कथा : रानी तरुल

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए । उनले झाडीमा परैबाट सेता रौँ मात्रै देखे । बाघ–भालु वा कुनै जनावर भन्ठानेर निसाना साधिरहेका थिए, उनको बाणमा डाँफे चरी आएर बस्यो । उनले डाँफे चरीको शरीरभरि हेरे । एकाएक उनको मनमा माटो, मान्छे र प्राणीको माया बढेर आयो । डाँफे उडेर उनले निसाना साधिरहेको सेता रौंमाथि बस्न पुग्यो ।

राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए ।उनले झाडीमा परैबाट सेता रौँ मात्रै देखे । बाघ–भालु वा कुनै जनावर भन्ठानेर निसाना साधिरहेका थिए, उनको बाणमा डाँफे चरी आएर बस्यो । उनले डाँफे चरीको शरीरभरि हेरे । एकाएक उनको मनमा माटो, मान्छे र प्राणीको माया बढेर आयो । डाँफे उडेर उनले निसाना साधिरहेको सेता रौंमाथि बस्न पुग्यो । बाण नचलाई उनी सरासर डाँफे भएतिर गए ।

‘को हौ तिमी, किन वाण चलाएनौ ?’ एक वृद्धाले सोधिन् ।

‘म यो देशको राजा पृथ्वीन्द्र हुँ । भन, तिमी कुन इच्छाले यहाँ छौ ? म तिम्रो इच्छा पूरा गरिदिन्छु ।’

वृद्धा फिस्स हाँसेर बोलिन्, ‘होला, तिमी यो देशको राजा नै हौला । तर, तिमी यो देशको राजा हुनु र नहुनुले मलाई यो उमेरसम्म कुनै फरक पारेन । यी दुई ढुंगाबीच रानीतरुल छ । यसलाई सिंगै निकालेर मलाई देऊ । यसले मेरो जुनीभरिको भोक मेट्नेछ । अनि मात्रै म तिमीलाई राजा मानौंला ।’

सिकारी केही नबोली तरुल खन्न लागे । बडो मेहनतले उनले तरुल निकालेर वृद्धालाई दिँदै भने, ‘मेरा साना दु:खले आज्र्याको तरुल होइन । यसका साना टुक्रा पनि खेर नजावोस्, चेतना भया ।’

राजाले यति गरिसक्दा त्यहाँ उनका सिपाही पनि आइपुग्छन् । सिकार पछ्याउँदै राजा वनमा एक्लै हुन पुगेका थिए ।

राजाले सोधे, ‘को हौ तिमी ? तिम्रा सन्तान छन् कि छैनन् ? यो तरुल लिएर कहाँ जान्छ्यौ ?’

‘मेरो नाम भूमिसरा हो । पर बस्तीछेउ मेरो झुपडी छ । मेरा बाह्रभाइ छोरा छन् । तर, मेरा पतिको देहान्तपछि मलाई सन्तानले हेरेनन् । अहिले एक्लै बस्छु । भिक्षा मागेर वा वनमा कन्दमूल खोजेर काल पर्खंदै छु,’ वृद्धाले जवाफ दिइन् ।
राजा केही बोलेनन् । भूमिसरा लामो तरुलको भारी बोकेर झुपडीमा फर्किइन् ।

*********************

पाँच बीस हिउँदका भोटो फटालेकी भूमिसरा रानीवनमा कन्दमूल खोज्दै थिइन् । उनका दसनंग्रा दुई भीमकाय ढुंगाबीचको रानीतरुलमा पर्‍यो, जसलाई खनेर निकाल्नु उनका लागि कल्पना र सपनाजस्तै थियो ।

उनले माथिको थोरै माटो खोस्रेर तरुललाई छोएर मात्रै बसेकी थिइन् । जस्तो, उनले आफ्नै शरीरको कुनै यस्तो भाग छोएकी थिइन्, जहाँ छुँदा उनलाई आफू हुनुको बोध भएको थियो । त्यही बेला राजा पृथ्वीन्द्र पुगेका थिए ।

झुपडीमा फर्केर उनले तरुल खान थालिन् । आश्चर्य, तरुलको बीचमा एउटा तरबार थियो । उनले ठानिन्, कुनै वीर पुरुषले तरबार गाडेको थियो होला, त्यहीं तरुल फल्न पुग्यो ।

