कथा : अधिकार

~क्रान्ति पराजुली~kranti-parajuli

आमा केटो असाध्यै असल छ, हेर्दा पनि राम्रो छ, ठ्याक्कै जोडी मिल्छ, ज्वार्इँ भन्न सुहाउँछ ।
म उबारे सकेसम्म बढाइचढाई आमालाई सम्झाउँदै छु । एकोहोरिएर टिभी हेर्दै हुनुहुन्छ आमा । मेरो मनमा भनेँ आँधि चलिरहेछ ।

के थरी हो केटो ? उसको बारे आमाले पहिलो प्रश्न गर्दा मन ढुकढुक भयो ।

थर चाहिँ लेख्दैन, विक्रम जिज्ञासु मात्र लेख्छ आमा । मुस्कुराएर हतारहतार भनेँ । उसको कुरा मात्र चल्दा पनि कताकता काउकुती लागिरह्यो ।

आमाका प्रश्नवाचक नजरहरु मतिर ठोक्किए ।

थर सोधेकी थिएँ एकदिन “म कामीको छोरो हुँ” भन्यो । तर उसको जिस्किने बानी छ आमा । मैले आमालाई बुझाउने प्रयास गरेँ ।

आमा झस्किनु भयो ।

के भनेकी तैँले ? दलित नै हो कि क्या हो केटो ? नत्र किन आफ्नो थर लेख्दैन ?

हैन यो कस्ती केटी होली ? केही नबुझी त्यतिकै बिहे हुन्छ ?

आमाको मुहारको उदासिनता मरुभूमीको बालुवाभन्दा सुख्खा भयो ।

“होइन यो के खालकी केटी, मन पराउँछु भन्छे, माया गर्छुृ भन्छे अनि जात अहिलेसम्म सोधेकी छैनस् ?” दिदी किचनबाटै गाली गर्दै हामी भएको कोठामा आइन् र फनफनिदै किचनमै फर्किइन् ।

यसले दिदीको रिसको पारो सगरमाथा पुगेको प्रष्टै देखिन्थ्यो । किचनबाट भाँडा माझिरहँदा पनि उनी उसैगरी चिच्याउँदै थिइन् ।

आमा उदासिन् देखिनु भयो ।

धोएर सुकिसकेका कपडा पट्याएर म दराजभित्र राख्दैछु ।

“दिदी तिमी आफै सोध एकपटक, मैले सोध्दा म त कामीको छोरो भन्यो ।” अनि कति पटक सोधौँ म ? भुँईमा खान खान बसेकी छु । मधुरो स्वरमा भनेँ ।

आमा र दिदी मलाई नाक खुम्च्याएर, आँखा तन्काएर हेरिरहेका छन् ।

“मलाई कसैले थर भन्न चाहँदैन भने घरीघरी सोधिरहँदा उसको अपमान गरे झैँ लाग्छ । तिमीलाई थाह छ त दिदी, मैले अहिलेसम्म कसैको बच्चा जन्मिदा छोरा कि छोरी ? भनेर सोधेकी छु ?”

“होइन यो कस्ती केटी होली जीन्दगीको सवाल छ भन्ने तलाई थाह छैन ?” दिदीले मलाई हेरेर झर्किदै भनिन् ।
“जात सोध्न त पाइन्छ नि ?” फेरि आँखा तरिन्, श्वरको पारो अरु चढेको थियो ।

दिदी किचनतिर गईन् म उनैको पछिपछि लागँे ।

“दिदी म आज दुखी छु” मैले भनेँ ।

उनी नसुने झैँ गर्छिन् ।

“तिमी नै भन न आमाको मन दुःखेको थाहा पाउदा कसको मन खुशी होला र ?” उनी फेरि पनि नसुने झैँ गर्छिन् ।

“आज जीवनमा पहिलो पल्ट आफ्नो कारण आमाको मन दुःखेको थाह पाएँ । ”

“…” उनी केही बोल्दिनन् ।

उनले सुनिरहेकी छिन् भन्ने म थाह पाउँछु ।

“मेरो कारण कसैको मन कहिलै नदुखोस् भन्थेँ तर आज आमाको मन दुखिरहेको छ । आमाको मन दुःख्नु त आफ्नै मन दुख्नु भन्दा पीडादायी रहेछ ।”

“…” फेरि पनि उनी बोल्दै बोलिनन् ।

उनी खुरुखुरु आलु र करेला काटिरहन्छिन् ।“के उनी मेरो विचार पनि काटिरहेकी छिन् ? किन केही प्रतिक्रिया जनाउदिनन् ?” मनले मनलाई सोध्छ ।

दिदी नबोल्ने निश्चत भएपछि म आमा भएको कोठातिर गएँ ।

“उसको म प्रतिको विश्वास र प्रेम उसको आँखामा देख्छु आमा । जो भए पनि एकजनासँग जीवन विताउनै पर्छ, धेरै माया गर्छ आमा उसले मलाई” आमाको छेउमा गएर भनेँ ।

