~डा. शान्ति थापा~
चन्द्रकलाको बिहे रे।
भर्खर – भर्खर शहरको हावाले छोएको गाउँ। नक्कल – झक्कलमा शहरी भए पनि व्यवहारमा गाउँलेपन नै छ यहाँ। र नै बिहेबटुलोभन्दा त्यो व्यक्तिगत भई रहँदैन। सघाउ पुऱ्याउन ‘खै’ गर्दै गाउँका बुढापाका, तरुणी – तन्नेरी, आईमाई, लालाबाला सबै आआफ्नो सीप लिएर उपस्थित भइहाल्छन्। तर सन्तेका अर्थात सन्तमानका रवाफले गर्दा बिहे घरको छाँटकाँट नै भिन्नै देखेर तीन छक्क परेका छन् गाउँलेहरू।
गाउँघरमा यस्तो खाले आयोजन हुँदा चुलैनिम्तो गर्ने चलन छ। तक सन्तमानले धाक् देखाउन कार्ड बाँडी निम्तो गऱ्यो। को को जाने बिहेमा – घरका मुखिया कि सबै? अल्मलिएका छन् उनीहरू। यता चन्द्रकलाको नाउँ कार्डमा कलामा फेरिइएको छ। आखिर नफेर्नु पनि किन? जसले समयसित पाइला मिलाउन सक्दैन उसको हार निश्चित छ।
गुवाहाटीमा उच्च शिक्षा प्राप्त गर्न घएको सन्ते फर्केर आउँदा निकै समृद्धि लिई फर्की आएको छ। हुन पनि दुई वर्ष लाग्ने ठाउँमा सन्तेले निकै वर्ष खर्च गऱ्यो नि पढ्नवर्नमा। निकै सभासमितिमा पनि भाषण दिँदै हिढ्थ्यो रे भनेर सँगै पढ्न भनी गएका अनि जसोतसो पढाइ इतिश्री गरी मास्टरी गरिरहेका बीरभद्रहरू भन्ने गर्छन् कहिलेकाहीँ।
आयको स्रोत के हो कसैलाई सुइँकोसम्म छैन। तर सन्तमानको घरको चालचलन भने फेरिइएको छ। ढल्न आँटेको खरको छानाका ठाउँमा अहिले आँखाका ज्योति मार्ने टलक लिएका टिनका छाना हालिएका छन्। पहिलेका भकारी, ढिकी, जाँतो, गोठहरू कता अल्पिए कता। कोठेबारीमा… लहलह देखिने सागपात छैनन्, त्यहाँ त मौसमी फूल हाँसेका छन्।
सन्तेका रवाफको गर्मी भाइ ठण्डे र बाबुमा परेको देखिन्छ। आमाचाहिंलाई तर सन्तेका समृद्धिले फेर्न त कता हो कता छुन समेत सकेको छैन। के गर्ने कोही – कोही त खै कुन धातुले बनेका हुन्छन् कुन्नि!?