विशेष धातुले बनेको धारिलो र चम्किलो तरबार बहुमूल्य रत्न जडिएको म्यानभित्र थियो । धेरै दिनकी भोकी भूमिसराले मध्यरातसम्म सबै तरुल खाइसकिन् र मीठो निद्रा निदाइन् ।

**********

अलख, अलख, अलख…

एकाबिहानै सन्न्यासीको आवाज सुनियो, भूमिसरा ब्युँझिइन् । उनीसँग भीक्षा दिन योग्य केही थिएन । तर, उनको आँखा तरबारमा पर्‍यो । तरबार लिएर उनी दैलोमा झुल्किइन् ।

‘हे महात्मा † मेरो झुपडीमा अन्न, फलफूल वा धन–सम्पत्ति केही छैन, यही एउटा तरबार छ, जो भीक्षाका लागि योग्य होइन । बरु यो मेरो वृद्ध शरीर नै हजुरलाई सुम्पन्छु । अब म कति नै बाँच्छु र ? शेष जीवन हजुरको सेवा गरेर गुजार्नेछु । जीवनका अन्तिम घडीहरू हजुरजस्तो महात्माको सेवा गरेर बिताउनु मेरो सौभाग्य नै हो ।’

सन्न्यासीले भूमिसरालाई केही बेर नियाले र मुसुमुसु हाँस्दै भने, ‘तिमीजस्ती तरुनीभन्दा त त्यो तरबार नै यो सन्न्यासीका लागि कामको छ ।’

सन्न्यासीले आफूलाई तरुनी भनेपछि भूमिसरा आश्चर्यमा पर्छिन् । तर, अन्तर्यामी सन्न्यासीले भूमिसराको भूत र भविष्य देखिसकेका थिए ।

सन्न्यासी बोले, ‘बालिके † हिजोसम्म तिमी वृद्धा थियौ । तर, अहिले तिम्रो यौवन फर्केको छ । जब तिमीले राजा पृथ्वीन्द्रले दिएको तरुल खायौ, रातारात युवती भयौ । त्यो रानीतरुलमा वृद्धालाई जवान बनाउने तत्त्व थियो ।’

तरुल खाएर सुतेकी भूमिसराले आफूलाई नियाल्नै भ्याएकी थिइनन्, सन्न्यासीले भनेपछि नियालिन् । साँच्चिकै हात–पाखुरा, छाती, पेट हृष्टपुष्ट थिए । उनलाई अझ विश्वास लागेन, म्यानबाट निकालेर चिल्लो र चम्किलो तरबारमा उनले आफ्नो प्रतिबिम्ब हेरिन्, अनुहार यौवनले भरिएको थियो ।

उनी सन्न्यासीलाई हेरेर लजाइन् र तुरुन्तै मलिन मुद्रामा बोलिन्, ‘हे महात्मा, यो यौवनलाई म के गरूँ ? म त हिजो विधुवा नारी थिएँ ।’

‘हे बालिके † तिमीले पति गुमायौ, सत्य हो । यो पनि सत्य हो, विचार कहिल्यै विधवा हुन सक्दैन, परन्तु बनाइन्छ । यो यौवनलाई भोग गर । तर, तिमीले आफ्नो यौवनलाई भोग गर्दा अन्य मनुष्यलाई साँचो अर्थमा संकट पर्नु हुँदैन ।’

‘हे महात्मा † हजुरको पछिल्लो भनाइ बुझ्न सकिनँ, प्रस्ट पारिदिनुहुन्थ्यो कि †’

‘बालिके † यस विषयमा तिमी स्वयं विचार गर । प्रकृतिले तिमीलाई विचार गर्ने शक्ति र विवेक दिएको छ । किन्तु म तिमीलाई यो जवानी भोग्ने बाटो भने देखाइदिन्छु—
पर नदीमा डुंगा लाग्ने ठाउँ छ, त्यहीँ किनारमा यो तरबार लिएर बस्नू । त्यहाँ थुप्रै पुरुष ओहोर–दोहोर गर्छन् ।

जो पुरुषले तिमीलाई नहेरी तरबारलाई हेर्नेछ, उसलाई तिमीले ख्याल गर्नू । उसले दायाँ हातले तरबारको बिँड र बायाँले म्यानको पिँध समाउनेछ । अनि, म्यानबाट तरबार निकालेर टुप्पो माथितिर पारेर धार आफूतिर फर्काउनेछ । त्यसपछि आँखा नझिम्काईन टुप्पोदेखि पिँधसम्म तरबारको धारलाई नियाल्नेछ । यो विधिअनुसार गर्ने पुरुष नै तिमीले पति वरण गर्न योग्य छ ।

