समीक्षा : कथाकार पूर्ण राईलाई सरसर्ती हेर्दा

~डी. के. वाइबा~

‘‘जीवन कथा हो। हरक्षण कथा हो। यसैले कथामा जीवन हुनु नितान्त आवश्यक छ। हाम्रो विश्व ब्रह्माण्ड कथाभित्र अटाउनुपर्छ भने आफ्नो माटोको गन्ध त्यहाँ हुनुपर्छ,”यसरीकथाबारे आफ्नो विचार प्रकट गर्ने कथाकार पूर्ण राई नेपाली साहित्यका महान् कथाशिल्पी हुन्। जीवनलाई नै कथा ठान्ने कथाकार पूर्ण राईले जीवनका साना साना घटनाहरूलाई पनि  अति संवेदनका साथ प्रस्तुत गरेका पाइन्छ।

३जुन १९४८ कादिन माता देवीमाया राई र पिता एस. डी. राईको सुपुत्रको रूपमा कालेबुङ महकुमाको मन्सोङ कुलैनबारीमा जन्मेका पूर्ण राई मूलतः कथाकारकै रूपमा परिचित छन्। उनको जन्म मन्सोङ कुलैनबारीमा भए पनि बाल्यकाल भने मङ्पूमा बितेको हो। यसै सम्बन्धमा कवि मोहन ठकुरी भन्छन् – “मङ्पू त पूर्णको प्रिय ठाउँ। अनेक कुराले उनी मङ्पूसित सम्बन्धित छन्। यहीँ पढेका, उनका किशोर र युवाकाल यहीँ बितेका, उनको पहिलो प्रेम यहीँ भएको, उनको साहित्यिक यात्रा यहीँबाट सुरु भएको।पूर्ण राई दस एघार वर्षको हुँदादेखि आफ्नो परिवारमा सामेल गराएर उच्च शिक्षा प्रदान गर्नुहुने थापा परिवारका पदम सर यहीँ छन्। पदम थापा सर त पूर्णको धर्मपिता, पूर्णलाई जेठा छोरा मान्छन् उनले।” (अविस्मृत क्षणहरू पृ.सं. ६६)।

मन्सोङ कुलैन बगानमा जन्मेर मङ्पूमा हुर्केका पूर्ण राईले आफ्नो कर्मक्षेत्र भने सिक्किमलाई बनाएका थिए। उनी  सिक्किम सरकारको तत्कालीन शिक्षा विभागमा २० वर्षसम्म पाठ्यपुस्तक शाखामा कार्यरत रहेर सेवा कार्य गरेका थिए। उनले सिक्किमलाई कर्म क्षेत्र बनाउन अघि मामरिङ सिटोङको एउटा बिद्यालय (सम्भवत पञ्चवती हाई स्कूल) मा केही वर्ष शिक्षण पेशामा संलग्न रहेर समाजमा शिक्षा दिने कार्य गरेका थिए। यद्यपी उनले शिक्षण पेशालाई धेरैवर्षसम्म निरन्तरता दिएनन्। उनले शिक्षण पेशा त्यागे पछि पुन मङ्पूमा मौरी पालन कार्य गरेको कवि मोहन ठकुरी भन्नुहुन्छ। “पूर्ण राई सिक्किम जान अघि मामरिङ सिटोङमा शिक्षक भएर कार्य गरे। त्यसपछी मङ्पूमा फर्केर मौरी पालनको काम गरेका हुन। सोही समय पूर्णलाई पालन पोषण र शिक्षा दिक्षा दिने पदम थापा सरले मङ्पू एरिया लाईबेरीमा लाईबेरियनको पदमा कार्य लगाई दिएका थिए। उनले एरिया लाईबेरीमा काम गर्न थालेपछि साहित्यिक पुस्तकहरू धेरै पढ्न थाले। त्यसै समय देखि पूर्णले राम्रो कथाहरु लेख्न थालेका हुन्” कवि मोहन ठकुरी पुराना बितेका दिनहरुको सम्झना गर्दै भन्नुहुन्छ। उनको औपचारिक शिक्षा कला सङ्कायमा उत्तर बङ्‌गाल विश्व विद्यालयबाट स्नातक तहसम्मको रहेको थाहा लाग्दछ।

कथाकार पूर्ण राई सानै उमेरदेखि साहित्य क्षेत्रमा चासो राख्ने गर्दथे। सानै उमेरदेखि साहित्यप्रति रुचि राख्ने राईको साहित्यिक यात्रा मङ्पूबाट सुरु भएको थाह लागे पनि उनको भत्केको घर  कथालाई पहिलो प्रकाशित कथा मानिएको छ। उक्त कथा सन १९६५ मा दार्जिलिङबाट सुवास घिसिङको सम्पादनमा निस्किने पत्रिका धुँवामा प्रकाशित भएको थियो।

