कथा : पश्चातापबाट प्राप्ति

~रमेश भट्टराई ‘सहृदयी’~

गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पर्थ्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै गाली बर्सिन्थ्यो ।

एकदिन डाँडागाउँबाट उसको घरमा मामा आउनुभएको थियो । उहाँले उसलाई माया गरेर भन्नुभयो–“ओहो ! भान्जा बाबु त लाठे भइसकेछन्, अनि पढाइ कहाँ पुग्यो ?”

मामाको स्वर एकाएक उसकी आमाको कानसम्म पुगेपछि आमाको क्रोध वर्षिन थाल्यो– “यसको के कुरा गर्नु, भुस छ भुस, यसको पढाइको कुरा नसोध् भाइ । यसलाई खेल्न पाए पुग्छ । दोश्रो त्रैमासिक परीक्षामा पनि आठवटा विषयमा सातवटामा तारा लागेको छ । गणितमा ६ महिना पढेर ३ नम्बर ल्याइर’छ ।”

आमाको गालीले ठूलो रूप लेला भन्ने डरले ऊ आफ्नो कोठामा जान बाध्य भयो । कहिलेकाहीँ बाबाले गाली गर्नुहुँदा आमाले थप्न बाँकी राख्नुहुन्नथ्यो । अब त उसलाई आफन्तकामा मात्र होइन समाजमा समेत मुख देखाउन लाज हुने भइसक्यो । ऊ प्रायः कोठैमा बसेर दिन काट्ने कुरामा अभ्यस्त थियो । एकान्तप्रेमी उसले मलाई त अलिअलि उसका मनका भावना पोख्थ्यो तर मैले उस्तो गम्भिर पनि लिँदिनथेँ ।

एकदिन विज्ञान विषयको शिक्षकले उसलाई गाली गर्दै भन्नुभयो–“यस्तो भुस दिमाग भएकोले जीवनमा केही गरिखाला त, अहँ, खोइ तैँले पढेर खाँदैनस् । बरु गोरुलाई कक्षामा राख्दा अलिकति बुझ्ला तैँले के बुझ्लास् र । पृथ्वीको भार रै’छस् ।”

‘आफ्नो कमजोरी आफैँलाई थाहा छैन’ गोपालले मलाई भन्ने गर्थ्यो– “हेर् ललित, म त वास्तवमै पढाइमा कमजोर छु । तैँले राम्रो पढ्नु । म घरमा आमाबाबाको आँखाको तारो छु । स्कुलमा प्रायः शिक्षकको गाली र सजाय नपाएको दिन हुँदैन । तर म के गरुँ ? मलाई कुनै आइडियै आउँदैन । वास्तवमा मलाई कसैसँग बोल्न, कुरा गर्न, कसैकोमा जान मन लाग्दैन । जसकोमा गए पनि पहिला पढाइकै कुरा निस्किन्छ । खै, म त आफैँलाई आफू भार भएकोजस्तो लाग्छ ।”

मैले पनि नसम्झाउने गरेको त कहाँ हो र ! तर मनको वह कतिसम्म डरलाग्दो बन्दो रहेछ ।

एकदिन बिहानै बुबा र म एकछिन् बिहानीको यात्रामा निस्केका थियौँ । बिदाको दिन भएकाले मनमैजु हुँदै सामाखुसीतिर जाने सोच बनाएर कोठाबाट निस्क्यौँ । पुसको महिना भएकाले चिसो त छँदै थियो साथमा आकाश पनि रिसाएझैँ दुःखित लाग्थ्यो । जाडोको मौसममा बिहानीको यात्रा साँच्चै नै रमाइलो पनि हुन्छ नै । गोङ्गबु चोकसम्म आइपुगेपछि बाबासँग साथी गोपालको घर छेउ हुँदै जान आग्रह गरेँ । कतै बाटामा उसलाई भेटिएला कि भन्ने आशा राखे पनि हामीले उसकोमा जाने भन्ने सोच चाहिँ बनाएका थिएनौ । तर अकस्मात् उसको घर नजिकै पुग्दा ठूलो रुवाबासी र होहल्लाले हामीलाई त्यतैतिर खिच्यो । केही मानिसहरू फोनमा पुलिसलाई खबर गर्ने कुरा गरिरहेका थिए । कोही चाहिँ मोटरबाइकमा खोज्न जाने भन्ने गफ गरिरहँदा मनमा एक प्रकारको डर मिश्रित उत्सुकता जाग्यो ।

वास्तविक घटनाको चुरो थाहा नहुँदा कसलाई सोधूँ, म आफैँ रनभुल्लमा परेँ । मनमा अनेकथरी विचारका साथमा नकारात्मक सोच र त्रासको पनि एकाएक तँछाड मछाड गर्दै दौड सुरु भयो । आखिर सोधौँ म कस्लाई ?