यति युक्ति दिएर सन्न्यासी आफ्नो बाटो लागे ।

******************

सन्न्यासीले भनेबमोजिम भूमिसरा बिहानैदेखि तरबार लिएर बसिन् । कैयौँ पुरुष ओहोरदोहोर गरे, तर कसैले तरबारलाई हेरेनन्, उनको यौवनलाई मात्रै नियाले । साँझ पर्दै थियो, उनी भोकले शिथिल हुँदै गएकी थिइन् । सन्न्यासीले भनेजस्तो पुरुष आउला भन्ने आशा मर्दै गएको थियो ।

त्यही बेला एक पुरुष झुल्किए । उनको नजरको निसाना केवल तरबार थियो । जस्तो, उनका लागि त्यहाँ तरबारबाहेक अरू कुनै चीजको अस्तित्व छैन, भूमिसरालाई त उनले देख्दै देखेका छैनन् । उसको सुगठित शरीर, कतै निसाना सोधिरहेका जस्ता नजर, कुनै लामो यात्रामा निस्केका जस्ता कदम— भूमिसरा सम्मोहित हुन पुगिन् ।

सन्न्यासीले भनेबमोजिम नै उनले तरबार उठाएर धार नियाले ।

‘हे अनिन्द्य सुन्दरी, मलाई तिम्रो तरबार देऊ, यसका लागि मैल कस्तो मूल्य चुकाउनुपर्छ ?’

भूमिसराले भनिन्, ‘म एक्ली छु, मलाई साथ दिने कोही छैन । मेरो जीवन यो तरबारसँग जोडिएको छ । जसले यो तरबारको मूल्य र महत्त्व बुझ्छ, उसैले मेरो रक्षा गर्न सक्छ । त्यसैले यो तरबार लैजाने हो भने, मलाई पनि अर्धांगिनी बनाएर लैजानुपर्छ ।’

‘हे सुन्दरी, मेरो नाम समर हो । म निकै लामो यात्राका निम्ति निस्केको हुँ, धेरै जंघार तर्नु छ । मसँगै जाँदा तिमीलाई कष्ट हुन सक्छ । अहिले म यो तरबार लिएर जान्छु । यात्राको लक्ष्य प्राप्त गरेपछि फर्केर तिमीलाई लैजानेछु ।’

‘यस्तो नपुंसक कुरा नगर । कि सन्न्यासी भएर हिँड, तरबार बोकेर हिँड्ने पुरुष स्त्रीदेखि भागेर कहीँ पुग्न सक्दैन,’ भूमिसराले भनिन्, ‘स्त्रीदेखि भाग्ने पुरुषलाई तरबार बोक्ने हक हुँदैन ।’

समर केही नबोली भूमिसराको हात समाएर बाटो लागे ।

***************

वनमा सिकार गरेर समरले आहारको जोहो गरे । वनकै एउटा गुफामा बास बसेका थिए । राति मानिसहरूको समूहले समरलाई आक्रमण गर्‍यो । भूमिसरा मस्त निद्रामा थिइन् । उनको पाउनेर रगत बग्दै आयो, ब्युँझेर हेर्दा बडो वीरतापूर्वक समरले तरबार नचाइरहेका थिए ।

उनले गहिरिएर नियालिन्, त्यहाँ समरसँग युद्ध गर्ने उनकै बाह्र भाइ छोरा र नातिहरूमध्येकै थिए । उनीहरूले हार स्वीकार गरिसकेका थिए ।

भूमिसराले सोधिन्, ‘तिमीहरू केका लागि यहाँ युद्ध गर्न आयौ ?’

