~तिर्थराज अधिकारी~
छन्द : अनुष्टुप्
छिटै अमर मर्नाले अशोक शोकमा प~यो
आरोग्य रोगले गल्दा अभय भयले ढल्यो ।
कुमारी गर्भकी भारी पति कुमार छन् घरै
मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।
रमिता दिनहुँ काम गर्दा गर्दै गली सकी
निर्जला जलमा डुब्दै आँखा चिम्ली चली सकी ।
इयरफोनले मात्र कर्णले कान सुन्दछ
लठ्ठी समाउने गुम्दा हस्तको झन् बेहाल छ ।
निर्मल मल छर्दै छ खेतबारी सबैतिर
बुद्धभक्त खसी काटी लिन्छ पैसा निरन्तर ।
नेत्र खोज्छ उता चस्मा पढ्न लेख्न बस्यो भने
बलवीर कति दुब्लो बिचरा छ पिलन्धरे ।
दाताराम छ त्यो लोभी दयाराम छ निष्ठुर
माया र ममता हान्छन् हतियार परस्पर ।
शीतल घामले गर्दा घामजस्तै बनी सक्यो
रुँदा चिच्याउँदा शान्ति नूर पूरै गिरी सक्यो ।
प्रदीप दीप सल्काई अन्धकार भगाउँछ
कर्मवीर सबै काम अर्कालाई लगाउँछ ।
रूपमा गोलको थुप्रो नाम पाइछ सुन्दरी
निशामा दरिई अर्की बिचरी रूपकी परी ।
वसन्त सन्त भेटिन्न वज्रजस्तै कठोर छ
भेटिन्न जयमा जीत हारको मात्र हार छ ।
छैन सौरभमा बास्ना छैन गौरवमा कला
कलामा नै कहाँ होला मनै लठ्याउने गला !
किन यो नाममा गर्व ? कर्म मेसो कतातिर ?
कर्महीन कहाँ बन्छु म धाम मठमन्दिर ?
(स्रोत : “सपनामा हराएको बिपना” – कवितासंग्रह – २०६६ बाट साभार )