~राजकुमार बराल~
अल्वर्ट आइन्सटाइनले सिगमण्ड फ्रायडलाई एक पत्रमा सोधेका थिए “ईज देयर एनी वे अफ डेलिभरिङ्ग मेनकाइन्ड फ्रम द मिनेक अफ वार” अर्थात् मानवजातीलाई युद्धको त्रासबाट मुक्त गराउने केहि उपाय छ कि ? यस प्रश्नको उत्तर दिने सिलसिलामा फ्रायडले युद्धका २ कारणहरु उल्लेख गरेको थिए– भौतिक र मनोवैज्ञानिक ।
फ्रायडले भने अनुसारका युद्धका मनोवैज्ञानिक कारणहरुको संग्रह हो विश्वम्भर चञ्चलको कथासंग्रह ‘द वार इज वे्रकिङ्ग’ । यो कथा संग्रहमा संग्रहित कथाका पात्रहरुका मनमा भड्किएका युद्ध यति धेरै शक्तिशाली छन कि भौतिक युद्धहरुमा भन्दा पनि बढी ।
अठार कथा संग्रहित यस संग्रहका कथाहरुमा मुख्यतः तीन प्रवृतिहरु देखिन्छनः मनोवैज्ञानिक, अस्तित्ववादी र ब्यङ्गात्मक । संग्रहको पहिलो कथा ‘द मर्ग’ अर्थात् शवगृहमा श्रीमान पात्रको मनमा युद्ध भड्किएको छ । श्रीमतीले आत्महत्या गर्ने धम्कि दिएपछि चिन्तित वनेको श्रीमान पात्र घर पुग्दा श्रीमतीलाई जिवितै भेट्न पाइने हो कि होइन भनेर तर्सिरहन्छ र अफिसबाट घर फर्कदा शव गृहको पालेलाई आज कोहि मृतकलाई शव गृहमा ल्याए भनेर सोध्छ ।
त्यस्तै ‘फर्गेटिङ्ग’ कथाको विर्सने वालाको मनपनि उद्वेलित छ, युद्धरत छ । कथाको ‘म’ पात्रलाई केहि न केहि महत्वपूर्ण कुरा विर्सिएको छु भन्ने लाग्छ तर उक्त कुरा के हो भनेर संझन चाहिँ सक्दैन । आफूले विर्सिएको कुरा के होला भनेर आमा, भाइ, भतिजा, भतिजी सबैलाई सोध्छ तर उनीहरुलाई के थाहा जुन उ स्वयंलाई थाहा छैन ।
‘द किलर’ कथाको किलर पात्र जसले वास्तवमा हत्या गरेको थिएन तर अरुहरुले शंका गरेपछि युद्धग्रस्त मन लिएर भाग्छ र वास वस्ने ठाउँमा एक महिलालाई साच्चिकै हत्या गर्छ र जुनसुकै सजाय भोग्न तयार हुदै गाउँबाट शहरतिर जान्छ । सोहि हविगत छ ‘द इनसेन प्रिस्ट’ कथामा प्रिस्टको जसलाई सवैले पागल ठानेर पागलखानामा राख्छन् । यस कथामा उसलाई पागल ठानेर सोहि अनुसार व्यवहार गरिदा भड्किएको उसको मानसिक युद्धको चित्रण छ ।
अर्कातिर ‘लङ्ग लिभ डेमोक्रेसी’को प्रमुख पात्र नरबहादुरको मनमा यद्ध भड्किएको छ । उसको छोराले तपाई पञ्चे हो ? भनेर सोद्धा र श्रीमतीले जागीरबाट राजीनाममा दिन सल्लाह दिँदाको नरवहादुरको मनोविज्ञान शेक्सपियरको पात्र हेम्लेट जस्तो अनिर्णयको वन्दी वनेको छ । त्यस्तै द्विविधाको सिकार छ ‘द एपिडेमिक’ कथाको ‘उ’ पात्र, जो श्रीमतीको मृत्युपछि अन्तेष्टि गर्ने वा भाग्ने विलखवन्दनमा परेको छ । ‘हण्ट फर फ¥च्युन’ को ‘म’पात्रको भाग्यको खोजीले स्यामुयल वेकेटका पात्रहरु भ्लादिमिर र एक्स्ट्रागनलाई सम्झाउँँछन् जो परिचय नभएको ‘गोडो’लाई पर्खिरहेका छन्, कालान्तर देखि । सोहि हविगत छ ‘द हिल एण्ड द भिलेज’को ‘म’ पात्रको पनि जो त्यस डाँडामा वस्ती वसेको हेर्न पर्खिरहेको छ ।