ठण्डे सारै चनाखो अनि निकै झिल्के छ, पढ्नवर्नमा पनि आफ्नो नमालाई सार्थक बनाउन सफल बनेको छ। उ पढ्नवर्नमा सिपालु नभएर के भयो र दाजुचाहिँ ऐश्वर्यको भोग गर्न सकैभन्दा पछि छैन –
गुर्रर्र गर्दै कानका पर्दा च्यात्ने गरी मोटर साइकल कुदाउँदै हिँड्छ – उ आउँदा घरका आमैहरूले छोरी – बुहारीलाई आँखाका इशाराले घरभित्र लखेटिपठाउँछन्। अनि फखेटेवा’लाई त बेस्मारी नै फेरेको च। अहिले उनी पखेटे बा हैनन् हर्कमान बा कहलाउँछन् गाउँघरमा।
उनको लवाइ – खुवाइ, व्यवहार सबै फेरिएका छन्, उपाय छैन। उहिल्यै सत्यनारायण पूजा लाउँदा जाग्राम बस्ने चलन थियो। राति जाग्राम बस्दा भजन – कीर्तन गरी बस्दथे। ‘खै बाटो खनेको स्वर्ग जाने भनेको” गीतको तालमा खैंजडी, मुजुरा र मादल बज्दा हर्कमानले आफूलाई थाम्न नसकी दुवै हात चराले प्वाँख फिजाएझैं फिजाई घुँडासम्म कछाड कसी बाजा र गीतका तालमा एकोहोरो फन्फन्ती रिङ्गने गर्थे – उनी नाच्दा चराले प्वाँख फिंजाएर उडेझैं लाग्दथ्यो… सायद त्यही दृश्य देखेर होला उनी पखेटेबा कहिल्याएका हुन्।
सन्तेकी आमा मनमाया सारै सोझी खालकी हुन्। एकोहोरो बिहानदेखि बेलुकीसम्म घरधन्धा छिन्नमा लागिरहन्छिन्। छोराको समृद्धि भोग्ने उनको उछारै छैन। जहिले सुकै कुनै न कुनै काममा अल्झिरहेकी हुन्थिन्। सन्तेले उनलाई सम्झाइ – सम्झाइ हरेस खाइसकेको छ। के गर्ने गधा घोटी गाई बनाउन नसक्ने पऱ्यो उ। बेला बेला सन्तेको प्रयास दोहोरिन्छ… तर मनमायाको झ्वाँक् देखेर उ सह्रै तर्सिन्छ। कते समृद्धिको रहस्य त खोलिदिने हैन आमाको फत्फताइले? र नै चुपचाप सम्झौता गर्न बाध्य भएको हुन्छ उ…
‘बिहेका अघिल्ला दिन जनैसुपारी रे’ पल्ला घरका बडाबाबुकी बुहारी बुद्धिमायाले ससुराचाहींलाई भनेकी हुँदा, ससुरा थर्कमान आफ्नो निकै वर्षको अनुभवको पोको बोकी सन्तेका आँगनमा देखा पर्छन्।
‘लौ बडाबा आउनुभएछ, खै बस्न देऊ’, सन्तेले अह्राउँछ। थर्कमानले बिहेघरको रङ्ग – ढङ्ग देखेर आफ्नो अनुभवको पोको फुकाउने आँटै गरेनन्। दाउ -छुरी – कटारी उद्याएर आएका गाउँलेहरू एकातिर बसी ट्वाल्ल परिरहेछन्…
मङ्सिर महिनामा पानी नपर्ने हुँदा गाउँमा यसो तिरपाल टाँगेर बिहेघर बनाइन्थ्यो जसमा गाउँलेहरू आफै लागीमेली गरिदिन्थे। तर…यहाँको त कुरै ना भिन्नै छ। शामियाना शहरदेखि मगाइएको छ ट्रक ट्रकमा… अनि शामियाना बनाउने मानिस पनि ल्याइएका छन् उतैतिरदेखि। रङ्गी – चङ्गी लुगा टाँगेर ठूलो सभा गर्ने थलोझैं बनाइएको… थरी – थरीका रङ्गीन बल्ब र नियोन लाइटले झिलिलिलि पारिएको… कुर्सी – मेच… खाने, पकाउने, बस्ने बेग्ला – बेग्लै घर!!!
भान्साघरदेखि चलेको मगमग बासनाले गाउँलेहरूको नाकै बसाएको छ। ‘निकै जोडदार आयोजन छ आजै, भोलि झन् कस्तो होला हौ’ भन्दै ठूलो घरमा बसेका आइमाईहरू साउती गर्छन्।
घुइँङ्ङ्… घुइँती गाडीको लाम आएर सन्तेका दैला अघि रेकियो। ‘लौ अइपुग्यो’ भन्दै सन्ते तर्खरियो। बेहुलो पक्षका मानिस पचास – साठीजना जति ग्वार्ग्वार्ती बिहेघरमा पसे…. ‘बिजातलाई दिएछन् कि क्या हो छोरी, खै नेपालीजस्ता त देखिंदैनन् त!’ भन्दै छेवैमा बसेकी एकजना आइमाईले बुद्धिमायाका कानमा सोधी।
‘हैन, हैन, यो केटो त हाम्रै जातका हुन्, अँ आउनेहरूमा चाहीं धेर जसो अरू जातका छन् रे, बेहुलाका घरका छेउछाउ त्यति नेपाली छैनन् रे।’ बुद्धिमायाले उसको मनको भुट्भुटी मेटिदिंदै भनी।
‘अनि बेहुलाले के काम गर्छन् नि?’
