~भीम खतिवडा~
अत्याधुनिक युगमा जन्म लिएकामा चिन्ताले पोल्दैछ मन। चिम्पान्जीको क्रममा नै जुनी मिले आज अनुसन्धेय भैसकिन्थ्यो। बाह्रौँ शताब्दीको मगल अब एक्काइसौँ शताब्दीमा के उड्न सकोस्। गँगटो जन्मतः च्याप्न जान्दछ शत्रुलाई। सूर्य म नजन्मिएकै भए नि हुन्थ्यो। मान्छेहरू जन्मने र मर्ने गर्छन्। हावा अडिँदैन एकै ठाउँ। प्रकृति रोएको बेला मान्छे हाँस्न कहाँ सक्छ र !
युग रङरोगनको छ, चित्रविचित्रको छ। मान्छेहरू डार्विनले बाँधेको विकासको अनुपूर्वितालाई खण्डन गर्न पुनः रामापिथेकस बन्ने अभ्यासमा छन्। मगज धुवाँभित्र छ। आधुनिकता रबाफमा, सान टाईमा, मान ‘हेल्लो-हाई’मा केन्द्रित छ। सामान्यतया अवहेलना अनुभूत गर्दछ। हो, सामान्य बाँच्न मर्दैछ। विशिष्टहरू मार्न बाँच्दैछन्। ठिटाहरू केसमा‘आज’ देख्छन्, ठिटीहरू आँखामा। वर्तमान गिटीका थुप्रामा जीवन खोज्दै गरेका ठूले र सानीको पेट देख्दैन। धर्मका कुरा गर्नेहरू मात्र पापबाट डराउँछन् र ? मन्दिर शान्तिको विश्रामस्थल हो, पुजारीहरू आधुनिक भगवान्। कलङ्क मान्छे र तिनका क्रियाकलाप।
घाँटीमा पासो भिर्नेहरू आफूलाई जेन्टलम्यान सम्झिन्छन्। पूर्वतिर फर्केर पिच्च थुक्दै बाबाको पूजाको शङ्खघण्टसँग नाक खुम्च्याउँछन्। अङ्ग्रेजीलाई सर्वस्व ठानेर आमाको न्यानो काखदेखिको भाषाप्रति घृणाभावको अभिव्यक्ति नै आधुनिकता हो भने भ्याउतो भएर संसार किन नापिरहनु सङ्कीर्ण। आकाश र पृथ्वी जोडिएको पत्ता लगाएर कीला गाड्न पठाउनु हो भने खुरूक्क बाख्रो खोलेर लाग्छन् अघि। खोल आजको, भित्रको फर्सी। आखिर मस्तिष्कै त हो- वायुको मिश्रण नाप्दैमा, पानीको शुद्धता छाँट्दैमा भातप्रति घृणा हुनु हो भने डार्विनलाई सजिलो पहिल्यै हुन्थ्यो बरु।
आमाको पटुकी फेरेकै छैन, बाबाको टोपी टालेकै छैन, भाइले बाह्रखरी थालेकै छैन, तर सवार छ ममा वैज्ञानिकता। मार्क्स , एङ्गेल्स भूत बने, वाल्मीकि-व्यास गुन्द्रुक, भानु-लक्ष्मी पुरानिए। यहाँ विज्ञानको खेती गर्नु छ। तोरी छरेर तेलका ट्यामे फलाउने हजुरबा मूर्ख हुन्। आना-माना घिउ पाइँदा आजसम्म पुग्ने गरी खरिद नगर्ने सानीमा झन् पटमूर्ख आइमाई। मैले पार्नु छ नयाँ सर्जाम-बोसो-घिउ, भुसी-तेल र हेर्नु छ संसार भ्याउता चिरेर। खै के गरे विज्ञान नपढ्नेहरूले? पुरेत बन्नेहरूले संस्कृत घोके, मास्टर बने कलावालहरू। व्यापारी कमर्समा ठगसूत्र खोज्छन् र पीठो भजाउनेहरू कानुन। तर तिनमा विज्ञानी सार खै?