गोपालकी आमाले मलाई देख्नासाथ एक्कासि अँगालो हालेर गोपालले घर छाड्नुको कारण सोध्न थाल्नुभयो । गोपालको साथी भएको हुनाले समस्यालाई धेरै बुझ्नु पर्ने व्यक्तिको रुपमा त म पो परेँ । बाबाले पनि घटना जान्न चाहेपछि गोपालकी आमाले नै भन्न थाल्नुभयो, “बेलुकाको खाना खाएपछि त्यस्तै पढाइको विषयमा चर्चा भएको थियो । उसलाई कमजोर भइस्, मेहेनत गर् भनेकी थिएँ । मैले अलिअलि गाली पनि नगरेकी हैन । तर आजभोलि निकै दिन भइसकेको थियो ऊ हामीसँग खासै नजिक पर्दैनथ्यो । अस्ति सँगै मन्दिर जाऔँ न भन्दा पनि जान मानेन । खोइ के भ’को हो, साथीसँग पनि घुम्न जानेओर्ने कुरा गर्दैनथ्यो । आज बिहानसम्म उठेको नदेखेपछि चिया लिएर ओछ्यानमा जाँदा उसलाई देखिन ।”

गोपालकी आमा झनै भक्कानिएर रुन थाल्नुभयो । मैले सम्हालिनलाई आग्रह गर्न पनि सकिन ।

एक्कासि मेरो मनमा एउटा ख्याल आयो अनि मैले उसको कोठामा जान अनुमति लिएर कुनै आधार खोज्न चाहेँ । कोठालाई राम्ररी मिलाइएको थियो । किताबहरूमा गाता लगाइएको, कापी झनै समेटेर राखिएको देखेँ । उसको सिरानीमुनि हेर्दा एउटा कागज भेटेँ– बडो मजाले पट्याइएको थियो । त्यो कागज खोलेर आफैँ हेरूँ या नहेरूँ डर पनि साथै उत्सुकता मनमा एकाएक आउन थाल्यो । तैपनि आँट गरेर कागज मैले मात्रै पढ्ने उद्देश्यले खोलेँ । त्यहाँ लेखिएको थियो –

आदरणीय आमाबाबा ! म गल्ती गर्न चाहन्न । म पढ्न कमजोर छु । यो मेरै कारणले हो । तर म हजुरहरूको मायाको भोको छु । म लेख्न पनि जान्ने त होइन तर समस्याले झापड हानेपछि, मन पग्लिएपछि सायद सरस्वती माता लाचार हुँदिरहिछिन् । आज यो पत्र पढेपछि तपाईँहरूले मलाई खोज्ने आवश्यकता नपरोस् । तर म आमा बाबाको आशालाई प्रेमपूर्वक पूरा गर्न चाहन्छु ।

उही यहाँहरूकै छोरा
गोपाल मैनाली

मैले सानै स्वरमा पढेको भए पनि गोपालकी आमा ढोकामा आएर सुनिरहनुभएको रहेछ । उहाँ त भक्कानिएर झनै रुन पो थाल्नुभयो । अनि हामी सबैलाई थाहा भयो– उसले घर मात्र छोडेको हो उसलाई केही भएको छैन ।

दिन दुगुना रात चौगुना चर्चा चल्न थाल्यो । फेसबुकमा, स्टाटस, म्यासेजहरूमा उसकै खोजीका कुरा हुन थाले । स्कुल, चोक जताततै उसकै खोजीमा सकेसम्मको प्रयास गर्न थालियो । विदेशबाट उसकै बारेमा गुनासाहरू बढिरहेका थिए । मानिसहरूका अनुमान अनि निर्देशनका ठेलीले म झनै पीडामा छट्पटिन थालेँ । टेलिभिजन, पत्रपत्रिकामा भने जानकारी दिने कि नदिने भन्ने विचारहरू फैलिन थाले । अन्ततः सबैमा तनाव र पीडा बढ्न थाल्यो । अनेक थरी शङ्का उपशङ्काले आफन्तहरूमा चिन्ता बढाइरहेकै थियो । गोपालकी आमाले खाना नखाएको दुई दिन भइसकेछ । बल्ल सम्झाएपछि उहाँले अलिकति खानुभयो । मलाई पनि रातदिन निद्रा लागेन । घरै छोडेर यति ठूलो पीडा दिएकोले त अलिअलि रिस पनि नउठेको होइन ।

चौथो दिन बिहान बाबाको मोबाइलको ‘सुर्के थैली खै’ को रिङ टोनले मेरो निद्रा भगाइदियो । मनमा त एउटै विचारले तनाव बढाएकै थियो । एकाएक मेरो नाम लिएर कसैले बुबासँग बोलेको सुन्दा म अलि चासोमा थिएँ ।

बाबाले फोन मेरो हातमा थमाइदिनुभयो । उहाँ आफ्नै धुनमा व्यस्त हुनुहुन्थ्यो । एकजना बूढो मान्छेको आवाज थियो । “भाइ तिमी नै हौ ललित भनेको ?”

“हो मै हो,” मैले उत्तर दिएँ । “तर मैले त हजुरलाई चिनिन नि !”