“कस्ताकस्ता केटाहरु माग्न आइरहेका छन् घरमा । तँलाई काठमाडौँ पढ्न पठाएको कि लभ गर्न ?” आमा धोती बेर्दै झर्किनु भयो ।

रिसले आमाले धोती पनि सधैँ झैँ नमिलाई छिटोछिटो बेर्नु भयो, आँखा वाण पनि उस्तै थियो ।

“कहाँ चिनेको त्यो केटालाई ?” आमाले उसको बारे दोस्रो प्रश्न राख्नु भएकोमा मन खुशीले गद्गद् भयो ।

“अफिस एउटै हो आमा ।”

उसले मेरो बारे चिन्तानुभूति सहित एक साँझ भन्यो “म तिमीलाई कोठासम्म छोडिदिन्छु ।” उसले भनिरहँदा निकै अध्यारो भइसकेको थियो । सडकमा सार्वजनिक यातायात दौडिन छाडिसकेका थिए ।

आमाले ध्यान दिएर मेरो कुरा सुनिरहनु भयो ।

“जान सक्छु होला एक्लै पनि, तिमीलाई पनि त पछि फर्किन गाह्रो होला ।” हतारमा कुदिरहेका प्राइभेट सवारीहरु नियाल्दै सडक पेटीमा उभिएर मैले भनेँ ।

“म त छोरो मान्छे के गाह्रो हुनु । पुर्याएर फर्किहाल्छु । लु बरु छिटो हिडौँ ।” उसले अगाडि बढ्न आग्रह गर्यो । जब कुनै समस्या आउँछ हरपल मलाई साथ दिइहाल्नु पर्ने उसको बानी मलाइ सारै मन पर्छ ।

बाटो निक्कै डर लाग्दो छ । खोलाको किनारा । ठाउँ ठाउँमा साना साना गल्ली । खोलाको किनाराका गाँजाका झ्याङ्गभित्र ट्यापे केटाहरु गाँजामा लठ्रिहेका । कहिँ सुनसान, कही झ्याङ्गभित्रबाट निस्किने किराहरुको आवाज । गाँजाको धुँवाको गन्ध । बाटो पिच नगरिकएको, कहीँ खाल्डाखुड्डी र कहीँ पानी जमेको ।

“ओ हो यस्तो राति त म यो बाटो कहिले हिडेकी थिइन उफ…राति त डर लाग्दो पो हुने रैछ ।” सरासर अगाडि वढ्दै गर्दा मैले भनेँ ।

“हो त्यहि भएर त मैले तिमीलाई एक्लै नजाऊ भनेको ।”

“यो पत्रकारिता पनि धेरै जटिल काम हो । कार्यक्रम सक्दा यति ढिलो हुन्छ, अन्तिम समयसम्म बस्नै पर्यो । प्रमुख अतिथिले बोलेको रिपोटिङ्ग गर्नै पर्यो ।” मैले गुनासो पोखेँ ।

“हो छोरी मान्छेलाई चुनौतिपूर्ण नै छ । तर तिमी आफूलाई कमजोर ठान्न कहाँ तयार छौ र ? हाहाहा…।”

“मेरो विशेषता थाहा पाउनेलाई धन्यवाद ।” मैले भनेँ ।

अगाडि दुई ट्यापे केटाहरु गाँजामा लठ्ठिएका थिए । हामी उनीहरुको छेउबाट नै अगाडि बढ्यौँ । मैले डरले उसको हात च्याप्प समातेँ । उसको साथले मनोवल बढायो, हामी अगाडि बढिरह्यौँ ।

केटी त क्या दामी हो यार तर के गर्नु साला त्यसको व्वाइफेण्ड सँगै रहेछ । एउटा ट्यापेको वाक्य हाम्रा कानमा परे ।
एक्लै भए त जाने कै थियो नि त्यसलाई के…हामी अगाडि बढ्ने क्रममा अर्को ट्यापेले बोल्दै गरेको मसिनो आवाज आयो ।

“वाश्तवमै मलाई छोरी भएर जन्मिएको यस्तै बेला मात्र दुःख लाग्छ । जब कुनै पनि यात्रामा आफूजस्तै मानवसँग डराउनु पर्छ” मैले उसको हातबाट आफ्नो हातलाई छुटाउँदै भनेँ ।

“हुन त छोरीहरुले छोरा मान्छेले गर्ने सबै काम गर्न सकैकै छन् तर प्रकृतिले शारिरिक रुपमा थोरै कमजोर बनाएको छ ।” उसले भन्यो ।

“प्रकृतिले थोरै समाजले धेरै भनन ।”

“त्यो पनि हो ।”

उसले मेरो विचारमा सहमति जनायो ।

आधा घण्टा हिडेपछि हामी कोठामा पुग्यौँ । दिदी डराउँदै घर बाहिर नै मेरो बाटो कुरेर बसेकी रहिछन् ।
अम्मामा… यति रातिसम्म ? मेरो त सातो उडेको थियो । उनले आँखा ठूला ठूला पार्दै हामी दुबैलाई नियाल्दै आश्चर्य प्रकट गरिन् ।

