कथा : एउटा जिगोलोको बयान

~कृष्ण कुसुम~Krishna Kusum

­”आज बिहान काठमान्डूको न्यूनतम तापक्रम ०.७ डिग्री सेन्टीग्रेटसम्म पुगेको छ । मौसमविद्का अनुसार अझै चिसो बढ्न सक्नेछ,” छेवैको रेडियोमा समाचार आइरहेको छ ।

रेडियो एकनास बजिरहन्छ । म बाहिरको चिसो मौसम सम्झिँदै ओछ्यानमा पल्टिरहन्छु । उठ्नलाई कुनै उत्साह हुँदैन । वास्तवमा भर्खरै समाचारमा आएको मौसमको विवरणझैं चिसिएको छु । यसमा हिजो साँझ गाउँबाट आएको बुबाको फोनले काम गरेको छ । बढ्दो महँगीले ढाड सेकिरहेका बेला बुबाको कुराले नराम्ररी झट्का लागेको थियो । फोन राखेदेखि अहिलेसम्म मेरो दिमाग रन्थनिरहेको छ ।

काठमान्डूको महँगो जीवनयापन, उसमाथि पढ्नलाई सुदूरगाउँबाट काठमान्डू आएको एक गरिब । नियन्त्रण गर्न खोच्दाखोच्दै पनि मेरा खर्च हुने बाटाहरू निकै छन् । तर, आउने एकमात्र बाटो पनि बन्द भएको छ ।

“अब पैसा पठाउन नसक्ने भएँ बाबु, मिलेसम्म पढाइ सकेर गाउँ फर्किएस् । सकिनस् भने त्यत्तिकै फर्किएस्,” हिजो साँझ बुबाले भनेका भनाइ मेरा मस्तिष्कमा कपी-पेस्ट भएर जस्ताको तस्तै छछल्किरहेका छन् ।

“चिन्ता नलिनू बा । केही न केही काम मिल्छ नि । यत्तिकै गाउँ फर्केर त के काम ?” मैले बुबालाई ढाडस दिँदै भनेको थिएँ । तर, मलाई थाहा थियो- बुबालाई ढाडस दिएजस्तो सजिलो गरी काम मिल्दैन भनेर । तर, जे भए पनि मेरो चाहना गाउँ फर्किनु थिएन । अन्य साथीजस्तै युरोप, अमेरिका जानु थियो ।

“तेरो जागिर छैन, म बेबार धान्न नसक्ने अवस्थामा पुगें । अनि कसरी बस्छस् शहराँ ?” बुबाको उदास बोली मेरो कानमा गुञ्जिएको थियो ।

“केही समय पर्खेर हेर्छु नि बुबा । गाउँमा भन्दा यहाँ धेरै अवसर हुन्छ । केही न केही त मिलीहाल्छ नि,” यसरी बुबाको चित्त बुझाउने प्रयास गरें ।

फोन राखेपछि लामो सास फेरें । किनकि मैले बुबासँग बोलेका वाक्यले मलाई नै व्यंग्य गरिरहेको भान भयो । आजका दिनसम्म मैले धेरै ठाउँमा आवेदन दिइसकेको थिएँ । तर, काम मिलेको थिएन । उसमाथि घरबाट खर्च नआउने भएपछि मेरो रक्तचाप बढ्ला जस्तो भएको छ । दिमागले कुनै विकल्प सुझाउन सकिरहेको छैन ।

दिमाग र शरीर दुवै यति शिथिल छन् कि म हिजो ओछ्यानमा पसेको अझै बाहिर आएको छैन । वायाँ हात आँखाअगाडि ल्याएर घडी नियाल्छु । १० बजिसकेको छ । शायद म कुनै कर्मचारी भएको भए कार्यालय हिँडिसकेको हुन्थें अथवा जाडो बिदा नभएको भए क्याम्पसका साथीहरूसँग क्यान्टिनको सस्तो चिया पिउँदै गफ चुट्दै हुन्थें । के-के सोच्दै ओछ्यानमा सिरकले बेरिएर बटारिरहन्छु ।

