~रजित ओझा~
त्यो घण्टी बिस्तारै सानो हुँदै, पग्लिँदै थियो सूर्यको प्रकाशमा । तर, रातमा सूर्य किन उदायो ? बखतेलाई मनमनै अचम्म लाग्यो । यो रात सूर्य उदायो, जसको प्रकाशमा घण्टी पग्लिन थाल्यो । भोलि स्कुलमा कसरी घण्टी बजाउने ? सर, मिसहरुलाई कक्षा सकिएको कसरी थाहा हुन्छ ? घण्टी त पग्लिँदै छ । बखते हतार-हतार घण्टी जोगाउन दौडियो तर उसका खुट्टाका चप्पल हिलोमा गाडिए । हिलो बढ्दै गयो । बखते भाँस्सिदै गयो । घण्टी पग्लिँदै गयो । सूर्यको राप बढ्दै गयो ।
माथिको हरफ सबै भर्खरै बखतेले देखेको सपना ! आजकल ऊ यस्ता-यस्ता छेउ न टुप्पोका सपनाहरु धेरै देख्छ । सपना राम्रो/नराम्रो छुट्याउन सक्दैन । कहिलेकाहीँ चिच्याउँछ पनि ! तर, उसको सानो कटेरोमा ऊ एक्लै चिच्याएको कसले सुनोस् ! राति निन्द्रा नलागेपछि ‘रातिको ड्युटी मैले गर्दा हुँदैन ?’ भनेर उसले चिरनलाई पनि सोधेकै हो । तर, चिरनले हाँसेर टार्दियो ।
“बुढेसकालमा कता राति-राति ड्युटी गर्नुहुन्छ काका ? त्यो काम श्यामलाई नै छोडिदिनुस्,” चिरनले भनेको वाक्य ठ्याक्कै यही नै हो । एउटा वाक्यले बखतेलाई कतिचोटि घोच्यो भनेर कुरै नगरुम् । एउटा- बखते बूढो भयो भनेर बुझायो । अर्को- बखते राति ड्युटी गर्न अनुपयुक्त छ भनेर बुझायो । र, तेस्रो- चिरनले काका नै भने पनि बखतेलाई फगत एक कारिन्दाको रुपमा हेर्छ भनेर जनायो ।
थोरै चिरनकै कुरा गरौँ । चिरन पुरानो गाउँ पञ्चायतका प्रधानपञ्चको छोरा । अहिले स्कुलको प्रधानाध्यापक । तर, बखतेसँगको चिनजान भने धेरै पुरानो । बखतेलाई पहाडबाट ल्याएर जागिरमा चिरनकै बुवाले लगाएका थिए ! बखतेको छोरा र चिरन सँगसँगैका, एक महिना तीन दिनले बखतेको छोरो जेठो । चार वर्ष हुँदाको कुरा होला, बखतेको छोरा र चिरन स्कुलको चौरबाट खेलेर आ-आफ्नो घर फर्के । राति बखतेको छोरालाई आगोको भुङ्ग्रोजस्तो ज्वरो आयो । भोलिपल्ट बखतेले झाँक्री खोज्यो । झाँक्रीले कालो कुखुरा खोज्यो । कालो कुखुरा भेट्टाइयो तर ज्वरो ओर्लेन । दोस्रो दिन पनि ओर्लेन । तेस्रो दिन चिरनको बाउले तीन सय रुपैयाँसहित इन्डिया जँचाउन लाने सल्लाह दिए । गाडीसम्म डोऱ्याउन लैजाँदालैजाँदै बखतेको छोराको बोली बस्यो । लल्याकलुलुक भयो । छोरो फर्केन, इन्डिया पनि पुगेन । पैसा पुऱ्याउन जाँदा बखतेलाई चिरनका बाउले भनेका थिए, “राख बखते, किरिया गर्न पनि चाहिहाल्छ आखिर !”
बखते लुसुलुसु फर्कियो । बखतेकी बूढी मूर्च्छा पर्दै उठ्दै गर्थी । छोराको बरखी उसले पनि कटाइन । बखते संसारमै एक्लो भो । चिरन शहरमा पढे पनि पछि गाउँ नै फर्कियो । स्कुलमा पढाउन थाल्यो । बखतेको खाटा बसेको घाउ पनि कहिलेकाहीँ चहऱ्याउन थाल्यो । आज पनि जहिले-जहिले उसले चिरनलाई देख्छ, छोरोलाई सम्झिन्छ । बूढीलाई सम्झिन्छ । उसको छोरो र सानो हुँदाको चिरनलाई स्कुलमा लुकामारी खेल्दा दौडेको चित्र उसको जीवनको सबैभन्दा स्पष्ट याद होला !