एकजनाले जवाफ दियो, ‘तिम्रो यौवनको धार सामान्य पुरुषलाई रेट्न काफी छ, हामी आसक्त भएर तिम्रो जवानी भोग गर्न यहाँ आएका हौँ ।’

रातारात वृद्धाबाट युवती हुन पुगेकी आफ्नी आमालाई उनीहरूले चिन्ने कुनै आधार थिएन । तर, उनीहरूले अर्काकी स्त्रीप्रति बद्नियत राखेका थिए । आफ्ना सन्तानले विवेक गुमाएको दु:खमा भूमिसराका आँखा बर्सन्छन् । उनले यति मात्रै भनिन्, ‘तिमीहरूकी आमा पनि बैंसमा मजस्तै थिइन् ।’

हातमा चिराग लिएर हिँडेका समर र भूमिसरा एक सन्न्यासीको कुटीमा पुगे । मध्यरातमा आफ्नो कुटीछेउ को आयो ? सन्न्यासीले परीक्षा लिए, तन्त्रमन्त्रले वशमा पारेको एउटा साँपलाई उनीहरू नजिकै फालेर । समरले भूमिसरालाई आफ्नो पछाडि राखेर म्यानबाट तरबार निकाले । यो काम उनले यति वेगले गरेका थिए, भूमिसरालाई लाग्यो— आफूलाई बचाउन त्यहाँ मान्छे होइन, देवता अघि सरेको छ ।

त्यही बेला सन्न्यासी बोले, ‘नडराऊ, साँपले केही गर्दैन ।’

भूमिसराले सन्न्यासीलाई चिनिहालिन्, जसले उनलाई उपयुक्त वर छान्ने उक्ति दिएका थिए ।

सामान्य कुराकानीपछि सन्न्यासीले उनीहरूलाई आफ्नो कुटीको पिँढीमा बास दिए ।

उनले भूमिसरालाई भने, ‘बालिके, तिमीले उपयुक्त वर छानिछौ । एकपटक तिम्रो पतिको सौर्य अधिराज्यभरि बिजुली चम्केसरी फैलनेछ । एकपटक ऊ यस राज्यको राजा नै हुनेछ । तर, यो ख्याल गर– तिम्रो पतिको वीरता, धैर्य र विद्वताको आयु निकै कम छ । अहिले आफ्नो स्वाभिमानमा आँच आएकाले ऊ निकै बुद्धिमान बन्न पुगेको हो । तर, सत्ता र शक्तिमा पुगेपछि यसले पनि विवेक गुमाउनेछ ।’

सन्न्यासीका कुरा समरले पनि उत्सुकतापूर्वक सुनेका थिए । उनले सोधे, ‘हे महात्मा, शक्तिमा पुगेपछि मैले विवेक गुमाउने नै छु भन्ने आधार के छ ?’

‘सुन राजकुमार, राज्यको गर्भैमा शस्त्र हुन्छ, शस्त्रको बलले नै राज्य जन्मने हो । शस्त्रको स्वामी बन्न पुगेपछि जो–कोही मानिसमा अहंकार बढ्दै जान्छ र विवेक गुमाउँछ ।’

सन्न्यासीले आफ्ना पतिलाई राजकुमार भनी सम्बोधन गरेपछि भूमिसराको अनुहारमा आश्चर्य र आनन्दानुभूतिका रेखा देखिन्छन् ।

सन्न्यासी बोले, ‘बालिके, तिम्रो उमेर र अनुभव मेरोभन्दा बढी हो । तर, आज समयले तिमीलाई युवती बनाएको छ । तर, यो कुरा समरलाई थाहा छैन । र, समर यो देशका राजकुमार हुन् भन्ने तिमीलाई थाहा छैन ।’

सन्न्यासीका कुराले दुवै मुखामुख गरे । समरलाई पनि लागेको थियो— तरबार लिएर बाटोमा पुरुषको परीक्षा लिने युवती साधारण होइन भन्ने ।

अर्कोतिर, आफूलाई भेटेदेखि नै पाइला–पाइलामा परीक्षा दिँदै आएका समर विशेष पुरुष हुन् भन्ने भूमिसरालाई विश्वास थियो । तर, राजकुमार नै हुन् भन्नेमा विश्वस्त थिइनन् ।