उ कोठाभित्र नपसी फर्कियो । मैले दिदीलाई बेलीविस्तार सुनाएँ ।

“उनी मेरी फुपुकी छोरी,मेरी रुम पाटर्नर, मेरी दिदी अनि मेरी प्यारी साथी पनि ।” ऊ फर्किनु अगाडि मैले परिचय गराउँदा उसले मुसुक्क मुस्कुराउँदै दिदीलाई नमस्ते भनेको थियो ।

“दिदी कोठा सारै टाढा भयो , तिम्रो पो अफिस नजिकै छ । मेरो काम त्यस्तै छ, फेरि कहिलेकाहिँ त राति नै हुन्छ ।” दिदीले खाना पस्किदै थिइन् मैले भनेँ ।

“तिम्रो अफिस छेउछाउ कोठा नै पाइन्न, पाइहाल्दा पनि महंगो हुन्छ । बरु दुःख गर्दै गर अलि पछि सरौँला ।”उनले सम्झाइन्, मैले मेरो मनलाई मनाएँ ।

“आज चाहिँ सरको जन्मदिन सरले पार्टी दिनु पर्छ है” मैले सम्पादकलाई भने । सबैले सहमति जनाए, उसले पनि जनायो ।

“लोभी सम्पादकले सुटुक्क फोन गरेर उसकी प्रेमिकालाई कुनै होटलमा बोलाइ सक्यो ।” बन्दनाले मेरो कानमा सुटुक्क भनी ।

सम्पादक अफिसबाट निस्किएको थाहा पाउना साथ हामी सबै स्टाफ खाजाघर तिर लाग्यौँ ।

“कस्तो जात जनाको है बोसले ?” रमिलाले भनिन् ।

हामी खितिति हास्यौँ ।

उ भनेँ गम्भीर देखियो ।

“मान्छेको आआफ्नो स्वभाव हुन्छ यो जात चाहिँ कहाँबाट आयो हँ ?” ऊ रिसायो ।

मलाई नराम्रो लाग्यो कतै ऊ पनि कथित दलित भएकाले उसलाई दुःख लागेको होइन ? आफ्नो थर पनि लेख्दैन र थरको कुरा निकाल्यो कि रिसाउँछ । मेरो मनमा हुरी चलिरह्यो ।

“हाहा… म कामीको छोरा हुँ के तपाईँहरु मैले छोएको खानुहुन्न ?” उसले भन्यो ।

हाहाहा…। सबै अपत्यारिलो हाँसो हाँसे ।

उसको सबैलाई हसाउने बानी थियो । उसको हँसाउने बानी भएकाले कसैले पनि उसको कुरालाई गम्भीर रुपमा लिएनन् । मेरो मनमा भनेँ निक्कै ठूलो तुफान आएको थियो ।

साँझ घर पुग्ना साथ दिदीले भोलि कोठा सर्ने कुरा सुनाइन् ।

तिम्रो अफिस जान त्यहाँबाट डाइरेक्ट गाडी पाइन्छ अनि राति नै हुँदा पनि सुरक्षित छ बाटो । दिदीले जानकारी गराइन् ।

“तिम्रो साथी विक्रम जिज्ञासुलाई पनि बोलाऊ, हामीलाई मात्र गाह्रो हुन्छ ।” उनले नै भनिन् ।

ऊ बिहानै आइपुग्यो । शनिबार दिनभर सामान सार्ने र कोठा मिलाउने कार्यमा व्यस्त भयौँ । सामानको जतन गर्ने उसको बानी मलाई मन पर्यो । दिनभर सहयोग गरेर साँझ फर्कियो ।

आइतबार बिहान दिदी र म सँगै निस्कियौँ । बाटो नयाँ, ठाउँ नयाँ, दिदीले “यहाँबाट गाडी चढेर जाउ तिम्रो अफिस अगाडि नै रोक्छ, भरे आउँदा यहि उत्रिनु” सडकलाई औँलाले देखाएर भनिन् ।

मैले त्यसै गरेँ ।

जाडो महिना थियो घाम अस्ताइसकेका थिए । आफिसबाट फर्किदा बिहान दिदीले यहाँबाट गाडी चढ्नु भनेकै ठाउँमा उत्रिएँ । बिहान गाडी चढेको ठाउँबाट कोठातिर जाने बाटोतिर लाग्दै थिएँ । अगाडि दुईवटा गल्ली देखेँ । कता जाने पत्ता लगाउन सकिन । अन्दाजको भरमा एउटा गल्लीतिर लाग्नु उचित सम्झिएँ । निक्कै पर पुगेपछि मलाई गलत दिशामा आएझैँ लाग्यो । गल्ली भित्र पनि अरु गल्ली थिए । अध्यारो निकै बढ्यो । बाटोमा मान्छेहरु आआफ्नो गन्तब्य तिर लम्किरहेका छन् । म भनेँ अलमल्लमा ।

केही पसलेलाई सोधेँ, घरको अगाडिको एउटा किराना पसलको हुलिया बताएँ कसैले थाहा पाएनन् मेरो गन्तब्य कहाँ हो भनेर ।