सामान्य लाग्ने विषयवस्तुलाई टिपेर कथाकार पूर्ण राईले असाधारण कथाहरू लेखेका छन्। तिनका कथाहरूमा मानवीय संवेदनाका सूक्ष्मतम तहहरूलाई अति कलात्मक अनि हृदयस्पर्शीरूपमा प्रस्तुत गरेका पाउँछौँ। जसमध्ये पासाङहरूका कथा उल्लेखनीय छ। उनले आफ्ना कथाहरूमा समाजको सजीव चरित्र चित्रण गरेको पाइन्छ। समाजको यथार्थ स्थितिलाई कथाका पात्रहरूकामाध्यमबाट बोल्न लगाउनु कथाकार पूर्ण राईको कथागत विशेषता हो। उनका कथाहरूमा मनोविज्ञानको विशिष्ट प्रयोग भएको कुरालाई डा. घनश्याम नेपालले आफ्नो कृतिनेपाली साहित्यको परिचयात्मक इतिहासमा उल्लेख गरेका छन् (पृ. स.२१४)। कथाकार पूर्ण राईबारे आफ्नो विचार प्रकट गर्दै डा. घनश्याम नेपाल लेख्छन्– “नेपाली कथाको वस्तु जगत् कतिसम्म बहुआयमिक र विविधापूर्ण रहनसकेको छ भन्ने कुरा विचार गरेर स्रष्टाहरूको दृष्टि नपरेका विषयबारे लेख्नुपर्ने आवश्यकता अनुभव गरी त्यसतर्फ कलम चलाउने कथाकरहररूमध्ये एकजना अग्रणी हुन् पूर्ण राई” (चरित्र– कथा विशेषाङ्क पृ. सं.४३)।

कथाकार पूर्ण राईका कथाहरूमा हामी लोक तत्त्व पनि लछेप्रै प्राप्त गर्न सक्छौँ। तिनले आफ्ना कथाहरूमा लोकव्यवहार र लोकविश्वासका कुराहरू क्रमैले उखान, बाग्धारा, लोक उपचारका विधि, लोक सांस्कृतिक चेतना आदिलाई कौशलगत रूपमा प्रस्तुत गरेका छन्। यसै सन्दर्भमा पुष्कर पराजुली लेख्छन् – “भारतेली भूमिअन्तर्गत सिक्किम र दार्जिलिङका गाउँ पाहाडमा आबाद लोकजीवनको चित्र उनका कथामा देख्न पाइन्छ। यही आञ्चलिकतामा लोक जीवनका परम्परागत र व्यवहारगत परिचिति नै उनका कथामा पाइने लोकतत्त्वगत वैशिष्ट्य पनि हो” (अभिज्ञान अङ्क २ पृ. सं. )। उनले आफ्ना कथाकै माध्यमबाट लोक-सांस्कृतिक चेतनाका कुराहरूको पनि उठान गरेका छन्। राईले सांस्कृतिक चेतनाका कुराहिजोका कुराहरूशीर्षक कथामा यसरी लेखेका छन्  – “हाम्रो संस्कृतिमा खिया परिसक्यो, सबै पश्चिमे भइसके। दौरा सुरुवाल लगाए पाखे देखिन्छ, टाई लगाए सभ्य भनिन्छ। दासत्व हामीबाट भागेको छैन”।

सामाजिक विषयवस्तुलाई टिपेर समाजको स्तरअनुसार त्यहीँको भाषा कथाका पात्रहरूको मुखबाट बोल्न लगाई पाठकहरूका मनलाई ठ्याक्क छुने कथा लेख्ने नेपाली साहित्यका कथाकार पूर्ण राईका प्रकाशित कथासङ्ग्रहहरू निम्नानुसार छन्–

१.सिमलको भुँवा (कथासङ्ग्रह)–१९७२

2. गल्ली गल्ली क्रान्तिको उद्घोषणा (कथासङ्ग्रह) -१९८५

3.फूल झरेको पत्रदल (कथा सङ्रग्रह)- १९९३

4. जय बिजय (कथा सङ्ग्रह) –१९९८

5. पूर्ण राईका लघुकथाहरू  अनि

6. सिन्कोना खेती (पुराना कुराहरू)

नेपाली साहित्यलाई माया गरेर साहित्यको क्षेत्रमा बहुमूल्य योगदान दिने पूर्ण राई यस भौतिक संसारबाट सन २००१ मा सधैँका निम्ति बिलाएर गए। आज उनी हाम्रो समाजमा नभए पनि तिनले दिएका बहुमूल्य कृतिहरू हामीमाझ छन् अनि उक्त कृतिहरूमा नै बाँचेका छन् पूर्ण राई।

{आज दिनाङ्क 14.07.2014का दिन कथाकार हरीश मोक्तान ‘अल्लरे’लाई कालेबुङमा नेपाली साहित्य अध्ययन समितिले ‘पूर्ण राई स्मृति पुरस्कार’ले सम्मानित गरेको पुनित अवसरमा स्व राईको परिचय प्रस्तुत गर्ने अवसर प्राप्त भयो। उक्त परिचय जस्ताको तस्तै – डी के}

डी. के. वाइबा, कालेबुङ

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.