कविता : नेपाली र भविष्यहरु

~देवी बहादुर श्रेष्ठ~

तोड बेतोडको जमाना
जोड घटाउको अर्थ
घात प्रतिघातका शब्दहरु
विश्वास अविश्वासका छापहरु
जन्म मृत्युको दोसाँध
एउटा मूर्त एउटा अमूर्त
उस्तै चेतन र अवचेतन
आफै अर्को द्वन्द्व
कल्पित संसारमा
गगनचुम्बी दरबारहरु
आँधी बेहरीसँगै उजाडिएका छन्
प्रकृतिका मनोरम छटाहरु
परेलीबाट रित्ति सकेका छन्
यो कटुता हो
कसरी स्वीकारौं ?

हराएको छु म
आफै वेहोसी
चिच्याएको छु म
आफै बौलाही
दौडिएको छु किन वेचाल
किन दुख्छ
किन हुन्छु पल्थर
जब ढल्छ कोही
झनै दुख्छ घाउँ
बगेको छ रगत
उफ हाम्रो लागि
कि ढल्छ ऊ ?

पानी विनाको झर्ना
हिउँ विनाको हिमाल
हरियाली विनाको पहाड
मरुभूमि झै तराई
कस्तो बैराज्ञमा सोचिएला !
तर विडम्बना
अब के नै बाँकी छ र ?
मान्छेमा मानवता हराएपछि
कस्तो शक्ति सञ्चित होला
सबै टुक्रिएपछि ।

परिश्रमका ठाउँमा लाचार
विम्वका ठाउँमा प्रतिविम्ब
यथार्थका विरुद्ध वेहोसी
झनै विरक्तिन्छ आत्मा
हेर्छु अन्धो नयनले माटो
यो कस्तो दुर्दशा लागेको दिन
छट्पटाउँछ धुँवाहरु …
बारुदहरु ….
मेरो गौरव र अतीतहरु
मेरो जन्म भूमि र वर्तमानहरु
हामी नेपाली र भविष्यहरु ।

–तुङ्गेछा १, भोजपुर

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.