पसलेले सटर तान्न थालिसकेका छन् । मेरो मन आत्तिन थाल्यो । दिदीको अफिसमा फोन गरेँ उनी निस्किसकेकी थिइन् । छिटो गर्नुस् अब हामी कोठा जाने समय भयो । किराना पसले भन्न थाल्यो ।

मैले व्यागमा भएको डायरी निकालेँ ।

डायरीमा बोसको मोबाइल नम्बरको मुन्तिर अफिसका स्टाफहरुको घरको लेण्डलाइन नम्बरहरु थिए ।
विक्रम जिज्ञासुको घरबेटीको नम्बरमा थिचेँ ।

“छिटो गर्नुस् ।” पसलेले दिग्दार मान्दै फेरि भन्यो ।

मेरो मुटुको ढुकढुकी बढ्दै थियो । एकछिन पर्खे पछि विक्रम जिज्ञासु फोनमा बोल्यो ।

मैले रुन्चे स्वरमा सबै वाश्तविकता बताएँ । उसले पसलेलाई फोन दिन भन्यो । पसलेले ठाउँबारे जानकारी दियो ।
विक्रम जिज्ञासुले के भन्यो कुन्नी पसलेले भन्यो “तपाईँको मान्छे आउनजेल् म पसल बन्द गर्दिन डर नमानी बस्नुहोस्” ।

अलिकति भएपनि मनको ढुकढुकी घट्यो ।

आँखाहरु उसको बाटोतिर बिछ्याएर किराना पसलको बाहिरपटि बसिराखेँ ।

एकै छिन् पछि ऊ आइपुग्यो । उसले पर्सबाट केही पैसा निकालेर पसलेलाई दियो । म छक्क पर्दै सरासर उसको पछि लागँे । त्यही पसलबाट सिधै अगाडि ३ घर परतिरको घरको गेटभित्र छिर्यो ऊ ।

घर राम्रोसँग नियालेँ त्यो नै हिजो मात्र हामी सरेको नयाँ घर थियो ।

ऊ एकैछिन् कोठामा बसेर फर्कियो । मेरो बाटो हेर्दा हेर्दा निरास भएर बसेकी दिदी वाश्तविकता सुनेर पेट मिच्दै हाँस्न थालिन् ।

मेरा कुरा ध्यानपूर्वक सुनिरहेकी आमा गम्भीर देखिनु भयो ।

“आमा एकदिन म रिपोटिङ्गको लागि उसँगै एउटा कार्यक्रममा जाँदै थिएँ । घाम निकै चर्किएको थियो । म त बाटो मै बेहोस् भएँछु । उसले हस्पिटल पुर्याएछ । निक्कैबेर पछि व्युँझदा स्लाइन चढाइरहेको थियो मलाई । बेडको छेउमा ऊ मेरो हात समाएर टोलाएर बसेको रहेछ ।”

म सँग जम्मा सय रुपयाँ थियो ब्यागमा । उसँग पनि रहेनछ तर साथीसँग मागेर उसले हस्पिटलमा पैसा तिर्यो । अनि, मलाई कोठासम्म छोडिदिएर फर्कियो ।

आमाले छक्क परेर सुनिरहनु भयो ।

“जीन्दगीको धारिलो बाटोमा हिड्दै छु म आज आमा । न यताको बाटो हिड्न सक्छु नत उताको बाटो ।” मेरा आँखा भरिएका थिए, स्वर अवरुद्ध थियो ।

आमाले नै दिदीलाई बोलाउनु भयो ।

“एकपटक उसको थर सोध्ने तेरो जिम्मा भयो ।”

दिदीले उसको बाटो कुरेरै भए पनि आज साँझ अप्रत्यक्ष रुपमा सोध्ने निर्णय सुनाइन् ।

“पर्दैन सोध्नु, उसले अस्ति भनिसकेको छ म कामी हो भनेर ।” मैले भनेँ ।

दिदी र आमा उसलाई अन्तिम पटक सोध्ने त्यसपछि निर्णय लिनेमा दृढ थिए । किनारामा बसेर प्रतिक्षा गर्नुबाहेक मसँग कुनै विकल्प थिएन ।

दिदी साँझ घर फर्किन् तर मलिन अनुहार लिएर ।हतारहतार आमाले दिदीलाई सोध्नु भयो अनि भेटिस् त्यो केटोलाई ?
दिदी भन्न थालिन्
“ऊ फर्किने गल्लीमा कुरेर बसेकी थिएँ । ऊ साडे पाँच मा आइपुग्यो ।”

मेरो मुटुको धड्कन तेज भयो ।

“मैले अचानक भेट भएको नाटक गरेँ । ”

“नमस्ते दिदी । मुस्कुराएर उसले हात जोड्यो ।

हामी आकाशेपुलको लिस्नो उक्लिन लाग्यौँ ।

“अनि के छ खबर आमाको अनि दिप्तीको ?”

