~सन्जु बजगाईं~
“म्याडम रुथ म केही घण्टापछि फर्किने छु । आराम गर्दै गर्नुहोला ।” मैले उनले सुन्ने गरी भने । “मध्याह्न हुन लागिसकेको छ । मलाई पार्क लगेर छोडिदेउ र तिम्रो कामका लागि जाऊ ।” उनले अड्को थापिन् ।
“पार्कको बहानामा म रोकिने छैन । आजको दिन मलाई केही घण्टा बिर्सनु पर्छ ।” म उनी बसिरहेको बाल्कोनीमै गएर बोलेँ ।
यिनी बच्चाले जसरी सताउँछिन् मलाई । एकै मिनेट छोड्दिनन् । दिनभर यिनका कुराहरू सुनिदिनु पर्छ । खाना खाँदा पनि छेवैमा बसिदिनु पर्छ । लुगाहरूदेखि लिएर कपालको स्टाइलसम्म मेरै हातहरूले ठीक गरिदिनु पर्छ । कहिलेकहीं आमा भेट्न आएकी आफ्नै छोरीले गरेको पनि मन पराउँदिनन् । असाध्यै काखे भएकी छन् । पार्कको बहाना बनाएर अहिले पनि मेरा पाउहरूलाई बाँध्न खोज्दैछिन् तर आज मैले आफ्नो भावनात्मक सम्बन्ध साटासाट गर्न पुग्नै पर्नेछ ।
“म्याडम रुथ, मैले जानै पर्छ । मेरा साथीहरू पर्खिरहेका छन् ।” मैले उनका गाला सुम्सुम्याउँदै भनेँ ।
“ओहो ! तिम्रा साथीहरू कहाँ, मलाई पनि लिएर जाऊ ।” उत्साहित हुँदै बसिरहेको आराम चेयरबाट जुरूक्क उठिन् र लागिन् आफ्नो कोठातिर । उनलाई नमनाई मैले कहीं निस्कन मिल्दैन थियो । म उनका पछि लागेँ ।
“बेन्जामिनलाई फोन गर । गाडी लिएर आओस् ।”
म उनका पछिल्तिर पुग्दा गाडी ड्राइभरलाई बोलाउने आदेश दिइसकेकी थिइन् । अब उनलाई साथै लानुभन्दा पर मेरो केही चल्नेवाला थिएन त्यहाँ ।
बेन्जामिनले गाडी ल्याएर घरै अगाडि रोक्यो । म्याडम रुथ टाउकोमाथि गुलाबी ह्याट सजाएर निस्किइन् । जब-जब उनलाई हुँदैन भन्यो तब-तब उनी फूर्तिली अधवैंसेझैँ हुने गर्छिन् । आज पनि उस्तै फूर्तिली भएकी छन् ।
म्याडम रुथलाई देखेर बेन्जामिनले टाउकोको ‘कीपा’-यहुदी पुरुषहरूले लगाउने एक प्रकारको सानो टोपी ) झिक्यो अनि अलिकति निहुरिएर तिनको दायाँ हातमाथि चुम्बन गर्यो । मैले गाडीको ढोका खोलिदिएँ । उनी बसिन् । म पनि तिनको छैवैमा बसेँ ।
“म्याडम कहाँ लैजाउँ ? बेन्जामिनले गन्तब्य सोध्यो ।
“इलाइट् सिटी छोडिदेउ ।” मैले भनें ।
“साँझ एडमलाई केही नसुनाउँनु । फर्किहाल्ने हो ।”
म्याडम रुथले बेन्जामिनलाई बेलैमा सचेत गराइन् ।
उनको एउटै मात्र छोरो एडम ! डेड सी नजिकैको सहरमा मर्सिडिज कारको डिलर खोलेर बसेको छ । आमालाई भेट्न शनिबार पारेर आउने भए पनि हरेक साँझ फोनबाट दिनभरको जानकारी माग्छ । सपिङ गर्दा फलफूल किन कम किनेको ? पार्क किन सबेरै गएको ? के खाएको ? किन अबेरसम्म नसुतेको ? सम्पूर्ण कुराको जानकारी दिनुपर्छ । यो बेन्जिामिन त सकुनी जत्तिकै छ । ग्यारेजमा गाडी थन्क्याँउछ र नियमितजस्तो एडमलाई हाम्रो दैनिकीको बेलिबिस्तार लगाउँछ । यसबापत हरेक महिनाको अन्त्यमा केही रकम बोनसझैँ पाउँछ र दङ्ग पर्छ ।
