~बिपिन शर्मा~
” नानु के भयो तिमीलाई, निद्रा लागेन ? ” सर्वज्ञले छोरीलाई सोध्यो । सुतिरहेकी उपलब्धिले मुन्टो हल्लाएर केही नभएको संकेत गरी। बाबु पनि छेवैमा पल्टिएर पत्रिका हेर्नलाग्यो । रात निकै बितेको हुनुपर्छ तर कति बज्यो उपलब्धिलाई थाहाभएन, कारण- उसको कोठाको भित्तेघडी आज सातमा रोकिएको थियो । बाबुले यो कुरा थाहापाएन । उसको बाबु घुर्न नथाले सम्म ऊ बडो मुस्किलले निदाएको अभिनय गरिरही । मुखमा पत्रिका ओडेर घ्वार्र-घ्वार्र घुरिरहेको बाबुलाई एकछिन सम्म हेरिरही। उसको अबोध मनमा आज अर्कै चिन्ताले घर बनाएको थियो।
बिहान उठ्दा सधैँ साढेपाँच बजेको हुन्थ्यो । ऊ आफैँ ब्यूँझन्थी, प्रायऊ त्यही समयमा । अनि पलङ छेउकै टेवलमा छोपेर राखेको गिलासको पानीमा हात चोप्थी र बाबुको निधारमा तप्प चुहाइदिन्थी । सर्वज्ञ झस्केर च्याप्प समात्थ्यो उसका पाँच वर्षे कलिला हात । यसरी उनीहरूको दिनचर्या सुरु हुन्थ्यो।
भित्तामा टाँगिएको घडीको पातलो लामो सुइरोलाई कसैलाई नभएको हतार हुन्थ्यो । अनि त्यो सँगसँगै उपलब्धिलाई पनि, कारण त्यसले नजानिँदो गरी दुईटा छोटा मोटा सुइरा घुमाइरहेको हुन्थ्यो । अभ्यस्त भइसकेको थियो सर्वज्ञ । चिया नास्ता, छोरीको होमवर्क चेक, खानाको चाँजोपाँजो सबै गरेर अफिस भ्याउन उसलाई भित्ते घडीको सेकेण्ड काँटा जत्तिकै द्रुत हुनुपर्थ्यो ।
नौ बज्यो- स्कुल जाने बेला भयो । समयसँगको तालमेल कहिलेदेखी हो कुन्नी उपलब्धिले मिलाईसकेकी थिई । उसलाई लाग्थ्यो घडी अनुसार चल्नुपर्छ सबैकुराहरू । बिहान साढे-पाँचमा उज्यालो हुनुपर्छ, ८ बजे सम्ममा चिया खाजा, होमवर्कसबै, नौबजे खाना खाने र हतार-हतार ड्रेस लगाएर साढे-नौ बज्दा नबज्दै स्कुल हिँड्ने। त्यसपछि उसले घडीबाट छुटकारा पाउँथी केही घण्टा । फेरि साढे-तीनबजे ऊ घर आइपुग्ने, ४ बजे बाबले बिहान बनाएर राखिदिएको खाजा खाने, ५ बजे सम्म खेल्ने अनि साढे-पाँच सम्ममा बाबा घर आउने । यी सबैकुरा घडीअनुसार निश्चित र नियमवद्ध थिए । त्यसपछि छ बज्थ्यो- साँझ पर्थ्यो, सात बज्थ्यो राति हुन्थ्यो । आज घडीमा सात बज्यो … र त्यसपछि पनि सात बज्यो, बेलुकाको खाना खाँदा पनि सात बज्यो र सुत्ने बेलामा पनि सातै बजिरह्यो । उसको खटपटीको कारण यही थियो ।
उपलब्धि बिस्तारै उठी, चालचुल नगरी- बाबुले थाहापाउला कि भनेर । अनि एकछिन घडीहेरिरही – सात बजिनैरह्यो । उसले मोनिका आण्टीलाई सम्झी…। समय सँग उसको परिचय मोनिका आण्टीले गराएकी थिइन् । अनि मनमनै भनी- आण्टी अब कहिल्यै साढेपाँच बज्दैन अनि उज्यालो पनि हुँदैन ।…. अब के हुन्छ ?…… उसलाई थाहा थिएन। कृत्रिम उज्यालो सँगको असहमति स्वरुप उसले कोठाको बत्ति निभाइदिई ।
