~जीवा लामिछाने~
सन् २०१६ मार्च २८ । हामी साइप्रसको पाफोस सहरबाट १५० किलोमिटर दूरी पार गरेर राजधानी निकोसिया पुगेका थियौँ । हरेक सहरको आफ्नै मौलिक विशेषता हुन्छ, त्यही मौलिकता हेर्दै हामी रमाइरहेका थियौँ । १० लाख जनसंख्या भएको युरोपियन युनियनमा रहेको सुन्दर देश साइप्रसमा यसअघि नपुगेको त होइन, तर यसपटको घुमघाम नितान्त पारिवारिक र फुर्सदको थियो । अरु बेलाको तुलनामा परिवारसँगको भ्रमणमा मन विशेष आह्लादित हुन्छ नै !
‘अब यो ठाउँबाट अर्को देश सुरु हुन्छ र यहाँभन्दा अघि बढ्नु हाम्रो लागि असुरक्षित हुन सक्छ ।’ निकोसिया सहरको मध्यभागतिर पुगेर आफ्नै मनसँग कावा खाइरहँदा एउटा प्रहरी चेकपोस्टको अघिल्तिर उभिएर रञ्जित महतोले भने, ‘ शासकहरूले आफ्नो महत्वाकांक्षा पूरा गर्न सहरको बीचबाटै देशको सिमाना कोरिदिन्छन् । यहाँभन्दा उता अर्कै मुद्रा चल्छ, अर्कै भाषालाई मान्यता दिइएको छ र अरु कसैले शासन गर्छन् । यही कारण आममानिसले यहाँभन्दा अघि बढ्न अनेक झण्झटको सामना गर्नुपर्छ ।’ युवा उद्यमी रञ्जित लामो समयदेखि साइप्रसमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं मित्र उपेन्द्र महतोको कम्पनीमा आवद्ध छन् !
कुनै बेलाका शक्तिशाली राजाले कुन मुडमा त्यो वाइनको प्रशंसा गरिदिएका थिए, त्यही आधारमा प्रसिद्ध भएको रहेछ । लाग्यो, कतिपय कमसल सामग्री शक्तिशाली मानिसले प्रशंसा गरेकै भरमा विशेष भएका छन् । सायद, यो नियम मानिसमा अझ बढी लागु भएको हुनुपर्छ । साइप्रस यात्रामा कमान्डेरिया वाइनको खोजी मात्र होइन, त्यहाँको राष्ट्रिय जनावरको खोजीमा पनि केही समय बिताइयो ।
साइप्रस विभाजित राष्ट्र हो भन्ने कुरा थाहा नभएको होइन, तर सहरको बीचबाटै सेनाको बन्दुकसँगै अर्को देश र सहर सुरु भएको देख्दा म आश्चर्यचकित भएँ । काठमाडौँ सहर घुम्दै गरेको कुनै अञ्जान पर्यटक हनुमान ढोकानजिक पुग्दा कसैले तलेजु मन्दिर र दिव्य घण्टातिर देखाएर ‘उता नजाऊ त्यो अर्कै देश हो’ भन्दा कस्तो महसुस गर्ला, ठीक त्यस्तै भयो मेरो अवस्था । एउटै सहरमा एक व्यक्तिको घर एउटा देशमा र बारी अर्को देशमा पर्दा उसको मनमा कस्ता भाव आउलान् ? एउटा व्यक्ति आफू बच्चा छदाँ जहाँ खुलारूपमा खेल्न स्वतन्त्र थियो, ठूलो भएपछि आफ्ना सन्तानले त्यही ठाउँमा खेल्न नपाउँदा कस्तो महसुस गर्ला ? हिजो किनमेल गर्दा यताको टोलमा आएको मान्छे, अहिले त्यो टोललाई अर्कै देश भन्नुपर्दा उसले कसरी त्यो सत्यलाई स्वीकार गर्ला ? मेरो मनमा यस्ता अनेक प्रश्न मडारिइरहे ।
विभाजित सहरको सिमानामा पुगेर हामी फक्र्यौं । त्यस दिन हामी पासपोर्ट साथमा नलिई घुम्न निस्केकोले टर्की अधिनस्थ साइप्रसलाई सिमानाबाटै आँखा फैलाएर चित्त बुझाउनुपर्यो । साँझ जीवन पञ्जियारको घरमा डिनर गरिरहँदा मलाई साइप्रसको इतिहासले चिमोटिरह्यो । आखिर सहरलाई नै टुक्राएर अर्को देश बनाउनुपर्ने बाध्यता के आइपर्यो ? के यो सहर र देश सधैँका लागि विभाजित भएको हो ? जान्न मन लागिरह्यो । रञ्जितबाट केही र केही गुगलबाट मैले साइप्रसबारे जान्ने प्रयास गरेँ । तर, ती सूचनाहरूका बीचमा त्यहाँका जनताका भावना कसरी विभाजित छ, त्यसको मेसो भने पाउन सकिरहेको थिइनँ ।