इलाइट्् सिटी जान बेन्जामिनले गाडी हाइ वेतिर मोड्यो । म्याडम रुथलाई कारको तीब्र गति मन पर्दैन । उनले आँखा चिम्लिइन् । मैले भने हाई वेको तेज गतिसँगै गुडेको मनलाई स्थिर बनाउन खोजिरहेँ ।
म्याडम रुथले दिएको जिन्दगी भन्नु पर्छ मैले । बम र रकेटको धम्कीभित्र बाँचिरहेका इजरायलीहरूबीच जीवन भेट्ने आश बोकेर पुग्नु थियो । हामी भए त उखान भन्थ्यौ-
‘आफै त महादेव उत्तानो पर, कसले देला वर !’ इजरायलीहरूले यसो भनिहालेका थिएनन् ।
आफ्नो देशको धरातल छोड्दा जीवन थिएन, ज्यान मात्र थियो आफूसँग । दुई छोराछोरीकी कलिली आमा थिएँ म । तिनीहरूको बाबुको नाम मात्र थियो साथ थिएन । गन्तब्यलाई झटारोको भर छोडँे । लागे खाउँला नलागे आँत मारौला ! छोराछोरीले पनि के-कति बुझे ? मानिदिए आमा छोडेर बस्न । नाबालक छोडेर आकाशमा पखेटा फिजाउँदा अमिलिएको मनको पाटो चुँडेर अरूलाई चखाउन
मिलेन ! आकाशभरिको यात्रामा एक्लै चाखे । इजरायलको ‘बेन ग्युरोन एयरपोर्ट’ मा जहाजले उतार्दा प्रकृतिले झमक्क साँझ पारे पनि मध्य दिनझैँ झलमल थियो वरिपरि तर मेरो मनभित्र भने नयाँ धर्तीमा परिआउने सम्पूर्ण कुराहरूको भय कालो अँध्यारो भएर पोतिएको थियो ।
लिन आउनेको नाम र फोन नम्बरको जोहो थियो तर उसको आकृति थाहा थिएन । एराइभल गेटबाट उभिएर मेरो नाम बोक्ने कोही छ कि भनी चिहाइरहेँ । त्यो भव्य सजिएको माहौलमा आँखाले केही देखेन । मान्छे लिन नआए के पो होला ? खुट्टाहरूमा वाष्पीकरण सुरू भयो । माताजी निर्मला देवीले भन्थिन्- ‘आपतमा माताजी बाहेक केही नसोच । तिम्रो रक्षा म गर्ने छु ।’ मैले अन्त्यमा माताजीको सहारा लिएँ । माताजीले सिकाएको योगमन्त्र बोलेँ । बिरानो ठाउँमा यो नै मेरो विश्वासरूपी सहारा थियो ।
“ज्ञानुदेवी ! ज्ञानुदेवी नेपाली !……..।” एउटा धोद्रो आवाज सुनियो ।
“म ज्ञानुदेवी हुँ ………।” भोकाएको ब्वाँसोजस्तै थिएँ म ।
मेरो नाम कागजमा कोरेर उभिएको भए त्यो धोद्रे आवाज भेट्न मैले कष्ट गर्नु पर्ने थिएन तर त्यसले त्यसो गर्नु जरूरी सम्झिएनछ । स्वीकारे सबै । त्यसले मलाई आफ्ना सामानहरू गाडीमा राख्न भन्यो । मैले सामान राखेँ । एउटा डर सकिएर मनमा अर्को डर सुरू भो । यो धोद्रे आवाजले कहाँ पुर्याउला ? भन्न त मलाई पठाउनेले सीधै मान्छे लिन आउँछ, असल घरको मान्छे हो, एकदम राम्रो भनी पठाएको हो । तैपनि आजसम्म सुनेका अरूहरूका बोझिला कुराहरूलाई किनारा लगाइहाल्न मैले सकिरहेकी थिइनँ । मन कक्रियो बाटैभरि !