त्यो आवाजभन्दा अर्कै आवाज अनायास मेरो कानमा पर्यो जसको अपेक्षामा म लगायत सबै पीडामा थियौँ –उही गोपालको आवाज । मैले उसलाई एकै साथ प्रश्नका ठेलीहरू तेस्र्याएँ – तँ कहाँ छस्, किन घर छोडेको ? किन हामीलाई यति धेरै पीडा दिएको ?

उसको स्वर काँपिरहेको थियो । उसले एकजना भक्तपुरको व्यापारीसँग बिन्ती गरेर फोन गरेकाले उसले मलाई नै फोन गर्न आग्रह गर्यो । मैले ऊ भएको ठाउँमा तुरुन्तै आउने बाचा गरेर बाबा आमासँग भनेपछि हामी लगायत सबैतिर एक किसिमको खुसी फैलन थाल्यो ।

उसलाई देखिसक्दा मेरा आँखा रसाए । ऊ पनि रोइरहेको थियो । गोपाललाई कति पनि पीडा नथपियोस् भन्ने सोचेर उसलाई गाली नगरी उसकी आमाको हालत भनिदिएँ । त्यसपछि त ऊ झनै घुँक्कघुँक्क गरेर रुन थाल्यो । अब जे भइसक्यो भै’गो घर जाऔँ भनेर मैले उसलाई लिएर आएँ । घरमा एकाएक खुसी मिश्रित गालीले गोपाल नवआगन्तुक झैँ बन्यो ।

उसले आफ्नी आमा र बाबाको त्यो अवस्था देखेर झनै आफूलाई सम्हाल्न सकेन । आमा बाबासँग प्रण गर्दै भन्न थाल्यो – “मैले ठूलो गल्ती गरेँछु । अब त म कहिल्यै यस्तो गल्ती गर्दिन । मैले आफैँले नपढेर बाबाआमाको गालीलाई ईख लिएँछु । यहाँबाट गएपछि पैसा सकिइहाल्यो । त्यसपछि मैले एकजना इट्टाभट्टाको मान्छेसँग काम दिन आग्रह गरेँ । उसले काम त दियो तर उसका जुठा भाँडा माझ्न लगायो । अलिकति तरकारी र थोरै बासी भात दिएपछि आमाले घरमा माया गरेर दिएको खाना मीठो भएन भनेर फालेको, घुर्की लगाएको झल्झली याद आयो । पढ्नु त मेरै लागि थियो तर मैले बाबाआमा र गुरुहरुको लागि पढ्ने ठानेर बाबाआमाको गालीलाई ईख लिएँछु । सरी बाबाआमा अब म पक्का पनि पढ्छु ।”

ऊ रोइरहेको थियो । रुवाई मिसिएको स्वरमा ऊ अझै भन्दै थियो–“इट्टाभट्टाको मान्छेले इट्टा लोड गर्न लगाउँदा बल्ल थाहा भयो बाबाले मलाई पढाउनका लागि कति दुःख गर्नुभएको रहेछ । मैले यी कुरा त कल्पना पनि गरेको रहेनछु ।”

उसका यस्ता कुरा सुनेपछि उसकी आमाले अँगालो हालेर गालाभरि म्वाई खान थाल्नुभयो, “छोरा अब म कहिल्यै गाली गर्दिन । मैले त्यस्तो गाली गर्नु राम्रो होइन‘थ्यो । मैले अनजानमा बोलेको कुराले तिमीलाई ठूलो चोट परेछ ।”

उसको बाबाले अर्कोतिरबाट अँगालो हालेपछि ऊ एक्कासि बाबाको अँगालोमा परेर माफी माग्न थाल्यो । उसको टाउको सुम्सुम्याउँदै बाबाले अबदेखि केही समस्या भए घरमा भन्ने गर्नुपर्छ भन्ने सल्लाह पनिदिनुभयो । त्यहाँको दृश्यले सबैको अनुहारमा खुसीका रङ देखिन्थे । ऊ लगायत उसका सबै परिवारले मलाई धन्यवाद दिनुभयो । मलाई उसको सबै घटना अझै ताजै लाग्छ । त्यस्तो गोपालले त्यसपछिका हरेक परीक्षामा राम्रो अङ्क ल्याएको देखेर सबै शिक्षकहरू पनि खुसी हुनुहुन्थ्यो ।

त्यो घटना घटेको तीन वर्षपछि गोपाल स्कुलको पाँचौँ मेधावी विद्यार्थीमा पर्न सफल भयो । एस्.एल्.सि.को नतिजा प्रकाशनको प्रतिक्षामा सबै शिक्षक लगायत हामी आतुर थियौँ । सबैभन्दा अचम्म त्यहाँ भयो जुन अप्रत्यासित थियो गोपाल विद्यालयको मात्र होइन नेपालकै प्रथम भएको रहेछ । यो पत्याउने कुरा जस्तो त धेरैलाई लागेको थिएन तर त्यो यथार्थ थियो ।

गोपाल अहिले नेपाल एयरलाइन्सको मेनेजर बनेको छ । म उद्योग मन्त्रालयमा छु । हामी कहिलेकाहीँ ती विगतका घटनामा हराउँछौँ । साह्रै अविश्मरणीय लाग्दो रहेछ– विगतमा हराउँदा ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.