उसले सोध्यो ।

“दिप्ती परीक्षाको लागि तयारी गर्दै छे, परीक्षा सकिएपछि मात्र अफिस जान्छु भन्थी, आमाको सबै ठिकै छ ।” मैले भनेँ ।
आकाशे पुल पार गर्ना साथ उसको र मेरो बाटो छुट्टिने बेला भएको थियो । अनि एसो आउनु न हाम्रो कोठा तिर पनि । आउन नहुने त होइन होला ।

मैले जिस्किएर भनेँ ।

हाहाहा…कसले आउन नहुने भन्यो र । उसले सजिलोसँग भन्यो ।

छुट्टिने बेला हुनै लागिसकेको थियो ।

साँचि भाइ के पो थरी ? मैले मुड परिवर्तन गरेर सोधेँ ।

हाहाहा… थाह छैन र ? म कामी । म त दलित हो । दिप्तीले भनेकी छैनन् मेरो बारे ?

म ट्वाल्ल परेँ ।

ल दिदी मलाई अलि हतार छ । ऊ आफ्नो बाटो लाग्यो । म आफ्नो बाटो । दिदीले वाश्तविकता सुनाइन् । कोठामा स्तव्धता छायो ।

आमाको अनुहार सुनसान बगरजस्तो मलिन देखियो ।त्यसपछि हामी तीनै जनामा संवादहीनताको लामो प्रतिष्पर्धा चलिरह्यो ।

त्यस रात किन झरे त्यति धेरै आँशु म अहिले पनि सोच्ने गर्छु ।

अब मैले फेरि उसको थर सोध्नु भनेको उसको थरको खिसी गर्नु हो, अपमान गर्नु हो । यदि सक्ने भए मैले परिवार त्यागेर उसलाई अंगाल्नु पर्छ नत्र हिडिरहेको बाटो परिवर्तन गर्नु पर्छ । सोचेँ ।

आमा रातभर ननिदाएको फेरि पनि थाहा पाउँदा मलाई कसरी निन्द्रा लाग्थ्यो र ? जब दिदीले ऊ कामीको छोरा रहेछ भनेर सुनाइन् आमाले खाना खान छोड्नु भयो । कतै मैले परिवारलाई त्यागेर उसलाई अंगाल्छुकी भन्ने भयमा आमा दिनरात तड्पीन थाल्नु भयो ।

नौ महिना आफ्नो कोखमा अनेक दुखकष्ट सहेर जन्माएकी पहिलो सन्तान म, मलाई थोरै ज्वरो मात्र आउँदा पनि आमा रातभर रोएर कटाउनु हुन्थ्यो र विहान हुन नपाउदै हस्पिटल कुदाउनु हुन्थ्यो भनेर सयौँ पटक बाबाले सुनाउनु भएकै हो ।

यता, जब उसको याद उम्लिएको तेलभन्दा तातो बनेर आउथ्यो अनि उसकोे माया सागर भन्दा बढी लाग्थ्यो । म आमाको सामु अनेक तर्क गर्थेँ ।

आमा तपाईँहरुले समानताको लडाईँ लडेको के अर्थ भयो ?कम्युनिष्टहरुले पनि जातभातका कुरा गर्छन् ? के उसको रगतमा दलित लेखिएको छ ? उसको के दोष छ दलित आमाको कोखमा जन्मिनुमा ?

आमालाई निक्कै पटक आफ्ना तर्कहरुले पगाल्न खोजें ।

परिवर्तन कहाँ एकैछिन्मा हुन्छ छोरी, हामीले मात्र स्वीकारेर हुन्न, यही समाजमा बाँच्नुपर्छ हामीले । आमाले अनुनय गर्दै मलाई मनाउनु खोज्नु हुन्थ्यो ।

जीन्दगीमा मान्छे यति रित्तो पनि हुदो रहेछ । मैले अफिस छोडे पछि थाह पाएँ । भावनाको त्यो गहिराइबाट निरन्तर बगिरहने सपनाका नदिहरु उसैले चोरेर लगिसकेको थियो । आस्थाका पहाडहरु टेकेर जीवनको यात्रामा निस्किनु बाहेक मसँग अरु उपाय थिएन ।

मैले उसलाई देख्नु नपरोस् भनेर अफिस पनि परिवर्तन गरेँ । उसले देखेको कोठा पनि परिवर्तन गरेँ । तर मान्छे जहाँ पुगेपनि छायाँजस्तै यादले पछ्याइरहँदो रहेछ । म जहाँ उभिएकी छु, मेरो सोच त्यहँी छ । जहाँ भाग्न खोजे पनि उसको याद आफूभित्र झन गाढा थियो ।

माया र प्रेम हुँदा हुँदै पनि छुट्टिएर बस्ने कठोर निर्णय मैले नै गरेकी हुँ । मैले एक साँझ दिदीलाई भनेँ ।

अब परीक्षा पनि सकियो तिम्रो काम भनेको त्यही काले कामी केटोलाई सम्झिने बस्ने त हो । हाहाहा…उसको हाँसोले मेरो मनको आगोमा घिउ थपिरह्यो ।

सबै मान्छे आफ्ना आफ्ना कथा बोकेर जीवन विताइरहेकै हुन्छन् । दिप्ती तिमीले उसलाई विर्सिनु पर्छ । निक्कै गम्भीर आवाजमा भनेर दिदी व्याग बोकेर बाहिरिइन् ।