‘खै, हाम्रो नानीसँग व्यवहार छ रे भनेको सुन्थें। के कस्तो उत्ति जान्दिनँ हौ म पनि…’, बुद्धिमायाको कुरा ढाक्ने असफल प्रयास!
‘ए’ भन्दै सोध्ने आइमाईले अर्कीलाई आँखा सन्काई।
जनै सुपारीमा गरिने रीतिथिति भन्दा खानपीनतिर पो आउनेहरूको मन धेरै आकर्षित थियो। बल्ल – बल्ल रीतिथिति गरिसिध्याएर उनीहरू खानपीन गर्न लागे। पाहुनाहरूको पहिरन देखेर गाउँकाहरू तीन छक्क परेका छन्। पिठ्यूँ मात्रै अलिकति छोपिएको ब्लाउज अनि दामी सारी अनि गहनाले झपक्क, गहनाका गर्मीले होला त्यस्तो ब्लाउज लाएका। अनुहारभरि पनि के के जाती पोतेका, नङ्ग्राहरू पनि… कोही फेरि त्यो के भन्छ क्या त पञ्जाबीले लाउने सुरवाल लाएका। छोरा मानिस फेरि घाँटीसम्मको बन्द सूटमा।
‘हन क्या हो यस्तो, बिहेबटुलामा यस्तो के लाएर आएका हुन्?’
आइमाईहरूले कुरा गर्न सजिलो विषय भेट्याए। बूढी पाकी एकजनाले अलिक हपार्ने पाराले ‘चुप लाग् मोरीहरू’ भन्दा पनि गुन्गुन कुरा चलिरह्यो।
बेलुका कसार बटार्ने भनेर आइमाईहरूलाई मनमायाले भनेको हुँदा धेरजस्तो घर फर्केनन्। अनि कसार बटार्ने आयोजन… निकै हांसो ठट्टा चल्यो घरै उचाल्ने गरी। सन्तेले आएर आमाचाहिंलाई सोध्यो ..’के हो?’ थाहा आएपछि भन्यो, ‘धेर नबनाऊ, कसले खाने त्यो, उताकाले यी सब खाँदैनन्।’
‘हन कस्तो कुरा गरेको तैंले, दही चिउरा र कसारै त हाम्रो सगुन हो’, आमाचाहिं झ्वाक्किँदै फत्फताउन थालिन्। कुरा बिग्रिन बेर छैन सोची सन्तेले त्यहाँदेखि सुइँकुच्चा ठोक्यो। नत्र … बुद्धिमायाले काकी सासूलाई फकाउँदै सुत्ने कोठामा लगिन् र चुप लगाइन्, नत्र भने आज त पक्कै पनि कुरा नराम्रो हुने थियो। जसोजसो कसार बटारीवरी बुद्धिमायाले थान्कोमान्को लगाइन् अनि चिया – चमेना गराएर सबैलाई बिदा गरी आफू पनि घरतिर लागिन्।
घरको बरन्डामा चौकी हालेर ससुराबा धुम्धुम्ती बसेका। बुद्धिमायाले धेर लेखपढ गर्न नपाए पनि बुद्धिमा तर नामकै अनुरूप छिन्। उनलाई बुझ्न बाँकी रहेन – भाइका घरमा नपुछेकाले ससुराबालाई नराम्रो लागेको छ। के गर्ने, अंशबन्डा छुट्याएपछि, धुरी छुट्टिएपछि मान्छेको मन पनि त फेरिइन्छ। तर ससुरा बालाई के भनी सम्झाउने? बुढेसकालमा मान्छे यसै पनि धेर भावुक हुन्छ। ‘चिया पिउनुहुन्छ बा?’ बुद्धिमायाले उनको मन अन्तैतिर फर्काउने प्रयास गरिन्।
