कथा : जिन्दगी : एक हाइवे

~फणीन्द्र संगम~

यात्राबाट थाकेको मान्छेले आराम चाहन्छ, तर मनस्थिति थकित भयो भने ऊ यात्रा गर्न रुचाउँछ। फ्रेस गराउँछ यात्राले। सँगालिएका नयाँ भोगाइ र अनुभूतिले उसलाई ऊर्जा दिन्छ, आउने दिनका लागि।

राजधानीको उकुसमुकुस गुम्स्याइलो भिड, ट्याँट्याँटुँटुँको कोलाहल, सधैंको उही व्यस्त सेड्युल। विषाक्त धुवाँ र धुलोलाई छोडेर ‘अर्गानिक हावा’ खान थानकोट छिचोलेपछि लाग्यो— धन्न, मञ्जुश्रीले चोभारको डाँडो काटिदिए, नत्र यो काठमाडौंमा कति मान्छे गुम्सिएरै मर्थे होलान्।

मध्य माघमा चितवन नचिसिने कुरै भएन। पर्यटकीय नगरी सौराहामा पहिलोपटक प्रवेश गर्दैगर्दा चोकचोकमा उभिएका गैंडाका मूर्तिले स्वागत गरे। भर्खरै हात्ती महोत्सव सकेको सौराहामा त्यसको ह्याङओभर सायद बाँकी नै थियो। महोत्सवका झकिझकाउ ब्यानर, फ्लेक्स र पम्प्लेटले त्यो रौनकताको पुष्टि गरिरहेथे। पछिल्लो समय सौराहाले पर्यटकलाई आकर्षण गराउन धेरै प्रयत्न गरिरहेको छ।

कलिलो साँझमै हामी पुग्यौं— जंगल सफारी लज। सौराहामा व्यवस्थित होटल–लजहरू खुल्ने क्रम बढेको छ, सँगै पर्यटकहरू बढिरहेका छन्। कतिपय ठाउँमा थारू नृत्य हेरेरै पर्यटकहरू यहाँको संस्कृतिमा भिज्न पाउँछन्। उनीहरूलाई कसरी रिझाउन सकिन्छ र धेरै समय बसाउन सकिन्छ; सौराहावासी सचेत छन्।

बेलुका हामीजस्ता पाहुनाका लागि सेवा दिन जोसिला युवक रामदेव खटिइरहेका थिए। कुनै बेला वैदेशिक रोजगारीका सिलसिलामा दुबईको तातो बालुवामा थिए, उनी। केही झन्डै डेढ वर्ष बसे र फर्किए आफ्नै चितवन। केही कमाए पनि तर नारायणी र राप्तीमा पौडी खेलेको बाल्यकाल भुल्न सकेनन्, घरपरिवारको ममताले सात समुद्रपारिका रामदेवलाई तान्यो— मायाको डोरीले।

विकृत बन्दै गएको राजनीतिक प्रणाली देखेर पराजित मनस्थिति बोकेका युवा एमआरपी बनाउन लाम लागिरहेका छन्। कुनै बेला रामदेव पनि दैनिक प्रवासिने १५ सय भन्दा बढी युवाकै लाममा लागेर प्रवासिएका थिए। तर फर्किए। त्यहाँ छँदा केएफसी रेस्टुरेन्टमा सिकेको ज्ञानलाई आफ्नै ठाउँमा खन्याइरहेका छन्। हँसिला रामदेवको कुनै ठूलो महŒवाकांक्षा छैन। इमानदारपूर्वक काम गर्छन्, बेलुका प्रायः आफ्नै घर पुग्छन्; जहाँ छन् बाबुआमा, पत्नी र सानो छोरा।

उनी कमाउन चाहन्छन्, तर फेरि मरुभूमिको तातो हावा खाएर होइन। आफ्नै माटोमा। व्यावसायिक कौशलमा पोख्त भएर आफैं होटल व्यवसाय गर्ने सोच पालेका छन्, उनले। विदेशमोहमा लागेका युवाहरूका लागि रामदेव प्रेरणा हुन सक्छन्, जसले विदेश भोगे तर त्यहाँको सिप आफ्नै गाउँमा प्रयोग गरे।

राम–कहानी सुनिसकेपछि रातको दस बजेतिर सुत्नै लाग्दा नाचगानको मधुर स्वर कानमा ठोक्किन आइपुग्छ। सायद नजिकै कतै झुमरा वा सखिया नृत्यमा पर्यटक झुमिरहेका हुँदा हुन्।