उनका कथामा अस्तित्वको लागि संघर्षरत पात्रहरुको संघर्ष अल्वेयर कामूको पात्र सिसिफसको भन्दा कम छैन । जसरी सिसिफसलाई भगवानको गोप्यता चोरेको अभियोगमा जिवनभर ढुङ्गो पहाडको टुप्पोसम्म गुडाइरहने सजाय दिइन्छ त्यसरी नै ‘द हिल एण्ड द भिलेज’मा ‘म’ पात्रका सपना र लक्ष्यहरु अर्थहिन वन्छन् । अर्थहिन कामको चापले उसले आत्महत्या नसोचेको होइन तर सिसिफसले जस्तै उसले पनि घोषणा गर्छ – ‘आइ डिसाइड नट टु डाइ’ र आफ्नो सपना सार्थक गर्न प्रयासरत रहन्छ, सुख र दुःख एकै सिक्काका दुइ पाटा हुन भन्दै उसले पहाड खनिरहन्छ ।
‘ट्रान्सफरमेसन’ कथामा पात्रहरुले कल्पनाको संसार सिर्जना गरेर आफ्ना अपूर्ण सपनाहरुका तीता यथार्थहरु पुरा गरिरहेका छन् । इच्छा आकांक्षाहरु बढीरहेपनि श्रोत वढ्न नसक्नाले सो परिवारका सदस्यहरु आलु र तरकारी खाएर माछा, कुखुरा खाएको अनुभव गर्छन् ।
सामाजिक राजनैतिक विसंगतिप्रति चञ्चलको कटाक्ष यस संग्रहको अर्को विशेषता हो । निराश भएर सरकारको मुख ताकेर वसेका वाढीपिडीत वारदहका जनताको चित्रण गर्दै जनताका दुःख प्रति उदासिन सरकारलाई उनले ब्यङ्ग गरेका छन् । झिनो आसामा वाचेका जनता अझ वढी खिन्न हुन्छन् जव मन्त्रीको हवाइजहाज आकाशबाटै फर्किछ । ‘द चेयर’ कथाले पनि नेपालको कर्मचारीतन्त्र प्रति कटाक्ष गरेको छ जुन संयन्त्र महत्वपूर्ण कामलाई स्थगन गर्न माहिर छ ।
त्यस्तै ‘केरोसेन’ कथा मट्टितेलमा हुने राजनीतिको कथा हो र झिनो आशमा वाचेका हामी सवै नेपालीको कथा हो । जनतालाई सुविधा दिनुपर्ने निकाय भएर पनि जनताको पिरमार्का नवुझ्ने सरकार प्रतिको शसक्त प्रहार हो । सरकारी गाडी दुरुपयोग गर्ने मन्त्रीहरुलगायत उच्च पदश्थहरुलाई ‘लङ्गलिभ डेमोक्रेशी’ले पनि सालिन ब्यङ्ग हानेको छ । देशरुपी खेतमा, मूसारुपी शक्तिप्रयोग कर्ताले देशलाई उराठ वनाएको प्रति कथाकार चिन्तित देखिन्छन् ‘द फिल्ड, माइस एण्ड फिसरस’ कथामा ।
कथा अनुवादकले अनुवाद गर्दा सावधानी अपनाएका छन् । नेपालीपना नहराओस भनेर शब्दहरुलाई लगभग अर्थ दिने शब्दहरुमा नढाली झर्रा नेपाली शब्दहरु जस्तै – खुकुरी, हुक्का चिलिम, सान्दाइ, भादगाउले, ढाकाटोपी, डण्डी वियो, दौरासुरुवाल नै प्रयोग गरेका छन् ।
सामान्य प्राविधिक त्रुटिहरु तथा छुट्टै पेजमा लेखिएका कथा शिर्षक त्यति प्रभावकारी नभएतापनि समग्रमा यस कथासंग्रहले पात्रहरुका मनोदशाको सूक्ष्म विश्लेषण गर्नुका साथै सामाजिक, राजनैतिक दुर्दशा प्रति असतुष्टी व्यक्त गरेको छ । सँगसँगै अर्थहिन जीवन जिउँदाका नैरास्यता समेत संग्रहित हुनुले यो संगालो पठनीय बनेको छ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)