ढकढककक ~~~

अचानक कसैले ढोका खटखटाएको आवाज आउँछ ।

त्यो आवाजले म घरबेटी आएको आँकलन गर्छु । विगत तीन महिनादेखि कोठा भाडा तिर्न नसकेको कुराले मेरो छातीको धड्कन तेज हुन्छ । यो सहरमा घरबेटीको चारवटा घर छन् रे ! उनी यो घरमा बस्दैनन् । महिना-महिनामा घरभाडा उठाउनमात्र आउँछन् । योभन्दा अघि दुइचोटि उनलाई विभिन्न बहानामा टारेर पठाएको छु ।

ढकढककक ~~~

फेरि उस्तै गरी ढोका खटखटाएको आवाज आउँछ । यसपालि मेरो मुटुको गति झन् तीव्र हुन्छ ।

“ओई दीपके ! मरिस् कि जिउँदै छस्?” यसपालि ढोकासँगै मान्छेको आवाज पनि आयो ।

आवाज सुनेर मेरो मुटुको गति कम भयो । ऊ घरबेटी नभएर सँगै क्याम्पस पढ्ने साथी उत्पल थियो । म अल्छी मान्दै ढोकामा पुगें र छिस्किनी तल झारें । चुकुलमा समाएर ढोका भित्र तानें । उत्पल पतझडको रुखझैं मेरो सामुन्ने ठिंग उभिएको थियो ।

“भित्र आइज,” मैले भने ।

“तँ त कुम्भकर्णकै अर्को संस्करण भइस्,” भित्र प्रवेश गरेपछि पेन्टको पछाडि राखेको पत्रिका झिकेर ओछ्यानमा फाल्दै ऊ पनि एक छेउमा बस्यो, “अनि के हो यार, तेरो अनुहारको फ्युज त पूरै उडेको छ त ?”

खिरीलो ज्यानमा लामो कपाल पाल्ने उत्पल ठट्टा गरिरहन्छ । अक्सर उसलाई उदास भएको र गम्भीर कुरा गरेको देखेको छैन । तर, म ऊसँग ठट्टा गर्ने मुडमा छैन । म चुचचाप बसिरहें । उसले फालेको ‘कान्तिपुर साप्ताहिक’को आवरणमा एउटी केटी हाँसिरहेकी थिई । मेरा उदास आँखा त्यैमाथि तैरिरहेका थिए ।

“हैन के भो ?” उसले मलाई झक्झकाउँदै सोध्यो ।

“तनाव छ यार ।”

“के भो र ?” उसले सोध्यो ।

“पैसाको समस्या यार,” म उदास मुद्रामा बोलिरहेको थिएँ, “बाले हिजो पैसा पठाउन सक्दिनँ भनेर फोन गरेका थिए । यहाँ मसँग न जागिर छ, न त झ्याम्मै पैसा कमाउने कुनै मास्टर प्लान नै छ ।”

मैले बोलेको ‘मास्टर प्लान’ भन्ने शब्द निकै चर्चामा थियो । पछिल्लो पटक हिट भएको ‘लुट’ फिल्मको चर्चित संवाद थियो । यो संवाद त्यहाँको प्रमुख पात्र हाकुकालेले बोलेको थियो । उत्पलले पनि त्यसैमा समाएर जवाफ फर्कायो ।

“त्यसो भए, हाकुकाले जस्तै हुनुपर्छ । चिन्ताले समस्या समाधान हुँदैन,” उत्पल मसँग अघिको जस्तो ठट्टा गरिरहेको थिएन । शायद ऊ मेरो उदासीसँग लय मिलाएर बोल्न खोजिरहेको थियो ।

“चिन्ता हैन चिन्तन गर् । दुःखी भएर समस्या सुल्झिन्न । शहर अवसरहरूको सागर हो, तैंले पहिल्याउन सकिस् भने जताततै अवसरहरू मात्र भेट्छस् ।”

