आफ्नो वास्तविक नामले भन्दा बढि चट्याङ् मास्टरको नामले सर्वत्र सुपरिचित कृष्णमुरारी गौतम पञ्चायतकालको विषम परिस्थितिमा “वज्रपाणी” छद्म नाम वाट लेख्दा परिचित भइ अप्ठेरोमा परेकोले सोहि नामलाई अनुवाद गरि चट्याङमास्टर मा परिणत गर्दै लेखनलाई निरन्तरता दिएको बताउनुहुन्छ । विक्रमसम्वत २०१० फागुन १४ गते भक्तपुरको झौंखेलमा जन्मनुभएका गौतम शिक्षाले कृषिअर्थविद्, पेशाले ग्रामीण विकाश विशेषज्ञ हुनुहुन्छ भने साहित्यिक क्षेत्रमा प्रखर हास्यव्यङ्ग्य कविको रुपमा परिचित हुनुहुन्छ। उहाँले अध्यक्षता गर्नु भएको संस्था सिस्नुपानी नेपालको संगठनिक ढाँचा तथा विविधता र सामाजिक कार्यहरुमा सिस्नुपानीको सक्रियतालाई हेर्दा उहाँ एक कुशल संगठक पनि हुनहुन्छ भन्ने कुरामा दुईमत हुनै सक्दैन। भ्रष्टचारविरुद्धको अभियानमा पनि उहाँ व्यक्तिगत तथा संस्थागत रुपमा सक्रियताका साथ लाग्नुभएको छ। कुनै पनि प्रश्नको छोटो मिठो र रमाइलो जवाफ दिने चट्याङ् मास्टर हास्यव्यङ्ग्यलाई सोचाइको वैकल्पिक प्रक्रिया ठान्नुहुन्छ। प्रस्तुत छ उहाँ सँगको छोटो कुराकानि:
अहिलेको परिवर्तित अवस्थामा हास्यव्यङ्ग्यको स्थिति कस्तो छ?
हास्यव्यङ्ग्य भनेको सोचाइको प्रक्रिया हो। कुनै पनि राजनीतिक, सामाजिक वा अन्य परिवर्तनले मान्छेको सोचाइलाई रोक्न सक्दैन। अहिले पनि समाजका हरेक क्षेत्रमा हाँसो व्याप्त छ।
देशमा व्याप्त संकटको अवस्थामा पनि कुनै व्यङ्ग्य हुन सक्ला र?
अवश्य सक्छ। ल हेर्नुस् यतिका व्यङग्य छन् यहाँ:
१. माघ १९ गते राजाद्वारा सवै नेपालीलाई देशको प्रमुख मुद्दामा ध्यान दिन आग्रह भयो। सो अनुसार सवैले ध्यान त दिए राजामा तर मुख्य मुद्दा विर्सिए।
२. १५ वर्ष प्रजातन्त्रमा सक्रिय नेता भइसकेका पूर्वप्रधानमन्त्रिहरुले जानेका कुरा दुईवटा मात्र रहेछन् एउटा दर्शन अर्को प्रदर्शन।
३. राजाका कारणले पार्टीमा फुट आएको कुरा मा यति सत्यता छ:
राजाले सवै पार्टीका नेताहरुलाई एकै ठाउँमा वस्न आग्रह गरे तर उनीहरु वसेनन्, फुटे।
४. नेपालमा प्रजातन्त्र जोगाउन स्वाभिमानी नेपाली नेताहरु विदेशि मन्त्रि र हाकिमहरुसँग कुरा गर्न तयार छन् राजासँग छैनन्।
५. राजालाई राजा रहिरहन चुनाव गराउन आवश्यक छैन तर राजा चुनाव गराउन आतुर छन्, नेतालाई नेता रहिरहन चुनाव आवश्यक छ तर उनीहरु चुनावसँग भाग्दैछन्।
६. दलका नेताहरु चुनाव क्षेत्रमा जान सक्दैनन् किनकि त्यहाँ उनीहरुको जनाधार छैन। तिनै नेताहरु राजधानीमा जुलुस झिक्छन् किनकि उनीहरु आआफ्नो चुनावक्षेत्रका प्रतिनिधि हुन्।
देशको प्रधानमन्त्रि नेता भएन भने के हुन्छ?