००००
पूर्वीभूमध्य सागरमा अवस्थित साइप्रस टापुलाई प्राचीनकालदेखि नै व्यवसायीहरूले सामान ओसारपसार र अन्य व्यवसाय गर्ने मार्गका रूपमा प्रयोग गर्दै आएका रहेछन् । रणनीतिक क्षेत्र भएकै कारण यो भूमि र यहाँका जनताले बाहिरी आक्रमणको पटकपटक सामना गरिरहनुपरेको इतिहास छ । सबैभन्दा पहिले ईसापूर्व ३ सय ३३ मा सिकन्दर महान्ले यो भूमिलाई अधिनस्त गरेका थिए । यही भूमिबाट उनले फारसीविरुद्ध युद्ध छेडे । यो युद्धमा यिनै भूमिपुत्रहरूको प्रयोग भयो । उनको मृत्युपछि केही सयम यो क्षेत्र स्वतन्त्र भयो, तर त्यसबीचमा यो क्षेत्रका बासिन्दामा ग्रिक सभ्यताको राम्रो प्रभाव परिसकेको थियो । ग्रिक सभ्यतामा सबैभन्दा बढी पुजिएकी आफ्रोडाइटीदेवीको जन्मस्थल त्यही क्षेत्रमा भएको विश्वास गरिएकाले पनि त्यो क्षेत्र सम्पूर्णरूपमा ग्रिक सभ्यताको प्रभावमा पर्न थाल्यो ।
यता एघारौँ शताब्दीपछि अरब क्षेत्रबाट मुस्लिम धर्मको विस्तार हुन थाल्यो । टर्किस जातिले पनि मुस्लिम धर्म ग्रहण गर्न थाले । जनसंख्याको फैलावट हुँदै जाँदा केही टर्किस जाति साइप्रस भूमिमा आइपुगे । टर्किस जाति थोरै भए पनि यहाँ ग्रिकहरूसँग मिलेर बस्न थाले । इतिहास हेर्दा यी दुवै जातिबीच कहिलेकाहीँ सानोतिनो समस्या त देखिन्छ, तर यसलाई त्यहाँका शासकले सजिलै सामाधान गरेको महसुस हुन्छ । सन् १८७८ मा संसारभर शक्तिशाली हुँदै गएको बेलायतको अधिनमा पुगेपछि भने साइप्रस बेलायती नीतिमा रंगीन थाल्यो । पछि संसारभरि बेलायत अधिनस्थ देशहरू स्वाधिन हुन थालेपछि त्यसको प्रभाव साइप्रसमा पनि प¥यो । दुवै जातिले बेलायती साम्राज्यविरुद्ध मिलेर संघर्ष गरे । फलस्वरूप सन् १९६० मा साइप्रस स्वतन्त्र भयो । तर, स्वतन्त्रताको लडाईं मत्थर बनाउने क्रममा बेलायतले दुई जातिको एकता कमजोर बनाउन केही नीति अख्तियार गरेको थियो, स्वराज अभियानमा भारतमा जातीय द्वेषको बिजारोपण गरिदिएझैँ ! स्वतन्त्रतापछि यही नीतिका कारण त्यहाँ पनि जातीय द्वेष सुरु भयो । हिजो बेलायती शासकले जसरी यी दुई जातिभित्र राजनीति गरेको थियो, यही रणनीति छिमेकी राष्ट्र टर्कीले गर्न थाल्यो । केही वर्षभित्रै साइप्रसमा रहेका आफ्ना जातिलाई सैनिक र आर्थिक सहयोगले शक्तिशाली बनाएपछि त्यहाँ विद्रोह चर्कन थाल्यो । अन्ततः सन् १९७४ मा पुग्दा देश नै टुक्रन पुग्यो । अहिले उत्तरी भूभागमा टर्की अधिनस्त साइप्रस छ । जसको जनसंख्या केवल ३ लाख छ । यता १० लाख जनसंख्या भएको साइप्रस सन् २००४ देखि युरोपियन युनियनको सदस्यको रूपमा एउटा समृद्ध राष्ट्र बन्ने क्रममा छ । थप समस्या आउन नदिन संयुक्त राष्ट्र संघले सुरुदेखि नै मध्यस्थता गरेर दुई राष्ट्रलाई मिलाउन पटकपटक प्रयास नगरेको होइन, तर जातीय विद्वेष शिखरमा पुगेकै कारण यो सम्भव भइरहेको छैन ।