सन्न्यासीले समरबारे बताए, ‘हिमालय पर्वत फेदीका राजा पृथ्वीन्द्रका तीन भाइ छोरा छन्, तीमध्येका कान्छा हुन् समर । जेठा सम्राट र माहिला सांसद सुरा–सुन्दरीतिर मन बहलाउँदै छन् । राज्यको ढुकुटी रित्याउन उद्यत् छन् । शक्तिको उन्मादमा प्रजालाई शोषण गर्दा उनीहरूलाई आनन्द आउँछ । समरलाई यो सब मन परेन । भोका–नांगा जनताको साथ लिएर राज्यलाई सार्वभौम र सम्पन्न बनाउने, सबैलाई समान न्याय हुनुपर्ने समरले सपना देखे । यस्तै चिन्तन गर्दै उनी दरबारबाट निस्केका हुन्, बाटोमा तिमीलाई भेटे ।’
सन्न्यासीले भूमिसरा वृद्धाबाट तरुनी हुन् पुगेको कथा पनि समरलाई बताए । विशेष खालको जीवनसाथी पाएको खुसीमा समर र भूमिसराले एकले अर्कालाई अंकमाल गरे ।

सन्न्यासीले समरलाई भने, ‘तिमीले जुन सपना देखेका छौ, त्यसलाई पूरा गर्नु नै तिम्रो धर्म हो । तर, यसका लागि तिमीलाई भौतिक जगतको केही ज्ञान अनिवार्य छ । म एउटा पुस्तक दिन्छु, सिरानीमा राखेर सुत्नू । तिमीले अवश्य सपना देख्ने छौ, त्यसलाई मनन गर्नू ।’

यति भनेर बाबा कुटीभित्र ध्यानमा हराउन थाले ।

****************

अँगालोमा भूमिसरालाई र पुस्तकलाई सिरानीमा राखेर समर निदाए । नभन्दै उनले सपना देखे—
भयानक भूकम्प आउँछ र धर्तीमा ठूलो धाँजा पर्छ । त्यही धाँजाबाट एउटी यमानकी निर्वस्त्र स्त्री निस्कन्छिन् । उनले मूत्र त्याग गर्छिन्, नदी बन्छ । मल त्याग गर्छिन्, हिमाल–पहाड बन्छ । जहाँ उनले पाइला राख्छिन्, त्यहाँ हरियाली फाँट बन्छ । त्यसपछि उनले ह्वारह्वार्ती अनेक प्रजातिका कीरा–फट्याङ्ग्रा, माछा प्रजातिदेखि पक्षी–प्राणी जन्माउन थाल्छिन् । यति जन्माउँछिन् कि सारा पृथ्वी भरिन्छ ।

त्यसपछि उनी धर्तीमा ढल्छिन् । उनीमाथि एउटा ठूलो रुख उम्रन्छ, फल फल्छ । जुन फल खाने मानिस सभ्य, सुखी र समृद्ध बन्छन् ।

उनले जन्माएका मानिसहरू समूह–समूहमा बाँडिएका हुन्छन् । बेला–बेला युद्ध गर्छन् र धर्तीमा आ–आफ्नो राज्यको सिमाना कोर्छन् । अनि, समृद्धिफलका लागि राज्यहरूबीच युद्ध हुन्छ र अन्तत: राज्यको आ–आफ्नो सीमा र शक्तिअनुसार बर्सेनि फल बाँड्ने सम्झौता गरिन्छ ।

यसरी बाँडिएको समृद्धिफल प्रत्येक राज्यका शासक, शासकका आसेपासे र ठूलाबडाले मात्रै खान पाउँछन् । राज्यका थुप्रै जनता समृद्धिफल खान नपाएर राज्यबाट उपेक्षित र उत्पीडित हुन पुग्छन् । त्यसपछि उनीहरू एकजुट भएर समृद्धिफल सबैलाई समान वितरण गर्न माग गर्छन् । अन्तत: युद्ध नै गर्नुपर्ने स्थिति आउँछ । फल खान नपाएका वृद्धवृद्धा, बालबालिका, स्त्रीहरू पनि युद्धमा होमिन्छन् ।

डरलाग्दो युद्ध हुँदै थियो, समर सपनाबाट ब्युँझिए ।

पसिनैपसिना भएर ठूलो श्वास फेर्दै उनी उठेपछि भूमिसरा पनि ब्युँझिइन् । समरले भूमिसरालाई सपनाबारे बताए ।

भूमिसराले समरलाई भनिन्, ‘हजुरले पनि राज्यका सम्पूर्ण जनतालाई समान न्याय दिनका लागि जस्तोसुकै बलिदानी दिनुपर्छ, दिनुस् । म साथ दिनेछु ।’