अब ऊ दार्शनिकमा परिणत भएर बोलिरहेको थियो । उसले सहरमा सम्भावना देखाइरहँदा, यसको ठीक उल्टो अर्थ लाग्ने कुनै अमूक भनाइ सम्झिरहेको थियो । निरन्तर मेरो खोपडीमा दौडिरहेको थियो, “अभावको अर्को नाम हो शहर ।”

दुई घण्टापछि ऊ मेरो कोठाबाट बाहिरियो । यत्तिञ्जेलमा हामीले खाना बनाएर खायौं । ऊ हिँडेपछि म फेरि कोठामा एक्लै भएँ । उसले आफू आउँदा लिएर आएको पत्रिका छोडेर गएको थियो । युवायुवतीबीच लोकप्रिय यो पत्रिकाको पाना पल्टाउन थालें । मुख्य पृष्ठमा ‘धन्दा पुरुष वेश्याको’ भन्ने सामग्री छापिएको थियो । त्यो सामग्रीको एक-एक शब्दमा आँखा दौडाएँ । वास्तवमा त्यो एउटा पुरुष वेश्याको अन्तर्वार्ता थियो । पढ्दै जाँदा उनीहरूको कति क्रियाकलाप सम्झेर घीन लाग्यो । तर जब मासिक कमाइ ५० हजारसम्म हुने देखें , मेरा नसाहरू सल्बलाउन थाले । त्यहाँ अरु सुविधाको कुरा पनि लेखिएको थियो । अन्तर्वार्तामै उल्लेख भएअनुसार त्यो जिगोलोलाई रानीपोखरीछेउको गणेश मन्दिरमा भेट्न सकिन्थ्यो, जसको उपनाम थियो ‘मिसन सोल्टी’ । त्यहाँ उसको हुलिया पनि बताइएको थियो तर फोटो भने थिएन । भोलिपल्ट उसैलाई भेटेर गुजारा चलाउने सपना देखें ।

भोलिपल्ट म निकै दोधारमा थिएँ । तर्कनै तर्कनामा कपडा लगाए र मूल सडकतिर निस्किएँ । सडकमा गाडीको चाप निकै बाक्लिएको थियो । रत्नपार्क पुग्नका लागि मसँग ट्याम्पो, माइक्रो र बसका विकल्प थिए । परबाट गुड्दै आएको टेम्पोलाई हात उठाएँ । छेवैमा आएर रोकियो । म पछाडिबाट उक्लिएर तेर्सो परेको सिटमा बसें । टेम्पो गुडिरहँदा म तर्कनामा हराइरहें ।

“कहाँ जाँदैछु ? के गर्दैछु म ? यसरी नै समस्याको समाधान हुन्छ त मेरो दीर्घकालसम्म ?” एक मनले आफैंसँग प्रश्न गर्थ्यो । अर्को मन सम्झाउँथ्यो, “ठीक-बेठिक छुट्याउन त पैला बाँच्नु पर्छ नि, भोकै मर्नु पनि त भएन । मजबुरीका दुसरा नाम महात्मा गान्धी । आखिर के नै पाप गर्न लागेको हुँ र ? कसैलाई लुट्ने हैन, मार्ने हैन ।”

“ल रत्नपार्क झर्नेहरू झर्नुस् है,” टेम्पो रोक्दै चालक महिला बोलिन् ।

म उनको बोलीले झस्के जस्तो भएँ । वालेट झिकेर एउटा १० को नोट र २ रुपैयाको सिक्का थमाएँ । तिनै बेला चालक महिलाको हुलिया मेरो आँखामा ठोक्किए । असरल्ल केस र धुम्मिएको अनुहार उनको चिनारी थियो । म त्यो टेम्पोबाट उत्रिने अन्तिम यात्रु भएँ । ओर्लिएपछि एकपटक चमक उड्दै गएको रत्नपार्क नियालें र रानीपोखरीतिर जान सडक पार गरें ।