गाडीमा हालेर झण्डै पन्ध्र किलोमिटर कुदायो कि ? केहीबेरको अन्तरालमा एउटा घरको गेटभित्र हुल्यो गाडी । अङ्गे्रजीका अस्पष्ट उसका शब्दहरूलाई पछ्याउँदै घरभित्र छिरेँ म ।
“मैले काम गर्नु पर्ने घर यहीं हो ?” निश्चित गन्तव्यका लागि मेरो मन अधिक हतारिएको थियो ।
“यही घर हो । तिमीले मेरी आमा रुथसँग बस्ने हो । यिनको हेरबिचार तिमीले आफ्नी आमा ठानेर गर्नुपर्ने छ ।” धोद्रे स्वरवालाले भन्यो ।
मैले मुन्टो हल्लाएर उसलाई विश्वास दिलाइदिएँ । यो तात्तातो मौखिक कन्ट्रयाकले निकै सान्त्वना मिल्यो मलाई । मैले धोद्रेस्वरकी आमालाई हेरेँ । चौरासी जति उमेरकी थिई, आराम चेयरमा बसेर टीे. भी. हेर्दै थिई । बिजुलीको तरङ्गको हिसाबमा सबै राम्रै पाएँ ।
“म एडम ! एडम मोस्कोभिसी ! यो घरको मालिक ।”
बल्ल धोद्रे स्वरवालाले सभ्य भएर आफूलाई चिनाउँदै हात तेर्स्यायो मतिर । मैले पनि हात तेर्स्याउँदै आफ्नो नाम भनिदिएँ । त्यसपछि टाउकोको कीपा झिक्यो र आफ्नी आमाको हातमाथि चुम्बन गर्यो । उसकी आमासँग पनि मेरो औपचारिक चिनाजान गराइदियो । यसबेलासम्म उज्यालो-अँध्यारो केही फरक नदेखेका मेरा आँखाहरूले बल्ल कोठाभित्र बलेको बत्ती महसुस गरँे । मलाई ठूलो छलाङ्ग मारे जत्तिकै भो ।
हेब्रु भाषाको पारखी त्यो धोद्रे स्वरले कनेर बोलेको अङ्ग्रेजीमा मैले आफूले निर्वाह गर्ने भूमिकाको जानकारी पाएँ । उसले मेरो कोठा देखायो र मेरा समान राख्न भन्यो ।
खानेकुराका लागि किचेन देखाइदियो र भन्यो-‘आमालाई दिउँसोको बाह्र बजेभन्दा अगाडि नउठाउनु । मेरी आमा राम्रो अङ्ग्रेजी बोल्छिन् । कुरा गर्न चिन्ता मान्नु पर्दैन । ड्राइभर यही माथ्लो घरमा बस्छ । बाँकी सहयोग उसैले गर्ने छ ।’ धोद्रे स्वरले एकै सासमा कुरो भनी सिध्यायो अनि बिदा लियो उसकी आमासँग ।
छोराछोरीसँगको बिछोडमा ब्यग्र दुखेको मन, बिरानो मुलुक, बिराना मान्छे, बिरानो घरभित्रको बिरानो ओछ्यानमा कचपचिएको रात गुजि्रयो । बिहान बिउँझिएर भ्यालबाट चिहाउँदा बाहिर देखिएका दृश्यहरूले भुमरीमा रूमलिएझैँ बनायो । मान्छेहरूले बोल्दा सुनिने नितान्त नौला शब्दहरूले आफू बस्ने ग्रह नै बदलिएको भान भो । तैपनि नयाँ ठाउँको आफ्नो सकुशल बिहानीमा सम्पूर्ण कुराहरू गौण ठानेँ । मध्याह्नमा म्याडम रुथलाई उठाउनु थियो । चेतनामा शङ्का भर्दै पसे तिनको कोठामा ।
