~केदार श्रेष्ठ~
नीला, निर्मल
आकाशको काखमा
उज्यालो आँखा लिएर
शीतल हावालाई अगालो हाल्दै
आकाशैसङ्ग पाखुरी मिलाउँदै
निर्धक्क कावा खाइरहेका
पंक्षी देख्दा
आँखाले
असन्तुष्टिका धर्साहरु
आखाभरी छताछुल्ल पार्छ
सधै ट्वाल्ल परिरहने
आँखाहरु
न्यानो काखको निम्ति
छाम-छाम-छुम-छुम गर्न थाल्छ
ढुङ्गा-मुढा बाहेक
अरु नभेटिएपछि
मन चसक्क…..चस्किन्छ
मुटु दुख्छ, मन रुन्छ
आखाले आँसु खसाल्छ
अनि
थाक्रो खोसिएको
काक्राका त्यान्द्रासङ्ग उभिन पुग्छ ।
भर्खर धर्तीमा
बसाइसरेका
कपासे चल्लाहरु
अवोध चीं चीं सङ्गै
आमाको मुखमा
निर्दोष आँखा खसाल्दा
आमाले कुनै कस नराखी
ढपक्क ढाक्दा
एकाएक मुखहरु “आमा” भनेर
चिच्याउन खोज्छ
मुखमा पीन ठोकिएको पाएपछि
यथार्थमा झर्छ ।
हो, हामीलाई
संसारमा उतारेको माटो
तोतेबोलीबाट स्वर झिकाउदै
ताते गराउदै, हुर्काएको भूमी
हामी माथि, दुध सिंचाई गरेको
यो भूमीलाई
हामीले कहिल्यै निर्धक्क भएर
अङ्गालो हाल्न पाएनौ”
अहँ यो आफ्नै माटोलाई
“मेरी आमा”
“मेरो देश” भनेर
कहिल्यै भन्न पाएनौ
न हामीलाई,
धरतीले, माटोले
“मेरो बाबा”
“मेरो नानी” भन्दै
गाला सुमसुमाउन पायो
हाम्रो पाइतालाको आधारलाई
वर्षौदेखि
एउटैले पेवा बनायो ।
यहाँ परिवर्तनले
राको नदन्काएको पनि होइन
राकोले चिसो मूढा नसल्काएपछि
राकोकै अघि मूढाहरु मौलाएपछि
परिवर्तनले
परिवर्तन ल्याउन सकेन
उज्यालो ल्याएपनि
घामले न्यानो र्छन सकेन
चिसोले थलिएका ढडहरुमा
कष्ट घटाउदै घटाएन
अहँ घामले
‘विहान’ ल्याउदै ल्याएन ।
शिशीर चिर्दै
वसन्तले नि पालो पाएको हो
तर वसन्तले
न ‘सुन्दर फूल’ फूलाउन सक्यो
न प्रगतिको फड्को मार्ने
‘पुल’ बनाउन सक्यो
न रक्तपिपासु लामखुट्टेबाट बच्ने
‘झुल’ बुन्न सक्यो
वसन्त आफै खोक्रिएर आयो
धनुष्टङ्कारले कुप्रिएर आयो
अह वसन्तले
वगैंचा सजाउदै सजाएन
सुगन्ध र्छर्दै छरेन ।
तैपनि
नया बाटोका निम्ति
नीला आकाशका निम्ति
गलेका छैनन्
हातहरु
थाकेका छैनन्
आखाहरु
रोकेका छैनन्
पाइलाहरु
यी त झन् झन्
जिउदा भएका छन्
झन् झन्
फूर्तिला भएका छन्
देख्न छाडेका छैनन्
सपना
नौलो संसारको
मरेका छैनन्
आशा
यो त झन् जागृत भएका छन्
यही त हो
हामीले बाचेको यथार्थता
अनि यही त हो
युगले अङ्गालेको ‘हाम्रो कविता’ ।
——————
धादिङ्ग