बिहान राप्ती नदीमा गएर डुंगा सयर गर्ने मन छ। धुम्म हुस्सुले भरिएको बिहानी मौसमले लुगलुग कमाउँछ। सौराहा पुगेको मनले राप्ती किनार डोहोर्यासउनु अस्वाभाविक थिएन। माझीहरू भरखरै उठेर डुंगाको बन्दोवस्ती मिलाउँदै रहेछन्। उनीहरूको दैनिकी सुरु भइसकेको छ। किनारबाट हेर्छु— जीवनभर अरूलाई नदीवारि र नदीपारि तारिरहने माझीहरू नदीको बहावसँगै जीवनको गति नापिरहेका छन्। छालसँगै जीवनका अनेकौं जँघार तरिसकेका छन् तिनले। उनीहरू यही समाजमा छन्, तर घमण्डको प्रतिस्पर्धामा कुनै चासो छैन। चिया पसलमा बसेर कुरा काट्नका लागि फुर्सद छैन। अभिमानको पहाड ठड्याएर चर्चाको पर्चा फहराउन जानेकै छैनन्। केवल छ त, सहयोगी हात; तिनै हातले खियाउने डुंगामा बसेर कैयौंले राप्तीमा सम्झनाहरू छोडेर गएका छन्।

सिउसिउ गर्दै कोही चुरोट तान्दै छन्, कोही हातमा पञ्जा लाएर पनि हत्केला रगेडिरहेछन्। हुस्सुसँगै बहने सिरेटो मेरो गालासम्म आइपुग्छ, र एक चुम्बन दिएर बेपत्ता हुन्छ नदीपारिको जंगलमा।

स्वच्छन्द दौडिरहेका पानीहाँसको आवाजले मेरो एकोहोरोपनलाई भंग गरिदिन्छ। सोच्छु— यो कठ्यांग्रिदो ठिहीमा के उनीहरूलाई चिसोको अनुभूति हुँदैन! प्रकृतिले सबैलाई आ–आफ्नै स्वभाव दिएको छ। सायद, पानीको छालसँगै पौडिइरहेका हाँसलाई मात्रै थाहा छ—पौडिनुको आनन्द।

बिस्तारै पर्यटकहरू आउन थाल्छन्, म किरानाको ढुंगामा बसेर हेरिरहन्छु। आकाश धुम्म छ, राप्तीपारिको जंगल धूमिल देखिन्छ। पर्यटकहरू भने क्यामेरा झिक्छन्, र निरन्तर मारिरहन्छन्— क्लिक…क्लिक…क्लिक!

क्षितिजमा हुस्सुको साम्राज्य छिचोल्दै घामको चिसो डल्लो उदाउँछ, सँगै राप्ती नदीको रौनक बढ्छ। पर्यटकहरू रमाउँदै डुंगा चढ्न थाल्छन्, कोही माझीसँग बहना मागेर खियाउने कोसिस गर्छन्। झन्डै एक घन्टाको रमाइलो बिहानी व्यतीत गरेर फर्किन्छु। किनकि सौराहाको सूरभि छाडेर जानुछ, बुटवलको यात्रामा।

नारायणी नदी छोडेर पूर्व–पश्चिम राजमार्गले समय नापिरहेको छ। दायाँबायाँ जंगलमा सरराइरहेका पात र चराचुरुंगीको संगीत घरिघरि सुनिन्छ। रूखका पातसँगै बत्तिएर आउने चिसो हावा नसानसामा घुसेको अनुभूत गर्छु। हाइवेको रोमाञ्चकारी यात्रामा मोबाइल निकाल्छु र फेसबुक खोल्छु। चितवनका कवि मित्र सुमन घिमिरेले स्टाटस पोस्ट गरेका रहेछन्—
‘रात सुनसान थियो। म बस्ने अपार्टबाट तल देखिने दृश्य निकै नै सुन्दर थियो। ल्याम्पपोस्टबाट निस्किएको पहेँला प्रकाशले अझ सौन्दर्यता थपेको थियो। जुरिकमा पनि कहिलेकाहीँ यसरी नै बाटाहरू हेर्थें। बाटोहरूको बारेमा अनेक थरी सोच्थेँ। कसैलाई त्यो बाटोले गन्तव्य पुर्याजइदिन्छ त कसैलाई बीचैमा अलपत्र छाडिदिन्छ। मान्छेको जीवन पनि बाटाजस्तै हो। भर नै छैन कहाँ पुग्ने। बीचैमा पनि टुंगिन सक्छ। म सधैं जीवन हाइवे भएको हेर्न चाहन्छु।’

