~तिर्थराज अधिकारी~
छन्द : उपजाति
पुराण सैँयौँ जति नै लगाऊँ
प्रदीप लाखौँ जति नै जलाऊँ
यी हात जोरौँ जति प्रार्थनामा
बन्ला सुधो वानर यै थलामा ?१।
संगीत वा गीत कुनै सुनाऊँ
खोलेर छाती जति प्रीत लाऊँ
उल्टै डसी ढाल्दछ सर्प माथ
पीयूष मारी विष बोक्छ साथ ।२।
छोड्ला कहाँ बाज सिकार गर्न
छोड्ला कहाँ बाघ र प्राण हर्न
प्यारो सधैँ रात छ स्याललाई
पाठो लुछी गर्छ उतै रजाइँ ।३।
कोही हिँडेका पनि चाल पाए
चुका तिनैका रस चुस्न आए
दया कहाँ हुन्छ हुँडारलाई
गर्ला र गोही कसको भलाइ ?४।
मावै चपाए सब माकुराले
छ भोक कस्तो अझ जाल हाले
अत्यास लाग्दो जग के उठायो
यता विधाता किन धर्मरायो ?५।
छ बोट यौटै रस एक माटो
छ फूल काँडा गुण भिन्न पाटो
काँडा कडा जर्जर रागमा छ
सौन्दर्यको फूल परागमा छ ।६।
साँचेर आगो मनको कुनामा
सेचिन्न पानी नव-आँकुरामा
हरामको नाम हुँदैन राम
भेट्ला र ब्वाँसो कुन दिव्यधाम ?७।
छेक्ला सके बादल घामलाई
पुज्ला कुनै निर्जन रातलाई
संसार चारैतिर छैन जालो
छ सिर्जना फाँट सधैँ उज्यालो ।८।
छ भेल बाढी गतिमा विकार
नकामको काम छ वारपार
उत्ताल उल्का क्षण छैन बास
छोयो जहाँ जीवन झन् उदास ।९।
* ****
मान्छे कुनै वानर सर्प हैन
मान्छे कुनै बाज र बाघ हैन
न हो कुनै स्याल , जुका रजाइँ
न दाँतको हो विषको लडाइँ ।१०।
आमा चपाई किन बन्छ भार
बन्दैन काँडा रस पुष्पहार
आगो बनी दन्दन दन्किँदैन
ब्वाँसो बनी मानव सन्किँदैन ।११।
यो मेघ, बाढी किन पुज्छ रात ?
छ खोज नौलौ युगको प्रभात
यी हात उठ्दा नव- सिर्जनामा
अनन्त यो पु्ग्दछ निर्जरामा ।१२।
उमार्न हो मार्न हुँदैन खेत
उभार हो भार कहाँ छ चेत ?
उत्थानको तान लगाउनै छ
अकालको काल भगाउनै छ ।१३।
विचारमा जर्जर हुन्न माली
कहाँ छ होचो शिर यो हिमाली ?
संग्रामले भो अब डस्नु हुन्न
फसे जहाँ जो अब फस्नु हुन्न ।१४।
(स्रोत : “सत्ताका किनाराहरू” – कवितासंग्रह – २०७० बाट साभार )