~रुकु अधिकारी~
कहिलेकाहीँ सोच्ने गर्छु कुनै कुरामा मन नभएकै ठीक हुने रहेछ।मन भएर सजिब हुनुको अर्थ खुसीमा रमाउनु मात्र नभई दुखःमा बाधिन सिक्नु पनि रहेछ ।कुनै समय थियो जब मलाई बारम्बार सजिब हुने रहरले जगाउथ्यो तर यसै शहरका केहि मानिसहरुलाई निर्जीव बन्ने रहर लागेको देखेर नै मैले सिकेको हुँ असन्तुष्टिको न त सिमा छ न औषधि।दसकौँदेखि सुन्धारा अगाडी उभिएर एकनासको काठमांडू नियाल्दा मैले एक काठमांडू नामक दुनियाभित्र लुकेको करोडौँ दुनियालाई नजिकबाट नियालेको छु।येहाका स-साना गल्लीका कथादेखि लिएर देश नै परिबर्तन गर्ने अनेक तन्त्रका नाटक हेर्ने क्रममा स्वयम्भु,बसन्तपुर क्षेत्र, सहिदस्मारक अनिकेहि मन्दिरहरु त मेरा जिग्री नै बने। हेर्दा सेतो खम्बा जस्तो देखिएता पनि वा भनौँ मन नै नभए पनि येहाका घटना क्रमहरुलाई म आँखाले महसुस गर्ने गर्थे। हजारबाट लाख हुदै यो खाल्टोभित्र मानिसहरु कसरि करोडौं पुगे भन्ने बास्तबिकता फ्ल्याश ब्याक गर्ने हो भने म आफै दङ्ग पर्ने स्तिथि पक्का सिर्जना हुन सक्नेछ भन्ने कुरामा म आफै बिस्वस्थ छु।त्यसैले त यो सहरलाई सम्झिन थाले भने अक्सर म नोस्टाल्जिक हुने गर्दछु।
समझदा लाग्छ काठमांडू कथै कथाले भरिएको एउटा अलिखित कथासंग्रह हो किनभने येहा हरेक सेकेन्डमा जिन्दगीहरु कथा बनिदिन्छन् चाहे त्यो कहिकतै दुर कर्णाली वा अन्य कुनै जिल्लाबाट पढाई वा कामको सिलसिलामा झोला बोकेर पुरानो बसपार्कमा कुनै बसबाट झर्दै गरेको एउटा च्यांग्बाको कथा होस्,जमल छेउ-छाउ नांग्लामा चक्लेट,पुष्टकारी ,बिस्कुटआदि राखेर दिन गुजारा गर्ने सुखीमायाको कथा होस्,कैयौंदिनको भारी बोकेको थकाई मेट्न असनभित्रको कुनै चोकमा सुस्ताउदै गरेको कुनै भरियाको कहानी होस्,बिनाकाम दिउसोभरी लुरुलुरु काठमांडू चहारेर बेलुका मेरो छेउमा आएर सुत्ने काले कुकुरको दैनिकी होस् वा सडकका छेउछाउतिरै हुर्के बढेर ”बालाजु बालाजु” भन्दै गाडी ठटाउने माइकलको कथा होस् वा अन्य सडक बालबालिकाहरुका कथा जो सानो सहरका ठुला फोहरका डंगुरमा आफ्ना जिन्दगि ओल्टाई पल्टाई गर्दै एता उता भौतारिरहेका हुन्छन।यी अनेक जिन्दगीहरुभित्र काठमांडूको बाध्यता,आवस्यकता,निष्ठुरिपन,सबै एकैचोटी झल्किने गर्छन।असिमित सपनाहरु तर सिमित अवसरहरुले घेरेको यो सहरबीच रहदा कहिलेकाही मलाई साह्रै मन दुखे जस्तो हुन्छ।अझ बर्षभरि पनि स्थाई रहन नसक्ने सिंघदरबारका ६०२ जनाका जमात अनि तिनले सेतो दरबार भित्र खेल्ने कालो राजनैतिक खेलले खोक्रो पारेको देशको अर्थतन्त्र देखेर देशमा फेरी कहिले खुसी फर्केला भन्ने बिशेष पर्खाई रहिरहन्छ ।त्यसो त खुसीका पल पनि छन् कतै कतै,जस्तै यो सहरका तिहारको झिलिमिली ,जात्राहरुअनि अनेक समुदायले मनाउने विभिन्न चाडपर्व ,बेलाबखतमा टुंडिखेलमा आयोजना हुने अनेक कार्यक्रमहरु र तिनमा झुम्ने मानिसहरुका खुसियालीहरु।यी सबै देख्दा यो सहर अनौठो लाग्छ।त्यसैले होला मानिसहरुले मेरो उचाइमा चढेर पुरा काठमांडू नियाल्दा म कहिले खुसी हुन्थे कहिले दुखि।