“म्याडम रुथ ! म्याडम रुथ ! तपाईले उठ्ने समय भयो ।” मैले आफ्नो कामको श्री गणेश गरे ।
“तिमी ज्ञानुदेवी, बस यहाँ छेवैमा ।” बुढ्यौलीको चरमबिन्दु छोए पनि तगडा रहेछ आवाज । उनले पहिलो सम्बोधनमै छेउमा बस्न गरेको आग्रहले मन भरिएर आयो । कठोरता र दरिद्रताभित्र हिजोसम्म जुहारी खेलेको मेरो मनले उनको एकै बोलीमा देउता भेट्यो । म उनको नजिक गएँ ।
“तिमी त भर्खरकी केटी पो रहिछौं त !”
जवाफमा म शायद लजाइदिएँ । दुई बच्चाकी आमा हुनुको आधारमा तिनले मलाई निक्कै परिपक्क कल्पना गरेकी हुँदिहुन् ।
“तिमीलाई बूढाबूढीको स्याहार गर्न मन पर्ला के ?” तिनीलाई मेरो उपस्थितिले शङ्का पैदा गराइदिएको हुनसक्छ ।
“मलाई बच्चाबच्ची र बूढाबूढीको असाध्यै माया लाग्छ ।” मैले भनेँ ।
“तिमीभित्रको कोमल मनले नै यहाँसम्म ल्याएको हो त उसो भए ?” तिनले केरकार गरिन् ।
मन बाँधेर त्यागेको हिजोको संसारको पुनरावृत्ति गर्न मन थिएन मलाई । के भनुँ ? मेरा बच्चाहरूको बाबु हामीलाई बिर्सिएर अर्कै दुनियाँमा रमायो । आफ्नो देशको माटोमा गरिबी र निराशा मात्र फल्ने गर्छ । सन्तानलाई पाल्नु दायित्य भो, त्यसैले आएकी भनुँ ? म्याडम रुथका अगाडि आँखाबाट आँसु झार्नु बाहेक अर्को जवाफ मसँग थिएन ।
“रुनु र हार्नुले मलाई एउटै अर्थ दिन्छन् ।” रोइरहेकी मलाई हेर्दै घुमाउरो पारामा उनले चेतावनी बोलिन् ।
“नुहाउने पानी तैयार छ टबमा ।” तिनले नुहाउने समय भैसकेको थियो । मैले आफ्नो नौलो दैनिकीलाई अगाडि बढाउन चाहँे ।
“हतार नगर । हामीले एक-अर्कालाई चिन्नु पर्यो नि !” तर तिनको भनाइमा रूखोपन भेटियो ।
उनले आफ्ना कुराहरू भन्दै गइन् ।
“तिमीले हिटलर सुनेकी छ्यौ ?” एकाएक तिनले हिटलरको कुरो उप्काइन् ।
“स्कुलमा पढेकी अलिअलि ।” उनी यहुदी हुनुको नाताले हिटलरको कुरो उप्काउनुलाई मैले सामान्य ठाने ।
“त्यसको साक्षात्कार गराउँछु म तिमीलाई । जीवनमा दुःख र भयको अर्थ बुझाउँछु ।” सायद उनको बहादुरीको मुख्य अर्थ थियो त्यसभित्र । म अलमलमा परेँ । उनले वृत्तान्त बताउन लागिन् ।