आमाबाबाको म प्रतिको सपना धेरै ठूलो थिएन । म असल बनौँ र उहाँहरुलाई विश्वासघात नगरौ भन्ने मात्र उहाँहरुको मप्रतिको आकंक्षा थियो ।

आफन्त घरछिमेक र इष्टमित्रले छोरी होस् त तपाईकी जस्ती, व्यवहारिक, सुन्दर अनि ज्ञानी भन्छन् । धेरै पटक यस्तो सुनाउनु हुन्थ्यो आमालाई बाबाले । मैले पनि लुकेर सुनेकै थिएँ ।

यस्तो सुन्दा आमा हर्ष र गर्भमिश्रित भावमा आफ्नो छाति ढक्क फुलाउनु हुन्थ्यो ।

म १२ कक्षा सकेर पहिलो पटक काठमाडौ आउने दिन बिहानदेखि आमा रुनुभएको मलाई राम्रोसँग याद छ । आमाले पछि दिदीलाई फोनमा भन्नुभएको थियो “छोरीलाई काठमाडौँ पठाए पछि म सात दिनसम्म घरबाट बाहिर निस्किन सकिन ।”
तर, धेरै रातहरु उसैको यादमा रोएर वित्न थाले । उसको निर्दोष अनुहार, मायालु व्यवहार, सहयोगी भावना, उसलाई गुमाउदै छु भन्ने कुराको वोधले तड्पाइरहन्थ्यो ।

नत आम केटाहरुले जसरी उसले कुनै दिन आई लभ यु भनेको थियो न त मैले नै । तै पनि ऊ मलाई माया गर्छ भन्ने मलाई थाह थियो र उसलाई पनि ।

परिवारको दवाव र उसको यादको आगोमा म जलिरहेँ ।

सात धारा दुध चुसाउदै हुर्काउने आमाको आँशुलाई रोक्नु मेरो कतव्र्य थियो ।

आमाले गाउँबाट फोन गरेर मेरो हालचाल नसोधेको दिन हुदैन थियो । कसरी म हिजोअस्ति मात्र चिनेको एक युवकलाई अंगालेर आमाबाबाको मन रुवाऊँ ?

रातभर निन्द्रा लाग्दैन थियो ।

जब ऊ कथित दलित भन्ने थाहा पाएँ त्यसपछि त उसको माया झन् गाढा पो भयो । अव्यक्त रुपमा व्यक्त प्रेमले पनि मलाई यति धेरै भावनामा डुबाइरहेको थियो ।

समयले कहाँ हुत्याउँछ त्यतै हुत्तिनु पर्ने कस्तो दाशी मान्छे ? दिदीले उसको बारे होच्याएर कुरा गर्दा मलाई चित्त दुख्थ्यो, सायद माया त्यही थियो ।

एक साँझ दिदीले एउटा प्रश्न गरिन् “तिमी राम्री छौ, पढाइ राम्रो छ, त्योभन्दा धेरै गतिलो केटो पाइहाल्छौ नि ?”

“माया किन गर्छौको उत्तर केही हुदैन दिदी त्यो मनको कुरा हो ।” म भन्छु ।

डिग्री पास गरेपछि मात्र बिवाह गर्छु भनेर म अड्डी गर्थेँ । विवाहको प्रस्ताव घरमा थुप्रै आइरहेँ । एकपटक, दुइपटक, तीनपटक कति पटक इन्कार गरेँ तर अब बाबा आमा मान्ने पक्षमा थिएनन् । मैले भनिदिएँ तपाईँहरुले रोजेको केटोसँग बिवाह गरिदिउँला । आमा हर्षित हुनुभयो ।

आज ऊ कहाँ छ थाह छैन, म अरु कसैको भएकी छु तर पनि उसको याद आइरहन्छ । भाग्यमा कोरिएका रेखाहरुलाई समयले मेटाइदियो जस्तो लाग्छ घरीघरी । हावाको झोकाले तिनलाई उडाएर लगेजस्तो लाग्छ घरीघरी ।

एकदिन कोठा फर्किदै थिएँ । आकाशे पुलमा दुई निर्दोष आँखाहरुसँग मेरा आँखा जुदे । ती आँखाहरुले मलाई च्याप्प समाइ छाडे म भाग्न चाहान्थेँ त्यहाँबाट ।

किन यसरी भागिरहेकी छौँ मसँग ? विक्रम जिज्ञासुले आकाशे पुलमा किनारातिर मलाई तान्दै भन्यो ।
म केही बोलिन ।

साँच्चै दिप्ती तिमीले अफिस पनि छोड्यौ, तिम्रो कोठामा पुगेँ त्यहाँबाट सरिसकेछौ, म त एकदमै एक्लो अनुभूत गरिरहेको छु ।

म फेरि पनि केही बोलिन ।

एउटा कुरा सोधौँ ?

