~गीता त्रिपाठी~
नडराऊ
रातपरे पनि
बिहानको आशा रित्तिएको छैन
तिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा
मेरै अनुहारमा ठोक्किएर
कैयन् उज्याला युगहरु फर्किए
देखेका छौ
यो अनुहार भरी
तिनै युगको पीडा छ
समानान्तर उज्यालो बोकेका
ती युगहरु
कहिल्यै बन्द नहुने
खापा रहेछन्
तिम्रो चोर झ्यालबाट
अलिकति चियाएर हेर त !
त्यो उज्यालो
अहिले
तिम्रै ढोका ढक्ढकाइरहेछ ॥
-वालुवाटार, काठमाडौं
————————-
काभ्रेपलाञ्चोक जिल्ला, बरबन्दी खरेलथोक – १ मा जन्मनु भएकी श्रीमती गीता थपलिया त्रिपाठीका चार सिर्जनाहरू छन्- १. थुँगाःवनफूलका(गीतसङ्ग्रह) २. एक्लै…एक्लै (गीति एल्बम) ३. सारांश (गीतिएल्बम) ४. दुई हरफ ओठहरू (गीतसङ्ग्रह)। उहाँका विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा प्रशस्त फुटकर रचनाहरू प्रकाशित भएका छन्। उहाँ पद्मकन्या स्वर्ण पदक सहित विभिन्न सात पुरस्कार र सम्मानहरूले सम्मानित हुनुहुन्छ।
(स्रोत : साहित्यसरिता डट अर्ग)