‘ले न त।’ ससुराबाले भनेपछि हतार – हतार चियाको बटुको ल्याएर ससुरालाई दिइन् र आफू पनि एक बटुको चिया लिएर टुसुक्क पिंढीमा बसिन्। न ससुराबाले केही भने न बुहारीले नै केही बोली। मात्र सुरुप्प …सुरुप्पको आवाज आइरह्यो। सायद ससुराबाले सानो भाइको घरमा पाएको अपमान चियाको घुट्कोसितै निल्ने प्रयास गरिरहेका थिए।
बिहेका दिन बिहानबिहानै एक अर्को दृश्य देखियो। बेहुलीलाई नुहाउन भाउज्यूको खोजी हुँदा बुद्धिमायालाई बोलाइयो। हतार – हतार घरधन्धा सकेर उनी हाजिर भइन्। तर, त्यहाँको दृश्य देखेर उनी अचकच्च परिन्। बुकुवा दल्न भनी सँगीहरू तँछाड – मछाड गरिरहेका। ‘हैन हैन धेर नदल्नुहोस्, भरे मेकअप गर्दा अप्ठ्यारो हुनेछ’ भन्दै शहरबाट झिकाइएको एउटा बुच्ची केटी चिच्च्याइरहेकी।
साँझ झमक्क परिसक्दा पनि जन्ती आइनपुगेकोले बुढापाकाहरूमाझ कुरा हुन थाल्यो। फेरि बडाबा पनि देखिएका छैनन्। चतुर सन्तेले भाउज्यूचाहिंलाई लिएर आउन भन्यो।
के गर्नु? अपमानित भए पनि समृधिका सामु घुँडा टेक्नै पर्ने। लौरोका भर पर्दै बुढा मान्छे बिहेघरमा उपस्थित भए।
राति दस बजेतिर जन्ती आइपुग्यो। साथमा एउटा हस्को पनि त्यहाँ बस्नेहरूका नाकमा ठोक्किन आइपुग्यो। लौ है चाला माला निको छैन। बुढा – पाकीहरूका मनमा चिसो पसिहाल्यो। चम्किरहेका बत्तीस पुतलीहरूलाई आमाचाहिंहरूले सावधान गराए। तर भर्खर बैंसको लाली चढेका कुखुराको सुली बाङ्गो देख्दा हाँसी हाल्नेहरू यहाँ त्यसै के बस्न सकून् –
‘ए, बिहे बटुलामा हाँसो ठट्ठा नगरे कहिले गर्नु हौ, जे सुकै होस्’ भन्दै एक हूल बत्तीस पुतलीहरू खित्का छोड्दै त्यहाँदेखि भागे।
वरमाला लाउञ्जेलसम्म त जन्तीका खुट्टा बटारिसकेका थिए। यता बेहुला – बेहुली वरमाला लाउने उता साथी भाइहरू खुसी मनाउने। उनीहरू पटेका पड्काउन ताले। अनि फेरि सोमरसले छोपिसकेको हुँदा झ्वाँकमा अर्को थोक पनि पड्काइदिए – गुडुम्म!
कता फेरि कुन चाहिंले मातेको सुरमा मौका छोपी एउटी बत्तीस पुतलीका कुठाउँमा चिमोटिदिएछ – ‘मरें नि’ को चित्कार। कतै बोतल फुटालेको आवाज!!
