लघुकथा : सम्भावित पाँचौँ दृश्य

~हरिप्रसाद भण्डारी~

पहिलो दृश्य—

पर्दा खुल्यो, मञ्चको एउटा कुनामा नेपालको नक्साआकारको एउटा माहुरीको घार देखियो । नजिकै सुकिला कपडा लगाएका मोटा र खाइलाग्दा मानिसहरूले कुइनाबाट धारा चुहाउँदै मह चाटिरहेका थिए । अर्कोतिर मैला र फाटेका कपडा लगाएका दुब्ला र पातला केही मानिसहरू मोटा मानिसहरूले मह खाएको टुलुटुलु हेर्दै र घरी–घरी विरोध गर्दै बसिरहेका थिए । मह चाट्नेहरूले मह चाट्दै विरोधीहरूलाई नानाथरि आरोप लगाएर गाली गर्थे, शक्ति लगाएर कुट्थे र कहिलेकाहीँ त पर पुग्नेगरी लघार्थे पनि । केही समय चलिरह्यो त्यो दृश्य ।

दोस्रो दृश्य—

पर्दा खुल्दा पहिले पर बसेर विरोध गर्नेमध्येका केही मान्छे घारनजिकै पुगेर पहिलेका मानिसहरूले जस्तै मह चाटिरहेका थिए । उनीहरूका शरीरमा टाँसिएका लुगाहरू पनि पहिलेका भन्दा धेरै राम्रा थिए । पहिलेको उनीहरूको चैतेबाँदरको जस्तो ख्याउटे अनुहार मह चाट्दाचाट्दै एक्लेबाँदरको जस्तो रातोपीरो बनिसकेको थियो । उता पहिले मह चाट्नेहरू एउटा कुनामा बसेर सुतुर्मुर्गले जस्तै घरी घरी टाउको लुकाउँदै र कहिलेकाहीँ टाउको उठाएर टुलुटुलु महको घार हेर्दै मुख मिठाइरहेका थिए ।

तेस्रो दृश्य—

पर्दा खुल्दा पहिलो र दोस्रो दृश्यमा मह चाट्नेहरू आपसमा मिलेर पालैपालो मह चाटिरहेका देखिन्थे । उता अलिपर थुप्रै मानिसहरू जम्मा भएर मह चाट्नेहरूको विरोध गरेको देखिन्थ्यो । घरी घरी नेपथ्यमा बन्दुक पड्केको आवाज पनि सुनिन्थ्यो । मह चाट्नेहरू नारा जुलुस गर्दा र विरोध मात्र गर्दा खासै आत्तिँदैनथे तर बन्दुकको आवाज सुन्दा भने तर्सेको र डराएको भान हुन्थ्यो ।

चौथो दृश्य—

यसचोटि पहिलेपहिले मह चाट्नेहरू कतिपय मरिसकेका थिए । माहुरीको घारमा कुनै नौलो जमातको हालीमुहाली भएको देखिन्थ्यो । विरोध र समर्थनका स्वरहरू पूर्ववत् जारी थिए । नेपथ्यमा काला अरिङ्गालहरू भुनभुनाएको पनि सुनिन्थ्यो । यसले गर्दा माहुरीको घारमा काला अरिङ्गालहरूको कुदृष्टि पर्नसक्ने खतरा पनि बढ्दै गइरहेको प्रतित हुन्थ्यो ।

यसै बीच कर्मी माहुरीहरू बिस्तारै बिस्तारै एकै ठाउँमा जम्माभएर सरसल्लाह गर्नलागेको देखियो । उनीहरू सबै मिलेर घारको रक्षा गर्न प्रतिबद्ध भएका हुन् कि भन्ने अनुमान गर्न सकिन्थ्योे । कर्मी माहुरीहरू आफ्नो ज्यानको बाजीलगाएर लड्न कम्मर कस्दै थिए । उक्त अवस्थाको मूल्याङ्कन गर्दा पाँचौँ दृश्य परिवर्तनमुखी हुने सम्भावना देखिन्थ्यो ।

चौथो दृश्यको पर्दा बन्द भइसकेको थियो र पाँचौँ दृश्यको पर्दा खुल्न बाँकी नै थियो ।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.