******************

भूमिसराका सन्तानले सात डाँडा ढाकेको थियो । समर र भूमिसरा दुवै त्यहाँ गए । समरले भने, ‘तपाईंहरू दु:ख, गरिबी, रोगले पीडित हुनुहुन्छ । तर, यहाँ सुख–सयलमा बाँच्नेहरू पनि छन् । सरकारले चाहन्थ्यो भने, कोही हुनेखाने र कोही हुँदा खाने हुनुपर्दैनथ्यो । तर, उसलाई कुनै चासो छैन । त्यसैले अब हामीले सरकारसँग समान सुखको माग गर्नुपर्छ र नपाए लड्नुपर्छ ।’

समरको कुरालाई गाउँलेले सुन्न त रमाइलो माने, तर लडिहाल्ने हिम्मत गरेनन् । उनीहरूलाई ऊर्जा दिन भूमिसराले आफू युवती हुन पुगेको वास्तविकता र आफ्ना सन्तानकै लागि आफू समरसँग लडाइँमा सामेल भएको पनि बताइन् । तर, गाउँलेले उनको कुरालाई झनै बतासे सम्झे ।

त्यहीबेला एक बालिका पेट खायो भनेर छटपटाउन थालिन् । गाउँलेहरू बालिकालाई धामीकहाँ लैजाने तर्खर गर्दै थिए, सन्न्यासी आइपुगे । उनले भने, ‘मसँग यस्तो बुटी छ, यसलाई मात्रा मिलाएर खाएपछि बालिकालाई निको मात्रै हुँदैन, हप्तादिनमै उनी तरुनी हुनेछिन् ।’

बुटी दिएर गएका सन्न्यासी हप्ता दिनपछि फेरि आए । नभन्दै बालिका तरुनी भएकी थिइन् । उनले भने, ‘तिमीहरूलाई आफ्नै राज्यको भीर–पखेरामा कति बहुमूल्य जडीबुटी छन् भन्ने थाहा छैन । यति मात्रै ज्ञान हुन्थ्यो भने, यो राज्य सधैँ जवान हुने थियो ।’
बाबाको काम र कुराले गाउँलेलाई बोध र विश्वास भयो कि आमा भूमिसरा रानीतरुलले नै तरुनी बन्न पुगेकी हुन् । उनीहरूले समरलाई युद्धमा साथ दिने भए ।

***************

बुवा पृथ्वीन्द्रको देहावसानपछि राजकाज समरका दाजु सम्राट्ले चलाएका थिए । समरले सम्राट्लाई भेटेर समृद्धिफल देशका सम्पूर्ण नागरिकलाई समान वितरण गर्न माग गरे । यसो नभए देशका भोकानांगा जनतालाई लिएर आफू युद्धमा जाने निर्णय पनि सुनाए । तर, सम्राट्ले भाइका कुरालाई केटाकेटी रिस सम्झे । अन्तत: दाजुभाइबीच दस वर्ष युद्ध चल्यो । राज्यका हजारौँ नागरिकले ज्यान गुमाए । सयौं घाइते भए, कति नारी बलात्कृत भए ।

युद्धमा सधैं सफलता मिल्दैनथ्यो, कहिले नराम्रो हार पनि बेहोर्नुपथ्र्यो । जस्तोसुकै अवस्थामा भूमिसराले समरलाई साथ र साहस दिइन् ।

उता, आफूलाई वास्तै नगरी तानाशाही लाद्न थालेपछि सांसद् पनि दाजु सम्राट्सँग चिढिए र भाइ समरसँग सम्झौता गर्न पुगे । अनि, दुई भाइ मिलेर तानाशाह सम्राट्को सत्ता ढलाए र सत्ताको भागबन्डा गरे ।

त्यसपछि समरको दैनिकी फेरिन थाल्यो । दरबारको सुखसयल, रथमा सवार, चारैतिरबाट सिपाहीको सुरक्षा— समर सत्ताको केन्द्रमा थिए ।

उनका दाइ सांसद पनि सत्ता र शक्तिमा रमाउँदै थिए । उनले त सत्ताकै लोभमा भाइ समरसँग सम्झौता गरेका थिए । कुनै पनि मूल्यमा दाजु सम्राट्को हातबाट सत्ता खोसेर आफू सत्तामा जाने सांसद्को भव्य–योजना नै थियो ।

समरमा सत्ता र शक्तिको उन्माद यति चढ्यो, सत्ता प्राप्तिका लागि उनले हिजो जसलाई साथ लिएर युद्ध गरेका थिए, उनीहरूलाई नै भुल्न पुगे ।

