~कृष्णचन्द्रसिंह प्रधान~
सानैदेखि प्रतिकूल स्थितिमा हुर्कनुपर्ने विवशताले मलाई विकल्प सोच्नतिर डोर्यायो । यो विद्रोह थिएन । यो प्रतिकार पनि थिएन । विनाविरोध, विनाप्रतिकार अर्को बाटोको खोजीले रिक्ततापूर्ति मौन जिज्ञासालाई उत्प्रेरित गर्दोरहेछ ।
यहाँ यही शब्द ठीक र उपयुक्त लागेकोले प्रयोग गर्दैछु । किनभने वाध्यताको विरोध गर्नुभनेको आफ्नो अवस्थाप्रति अज्ञानता दर्शाउनु हो । त्यस्तो म थिइन । घरको परिस्थितिबाट अनभिज्ञ नहुनाले निदानको लागि यो विकल्प रोजेको थिएँ । साहित्यमा मेरो संलग्नताले यसको सङ्केत गर्छ ।
यसले दुई कुरा औँल्याउँछ । औचपरिक शिक्षाबाट वञ्चित हुनुपरेको अभिभावकले नचाहेर होइन । अर्को हो आर्थिक कारणले गुमाउने अवसरको परिपूर्ति गर्ने कसरी ? यसको विकल्प के हुनसक्छ ?
मैले स्वअध्ययन र स्वयंमा निर्भर भई स्वावलम्बनको बाटो रोज्ने विकल्प समातेँ । यसप्रति आस्थावान भई एकान्त साधना गर्ने अठोटले आफूप्रति उत्तरदायी हुन प्रेरित गर्दोरहेछ । साहित्यमा लाग्नाको कारण यही भइदिन्छ । अनि लेख्न थालेँ । लेख्दालेख्दै लेख्न जानिँदो रहेछ, भाषा बन्दोरहेछ, शैली बन्दोरहेछ । अन्ततः लेखक हुन पुग्छु ।
आफ्नो परिधिभित्र ऐच्छिक समाधान खोज्न यसले मलाई सघायो ।
जीवनमा अनपेक्षित भोगाइको यो पहिलो अनुभव थियो – आफैंमा सङ्घर्ष गर्नुपर्ने स्थितिको सिर्जना । यसबाट उत्प्रेरित हुन सकेनौँ, जोखिम बेहोर्न सिकेनौँ, अङ्गीकार गरेर लागिरहन सकेनौँ भने बाध्यताको सामु आफूलाई विसर्जन गर्नुपर्ने हुन्छ । मैले त्यो गरिनँ । यद्यपि औपचारिक शिक्षा, ज्ञानहरूबाट मलाई विमुख हुन नपरेको होइन ।
यस्तो स्थितिमा हामी शिक्षाबाट मात्रै विमुख हुँदैनाँै । अरू पनि धेरै चीज गुमाउँदा रहेछौँ सामाजिक प्रतिष्ठा, सम्मानजनक व्यवहार, अघि लाग्ने अवसर, स्वाभिमानहरू, नैतिकताहरू, सम्बन्धहरू, साहसिकताहरू यस्ता धेरै छन् जसबाट बञ्चित हुन्छौँ । तर मलाई के लाग्यो भने यसको प्रतिकार गरेर होइन मनमा प्रतिशोध साँचेर पनि आफूले स्वाभिमानपूर्वक रोजेको बाटोमा सुदृढभई लाग्न सकेमा स्वयंमले प्रतिस्थापित गरेको व्यक्तित्वको सम्मान गर्न समाज अग्रसर हुन्छ र गर्व गर्न थाल्छ ।
अरू थोक गुमाउँदा र त्यसमाथि आघात पर्दा चित्त त दुख्छ, खल्लो नमिठो पनि लाग्छ । तर स्वाभिमान व्यक्तिको निष्ठा र गरिमासित जोडिएको हुन्छ, उसको अहंसित जोडिएको हुन्छ । यसको महत्ताप्रति अमर्यादित हुन दिँदैन र हामीलाई सचेत गर्छ । आफ्नो स्वाभिमान जोगाउनेले अरू धेरै थोक जोगाउँछ, यसलाई गुमाउनेले अरू धेरै थोक गुमाउनुपर्ने हुन्छ ।
मैले सामाजिक प्रतिष्ठा गुमाएँ हुँला, इज्जत गुमाएँ हुँला, अवसरहरू गुमाएँ हुँला जो त्यसबेलाको भारादारी समाजको निम्ति अति नै आवश्यक र गर्व मानिन्थ्यो । तर यी सबै गुमाएर पनि मैले स्वाभिमान गुमाइनँ । मलाई लाग्छ सर्वाधिक महफ्वपूर्ण सम्पदा त यही पो हो । त्यसैले क्यै गुमाएकै जस्तो लागेन । त्यसबेला स्वाभिमानी भई बाँच्नु सजिलो थिएन ।