अब फेरि वर्तमानमैँ फर्किऊँ । भर्खरै चिरनले स्कुलमा केही नयाँ शुरुवात गर्ने कुरा गरेको थियो अफिसमा । फिल्टरमा पानी भर्न गएको बखते भरिसकेर खुरुखुरु फर्कियो । स्कुलकै क्यान्टिनमा बसेर चुर सल्कायो, आँफैले बनाएको ।
“यहाँ चुर नखानुस् न !” क्यान्टिनकी साहुनी कराइन् ।
“तिम्रोबाटै ब्ल्याकमा चुरोट लिए त खान मिल्थ्यो होला नि !” बखतेले जवाफ फर्काइदियो । क्यान्टिनकी साहुनी ९-१० का केटाहरुलाई लुकीलुकी चुरोट बेच्थिन् । बखतेलाई थाहा थियो । फेरि बाझ्न सकिनन् ।
पछाडि दुई जना मिसहरु खुसखुस गरे, “यी बूढा मान्छे किन यति चिडचिडे भाका ?”
“जागिर जाने हल्ला छ !”
“हो र ?”
“अब अटोमेटिक घण्टी राख्ने अरे घण्टा-घण्टामा बज्ने, सबै कक्षामा सीसीटीभी पनि राख्ने अरे चिरन सरले ! अनि यिनको के काम र ?”
“हो हुन त, यिनी त कहिले १५ मिनटअघि नै घण्टी बजाइदिन्छन्, कहिले क्लास सिद्धिएको १० मिनटसम्म पनि बजाउँदैनन् । अस्ति त मलाई क्लासमा कस्तो गाह्रो भयो । आफ्नो घाँटी सुकेर पानी खान मन लागिसक्यो, घण्टी लाग्या हैन !”
“बुढेसकालले होला ! बिर्सिन्छन् होला बरा !”
“चियाको पैसा कति दिदी ?”
“बीस रुपैयाँ !” साहुनीले बोलिन् । मिसहरु पैसा तिरेर अफिसतिर लागे ।
बखतेको उमेर ढल्किँदै गएपछि आँखा भने कमजोर हुन थालेका छन् तर कान अझै तिखा छन् । सबै कुरा सुन्यो । हातको चुर भित्तामा दलेर निभायो । उसको कटेरो यही स्कुलकै जग्गामा छ । काम सिद्धिनेबित्तिकै निक्ली भन्लान्, यो उमेरमा कहाँ जानू ! सुन्न त गाइँगुइँ हल्ला सुनेको पनि हो । हिजो सपना पनि नराम्रो देखेकै हो । आज फेरि सुन्यो । छोरा जस्तो चिरन ! छोरा जस्तो पो हो त, छोरै त होइन नि । चिरन पछिसम्म बखतेकोमा आउँथ्यो । स्कुलको पछाडि पट्टी बयरको रुख थियो ।
“काका टिप्दिनू न बयर,” चिरन मायालाग्दो स्वरमा आग्रह गर्थ्यो ।
“खानु हुन्न, आउँ पर्छ !”
“प्लिज !”
बखतेलाई प्लिजको अर्थ त थाहा छैन तर चिरनलाई देखेर पग्लिन्थ्यो । टिपिदिन्थ्यो । उसले बयर खाँदै गर्दा बखते टोलाएर हेर्थ्यो । छोरो बाँचेको भए यसरी नै बयर खान्थ्यो होला !
० ० ०
“बाजे घण्टी लाउने बेला भो !” क्यान्टीनकी साहुनीले झस्काइदिइन् ।
ऊ सुस्तरी घण्टी भएतिर बढ्यो । आजको अन्तिम घण्टी । घण्टी बजाइदियो ।
“काका यो घण्टी निकालेर स्टोरमा राखिदिनू है ! भोलिदेखि चाहिँदैन होला !” चिरनले परैबाट अह्रायो । शायद उसले बजाएको अन्तिम घण्टी । आफैं बज्ने घण्टी तयार भएजस्तो छ । कहिले उसलाई निस्किएर जान भन्ने हुन् । हिजोको सपना त साँच्चै नराम्रै देखेको रहेछ ।
काम गर्नेहरुले स्कुल सकिएपछि टेस्ट गरे- सबै कोठाका स्पिकरमा बजेको सुनिन्छ कि सुनिँदैन भनेर । बखतेलाई पनि एउटा कोठामा बसेर सुन्न भनियो । नयाँ घण्टी मज्जाले बज्यो ।
“यो घण्टी बिग्रिँदैन ?”