झन्डै एक वर्षअघि काठमाडौंमा भेटेर कविता कृति ‘बैंसको क्यालेन्डर’ दिएका थिए, उनले। अहिले उपन्यासको प्लटहरूमा दगुरिरहेका छन्। चितवनका उद्यमशील यी युवा विभिन्न संस्थामा आबद्ध छन्, जिम्मेवारी लिएका छन्। सिर्जनाका लागि थोरैमात्र समय पाउँछन्। तर कविता लेख्न छाडेका छैनन्, व्यावसायिक चर्याबाट उबारेको समय उपन्यासको खेस्रामा लगाइरहेका छन्।

उनको स्टाटस पढिसक्छु।

साँच्चिकै मान्छेको जिन्दगी एक हाइवे नै त हो। कतै फराकिलो सडक भएर बग्छ जिन्दगी, कतै उबडखाबड घुम्ती पार गर्दै। जिन्दगीका मोडहरूमा कतैकतै लेखिएको हुन्छ— खतरा वा दुर्घटनाग्रस्त क्षेत्र। सडकको गति ख्याल गर्न सकिएन भने जिन्दगीको ब्रेक नलाग्न सक्छ। स्टाटसमा कमेन्ट लेखिहाल्छु— जिन्दगी :  एक हाइवे!
रजहर, प्रगतिनगर, कावासोती, दुम्कीबास, बर्दघाट, सुनवल, खैरेनी, देवदह हुँदै सडक सिद्धार्थ हाइवेमा मिसिन्छ।

सिद्धार्थ हाइवेको फराकिलो हुँदै गरेको निर्माणाधीन सडक–चोकमा ठिंग उभिएका छन्, सहिद लखन थापा। चोकको नाम छ— लखन चोक। साँझ गोधूलिमा रूपान्तरण हुने क्रममा छ। पहेँलिँदै गरेको घामको प्रकाश लखनको अनुहारमा पोतिन्छ। त्यही सूर्यको प्रतिविम्बबाट उनी सिंगो बुटवल नियालिरहेका छन्। लाग्छ— योद्धाहरू जीवनभर अँध्यारोविरुद्ध उज्यालोको खोजीमा लागिरहन्छन्। जब शासकहरू उज्यालो मन पराउँदैनन्, लखनहरू सहिद भइरहनुपर्छ। तर सालिकको आँखाबाट भए पनि उनीहरू उज्यालो देखिरहन चाहन्छन्, जसरी लखनको मुहार छोएर छरिएको प्रकाशले धर्ती उज्यालो बनाउने चेष्टा गरिरहेको छ।

राजधानीबाट सुरु भएको सडक विस्तारले बुटवललाई छोइसकेको छ। त्यहीँबाट लुम्बिनी जोडिन्छ, पाल्पा हुँदै स्याङ्जा र पोखरा पुग्न सकिन्छ। एक ट्रान्जिट सहर पनि हो बुटवल। मंसिर १६ गतेबाट उपमहानगरपालिकामा बढुवा भइसकेको छ यो सहर।

लामो समय बुटवलमै बिताइसकेका व्यवसायी धु्रव तुलाचनसँग भेट हुन्छ। संयोग, उनकै छोराले चलाइरहेको होटल सिन्दूरमा हाम्रो बास हुन पुग्छ। राजनीतिप्रति थोरबहुत चासो राख्ने उनी अहिले अर्गानिक खेतीतिर लागेका छन्। २०२८/३० सालदेखि बुटवल झरेका उनले यहाँको परिवर्तनलाई नजिकबाट नियाल्न पाए।