हिटलरले १९४२ ताका यहुदीहरूलाई बन्दी बनाएका विभिन्न क्याम्पहरूमा लाखौँ यहुदीहरूको नरसंहार देखेको त्यो पुरानो इतिहास तिनका आँखामा जीवन्त रहेछ अझै । तिनले सुनाइन्-‘नाजीहरूले हाम्रो परिवारलाई बन्दीगृहमा राखेको बेला म केटाकेटी नै थिएँ । मेरो साथमा मेरी सानीआमा थिइन् । हामीलाई राखेको क्याम्पमा आइमाई र केटाकेटीहरूलाई मात्र ग्यासच्याम्बरमा पठाइन्थ्यो । कति बच्चाबच्ची त भित्र नपुग्दै मरिसकेका हुन्थे । पुगेकाहरूलाई ग्यासको छिटो र अधिक प्रभावका लागि पहिले पानीमा नुहाउन लगाउँथेे । त्यसपछि ग्यास छोड्ने फलामे चाङ्गमाथि लस्करै बसाइन्थ्यो । विस्तारै छोडिएको ग्यासको प्रभावले तिनीहरूहरू छट्पटिएर मर्थे । तिनका मरेका लासहरू जलाउन बडेमानका भट्टीहरू बनाइएका थिए । एकमुष्ट थुपारेका लासहरूमाथि नाजीहरूका बुट नाचेको बिचलित भइहेरेको, रगतको हिलोमाथि हिँडेको क्षण, मान्छेको चिच्याहट………!’ बाह्र वर्ष पुग्नै लाग्दा भोगेको यो विभत्स समयको बयान गर्दा गर्दै उनको अनुहार निलो देखियो ।
तिनले भन्दै गइन् – “मेरा बाबु र काकालाई पहिले नै हामीलाई राखिएको क्याम्पको आँगनमा बन्दुकका नोकले हिर्काएर मारिसकेका थिए । म र मेरी सानीआमासहित अरू सयौं आइमाई केटाकेटीहरूलाई भने सानो रेलमा हालेर ‘ओस्ास्विट’ भन्ने बधशालामा पठाउन क्याम्पमा उर्दी जारी भएछ । सानीआमाले मलाई सुनाइन् ।
हामीलाई ठेल्दै, घिसार्दै रेलका डब्बाहरूमा कोचियो । नाजीहरूले बाटैमा हाम्रो कपाल खौरिदिए जसबाट हामीलाई पनि भट्टीमा हाल्नेछन् भन्ने प्रष्ट थियो । रेल आफ्नै गतिमा कुदिरह्यो । हामीले दूरी पार गर्दै जाँदासम्म मान्छेका लास जलाएको धूँवाले भरिएको कालो आकाश रेलको डब्बाको सानो झ्यालबाट देखिन्थ्यो । सबै भोगियो…….. ।” तिनी अड्किदै बोलिन् ।
“तपाईं कसरी बाँच्न सक्नु भयो त ?” मैले गह्रांै मन पारेर सोधेँ ।
“मार्न लगिएका हामीहरूको रेल बधशाला पुग्नु केही अगावै दुर्घटना भो । ठूलै दुर्घटना थियो त्यो । रेलका डिब्बाहरू मकैका फूल उछिट्टएि जसरी उछिट्टएिका थिए । किचिएर, थिचिएर, थुप्रै मरे । बाँचेकाहरूका लागि साँझ परेको त्यो क्षण, भाग्न उत्तम थियो । मर्नु निश्चित छँदै थियो बधशालामा ग्यास पिएर किन मर्नु ? अन्तै मर्ने बिचारले हामी थुप्रै भाग्दै जाँदा ओस्कर साइन्डलरको फ्याक्ट्रीमा पुगेका थियौं । आखिर ओस्कार स्ााइन्डलरले दिएको शरणले नै हामी बाँच्न सक्यौं ।” छोटकरीमै किन नहोस् यी वृद्ध आफ्नो बाल्यकालको इतिहास शान्त भएर सुनाइन् । मैले विभत्स्ा वर्णन सुनिरहेँ ।
“अब तिमी मलाई भन, मान्छेले भोग्ने दुःख र भयको पराकाष्ठा यो भन्दा अरू के हुन सक्ला ?” तिनले त उल्टो प्रश्न पो तेर्स्याइन् ।
