कविता : जीवन गीत

~कुन्ता शर्मा~

अस्तित्व स्थापित गर्न
आफ्ना–आफ्ना हतारिएका
असङ्ख्य असङ्ख्य शुक्रकिटहरू
जब झ्वाम्म हाम फाल्छन् आमाको शरीरमा
ती सबैलाई उछिनेर
ती सबैका विजित योद्धा बनेर
विस्तारै विस्तारै चुपचाप चुपचाप
अनि, क्रमिक रूपले
समयसँग हातेमालो गर्दै
भु्रण बनेको मानिस ।

त्यहाँ पनि सजिलो कहाँ थियो र ?
न्यानो भए पनि
निष्पट्ट अँध्यारो आमाको त्यो गर्भमा
एकै पोको परेर गुजुल्टिएर
आमाका ह्दय–स्पन्दनसँग अन्योन्याश्रित भएर
सङ्क्रमण कालीन नौ वटा महिनाहरू
आमाको शरीरमा नै आश्रित भएर
जटिल प्रसव–वेदनाका क्षणहरू पार गरेर
रक्तरञ्जित हुँदै कहालिँदै
यो धरती टेकेको मानिस
निस्पट्ट अँध्यारोबाट जाज्वल्यमान प्रकाशमा
आँखा तिर्मिराउँदै
पहिलो पटक श्वास प्रश्वास लिँदा
निस्सासिँदै कहाल्लिँदै
प्रारम्भ भएको जीवन–यात्रा मानिसको ।

त्यसपछिका दिनहरू पनि
हुँदै भएनन् सोचे जस्तो
जताततै मुख बाएर बसेका मृत्यु–दुतहरू
ब्याधीहरू, अत्यासहरू, षडयन्त्रहरू, धरापहरू
जीवनयापनका सूत्रहरू खोज्नु पर्ने चुनौतीहरू
जीवन–मार्गमा भेटिएका दुई खुट्टे ब्याँसाहरू
छलि र रचनाकारहरूका प्रपञ्चहरू
समस्याका चक्रब्युहहरू
हुरीहरू, आँधीहरू र सुनामीहरू
दायिङ्खवबोध र कर्तब्यबोधका गह«ौँ भारीहरू
सबै नै पार गरेर
अँध्यारो परिवेशमा दियो जस्तो बलेर
जगमगाएको जून जस्तो
मगमगाएको फूल जस्तो
जीवन मानिसको ।

रक्तपिपासुहरू,
अपराधीहरू, विवेकहीन
र, स्वार्थका भकारीहरूका लागि
छलीहरूका लागि विश्वासघातीहरूका लागि
हारेर, थाकेर जीवनका जटिल आयामहरूमा
सृजनाको मुहान सुकाएर
सुन्दर जीवन पत्रपत्र चुँडालेर फालेर
किन लम्पसार पर्छन् मानिस
किन छनोट गर्छन् संवेदनशील मस्तिष्कहरू
हिउँ जस्ता चिसा अँगालाहरू मृत्युका ?

मानिस
आफ्नो इच्छाले मात्र अवतरित हुँदैन धरतीमा
के जीवन आफ्नै लागि मात्र हो ?
के सन्तुष्टि आफ्नै मात्र ठूलो हो ?
नदी जस्तो प्रवाहमय जीवन
उर्वर फाँटहरूका लागि हो
एउटा थोपा पनि खेर नजाओस्
जीवन सृष्टिको विन्दु
बरु उज्यालो मोती बनोस्
अन्धकारहरू चिर्ने अखण्ड ज्योति बनोस्
त्यसैले जीवन सृष्टिको दिव्य वृष्टि बनोस्
नष्ट नहोस् दुष्टहरूका लागि
किङ्कर्तव्यविहीन भएर सुन्दर पटक्कै हुँदै हुँदैनन्
सुन्दर पटक्कै हुँदै हुँदैनन् मृत्युका चिसा तन्नाहरू
किङ्कतव्यविहीन भएर
शालिग्राम बन्छ कसरी एउटा निर्जीव ढुङ्गो ?
ठोक्किँदै, गुडुल्किँदै नदीमा भीषण बाढीहरूमा
घोटिँदै, रगडिँदै
यताबाट उताउताबाट यता हुत्तिँदै
तय गर्दै जाँदा एउटा कष्टप्रदः यात्रा
यदि कमजोर भयो फुट्यो भने बीचैमा
त्यो मात्र ढुङ्गो हुन्छ निरिह ढुङ्गो
शालिग्राम बन्दैन पुजनीय हुँदैन
बत्ति आफै नजली उज्यालो छर्दैन
गाह«ो त गाह«ो छ जटिल जीवन–यात्रा
आइलाग्छन् जब जङ्घारहरू भने
मिल्दै मिल्दैन तिघ्रा कमाउन
विस्तार विस्तार छिचलिँदै जान्छन् अक्करहरू
पैताला टेक्न मात्र पर्छ दह«ो गरी
भुमरीहरू, छाल र तरङ्गहरू
पछिपछि छुट्दै जान्छन् कठिनाइँहरू
शायद यही नै हो जीवन, अनि यात्रा जीवनको
किन बुझ्दैनन् संवेदनशील मस्तिष्कहरू
र, मुख्र्याइँ गर्दै रोज्न पुग्छन्
हिउँ जस्ता चिसा डरलाग्दा तन्नाहरू मृत्युका ।

(प्रलेस काठमाडौँद्वारा २०७१ असार १३ गते आयोजित एकल कविता वाचन कार्यक्रममा वाचित कविता)

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३२ – July 2, 2014 – २०७१ असार १८ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.