आवाज सुन्नेबित्तिकै यतिञ्जेल रमिता हेरी मक्ख परिरहेका गाउँलेहरू ज्यान जोगाउन जतातिर पायो उतैतिर उम्किए। आइमाईहरू एकातिर आ – आफ्ना लालाबालालाई घिसार्दै अर्कातिर सारीका फुर्का समाउँदै दगुरे। बत्तीस पुतली लाएका लुगा घुँडासम्म उचाली पछिल्तिरका कोठेबारीको बारसार सम्याउँदै बेतौडसँग दगुरे। छोरा मानिसहरू त पहिल्यै छुमन्तर भइसकेका थिए। बुद्धिमायाले पनि ससुराबा चाहिंलाई लगभग घिस्याउँदै घरका आगनमा ल्याइपुऱ्याइन् र हतार – हतार स्वाँ – स्वाँ फ्वाँ – फ्वाँ गर्दै घरभित्र पसेर दैला थुनिन् अनि बाँसले बुनेको दैलाका प्वालदेखि बिहेघरतिर चियाउन थालिन्।
गोडा दशेक गाडीका इञ्जिन स्टार्ट गरिएको आवाज सुनियो। अनि एकै छिनमा बिहेघरका अघिल्तिर शोभायमान धेरजसो गाडी गायब भए।
अघि भर्खरसम्म मानिसको घुइँचोले भरिएको बिहेघर अहिले चकमन्न छ। सन्तमान कानमा मोबाइल लिएर कुरा गर्न व्यस्त छ। बेहुलो एकतिर खरायो झैं आँखा पारी उभिएको छ। बेहुली डल्लो परेकी छे। पुरेबा भित्रभित्रै कामेर होला हल्लिइ – हल्लिइ केही पढ्ने प्रयास गरिरहेझैं देखिएका छन्। कुरा गरिसिध्याएपछि सन्तेले पुरेतबालाई एउटा कुनातिर हातका इशाराले डाक्यो र कुन्नि के भन्यो – जवाफमा पुरेतबाले मुन्टो मात्र हल्लाएको देखिन् बुद्धिमायाले।
आ… जे सुकै गरून्… बा’लाई सुत्ने व्यवस्था गरिदिनुपऱ्यो भन्दै प्वालदेखि आँखा झिकिन्। ओछ्यानमा जिउ छोडेपछि यसो आँखा झपक्क मात्र भएथ्यो होला सुस्तरी दैला ढकढकाएको आवाज कानमा पऱ्यो। बुद्धिमायाले बिरालाका चालले ढोकानिर पुगेर सुस्तरी सोधिन् – ‘को हो?’
‘भाउज्यू बडाबालाई लिएर हिंड्नुछ। दिदीलाई राति नै बिदा गर्ने रे, बा’लाई त होसै छैन – ओछ्यान लागेका छन्।’ ठण्डेले सुस्तरी भन्यो।
ठण्डे र बुद्धिमायाका अँगालाको भर पर्दै थर्कमान बुढा लगभग घिस्रिंदै बिहेघरमा आइपुगे। बेहुला – बेहुलीका छेउमा मनमाया अक्षता मुछिवरी पर्खिरहेकीले मिलेर बल्लबल्ल बुढालाई बसाले… सन्तेले आमाचाहिंलाई आँखालाई आँखाले इशारा गऱ्यो।
बुढाले हात कमाउँदै कुनै सुरत अक्षता टिपेर बेहुला – बेहुलीका निधारमा टाँसे… मुखभित्रै बडबडाएझैं भने – ‘आयुद्रोणे… नारायणे…’ हैन बा’लाई के भा’को? सरस्वती बास गर्ने गला… आज किन भूल आशीष दिइरहेका छन् – बुद्धिमायाले सोची…
दोस्रो पटक अक्षता टिप्दा नटिप्दा बुढा मान्छे घुप्लुक्क अक्षताको दुनामा घोप्टिन पुगे –
कुरा बुझ्न बाँकी रहेन सन्तेलाई – उसले -‘भयो भयो’ भन्दै बेहुला बेहुलीलाई हतार – हतार बाहिर गाडीतिर लिएर गयो –
बुद्धिमाया ससुराबा’को सुसारमा लागिन्…!!
(आवर्त्तन – 2007 बाट साभार) – अगस्त 2011,
ग्यान्तोक, सिक्किम
(स्रोत : रचनाकार डट कम)