२०७२ बैशाख १२ दिन सधै जस्तै थियो।सुन्धाराका कुनै सडक खाली थिएनन्।कोहि गाडी कुर्न ,कोहि गाडी चढ्न ,कोहि म:म: पसलमा त कोहि सडक नाप्दैमा ब्यस्त थिए। एक्कासी धर्तीमा कम्पन सुरु भयो ।भुइँचालोले सारा देश हल्लायो।हजारौ जीवनसंगै म पनि हल्लिए।मेरो उचाई देख्न नसकेर कम्पनले पहिले मलाई नै जमिनमा निहुरायो।मसंगै मेरो उचाइलाई एकछिन आफ्नो उचाई मानिरहेका केहिलाई पनि मसंगै ढलायो।छिनभरमै सारा देश स्थिर रहन सकेन,हजारौ घरबार उजाडिए,लाखौ चुलोहरु निभे।म आफै खस्दा मसंगै खस्ने केहिको जीवनले म झन् गरुङ्गो भए।मध्ये दिन अध्यारो बन्यो नेपालको लागि।एकछिन त आफैभित्र बोलिरहने म पनि स्तब्द नै रहन पुगे।यो शहर को भागाभाग र अभाबमा एउटा ठुलो पहाड खस्यो।बर्षौदेखि काठमांडूलाई सुन्दर बनाउने संरचनाहरु माटोमा मिल्न पुगे।हजारका जिन्दगि माटोभित्र हराए।बिस्तारै कतै उद्धारका काम पनि भए तर एक चोटी देश थांगथिलो भयो।बिस्तारै खुल्ला ठाउँहरुमा आत्तिएका मानिसहरुको जमात बढ्न थाल्यो।टुँडिखेल पनि खचाखच भरियो ।देशभरी नै हजारौको ज्यान र घरबार नराम्ररी प्रभावित भएको समाचार बढ्दै जान लागे।दिनप्रतिदिन पराकम्प जानु सामान्य हुन थाल्यो।
समयलाई त के छ र बित्नु थियो बितेकै छ,आजभोली दिन सामान्य हुन थालेका छन्।कोलाहलमा डुबेको देशको स्तिथि बिस्तारै सामान्य हुने क्रम जारी छ।म पनि उचाई घटेका कारणले सामान्य भएको छु।एउटा ढिस्को बनेको छु येही ब्यस्त सुन्धाराको माझमा।बेलाबखत दुख लाग्छ ढल्नु परेकोमा तर यो भन्दा पनि बढी दुख त पुनर्निर्माणको आसमा बस्ने नेपाली र सरकारले गरेको बेवास्था को तालमेल नमिलेको देखेर लाग्छ।के गर्नु ओराली लागेको मृगलाई बाच्छोले पनि लखेटछ भन्थे त्यहि भएर होला एस्तो स्तिथिमा आजकल त छिमेकीले पनि निकै दुख दिएका छन्।यो संगै स्वाबलम्बी बन्ने सपना बोक्ने नेपाली को भबिस्यलाई भुइचालो सहित कालोबजारी र भ्रस्टाचारले कता पुर्याउने हो भन्न गार्हो छ। एउटा सपना भने अधुरै रह्यो..त्यो हो संबिधान आएको दिनको हर्क बढाई हेर्नु तर दुइ दशक लगाएर आएको संबिधानले पनि नेपाली लाई सुख दिन सकेन..बेसै भयो आजकल मलाई अर्को दुख हेर्नु परेको छैन टुलुटुलु उभिएर।मेरो परिचय नेपाली को गौरब अनि घमण्ड दुवै जोडेर बनेको धरोहर ‘धरहरा’ बाट’ धरापघरमा’ येसरी बदलिन सक्ला भन्ने कल्पना मैले साएद नै गरे तर यो कल्पनाको सहरभित्र कल्पना भित्रै म पनि कतै समेटिएको छु।कुनै दिन फेरी मलाई धरहरा बनेर यो शहर माझ उठ्ने रहर छ,नेपालीको स्वाभिमान अनि अभिमान दुबैसंग गासिएर सम्बृद काठमांडू हेर्ने रहर छ।आशा छ म उठ्ने बेलासम्म काठमांडू पनि बदलिएको हुनेछ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)