सोध ।

के तिमीलाई मेरो अलिकति पनि माया लाग्दैन ? साँच्चै दिप्दी म तिमीलाई कति माया गर्छु भनेर व्यक्त गर्न सक्दिन । हिजो आज म तिम्रो यादमा तड्पिएर पागल हुदैछु । सोच्ने गर्छु अचानक तिमी यसरी किन टाढा हुदै छौ भनेर ।
यदि तिमी मेरो खुशी चाहान्छौ भनेँ तिमी मबाट टाढा रहुँ ।

म अहिले जान्छु । म हिड्न लागेँ ।

उसका आँखामा आँशु दही झैँ जमेका थिए । उसले मेरो हात च्याप्प समायो । दिप्ती एउटा कुरा सोध्छु ल ?

मैले टाउको हल्लाएर हुन्छको इसारा गरेँ ।

तिमीलाई मेरो माया लाग्छ कि लाग्दैन ? मेरो याद आउँछ कि आउँदैन ?

भन्न त मन थियो तिम्रै यादको डोरिले बेरिरहन्छ मेरो मनलाई । पीडाका अनगिन्ती घाउहरु दुखिरहन्छन् ।

के मैले तिम्रो माया लाग्दैन, तिम्रो याद आउँदैन भनेँ भने तिमी विश्वास गर्छौ ? मैले प्रति प्रश्न गरेँ ।

लाग्छ मान्छेको मन नौनी जस्तै पग्लिन्छ । हिमालमा हिँउ पग्लिन जस्तो मन पग्लिन मौषम परिवर्तन हुनु पर्दैन । यति राम्री छौँ कतै तिम्रो पनि मन कसैले पगाल्यो कि भन्ने भ्रमको बादल मडारिन्छ कहिलेकाहिँ । उसले भन्यो ।

चट्टान जस्ता पहाडहरु आफ्ना अगाडि पर्खाल बनेर उभिन्छन् त म के गर्न सक्छु । मनमा गुम्सिएको वाक्य बाहिर निस्किन सकेन ।

अचानक पानी पर्न थाल्यो । मैले विदाइको इसारा गरेर कोठातिरको बाटोमा पाइला लम्काएँ ।

पर पुगेर फर्किएर हेर्दा ऊ त्यहीँ उभिएर मैतिर नजर अड्याइरहेको थियो ।

विदाइको इसारा गर्छन् मेरा दुई आँखा र हातहरुले उसका पनि ।

वर्षाै पछि हिजो बिहान विक्रम जिज्ञासुको फ्रेण्डरिक्वेस्ट फेसवुकमा देखेँ । हतारगरी उसको प्रोफाइल सबै हेरेँ । ट्वीटरमा पनि फलो गरेछ एकैपटक । यतिका वर्ष हराएको मान्छे एक्कासी यसरी देखापर्ला भन्ने पटक्कै लागेको थिएन ।
श्रीमान्ले छोरीलाई आफ्नो गाडीमा आफ्नै छेउको सिटमा राखिसकेपछि छोरीले स्कुले डे्रसमा मलाई विदाइका हात हल्लाई । घरको गेटमा उभिएर उनीहरुलाई मुस्कुराउँदै विदाइ गरेँ । छोरीको स्कुल र बाउको अफिसको गन्तव्य सुरु नभएसम्म म उनीहरुकै सेवाका निम्ति व्यस्त हुने गर्छु ।

किचनमा छिरेँ । मोबाइल किचन मै रहेछ । मेसेन्जरमा म्यासेज आएको टोन बज्यो । हाइ…। विक्रम जिज्ञासुको मुसुक्क मुस्कुराएको सिम्बोलिक म्यासेज पनि झुल्कियो ।

हेलो…। रिप्लाई पठाएँ ।

सन्चै छौ ?

ठीक छु ।

तिमी कहाँ छौ ? मैले नै प्रश्न गरेँ ।

म त एब्रोडमा, नर्भे ।

तिमी काठमाडौंमै हो ? उसको प्रश्न आयो ।

हो कसरी थाह पायौँ ?

तिम्रो फोटाहरु सबै हेरेँ, फेसबुकमा । कति क्यूट छोरी । तिमी जस्तै ।

हाहाहा…थ्याङ्कयू ।

अनि तिम्रो ? तिम्रा छोराछोरी कति जना ?

हाहाहा…बिहे नगरी कसरी छोराछोरी हुन्छन् र ?

अपुई …अहिलेसम्म बिहे गरेको छैनौँ ?

अँ…तिमीले पत्याइनौँ त ।

नपत्याएको कहाँ हो र ?

अनि केत ? म पनि हेर्दा लायक नै थिएँ, पढेकै थिएँ, जात पनि मिलेकै थियो ।

हँ…जात मिलेको थियो रे ?

अनि के त ?

म अचम्ममा परेँ, केही प्रतिक्रिया दिन सकिन ।

बाहुन, क्षेत्रीमा त उहिलेदेखि चलिआएकै त हो । तिमी क्षेत्री म बाहुन के फरक पथ्र्यो र ?

के वाइयत कुरा गरेको ? पहिले कामीको छोरो भन्ने अहिले बाहुन ?के थर पनि परिवर्तन भइरहन्छ हो ?