“यो प्रश्न मलाई किन त ?” मैले प्रतिप्रश्न गरेँ ।
“केहीबेर अगाडि खसेका तिम्रा आँसुले प्रश्न गर्न बाध्य पारेँ मलाई । म कमजोर आत्मबल भएको मान्छे मन पराउन्नँ । मलाई सकारात्मक बिचार भएको र जीवनमा सधैँ शसक्त रूपमा प्रस्तुत हुन खोज्ने मान्छे मात्र मन पर्छ ।” उनी प्रष्टरूपमा बोलिन् ।
केही क्षणको भलाकुसारीमा म्याडम रुथले मेरो मानसपटलाई सकारात्मक गन्तव्यतर्फ मोडिदिइसकेकी थिइन् । उनले सुनाएको यो भयावह वृत्तान्तका सामुन्ने मैले भोग्नु परेको दुःखको कुनै तुलनै भएन । लोग्नेले धोका दिनु, आर्थिक अभावमा जीवन गुजार्नु, ऋणपानमा अल्झिनु, छोराछोरीबाट केही समयका लागि टाढा हुनुजस्ता कुराहरू त जीवनका पाटा रहेछन् । मान्छेको जीवनको पो महत्त्व हुँदोरहेछ !
“म्याडम रुथ, म प्रण गर्छु, मेरो बिगत र वर्तमानमा मैले छोडेर आएका कलिला छोराछोरी र मेरो देश सम्झेर फेरी म रुने छैन ।” कठघराको कैदीले जसरी सफत खाएँ मैले उनको अगाडि ।
दिनहरू बित्दै गए । म्याडम रुथको खारिएको चेतनाले मेरो मनलाई पढ्न कत्ति दिन पनि लागेन । बिगत केही वर्षको समयमा मैले इमान्दार भएर तिनलाई जे दिएँ, त्यो भन्दा बढी उनले मलाई दिइन् ।
“गाडी कहाँ पुर्याएर रोक्नु ?”
दोस्रो विश्वयुद्धतिर हराएको मेरो चेत बेन्जामिनको आवाजले झस्कियो ।
इलाइट्् सिटी छिरिसकेछ हाम्रो गाडी पत्तै भएन मलाई ।
मस्त निदाइरहेकी म्याडम रुथलाई हेरेँ । निद्रामा स्वर्गीय आनन्दले सुन्दर सपनाहरू भोगिरहेकी हुँदीहुन् । उनको यो मर्सिडिजभित्र बसेकी छु !
तर म्याडम रुथको प्रेरणाले म आफँैलाई मर्सिडिज गुडाउन सक्ने बनाएको छ आज । ‘जीवन भोग्न हो भने, रुने होइन हिम्मत गर ।’ यिनीबाट पाएको यही प्रेरणाले म मेरो अस्तित्व देख्दै छु ।
“मलाई जीवन दिने मेरो जीन्दगीकी ‘ओस्कार साइन्डलर’ ब्युँझिने होइन ? बेन्जामिनले गाडी रोकिसक्यो ।” मैले तिनको कानैमा स्वर भरेँ ।
“क्रूर नाजीकी प्रतिनिधि मेरा कानका तन्तुहरूको बध किन गरेकी ?” ठट्टा गर्दै ब्यूँझिइन् उनी । मेरो महान् चाड दसैंको टीकाको यो दिन, एकअर्कामा सद्भाव साट्न हतारिँदै जीवन, आत्मविश्वास र मानवताको कुरा गर्ने म्याडम रुथलाई लिएर छिरेँ आप्पा र करिमा बस्ने घरतिर ।
-ब्रसेल्स, बेल्जियम
(स्रोत : मधुपर्क २०६७ पुस)