“पर सर्किटको तार मुसाले काट्यो भनेमात्रै,” इलेक्ट्रिसियन खितित्त हाँस्यो ।
“आज नाइट ड्युटीको मान्छे आउँदैन होला, काका एकदिन बस्दिनुहुन्छ ?” चिरनले बखतेतिर हेर्दै सोध्यो । बखतेलाई उत्तर दिन शब्द भएन । मौन नै रहेर ‘हुन्छ’ भनी टाउको हल्लाइदियो ।
“ओहो, ६ पो बजिसकेछ !” चिरन हतारियो । मोटरसाइकल झिकेर घरतिर हुइँकियो । बखते धेरैबेर स्टोर रुममा घण्टीलाई हेर्दै टोलाइरह्यो । उसलाई लाग्यो- त्यो घण्टी साँच्चिकै पग्लिँदै छ । अनि उसका खुट्टा साँच्चिकै भाँसिदै छन् । उसको जिउ थररर काम्दै छ । अचानक स्टोर रुममा कसैले बोलेजस्तो लाग्यो ।
“परको सर्किटको तार मुसाले काट्यो भने मात्रै यो घण्टी बिग्रिन्छ !” आवाज शुरुमा त सानो थियो । मात्र एउटा सपनाजस्तो, एउटा भ्रम जस्तो । तर, गज्जबको आवाज आफैं बढ्दै जाने । ती कक्षाकोठामा भएका स्पिकरभन्दा पनि प्रष्ट । बखतेले स्टोरबाट कैँची लियो, स्क्रुड्राइभर लियो अनि सर्किटतिर बढ्यो ।
बिहानै क्यान्टिनकी साहुनी बखतेको कटेरोमा कुद्दै आइन् र कराइन्, “बाजे, ए बाजे !”
बखते बाहिर निस्कियो ।
“चिरन सरले खोज्दै हुनुहुन्छ !”
बखते झस्कियो । हिजो उसलाई बेलुका त कसैले देखेको थिएन । कि यसैले देखी ?
“कहाँ ?”
“क्यान्टिनमा हुनुहुन्छ !”
पक्कै साहुनीले नै पोल लगाइन् । नत्र साँझमा कसले देख्छ र ! बखते बिस्तारै क्यान्टिनतिर लाग्यो ।
“सुत्नुभएको थियो होला, ब्युँझाएँ,” चिरनले सुस्तरी भन्यो ।
“ठिकै छ !”
“चिया खानुहुन्छ ?”
“हैन, ठिकै छ !”
“दिदीलाई बनाउन लाइसकेँ त !”
साहुनी चिया लिएर आइन् । मरिचको पिरो बासना नाकमा हररै छिऱ्यो बखतेको ।
“हिजो रुँघ्न गाह्रो त भएन काकालाई ?”
“भएन । राति आजकल निद्रा पनि लाग्दैन खासै ! जति बूढो भयो मान्छे, लाटोकोसेरो जस्तो हुँदो रहेछ,” बखते सुस्तायो ।
“आजदेखि घण्टी बजाउन पर्दैन काका, त्यो अटोमेटिक घण्टी चल्छ स्कुलमा !”
बखतेको मन ढक्क फुल्यो । चिरनले ‘जा’ भन्ने होला अब ।
“रातिको चौकिदारीचाहिँ तपाईंले सक्ने भए अर्कोलाई छुट्टी दिनुपर्ला भनेर सोचेको ! बुवासमानको मान्छे ! व्यवस्थापन समितिमा पनि तपाईंको कुरा भो । चौकिदारले पनि हुन्छ नै भन्यो !”
बखतेका आँखा रसाए । आँशु भरिएको आँखामा चिरन धमिलो गरी देखियो । शायद उसको छोरो पनि जागिरे हुन्थ्यो, अहिलेसम्म भएको भए । बखतेले फेरि ‘हुन्छ’ भनेर बोल्न सकेन । टाउको हल्लायो स्वीकारोक्तिमा !
“ल म हिँडे काका,” चिरन उठ्यो ।
“एउटा कुरा भन्नु थियो !”
“के, भन्नू न !”
“त्यो सर्किट बोर्ड भएको ठाउँमा हिजो राति ठूलै आवाज सुनें । बिराला जत्रा मुसा रै’छन्, मुसा मार्ने दबाइ चाहिन्छ होला !”
“हुन्छ काका ! आजै ल्याउँला !”
चिरनले मोटरसाइकल स्टार्ट गऱ्यो । बखतेले चिया सिध्यायो ।
(स्रोत : बाह्रखरी दैनिक डट कम)