रानीपोखरीका फलामे डन्डी र सडककिनारको रेलिङबीच हिँडिरहँदा म असमञ्जस्यमै थिएँ । कता-कता अब जीवन सहज हुने सपना देख्दै थिएँ । उसमाथि आफूले यो काम गर्नलाई आँटे पनि सोचे जस्तो मान्छे नभेटिएला भन्ने डर थियो । दिमागमा शंका र उन्मादको चाकाचुली मच्चाउँदै गणेशमन्दिर छेउ पुगें । मानिसहरूको भीड थियो । त्यो मानिसको भीडबाट ‘मिसन सोल्टी’ पत्ता लगाउनु सजिलो थिएन । वरिपरी आँखा घुमाइरहें । अलि पर कसिलो ज्यान र कोरियन लुक्स कपाल भएको तन्नेरी देखियो । ऊ नै ‘मिसन सोल्टी’ भएको अनुमान लगाएर अघि बढ्दै थिएँ । मभन्दा चाँडो उसको छेउमा नीलो रङको गाडी आएर रोकियो । ऊ हेर्दाहेर्दै त्यो गाडीमा चढ्यो र गाडी बीच सडकतिर सोझिँदै अगाडि हुत्तियो ।

आफू आएको कामको विषयमा केही कुरै पत्ता नलगाई फर्कन मन मानेन । त्यसमाथि भोक लागेको महसुस हुन थाल्यो । सडक किनारमै बसेर एक अधवैशें महिला मकै पोल्दै थिइन् ।

“आमा एउटा मकै दिनू न,” म अलि घोप्टिएर बोलें ।

“एकैछिन है बाबु, पाक्दैछ,” आमाले तगारीमाथिको बलिरहेको कोइला पिर्काले हम्काउँदै भनिन् ।

म एकछिन उभिरहें । मनमा ‘मिसन सोल्टी’ सल्बलाइरहेको थियो । लाग्यो- यी मकै पोल्ने आमैलाई पनि थाहा हुन सक्छ किनकि यिनले पकै पोल्ने ठाउँ र ‘मिसन सोल्टी’ले ग्राहक कुर्ने ठाउँ एकै हो ।

“आमा, तपाईं मिसन सोल्टी भन्ने मान्छे चिन्नु हुन्छ ? यतै वरिपरि भेटिन्छ रे,” मैले सोधें ।

उनले केही नबोली शंकालु नजरले हेरिन् । एकैछिन कोइला हम्काउँदै चुप बसिन् र फेरि सोधिन्, “किन चाहियो ?”

“त्यत्तिकै आमा, सानो काम थियो र !” मैले सामान्य भावमा भनें ।

ती अधवैंशे महिलाले चुपचाप मकै फर्काउँदै आगो हम्किरहिन् ।

मैले जोड गर्दै भनें, “थाहा छ भने भन्नू न आमा ।”

“सडकमै हुर्केको मोरो पहिले मैसँग मकै माग्थ्यो, छोरोजस्तो लागेर दिन्थें । आलाकाँचा केटाहरू बेलाबेला मारपिट गर्दा सम्झाउँथें झगडा नगर भनेर । तर, अहिले ऊ बोल्दा पनि पैसा लाग्छ जस्तो गर्छ । कति बेला काँ जान्छ, के गर्छ, क्यै था’ छैन मलाई । अघि भर्खरसम्म यतै थियो, यौटा गाडी आयो, त्यसमै चढेर कता गयो कुन्नि, के भर त्यस्ता उरन्ठेउलाहरूको !”

म ‘मिसन सोल्टी’को बारेमा ढुक्क भएँ । उनले मेरो हातमा मकै थमाइन् । मकै चपाउँदै अघिकै बाटो फेरि रत्नपार्कतिर फर्किएँ ।

रातभर निद्रा लागेन । एकदिन बिताउनु पर्दा पनि एक महिना जस्तो लामो लाग्यो । भोलिपल्ट पुनः जाँदै गर्दा आज पनि भेटिन्न कि भन्ने डर भित्री मनमा छँदै थियो । तर, त्यसो हुन पाएन । जानेबित्तिकै भेटियो । ऊ हिजोकै ठाउँमा यताउता गरिरहेको थियो । शायद कसैको प्रतीक्षामा थियो ।

“मिसन सोल्टी तपाईं नै हैन ?” फुरुङ्ग हुँदै कुरा शुरु गरिहालें ।

“हो म नै हुँ । किन सोधेको ?”

