कविता : हनुमान

~नवराज पराजुली~

भारतीय दुतावासको गेटको छेउमा
राति नौ बजे
एउटा नौ बर्षको बालक
आफुसंग बाँकी रहेको
ठुलो चन्द्रसूर्य झन्डा ओढेर
निदाउन खोज्दैथियो

झण्डाको सूर्यबाट न्यानो पाएर होला
बोरा निदाएजस्तै निदायो त्यो बालक

खै कुन्नि के रिसमा
खै कुन्नि कस्ले
पेट्रोल छर्कियो त्यो निदाइरहेको झन्डामा
र सलाई कोरेर भाग्यो

यो देशको इतिहासमा पहिलोपल्ट
जलिरहेको त्यो झन्डा
चिच्याउँदै सडकमा कुद्यो
तर
नजलेको अर्को झन्डा बोकेर
आगो निभाउन आएन कोहि पनि

ऐले
झन्डा आगो भएर
आगो झन्डा भएर
त्यतै आउदैछ

सुर्यमा आगो लगाउन खोज्नेहरु !
अब कुन देशलाई बेच्छौ
आफ्नो देशभरिको खरानी ?

(स्रोत : नेपालीसाहित्यघर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.