आखिरमा, अहिले जे हुँदै छ त्यहि हुन्छ।
नेपालमा हरेक क्षेत्रमा राजनीतिकरण भयो भनिन्छ नि यो सत्य हो?
राजनीति त सुरुनै भएको छैन, यहाँ त नाता नीति र फाइदा नीति मात्र भएको हो।
नहाँस्ने मान्छेलाई हसाउनु पर्यो भने सक्नु हुन्छ?
सक्छु। कसरि भने.. यति सोध्नुस “तपाई हास्न सक्ने मान्छे नहाँसि किन वस्नुहुन्छ?” उ हाँस्छ।
हास्यव्यङ्ग्य क्षेत्रको विकाशको लागि के कुरा आवश्यक छ?
मुख्य कुरा त अभिव्यक्तिको स्वतन्त्रता आवश्यक छ। प्रत्येक मान्छेको लेख्न र वोल्न पाउने अधिकारको रक्षाको लागि हास्यव्यङ्ग्यकारहरु पनि सचेत हुनुपर्ने अवस्था छ। साथै छाडापन र स्वतन्त्रता विचको फरक सवैले बुझ्नु आवश्यक छ।
हास्यव्यङ्ग्यले समाजमा परिवर्तनको लागि कस्तो भूमीका निर्वाह गरेको हुन्छ?
यसले वैकल्पिक विचारलाई प्रभावकारी ढंगले अगाडि लिएर आउँछ। त्यो परिवर्तनको लागि अतिआवश्यक कुरा हो।
हास्यव्यङ्ग्यमा कसरि लाग्नु भयो?
लेख्न बस्दा मन प्रफुल्ल हुने अनि आफूले लेखेको पढेर अरु प्रफुल्ल भएको देख्दा आफ्नो प्रफुल्लतामा झन् बृद्धि हुने भएकोले।
त्यसो हुँदा त आफ्नै स्वार्थको लागि लेखेको भएन र?
आफ्नो स्वार्थ पनि अरुको प्रसन्नतामा आश्रित छ।
जीवनमा कहिल्यै प्रेम गर्नुभयो?
मैले त हजारौंलाई गरें तर मलाई कसैले गरेनन् ।
तपाईको प्रेमलाई पनि व्यङ्ग्य सम्झे कि?
प्रेमको टाउको सोझो र पुच्छर बांगो हुँदोरहेछ, मैले टाउको देखाएँ हेर्नेले पुच्छर हेरेछन् क्यार !
प्रेम र बिवाहको कस्तो सम्वन्ध छ?
प्रेम अन्धो हुन्छ बिवाहले आँखा खोलिदिन्छ।
साहित्य क्षेत्रमा अन्य क्षेत्रका मानिसहरुको सहभागिता आवश्यक छ कि छैन?
साहित्य भनेको चेतनाको श्रङ्गारपूर्ण अभिव्यक्ति हो। यो कुनै वर्ग, पेशा, जाति आदिको पेवा होइन र हुनुहुदैन पनि। सवैले आफूमा भएको चेतनाको कलापूर्ण अभिव्यक्ति दिनैपर्छ। मलाईनै हेर्नुस न- म शिक्षाले कृषि अर्थशास्त्रि हुँ पेशा ले ग्रामीणविकाश विशेषज्ञ तर पनि साहित्यको क्षेत्रमा लागेको छु।
यस क्षेत्रको विकाशको लागि कसले के गर्नु पर्छ जस्तो लाग्छ?
सवैले आफूमा रहेको चेतनाको श्रृङ्गारपूर्ण अभिव्यक्ति दिनुपर्छ।
प्रस्तुती : बिपिन शर्मा
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)