“तपाईंलाई भेट्ने काम थियो । हिजो पनि आएको थिएँ तर म परबाट आउँदा आउँदै तपाई एउटा गाडीमा चढेर गइहाल्नुभयो ।”

“ए, के काम थ्यो ?” ऊ हातमा मोबाइल खेलाउँदै बोलिरहेको थियो ।

“काम छ,” मैले भने ।

“आज त काम हुन्न । प्याक भैसकें । अरुबाट हुन्छ भने कुनै भाइलाई पठाइदिउँला,” ऊ मलाई पनि ग्राहक ठानिरहेको थियो ।

“तपाईंले गलत सोच्नुभयो, म ग्राहक हैन,” म अलि हडबडिए जस्तो गरी बोले ।

“अनि को त ?” ऊ अलि सशंकित देखियो ।

“म एउटा बेरोजगार मान्छे हुँ, काम कति खोजें तर पाइनँ । मलाई पनि तपाईंको जस्तै काम खोजिदिनु पर्‍यो भनेर आएको,” मैले एकै सासमा सबै कुरा बताएँ ।

उसले चुपचाप मलाई तलदेखि माथि नियाल्यो । त्यसपछि हातमा मोबाइल हल्लाउँदै परपर नियालिरह्यो । उसले केही जवाफ दिन्छ कि भनेर म कुरिबसें । तर, ऊ केही बोलेन ।

“किन नबोल्नु भा ?” निकै बेर जवाफ नआएपछि मैले सोधें ।

“म ग्राहकबाहेक अरुसँग बोल्दिनँ,” ऊ अलि चिढिए जस्तो गरी बोल्यो ।

“किन र ? म त आपत परेर तपाईंको सहयोग माग्न आएको ।”

“साला सब, यस्तै केही न केही नाटक र बहाना गरेर आउँछन्,” ऊसको बोलीमा हल्का आक्रोश थियो, “केही समयअगाडि यौटा लेखक हुँ भन्दै आयो । मलाई तपाईंको जीवन आफैंमा यौटा रहस्यमय उपन्यास जस्तो लाग्यो । म तपार्इंलाई नजिकबाट अध्ययन गरेर उपन्यास लेख्छु भन्यो । मैले सबै कुरा भनिदिएँ । आखिर त्यो साला रहेछ पत्रकार । मेरोबारे सबै छापिदियो । त्यसपछि त मलाई कस्ता-कस्ता मान्छे आएर दुःख दिन थाले, उसमाथि अर्तिबुद्धि दिनेको लर्को पनि लाग्न थालेको छ । यसो नगर, उसो नगर, साला थोडी रहरले गर्‍या हो र ?”

मैले उसको आक्रोश र शंकाको कारण थाहा पाएँ । ऊ निकै वेचैन देखिन्थ्यो । म चुचचाप उसलाई नियाल्दै उभिरहे । ऊ फेरि बोल्न थाल्यो, “क्या अचम्म छ है यो देशमा ? आफ्नो जिन्दगी आफ्नै पाराले जिउन पनि नपाइने भइयो । हिजो सडकमा सुतेको दिन तँलाई भोक लाग्यो भनेर कोई आयो ? लाशमाथि त राजनीति हुने देशमा जन्मिएपछि अरु के कुरा गर्नू ?”