फेरि पनि समृद्धिफलमा राज्यका ठूलाबडाकै रजाइँ चल्यो ।

‘हे पतिदेव † हिजो हजुरले राज्यका दीनदु:खी जनतालाई जे वाचा गर्नुभएको थियो, त्यो भुल्दै हुनुहुन्छ,’ भूमिसराले समरलाई बेला–बेला सम्झाउँदै थिइन् । तर, सत्ता सुख र शक्तिको उन्मादले समर उत्पीडित जनताको नाम सुन्दा पनि नाक खुम्च्याउने भएका थिए ।

योबीचमा भूमिसराका दुई सन्तान भए— छोरा समृद्ध र छोरी समता । दुवैले न्यायशास्त्र अध्ययन गर्न चाहे । समरले दुवैलाई अध्ययनका लागि परदेश पठाएका थिए । समरको व्यक्तिगत जीवन आनन्दले चल्दै थियो ।

एक दिन समर र सांसद दरबारमा मदिरा पिउँदै थिए । बाहिर थुप्रै भोका–नांगा नागरिक समरलाई भेट्न आए, जसमा हिजो युद्धमा समरलाई साथ दिने जनसेना पनि थिए ।

‘हे पतिदेव † बाहिर भोका–नांगा जनता र हिजोका हाम्रा जनसेना आएका छन् । एकचोटि बाहिर निस्केर भेट दिनुहुन्थ्यो कि †’ भूमिसराले समरसँग अनुरोध गरिन्, ‘समृद्धिफल सबैलाई समान वितरण हुन्छ भनी आश्वासन दिनुहुन्थ्यो कि †’

भूमिसराको कुरा सांसदलाई मन पर्दैन । ‘अब जनतालाई झूटा आश्वासन र सपना बाँड्न छाड्नुस् । हिजो जसरी चलेको थियो, अब पनि सरकार उसरी नै चल्छ । हिजो जसरी जनतालाई सपना देखाएर युद्धमा होम्नुभयो, सकियो । यो समानता, न्याय त शासकले शक्तिमा आउनका लागि फाल्ने पासा हो,’ सांसद्ले भूमिसरालाई भने, ‘अहिले हामीलाई नबिथोल्नुस्, हामी भोजमा रमाइरहेका छौँ ।’

सांसदका कुराले भूमिसरा रिसले चुर हुन्छिन् । उनले सांसदको गालामा एक झापड लगाएर भन्छिन्, ‘सपना बाँडेर बाँडिने चीज होइन, जनताको चेतनाले देख्ने कुरा हो । जनताको चेतना खुलिसकेको छ, अब कसैले सपना बाँड्न आवश्यक छैन । उनीहरू आफैँ सपना देख्न सक्षम छन् ।’

भूमिसराले सांसदलाई हात उठाएपछि भोजको माहोल खलबलिन्छ ।

सांसद्ले भूमिसरालाई कारबाहीको माग गर्छन् । समर मदिराले लट्ठ थिए । उनी पनि दाजुकै लहैलहैमा लागे । विवेक गुमाउँदै गएका समरले भूमिसरालाई तत्कालै फासीको सजाए दिन आदेश दिए ।

******************

भूमिसरालाई सिपाहीहरूले वनमा लिएर गए, जहाँ उनले धेरै वर्षपहिले रानीतरुल भेटेकी थिइन् । रानीतरुल निकालेको खाडल ढिकमा एउटा रुख थियो । त्यहीँ उनलाई झुन्ड्याइयो । झुन्डिँदै गर्दा उनले एउटा चम्किलो तरबार आफूतिर फनफनी घुम्दै आएको देखिन्, जुन तरबार उनले रानीतरुलभित्र भेटेकी थिइन्, जसलाई उनले एक झल्कोमै चिन्न सक्थिन् । त्यही तरबारले उनको पासो काट्यो । तर, उनी भुइँमा बजारिन पाइनन्, कसैले उनलाई दुई हातले थामेको थियो । त्यसरी थाम्ने उनकै छोरी समता थिइन् । उनले यसो पर आँखा लगाइन्, घोडामा उनका छोरा समृद्ध थिए । उनको कम्मरमा रित्तो म्यान हल्लिरहेको थियो, आँखामा आमाको मायाको आगो थियो ।

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.