अहिलेको बुटवल पहिले बुटवल थिएन। जंगलले भरिएको बुटवलमा ४० सालपछि बस्ती विस्तार हुन थाल्यो। तिनाउपारि एकत्रित बजारले त्यस बेला प्रमुख सहरको हैसियत राख्थ्यो। अलि उदार खालका खड्ग शमशेरले यही ठाउँमा बस्ती बसाल्न चाहे। अहिलेको भव्य बुटवल खस्यौलीको नामले चिनिन्थ्यो। झाडी नै झाडीले भरिएको। बजार, सिनेमाघर, स्कुल, धनधान्य जेजति थियो त्यो तिनाउ नदीपारि बुटवलमै थियो। खस्यौली सानो र रमाइलो बस्ती थियो। फौजी जीवनवाट छुट्टी मनाउन घर आएका भारतीय र बेलायती सेनामा काम गर्ने जवानहरूको बास बस्ने थलो। पश्चिम नेपालका लाहुरेहरू फर्किने बाटो यही थियो। खस्यौलीमा लहरैजसो भट्टी पसल चल्थे। जब सैनिक सेवामा गएका लाहुरे बिदामा फर्किन्थे, साँझको खस्यौली रौनकता झुम्न थाल्थ्यो। खस्यौली गुल्जार बन्थ्यो। विशेष गरी कास्की, बाग्लुङ, स्याङ्जा, पाल्पा आदि ठाउँबाट लाहुर गएका जवानहरू गोरखपुर, सुनौली हुँदै खस्यौली भित्रिन्थे। अघिअघि कालो सुटकेशको भारी बोकाएर आफू काँधमा रेडियो घन्काउँदै आउने उनीहरूसँगै हुन्थ्यो— नयाँ सपना र भविष्यको सुन्दर योजना। तर भट्टीभित्र एक रात बिताउँथे, बिहानको सूर्य उदाउँदै गर्दा तिनको सपना कुनै गर्तमा डुबिसकेको हुन्थ्यो।

साइँली–माइलीसँग ठट्टा गर्दै नशासूर बनेका युवकले बढीमा दुई–चार बोतल पिएका हुँदा हुन्, तर बिहान उठेर हेर्दा खाटामुनि रित्ता बोतलैबोतल। भट्टीवाल्नीहरूको नरम र मुलायम बोलीसँग प्रतिवाद गर्नु कसरी! बीलको मोटो रकम बुझाउनु बाध्यता बन्थ्यो। कतिपय केही दिनको बसाइमा यसरी नै पैसा रित्याउँथे र आँगनमा पाइला नपुर्या।ई पुनः फर्किन्थे लाहुुर। कतिपय यतैका कुनै साइँलीसँग नयाँ जिन्दगी सुरु गर्थे।

यो त्यही खस्यौली हो, जुन सहर अहिले पश्चिमाञ्चलको आर्थिक गतिविधिको केन्द्र बनेको छ। तुलाचनले यो कथा सुनाइँरहँदा म खस्यौलीको काल्पनिक सहर कल्पना गर्न पुग्छु।

उनका बाबुबाजे २०१६/१७ सालतिर पाल्पा झरेका थिए। गर्मीयाममा पाल्पा नै बस्ने र जाडोमा बुटवलतिर झर्ने चलन थियो। २०२७ मा झरेका उनी ३० सालदेखि नियमित बुटवल बस्न थालेका छन्। हरेक परिवर्तनको अध्यायलाई पढ्दै आएका छन्।

बुटवलबाट ९ किलोमिटरको दुरीमा रहेको नवघोषित नगरपालिका तिलोत्तमा– ७ मा उनको अर्गानिक कृषि फार्म छ। फुर्तिला तुलाचनले बिहान सातै बजे फार्म अवलोकनका लागि गरेको आग्रह टार्न मनले मानेन।
३० बिगाहामा फैलिएको बृहत् क्षेत्रफलको अपत्यारिलो योजनालाई एक्लै हाँकिरहेका रहेछन्, उनले। सुरुमा विभिन्न क्षेत्रमा काम गर्ने १६ जना थिए। कोही कृषि विज्ञ, कोही माटो विज्ञ, कोही पर्यटनसँग सम्बन्धित। दुई वर्षअघिदेखि तुलाचनलाई सबै जिम्मा दिएर १५ जनाले साझेदारी छोडेर गए।

तुलाचनले धान, गहुँ हालेका छन्, खेतमा। छेउछेउमा आँप, लिची, सुन्तला, अमलाजस्ता फलफूलका बोट। विभिन्न जातका बिरुवाको बेर्ना उमारेर बिक्री गर्छन्, नयाँनयाँ जातका फलफूल रोप्छन्। पर्यटनमा सक्रिय उनी यही ठूलो क्षेत्रलाई एग्रो–टुरिज्मको रूपमा विकास गर्न बिहान मिर्मिरेमै फार्म पुगिसक्छन्। १६ जना कामदारलार्ई सिकाउँछन्/निर्देशन दिन्छन्।