को कामी ? म बाहुन भन्ने तिमीलाई थाह थिएन र ?

अनि म कामीको छोरा हुँ भन्ने तिमी नै होइनौँ ?

उफ…त्यो त मैले जोक गरेर पो भन्ने गर्थेँ त । तिमीहरु बोसलाई कामी भनेर अनेक कुरा काट्थ्यौ ।

जे पायो त्यही कुरा नगर तिमी कामी नै हो ।

हरे…तिमीले मलाई साँचिकै त्यस्तो सम्झिएकी थियौ ?

अनि के सम्झिने त पागल ? तिमीले त्यही भने पछि ।

अनि तिमीले मलाई सिरियस्ली सोधिनौ त कहिले पनि ? यसकारण तिमीलाई थाह होला भन्ने सोचेँ मैले ।
…म कुनै भिरबाट खसे झैँ भएँ ।

के तिमीले मलाई दलित भन्ठानेर मबाट टाढाटाढा भागेकी हौ ? उसले सोध्यो ।

मैले दलित नै भए पनि तिमीलाई साथ दिनेसम्म सोच बनाएकी थिएँ तर आमाबाबाको खुशीको लागि आफ्नो खुशीलाई लिलाम गर्ने घोषणा गरेँ ।

हे भगवान…त्यती सानु मिसअण्डरस्टेन्डिङ्गले मैले तिमीजस्ती केटी गुमाएँ ?

उफ…। उसलाई सिम्वोलिक साइन पठाउदा मेरो जिउभरी पसिना आएको थियो ।

…ऊ फेरि हरायो ।

म घरको काम गर्न थालेँ । मन भारी भयो । ग्रिन टि बनाएर पिउन लाग्दै थिएँ ।

हाइ…ऊ फेरि म्यासेन्जरमा आयो ।

कहाँ हराएको ? मैले सोधेँ ।

कोठामा साथी थियो त्यसैले टोइलेटमा गएर एकछिन रोएँ । उसले लेखि पठायो ।मेरा पनि आँखा रसाए ।

तिम्रो बिवाह भएको थाह पाएपछि म फ्रस्टेड भएँ । १ वर्ष त्यतिकै बित्यो, केही गर्न सकिन । पछि परिवारको साथले आफूलाई पुर्नस्थापित गराएँ र अहिले १० वर्ष भयो नर्भेमा छु ।

मलाई उसको वाश्तविकताले जलिरहेको मनमा घिउ थपिरह्यो ।

ऊ बेला मोबाइल, इन्टरनेटको यस्तो सुविधा भइदिएको भए सायद अहिले तिमी मेरी हुन्थ्यौ होला । उसले लेखि पठायो ।

…म प्रतिक्रिया विहिन सोचमग्न भएँ । विश्वास लागिरहेको थिएन ।

१३ वर्षमा पनि खासै चेन्ज नै छैनौँ हौ तिमी त ? उसले फेरि म्यासेज गर्यो । ओए…कहाँ हरायौ ? फेरि म्यासेज गर्यो ।

तिम्रो बारेमा जुन भ्रम ममा थियो त्यो भ्रम भ्रममै सिमित भएको भए आज मेरो मन दुख्ने थिएन । मैले म्यासेज गरेँ ।

तिमीलाई भन्दा बढी पीडा मलाई भएको छ, त्यति सानु मेरो जोकले मैले तिमीजस्ती केटी गुमाएँ । अहिलेसम्म कुनै केटीलाई मन पराउन, माया गर्न सकेको छैन ।

मेरा आँखाबाट आँसु झरिरहेँ ।

ओए… म अब एक महिना पछि नेपाल आउदै छु, के तिमी मलाई एक पटक भेट्न सक्छौ ?
आएर फोन गर ।

कि मसँगै जान्छौ त बिराटनगर मेरो घर ? म त तिमीलाई अहिले पनि स्वीकार्न तयार छु ?

बाहिर ढोकामा घण्टी बज्यो ।

भित्र पस्नासाथ श्रीमान्ले गुलाबको बुके मेरो हातमा थमाएर भनेँ ह्यापी एनिभर्सरी माई स्वीटहर्ट ।

लु तुरुन्त रेडी भइहाल, मैले दुईवटा टिकेट ल्याएको छु ,आज फिल्म हेर्न जानेँ ।

म किचनमा छिर्छु विक्रम जिज्ञासुले थुप्प्रै म्यासेज छोडेर २ मिनेट अगाडि अफलाईन भइसकेको रहेछ । मैले मोवाइलमा वाइफाइ अफ गरँ र एनिभर्सरीको साँझलाई कसरी रंगीन बनाउने भन्ने सोच्न थालेँ ।

श्रीमान् कार घुमाएर गेटमा मलाई पर्खिरहेका थिए । उनको छेउमा बसेँ ।

मनले मनलाई भन्यो । “कसैलाई माया गर्ने अधिकार छ तर कसैको घर बर्वाद गर्ने अधिकार तिमीलाई छैन ।”

(स्रोत : ठै प्रहर डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.