~रेशम बि.सी.~
आऊ कविता
तिमी र म
साटासाट गरौँ ।
देउरालीको बतासले उडाएको
तिम्रो र मेरो कथा
अधुरो मेरो जिन्दगी
तिम्रो अधुरो जिन्दगी
पूरा गर्न धेरै बाँकी छ ।
बाचा गरौँ सगरमाथालाई साक्षी राखेर
कहिले नटुट्ने, कहिले नछुट्ने
बाँधौँ बलियो डोरीले
सम्बन्धको गहिरो बन्धन ।
कविता १
मलाई थाहा छ
तिमीले भोगेको पीडाले
खसेका तिम्रा आँसु
छातीभरि पोखिएका छन्
ह्दयको घाउ अनायासै बढेर
तिम्रो ढुकढुकीलाई लुछ्ने प्रयत्न गरिरहेछ
दुष्ट समयले
हाम्रो महान लक्ष्य माथि
झुटको साक्षी बयान दिँदै
बेवकुफ बनाइरहेछ
अनि, नभएको सपना बाँडिरहेछ
हाम्रो भविष्यको गोरेटो सुन्दर बनाइदिन्छु भनेर
कविता १
हेर त उसको कुटिल चाल
तिम्रो र मेरो जिन्दगीको
कति खेलवाड गरिरहेछ
मानौँ, हामी कुनै बिक्रीको वस्तु हो
र कुनै साहु–महाजनसँग मोलतोल गरिरहेछ
यो दुष्ट समयले ।
हाम्रो मासु बेचिरहेछ
सस्तो मूल्यमा
रियल, यन र डलरसँग
कमिशनमा
ऊ रातारात करोडपति बनिरहेछ
कविता हेर त,
हाम्रा पेटहरू सँधै खाली
कति तुच्छ खेल खेल्यो यो दुष्ट समयले ।
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क २५ – May 21, 2015 – २०७२ जेष्ठ ५ गते, बुधबार)