ऊ थामियो, म याचना गर्दै बोलें, “हेर्नुस् मिसन सोल्टी, म पनि तपाईंजस्तै हो । म विकल्पहीन छु, अघि तपाईंले भन्नु भो नि यो काम रहरले गरेको हैन भनेर । म पनि बाध्यताले यो कामको लागि तपाईंकोमा आएको हो ।”

“के गर्ने गरेको छ त अहिले चाहिँ ?” उसले फेरि शिरदेखि पाउँसम्म नियाल्दै बोल्यो ।

“पढ्दै छु,अरु काम छैन । खर्चको समस्याले भोकै मरिएला जस्तो छ ।”

“पढेको मान्छे अरु काम नगरेर किन यस्तो काम खोजेको ? म त यो धन्दामा आउनुअगाडि यौटा क्याबिन रेस्टुरेन्टमा भाँडा माज्थें र पो…” बोल्दा बोल्दै बीचमै रोकियो ।

“धेरै प्रयास गरें कहीँ कतै केही उपाय लागेन । अब सडकमा पुग्न मात्र बाँकी छ ।”

“घरपरिवारले सहयोग गर्दैनन् र ?”

गरिब परिवारको मान्छे म । बाले बेबार धान्न सक्दिनँ, पैसाको आशा नगर् भनिसक्नु भो ।”

केही सोचेझैं गर्‍यो र बोल्यो, “भने जस्तो सजिलो छैन यो काम ।” शायद मप्रति दया जागेको हुनुपर्छ ।

“जस्तो भए पनि गर्न तयार छु,” मैले आफ्नो निरीहता प्रदर्शन गरें ।

“ठीकै छ, चिनता नलेऊ । सहयोग गरौंला,” सहानुभूति देखायो ।

उसको उत्तरले मेरो अनुहार बिजुली चम्केजस्तै उज्यालियो । धेरै खुसी भएँ, मानौं ठूलै परीक्षा पास गरें मैले ।

फेरि उसको स्वर सुनियो, “बचेर काम गर्नुपर्छ, हुल्याहा केटाहरू आक्रमण गर्न आउँछन् । कोही ग्राहक अलि अप्ठ्यारा पनि पर्न सक्छन् ।”

‘हुन्छ’ भन्ने संकेतमा टाउको हल्लाएँ ।

“भोलिबाट यहीँ आउनू, अब म म्याडमसँग जाने बेला हुन लाग्यो ।”

उसले छुट्ने बेलामा मेरो मोबाइल नम्बर लियो ।

० ० ०

त्यसपछि म एउटा पुरुष बेस्या बने । मेरो पहिलो ग्राहक एउटा कुइरे पर्‍यो । मलाई उसले के-के गर्न लगायो । शुरुको दिन थियो । कस्तो-कस्तो दिक्क लाग्यो र अलि अस्वाभाविक अनुभव गर्दै थिएँ । म पहिलोपल्ट वेश्याहरूको बाध्यताप्रति दया पोखिरहेको थिएँ ।

त्यसपछि निरन्तर काम चलिरह्यो । ‘मिसन सोल्टी’को अरनखटनमा हामी ग्राहककोमा जाने गर्थ्यौं । शुरुवाती दिन निकै उदास र कष्टदायी रहे । कारण— राम्रा र माया गर्ने सजिला ग्राहकहरू समूहका पुराना साथीको भागमा पर्थे । अप्ठ्यारा, अलि झन्झटिला र विशेष गरी पुरुषहरूका साथमा मजस्ता नयाँ पर्थे । साह्रै दुःख दिन्थे । घिनलाग्दो, गाह्रो र असुरक्षित । त्यसैले अलि आनाकानी गर्न खोज्यो भने “यसकै लागि त्यत्रो पैसा खर्च गरेको छु, अब पैसा अनुसारको सेवा नलिई कहाँ छोड्नु ?” भन्थे । त्यतिबेला चाहिँ ‘मिसन सोल्टी’ले भनेको सम्झिन्थें, “भनेजस्तो सजिलो छैन यो काम ।” यत्तिकै भनेको हैन रहेछ भन्ने लाग्यो । त्यो बेलातिर म क्याबिनबाट समातिने महिला यौनकर्मीहरूको पिरलो सुन्थें । अरु विकल्पहरू भइदिएको भए नारकीय जिन्दगी भोग्न कसलाई रहर हुन्छ र ? मेरो आफ्नै कुरा बोल्दिएझैं लागे त्यस्ता कुरा सुन्दा । आखिर म पनि त उस्तै जिन्दगी जिइरहेको थिएँ ।