‘जबसम्म लगानी गर्न डराइन्छ, आम्दानी कहिल्यै हुन्न’ भन्ने मान्यता बोकेका श्रमशील तुलाचनको पसिना लगानी उठाउनमै बगिरहेको छ। कम्तीमा पाँच वर्ष निरन्तर खट्नैपर्छ, तबमात्र व्यवसायले नाफातर्फको गति लिन पाउनेछ। उनी आत्तिएका छैनन्, लगानी गर्न डराइन्छ भने आम्दानी पनि हुन्न; उनको मान्यता जो छ।

केही वर्षअघि बिरामी भएर उनले लामो समय उपचारमै बिताए। घर फर्किएपछि छोरालाई व्यवसाय सुम्पिएर आरामको जिन्दगी बिताउन चाहे। जब उनी निको हुँदै गए, दिन कटाउन गाह्रो भयो।

फुर्सदको समयले उनलाई अनियन्त्रित बनाइदियो। घुमघाम गर्थे। साथीभाइसँग कहिलकाहीँ तास खेल्थे, समय बिताउँथे। तर यो त लतझैं भइदियो।

कर्म लगाम पनि हो, जसले मान्छेलाई नियन्त्रण गर्छ। जीवनपथको लिकबाट बाहिरिन दिँदैन। तुलाचनको लिक झन्डै बाहिरिन थालेको थियो, तर अर्गानिक व्यवसायतिरको बाटोले दुर्घटना टारिदियो।

उनको त्यो समयलाई साक्षी राखेर भन्ने हो भने फुर्सदमा मान्छे बेकामको बन्छ। बरालिन्छ। तर उनको कर्म साक्षी छ— आत्मविश्वासले मान्छेलाई लगनशील बनाउँछ।

गएको वर्ष उनले दुइटा लौकामात्र फलाएछन्। केराउको आम्दानी एक छाक। छोराहरूले अर्गानिक खेती गरेर घाटाको व्यसाय नगर्न सुझाए, कामदारहरूले खिसीको मुस्कान छोड्न थाले। टमाटर सुक्दै गएको थियो, ब्रोकाउलीका बुट्टा झोक्राउन थालेका थिए। बिस्तारै ‘जैविक ओखती’ गरे। टमाटरले मुना हाल्न थाल्यो, मुर्झाएका ब्रोकाउली हलक्क उठ्न थाले। सायद, त्यस बेला उनको भाँचिएको मन पनि जोडिएको थियो कि!

सुरुवाती दिनमा कसैले नपत्याउँदा जति हताश थिए, अहिले उनको उत्साह बढेको छ। समस्या त अर्गानिक हो भनेर बुझाउनै गाह्रो छ। विषादीको बिगबिगीबीच उनले अहिल्यै बजारको खोजी गरिहालेका छैनन्। काँक्रामा होस् या आलु, सागमा होस् या टमाटर; विषादी छँदै छ। लाग्छ— प्रत्येकको चुलोमा तरकारीसँगै विषादी पाकिरहेको छ। यो जमानामा ‘अर्गानिक सत्य’ स्वीकार गर्ने मान्छे कहाँ पाउनु! तर, मान्छेहरू गान्टिएको आफ्नो चेतनामा विषादी हालेर बढाउने ध्याउन्नमा छन्। सुई हालेर हलक्क बढेको काँक्रोझैं फुलेको चेतना कतिदिन टिक्ला! बरु तुलाचनको अर्गानिक टमाटरको टिकाउ एक हप्ताभन्दा बढी हुन्छ, विषादी मिसिएको चेतना?

उनीसँगको ‘अर्गानिक कुराकानी’ सकेर जानु थियो— पोखरा। सिद्धार्थ हाइवे समातेर रफ्तार लिएको गाडी पाल्पा, स्याङ्जाको गल्याङ, पुतलीबजार हुँदै अलिपर पुग्दा घ्याच्च रोकिन्छ। चालकबीच चर्किएको विवादले सडकमा गाडीको लर्को लाग्छ। केही बेरमै ट्राफिक प्रहरी आइपुग्छन्, हामी सुटुक्क उम्किहाल्छौं। किनकि पोखरासम्म त गाडीले पुर्यागऊला तर जिन्दगीको हाइवेमा अझै लामो यात्रा गर्नुछ।

१४ चैत्र, २०७१

(स्रोत : नागरिक – शनिबार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.