विपरीत भोगाइको प्रतिकार मैले यसरी गरेँ । यसलाई निजी जिन्दगीको सङ्घर्षपूर्ण दिन भनेर सम्झिरहन्छु । औपचारिक शिक्षाको परिपूर्ति गर्ने यो बाटो नितान्त मेरो आफ्नो हो जो चुनौती भएर मेरो सामु झुण्डिएको थियो । मचाहिँ आगामी दिनभित्र यसको उत्तरको आशाले प्रतीक्षारत थिएँ तर आर्थिक समस्याको सामना गर्न कसैको आराधनामा लागिनँ । त्यसकै नीति समर्पित पनि भइनँ । यसकारण न जागिर खाएँ न कसैको शरण परेँ । स्कूल, कलेजमा पढाएर गुजारा चलाएँ । साहित्यको साधनामा लागेर लेखक भएँ । यो लेखकीय व्यक्तित्व नै मेरो आफ्नो पहिचान भयो । अनि मात्रै म भएर हुर्कें ।
जिन्दगीको यो आरम्भिक अध्याय यसरी टुङ्गोमा पुग्छ । यसका नीम्ति कति सङ्घर्ष गरेँ भन्नुभन्दा समाजमा स्थापित हुन यति लामो बाटो लाग्नु पर्यो भन्न खोजेको हुँ । घुमौरो बाटो हिँडेरै भए पनि सम्मान आर्जन गर्नु भनेको सामाजिक उपस्थिति जनाउनु पनि हो । यो रिक्तता र अभाव टार्ने कोशिशमा प्रतिस्पर्धा गर्छु । यसरी बाँचेको अनुभूति गरेर कहिलेकाहीँ आफैँलाई गर्व लाग्छ । यतिभित्र कति सङ्घर्ष गरेँ, दुःख बेहोरेँ, अनपेक्षित घटना, नसोचेको भोगाइ, नचाहेको कुरा बेहोर्नु पर्यो । यसको इतिहास बेग्लै छ । यी सबैभित्र विद्यमान सङ्घर्षबाट विमुख भइदिएको भए मलाई लाग्छ म जस्तो छु र हुँ त्यो कदापि हुने थिइनँ ।
जे हो त्यसैमा चित्त बुझाउनेले जे हैन त्यो हासिल गर्न सक्तैन । जहाँ पुगेको छु त्यही मेरो सिमाना हो, त्यसभन्दा पर न बाटो छ न ठाउँ भन्नेहरू आफैंले कोरेको लक्ष्मण रेखामा आफैं बाँधिन्छन् । जे लेख्छु यसैलाई उपलब्धि मानेर गतिरूद्ध हुनेहरूले त्यसभन्दा राम्रो, स्तरीय लेख्नै सक्तैन । यस्तो एउटा तृष्णा, एउटा अतृप्ति, भोक वा असन्तोषले हामीलाई गाँजेको हुनुपर्छ । यो भनेको भोगाइको विरूद्ध, यथास्थितिको विरूद्ध, आत्मरतिको विरूद्ध, अझ आफ्नै विरोधमा सङ्घर्ष गर्नु हो । हामी यसको लागि जति जागरूक हुन्छौं, जति सचेत हुन्छौं, त्यतिकै उकालो लाग्दोरहेछौं । आफूलाई परास्त गर्नेहरूनै कसैले नहिँडेको बाटो लाग्न सक्दा रहेछन् । आफूले रचेको आफ्ना साँध भत्काउनेले नै अरूमाथि पनि सजिलै जीत हासिल गर्न सक्छन् । प्रत्येक कालको आफ्नो वर्तमानविरूद्ध सङ्घर्ष गरेरै हामी आफ्नो भविष्य निर्माण गर्ने गथ्र्यौं ।
शायद मेरो सङ्घर्ष आफ्नै विरोधमा उठेको मेरो अभियानहरू हुन् । शायद मेरो विरोध मैले नै गुमाउनु परेको स्वत्वको प्रतिष्ठापनमा उठेका मेरो पाइलाहरू हुन् । यसलाई पछ्याएर बाँच्ने कोशिशमा टेकेको आयतनभरिको भूमि मेरै रचनाको सानो संसार हो । समाजमा सद्विचार राखेर असल काम गर्नेले ईष्र्या, द्वेष राख्दैन असामाजिक लाग्ने पुराना संस्कारहरूको दम्भ, अहङ्कार विनाविरोध आफैं पराजित र तेजोवध हुन्छ । यही वर्तमानमा अहिले म छु । यो सीमासम्म आइपुग्दाको जीवनले उमेरको हद छुुँदैछ । यसको साँध यही हो भनेर किट्नू नसके पनि यसले तोक्ने उमरले बाँधेको जिन्दगीलाई मैले स्वीकारेको छैन । जिन्दगी र उमेर भिन्नै हुन् ।
उमेरमा जिन्दगी खोज्नेले बाँच्न जान्दैन । त्यो मात्रै बाँचेर आयु गुजार्ने गर्छ । जिन्दगीमा उमेर बाँच्नेहरू उमेर बाँच्ने गर्दैन । जिन्दगी दिएर उमेरलाई नै जिन्दगी झैँ अमर बनाइदिन्छ ।
(स्रोत : गोरखापत्र – शनिबार – पुस २५, २०६६)