ऊ सानी थिई- तीन वर्षकी । अर्थात आजभन्दा दुई वर्ष अगाडि । उसको स्मृतिमा के कति कुरा रहेकाछन् कुन्नी । तर ममतामयी हात, उसकी आमाका हातको स्पर्श चाहेर पनि ऊ भुल्न सक्दिन । उसलाई थाहाछैन आमा कहाँ गइन् । बाबाले भनेको स्वर्ग जानुभएको रे । ठूली भएर म पनि जान्छु साथीहरूलाई जवाफ दिनुपर्दा ऊ यसै भन्छे । र उसलाई धमिलो याद छ- भुइँमा लडिरहेकी आमाको छातीमा मूण्टो राखेर बेस्सरी रोएकी । जति बोलाएपनि आमा बोलिनन्, न्याना हातले सुम्सुम्याइनन्, उनका हातहरू चिसा भएका थिए, अनि छेवैमा बसेर रोइरहेका बाबाले उठाएर छातीमा टाँस्दै आमा स्वर्ग,……नरो छोरी……..म छु ।
त्यही बेला देखी उसको अबोध मनमा स्वर्ग जाने इच्छा जागृत भएको थियो । उसलाई थाहा थियो हरेक अप्ठेरा कामहरू ठूला मान्छेले मात्र गर्न सक्छन् । अनि यो जानकारी पनि उसले पाएकी थिई कि जति घडीको सुई घुम्दै जान्छ त्यति सानामान्छे ठूला हुँदैजान्छन् । पाँच वर्षकी बालिकाले बुझ्नसक्ने अधिकतम कुरा यति नै थिए, जति उसले बुझेकी थिई । तर अफसोच…..आज घडीले धोका दियो उसका सारा आकाङ्क्षा पानी भए ।
सानैमा आमा गुमाएकीले पनि हुनसक्छ उपलब्धि गम्भिर र अन्तरमुखी स्वभावकी भएकी । हरेक कुरालाई मनमै राख्थी र आफ्नो मस्तिष्कले भ्याएसम्म विचार गर्थी । अति आवश्यक परेमात्र अरुलाई सुनाउँथी ।
आज निद्रा नलागेको रात उसले सम्झन सक्ने सम्मका सबै कुराहरू सम्झी । उसले आफ्नी आमालाई सम्झी । र सम्झी आमा सँगको वियोग। अनि उसकलाई आमाको अभाव महसुस हुन नदिन बाबाले गरेको प्रयास । मोनिका आण्टिले उसलाई माया गरेको सम्झी । यी बाहेक धेरै कुरा थिए उसले बुझ्न र सम्झन नसक्ने ।
ऊ तीन वर्षकी हुँदा उसकी आमा शारदा गर्भवती थिइन् । खास ईच्छा शारदाकै थियो अब एउटा सन्तान (छोरा भए बेस) जन्माउने । यसमा सर्वज्ञको पनि मौन समर्थन थियो । उनीहरू बसेको पुरानो दरवार जस्तो सार्वजनिक भवनको भुइँतलामा स्वास्थ्य चौकी थियो अनि बाँकी कोठाहरूमा अस्पतालका कर्मचारी र केही सरकारी कर्मचारी बस्थे । अन्तिम महिना थियो शारदाको गर्भको । दु:खद संयोग – जुन रात उनलाई ब्यथाले च्याप्यो त्यसरात स्वास्थ्य चौकीकी नर्स पनि त्यहाँ थिइनन् र हेल्थ असिस्टेण्ट पनि बिदामा थिए । नजिकै डाक्टर नर्सको सेवा पाउन असम्भव थियो । शारदालाई प्रसब ब्यथाले चाप्दै लग्यो । सर्वज्ञसँग अत्तालिनु बाहेक कुनै उपाय रहेन । अस्पताल निक्कै टाढा थियो । करिब १५ कि.मि. दूरीको भद्रपुर अस्पताल पुग्न कुनै सवारीसाधन पाउने सम्भावना थिएन त्यो मध्यरातमा । दिउँसो त्यही रुटमा चल्ने एउटा बस लैजान बसधनिले अनुमति त दियो तर चालक रक्सिले टिल्ल भएर सुतेकोरहेछ, त्यो सम्भावनाको पनि अन्त्य भयो । करिव ४-५ घण्टा यसरी बित्यो । त्यही बिचमा शारदाले विदा लिइन् ।
त्यसपछिका अत्यास लाग्दा दिनहरूमा सर्वज्ञले आफूलाई सम्हालेर अविचलित भई आफ्नो जिम्मेवारी पूरा गर्यो । सकेसम्म उसले उपलब्धिलाई आमाको अभाव महशुस हुनदिएन । तर त्यो कोशिश प्रतिशतमा तीन अङ्क पुग्न त सम्भव पनि थिएन । बरु मोनिकाको आगमनले उपलब्धिको दैनिकिमा केही खालीठाउँ भरेको थियो ।