चिन्तन पाल्नेहरूप्रति मन दयार्द्र बन्न पुगेको छ। ज्ञान जीवन-ज्योति बन्नुपर्छ। गर्वयुक्तता पूर्णतामा कहिल्यै बस्दैन। जीवनको क्षुधा-विज्ञानको समवेत सारतामा केन्द्रित राम्रो। असारको धमाधममा पनि जसले गोरु देखेको छैन, हलो भेटे दाउरा चिन्दैन-त्यसले कृषिसम्बन्धी भाषण गर्दै छैन ? नाम्चेमा खरबुजाको काँचो जरो खोज्ने विज्ञानी शिवगन्जमा स्याउ खानै नपाउला ? तर्कले डिग्री गरिसकेपछि मर्मले विवेक पढ्दै गर्छ, आफू ढाँटिन पाओस्।
एक पेग नलगाई आजको मूर्ति लाटो लाग्छ। लेबलदार नपाए ठर्रा सही ऊ तब राजनीतिज्ञ बन्नसक्छ। खो.बि.सँग नाचेपछि वीर भएर बाँच्न सक्छ। देशभक्ति सायद उसको आफ्नै डाँडामा उब्जिएको कोदोभित्र गुम्सिएको होस्। चार घडीमाथि सेउलाले थिचेपछि मात्र मेरो मान्छे सच्चा वैज्ञानिक बन्न सक्छ र ऊ भन्न थाल्छ-‘‘बाहुनहरूले दुनियाँ ठगे, धर्म-ईश्वरको डर देखाएर’’ नजिकैको साथी भन्छ- ‘‘ ए हरि ! किन पिएको नि ?’’ भन्छ ऊ ‘‘कसम, जनै छुन्छु अबदेखि बर्चोट खान्नँ।’’
थिटा र बिटा सर्वस्व होइन। शिक्षा माध्यम मात्र हो ज्ञानको । भाषा दोषी हुन्न। विश्व साञ्चारिकता खोज्छ। हाम्रो वर्तमानको ढँटाइमा सान, मान र धन छ। फोस्रो सान जलप हुन्छ। दिगो ज्ञान जीवन दिन्छ। मेरो परिवेश आधाबैले विज्ञानीहरूका चापमा छ। उनीहरू गँडेउलामा माटो देख्छन्, रक्सीमा मिसावट। आधुनिक चस्मा अङ्ग्रजी फुर्को नदेखेकोमा गाईप्राणी देख्छ परत्रलाई। भेडो मेरो आँखाको दृष्टान्त। मान्छे उसैको कथा हाल्छ। ‘‘मूर्ख छु’’ मैले आफैँ थाहा कसरी पाउने ? चलाख खाडलमा जाकिन्छ। वेश्याको तातो माया पैसाप्रति मात्र हुन्छ। ग्राहक मख्ख पर्छ, तर गोजीको कथाको पात्र बन्नलाई। मच्छरहरू रछ्यान पाए गज्जब मान्छन्। वर्षा भ्याउताको रमझमको याम।
खडेरी परेको छ मभित्र। आँखा अघिको सत्य बिर्सिन्छन्- जन्म र मृत्युमा के भरोसा उसो त ! संसार देख्नेहरू आँखा चिम्लन्छन्, अन्धाहरू वैज्ञानिक बनून्। शान्ति ‘सकेट’को विस्फोट हेरून्, आधुनिकता सानमिगेल र टाइगर पस्काइहरूमा, सभ्यता फुर्के सिर्क्यौनीहरूमा झुन्डिऊन्। हामी त मृत्यु पर्खेर दिन बिताउने प्राणी, दिनचर्या नै के होस्, बस् बाँच्नु छ आज।
भोलि बिहानै फेरि गैरीखेतको ब्याडमा ‘झत्ताको सत्ता’ गाड्नुपर्ने, कमसे कम चरा त तर्साउन सकिएला, समाज सभ्यहरूले तर्साएझैँ। अलिकति सभ्यता सिकौँ, टुप्पी र जनै धरौटी राखेर। थोरै आधुनिक बन्न चार घडी र कति डबका स्याउले चाहिएला सर ?
धरानका उपप्राध्यापक श्री खतिवडाको केशव शोककाव्य प्रकाशित छ। प्रशस्त कविता, निबन्ध र समालोचनात्मक आलेख प्रकाशित।
(स्रोत : साहित्यसरिता – माघ-फागुन-चैत-2061 अङ्क ४ )