रकाशकको विरोध गर्छ
विरोध जसको पनि गर्न सकिन्छ

योजनाबद्ध गरिने विरोध त राजनीति हो
यसको पनि हुन्छ समाजशास्त्र
यसको पनि हुन्छ मानवशास्त्र

सत्ता किन कहिले पनि विरोध गर्दैन
मानव तस्कर गर्ने मेनपावरहरुको
अन्तर्राष्ट्रिय गुप्तचर चलखेलहरुको
दलालहरुको नयाँ नयाँ गिरोहहरुको
हेर्दै केटी बेच्ला जस्तो मिडिया मालिकहरुको

निजी स्कुल, अस्पताल, निर्माण कम्पनी
सेयर दलाल, रक्सी कम्पनी
सत्ता केहीको पनि विरोध गर्दैनन

बिद्रोहको झण्डा बोकेर बिद्रोहीहरुले
सधैं सधैं लडिरहेका छ्न
नाफा मात्र बेच्ने बजार सत्ता विरुद्ध
सत्ताको तिखा तिखा नङ्ग्रा विरुद्ध
सुकुम्बासी बस्तीको बाटो मात्र हिडने
डोजरका विरुद्ध
लडिरहेका छ्न योद्धाहरु
मजदुरको बथान बोकेर
खुनी उद्योगका विरुद्ध
सपनाहरूको हत्या विरुद्ध
आत्मसमर्पण विरुद्ध, गद्दारी विरुद्ध

योजनाबद्ध बिरोध त
क्रान्ति पनि हो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.