मोनिका- त्यस स्वास्थ्य चौकीकी नवआगन्तुक नर्स । उमेरले शारदा जस्तै, विवाहित तर मातृत्वको अनुभवबाट प्रकृतिले वञ्चित गरेकी महिला । उपलब्धिलाई उनले खुब माया गरिन् । हुनसक्छ आफूमा निहित मातृत्व पोखेर सन्तुष्ट हुन चाहिन् । उनी केवल ६ महिको लागि काजमा त्यहाँ आएकी थिइन् । त्यसो भएपनि उनले अनेक कोशिश गरेर समय लम्ब्याइन । डेढ बर्ष सम्म उनले उपलब्धिलाई आमा बनेर भरपूर स्नेह दिइन् ।
यी डेढ वर्षमा धेरै कुरा भए । समाज न हो, जे पनि भनिदिन्छ । बिचरो आफ्नी स्वर्गीय पत्नी प्रति उत्तिकै समर्पित सर्वज्ञलाई लाञ्छना समेत लगाए मान्छेहरूले । उपलव्धिको निम्ति मोनिकाले गरेको समर्पणलाई सशंकित आँखाले हेरियो । र त्यस्तो हल्ला मोनिकाको पति कमलेशको कानमा समेत पुगेछ । उसले मोनिकालाई घर तिर बोलाउन थाल्यो । बोल्नै नपर्नेहरू बोलेको बेला चुप लाग्नु नै उत्तम भन्ने सम्झेर मोनिका त्यहाँबाट फर्किन् । मोनिकाले आफ्नो कोठामा टाँगेको भित्ते घडी उपलब्धिलाई उपहार दिएर गएकी थिइन् । आज छ महिना पछि त्यो घडी रोकिएको थियो र त्यसैको चिन्ताले छटपटिएकी उपलब्धि यतिबेर सम्ममा निदाइसकेकी थिई।
सपनामा उपलब्धिले मोनिका आण्टीलाई देखी । उसको चिन्ता सपनामा पनि यथावत थियो – घडी रोकिएको । हातमा भित्ते घडी बोकेकी उपलब्धिले मोनिका आण्टीलाई बोलाई । तर उनि फर्केर हेर्दा त ……….!! मोनिका आण्टी होइन आमा थिइन् । आमा तपाई कहाँ जानु भएको …… म कति एक्लै छु । आमा आउनुस् न ,…. नत्र हामीलाई पनि लानुस् तपाई गएको ठाउँमा,…. स्वर्गमा । अव त मोनिका आण्टिले दिएको घडी पनि रोकियो । आमा अब म कहिल्यै ठूलो हुन पाउन्न है ? आफैँ स्वर्ग जान सक्दिन होला । ….आमा बाबा र मलाई पनि लानुस न । उसले यत्तिका कुरा भन्दा आमा केही बोलिनन् सुनी मात्र रहिन् । उपलब्धिले आमालाई गम्लङ्ग अँङ्गालो हालिन् तब उनलाई लाग्यो आमा होइन मोनिका आण्टी थिइन् । उनी निद्रामै कराइन्- ” मोनिका आण्टी………”
उनि सपनाबाट ब्यूँझदा मोनिका आण्टी उनको निधारमा मुसारिरहेकी थिइन् । उपलब्धि उनलाई अँगालो हालेर रुन थालिन्- “आण्टी मलाई छेडेर अब कहिल्यै नजानुस् है । ” उपलब्धिले बाहिर हेरिन् , उज्यालो भइसकेको थियो । भित्तको घडी हेरिन्- काँटा हिजोकै ठाउँमा रोकिएका थिए । उनले आश्चार्य चकित भएर मोनिकालाई सोधिन् – “आन्टी, तपाई उज्यालो लिएर आउनुभएको हो ?” मोनिकाले बुझिनन् । उपलब्धिले घडी तिर देखाइन् । सायद मोनिकाले बुझिन् । अनि आफ्नो ब्यागबाट एउटा ब्याट्री झिकिन् र घडीमा लगाउँदै भनिन् “म साँच्चै उज्यालो लिएर आएँ, तिम्रो लागि ।”
यत्ति भन्दा भन्दै सर्वज्ञ ट्रेमा तीनकप चिया लिएर आउँछ र सम्झन्छ अघि आउनासाथ मोनिकाले सुनाएको उनको सम्वन्धबिच्छेदको कुरा । सर्वज्ञ मनमनै भन्छ “यो अँध्यारो र उज्यालोको हिसावकिताव पनि अनौठो रहेछ- किन कुपि मुन्तिर नै अँध्यारो हुने होला ?”
घडी चल्न थालिसकेको थियो । उपलब्धिको मुहारमा अलौकिक खुसीको सञ्चार भइरहेको थियो । अनि त्यो खुसीले सर्वज्ञ र मोनिकालाई धेरैबेर बिटुलो नबनाईरहन सकेन ।।
Bipin Mishra
Gairi Dhara, KTM
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)