तर जति नै दिक्क लागे पनि तुरुन्त त्यो पेशाबाट भाग्न मिल्ने अवस्थामा थिइनँ । कहिलेकाहीँ जीवनमा बाँच्न सक्नु नै ठूलो कुरा भएर आइदिन्छ । ग्राहकबाट पाएका उपहार र पारिश्रमिकले मेरो जीवन सहज हुँदै थियो । पछिपछि यो काम गर्दा झेल्नुपर्ने समस्यासँग पनि बानी पर्दै गयो । अझ पुरानो हुँदै गएपछि सजिला र राम्रै खर्च गर्ने महिलाहरूको रोजाइमा पर्न थालें । अहिले ३-४ जना महिलाहरू मेरा नियमित ग्राहक छन् ।

“बरु खर्च नभए भन, दिउँला तर जिमसिम गरेर भने पनि ज्यान चटक्क बनाऊ । सधैं स्मार्ट भएर बस है मेरो हिरो,” अक्सर उनीहरू सबैले मलाई यसरी उक्साउँछन् ।

म सधैं उनीहरूको खर्चमा सजिन्छु । अनि कुनै युद्धकालको सिपाहीझैं तयारी अवस्थामा रहन्छु । कतिबेला कहाँ जानुपर्छ, ठेगान नै हुँदैन । तर, उनीहरूले दिएको सुविधाले सारा दु:ख भुलाउँछ । कतै जान परे घरमै गाडी लिन आइपुग्छ । फोन गरेर बोलाए त्यहाँसम्मको ट्याक्सीको खर्च तिरिदिन्छन् । यही सुविधा र मस्तीमा कैयौं पटक नगरकोट, पोखरा र सौराहा गइसकें । कहिलेकाहीँ मुम्बई र गोवा जाने मौका पनि पाइन्छ ।

० ० ०

धेरै भयो उत्पलसँग भेट नभएको ।

“कहाँ हराइस् यार ? भेटघाट हुनै छाड्यो, केमा व्यस्त छस् ?” केही समयअघि उसले फोनमा सोधेको थियो ।

मैले पनि ढाँट्दै जवाफ फर्काएको थिएँ, “खास केहीमा व्यस्त छैन । यौटा त्यस्तै झन्झटिलो काममा फसेकोले हो । मिलाएर भेटौंला नि ।”

मसँग उसलाई भेट्ने आँट छैन अब । कतै उसले मैले अँगालेको पेशा थाहा पायो भने मैले के जवाफ दिने ? यही सोचले तर्किरहन्छु सधैं ऊसँग । आजभोलि कहिलेकाहीँ एक्लै हुँदा सोच्ने गर्छु ।

मानिस केहीमा पनि सन्तुष्ट नहुने रहेछ । पहिला कमाइ थिएन, कमाइको चाहना थियो । समय यत्तिकै बितेकोमा पछुतो हुन्थ्यो । अब अहिले राम्रै कमाइ छ तर न पढाइको टुंगो छ, न कामप्रति गर्व नै । त्यही कमाइले घरमा नियमित पैसा पठाइरहेको छु । बा-आमा पनि खुसी हुनुहुन्छ । उनीहरू छोराले पढेर पैसा कमायो भनेर सोच्दैछन् । यद्यपि अहिलेसम्म के काम गर्छस् भनेर सोधेका छैनन् ।

आजकल यो काममा बानी परिसकेको छ तर सबैलाई आयस्रोतको बाटो र आफ्नो काम देखाउन सक्ने सम्भावना छैन । तसर्थ घरपरिवार र साथीभाइलाई देखाउनकै लागि एउटा ट्राभल एजेन्सी खोल्ने सोचमा छु । जसको लागि अब मलाई लगानी र घाटाको डर छैन ।

(हालः लासभेगास, अमेरिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.