~अस्मिता अधिकारी~
बिहानै म उठ्नु पहिल्यै
पुजा-पाठ गरेर
तिमी रुममा चिया लिएर आउनु
अफिस जान ढिलो हुन्छ
छिटो उठ्नुस् भन्दै तिम्रा
चिसा हातले मेरा गाला सुमसुमाउनु
निदाएकै नाटक गरेर
मैले तिम्रो हात समातेर तान्दा
“धत्!तपाईं त” भन्दै लजाउनु
खाजा-नास्ता तयार गराएर
मलाई पनि तयार गराउनु
पर्स खै भनी मैले सोध्दा
सँधै बिर्सिनुन्छ है भन्दै कराउनु
म अफिस निस्किनु पहिला
ढोकामा मलाई कस्सेर अंगालोमा भर्नु
आज छिटो आउनुस् है भन्दै
ऑखाबाट ओझेल नहुँदा सम्म बाई गर्नु
अफिसमा पनि मलाई
२-२ घन्टामा फोन गरिरहनु
आज हामी फिल्म हेर्न जाने है भन्दा
दिउँसैबाट चिटिक्क परिरहनु
कहिले काहि अफिसबाट राती आउंदा
खाना नखाई नबस्नु नि
आज ढिलो हुन्छ भनेन भनेर
ठुस्स हुदै कोठामा नपस्नु नि
एक गास मैले तिमीलाई ख्वाइदिउँला
अनि एक गास तिमी मलाई ख्वाइदिनु
तिम्रा लागि यो धोद्रे स्वरले गीत गाँउदा
तिमी पनि मलाई साथ दिदै गीत गाईदिनु
मायाप्रेम कै बात मारेर हामी
रात यस्सै कटाउँला
मैले झ्यालबाट जुन हेर्दै
जुनभन्दा तिमी सुन्दर रहेको जताउँला
तिमी लाजले आँखा बन्द गर्दै
मेरो छातीमा आफ्नो शिर टेकाउनु
हजुरलाई म यत्ति धेरै माया गर्छु भन्दै
हात सकेसम्म तन्काएर देखाउनु
हाम्रो भविष्यको बारेमा
कहिलेकाहि तिमी एक्कासी गम्भीर हुनु
तिमी जस्तै सानी गुडिया चाहिन्छ भन्दा
“ईस्” भन्न मेरो अनुहारलाई हातले छुनु
म हर्षका साथ बच्चाबच्चीको नाम सोचुला
हाम्रो नामसँग मिल्ने सुन्दर नाम रोजुँला
फुटबल टिम चाहिन्छ है भन्दा
“हँ” भन्दै तिमी मुख ठुलो पार्नु
मैले लडाएर काउकुती लगाउँदा
हाँस्दा-हाँस्दा तिमी आँखाबाट मोती झार्नु
म सँधै तिमीलाई यस्तै साथ दिउँला
जे होस्,जसरी होस् सँगै हामी जिउँला
एक-अर्कालाई आफ्नो जिवन समर्पित गर्दै
हामी प्रेमको नमुना बनौला
सुखका दिनहरु बुढेसकालमा हाँस्दै
औला भाचेर गनौँला
के तिमी म सँग बिहे गर्छौ?
मेरो मायालाई बिश्वास गर्दै
के मेरो भर पर्छौ?
तिमीलाई म सँधै हसाँउछु त भन्दिन
तर कहिल्यै रुवाएर म झुटो बन्दिन
के तिम्रो जीवनको बास्ना मेरो जीवनमा छर्छौ?
सँधै साथ दिन्छु,के तिमी मसँग बिहे गर्छौ?
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)