अवैतनिक नेपाली वाणिज्यदूत जीवन पञ्यिारको घरमा डिनर खाने क्रममा उनका छिमेकी सेवानिवृत्त उच्च सैनिक अधिकृत कन्स्तानटिनोस खित्रोदास टर्कीले अन्यायपूर्ण तवरले देश विभाजन गरिदिएको आक्रोश मसँग पोखिरहेका थिए । ‘हामीलाई विभाजित गराइदिएर मेरो पुख्र्यौली सम्पत्ति निर्दयी टर्किस सिप्रियोटले कब्जामा लिएका छन् । यसको जतिसुकै भत्र्सना गरे पनि कम हुन्छ,’ उनी भन्दै थिए, ‘राजनीतिले जनताको विश्वासमाथि निर्ममतापूर्वक प्रहार गर्छ र आफ्नो स्वार्थका लागि देश विभाजन गर्छ । यो सबै गल्ती पारिपट्टिका टर्किस सिप्रियोट जातिलाई टर्कीले भड्काएर भएको हो । विचरा उनीहरू हाम्रा छिमेकी हुन्, दुःख–सुखका साथी हुन् ।’ उनी आक्रोशित भैरहँदा मलाई लाग्दै थियो, सायद पारिपट्टिका मानिसले पनि यताका जनताप्रति देश विभाजनका विषयमा त्यस्तै आक्रोश पोख्दा हुन् ।
हुन पनि बेलायतबाट स्वतन्त्र हुनका लागि मिलेर दुवै जातिले संघर्ष गरिरहँदा दुवै जातिबीच खासै समस्या थिएन, जब देश स्वतन्त्र भयो र सबै जनताले देश विकास हुने अपेक्षा गरिरहेका बेला छिमेकी राष्ट्रको हस्तक्षेपले देश नै टुक्रने अवस्था आइलाग्यो । हिजो जो छिमेकीसँग ऐँचोपैँचो चल्थ्यो, आज ऊ दुश्मन भएको छ । देश टुक्रिँदाको दुर्दशा सन् ९० को दशकमा १५ वटा सोभियत समाजवादी गणराज्य विभाजन हुँदा मैले आफैले देखे–भोगेको थिएँ । यहाँ सैनिक अधिकृत खित्रोदास, जीवन र रञ्जितका कुरा सुनिरहँदा मलाई त्यही दृश्य याद आइरहेको थियो । सैनिकको कुरामा सही थाप्दै रञ्जित भन्दै थिए, ‘एकै देशका मानिसको सम्बन्धमा जब छिमेकी देशको राजनीति छिर्छ, त्यो प्रेमपूर्ण सम्बन्ध घृणामा परिवर्तन हुन समय नै लाग्ने रहेनछ ।’
वाइन र भेडाको कथा
साइप्रस भ्रमण नितान्त पारिवारिक थियो । छोराहरू अनुराग र अनुकृतको स्कुलमा इस्टरको छुट्टी सुरु भएपछि परिवारसहित कुमार पन्त र विमल विष्टसँग छुट्टी मनाउन साइप्रस जाने पुरानो योजना साकार भएको थियो । यस्तो यात्रामा पारिवारिक प्याकेज टुर केही सुलभ हुन्छ । हामीलाई प्याकेज उपलब्ध गराउने टुर कम्पनीले फ्रान्कफर्टबाट लार्नाकाका लागि सीधा हवाईसेवा उपलब्ध नगराएकोले कोलन सहरबाट हामी लार्नाकाका लागि उडेको थियौँ । कोलन पुगेपछि भने हामीलाई केही सहज भयो ।
लार्नाका आइपुग्दा साँझको ५ बजेको थियो । शरीर थाके पनि मन थाकेको थिएन । फाइभ स्टार भनिएको भेनसबीच होटेलको उदास सेवाका कारण ४५ वर्षे महिलाले २४ वर्षकी भएँ भनेर उमेर ढाँटेजस्तो लाग्यो । भोलिपल्ट नजिकका केही ठाउँ घुमेर बितायौँ । दिउँसो ‘टुम्ब अफ द किंग्स’ घुम्न गयौँ । टुम्ब अफ द किंग्स’ इशापूर्व चौथो शताब्दीदेखि झन्डै सात सय वर्षसम्म अभिजात्य वर्गका मानिसलाई समाधिस्थ गर्ने स्थान रहेछ । पुरानो भएकैले होला, यसलाई युनेस्कोले संरक्षित क्षेत्रको सूचीमा राखेको छ । चिहान क्षेत्र भन्दा पनि त्यहाँबाट देखिने समुद्रको दृश्य मनमोहक लाग्यो । यो दृश्य जोकोहीका लागि पनि समुद्रझैँ मनको गहिराइमा गएर बस्न पर्याप्त रहेछ ।
चिहानघारी र मनमोहक समुद्री तटबाट फर्कंदै गर्दा थाहा भयो, साइप्रसमा उत्पादन हुने ‘कमान्डेरिया’ ब्रान्डको वाइन संसारकै सबैभन्दा पुरानो मात्र होइन, विश्वप्रसिद्ध रहेछ । यसको उत्पादन ९ सय वर्षअगाडि सुरु भएको रहेछ । यसको प्रसिद्धी कसरी फैलँदै गयो भने त्यो बेलाका शक्तिशाली बेलायती राजा रिचार्डले आफ्नो विवाहोत्सवमा यो वाइनलाई ‘राजा–महाराजाको वाइन र वाइनमध्येको राजावाइन’ भनेर घोषणा नै गरेका रहेछन् । शक्तिशाली राजाले बोलेको कुरा शिलालेखजस्तै हुने भैहाल्यो । त्यसमाथि लिमासोल समुद्री तटनजिकको क्षेत्रमा विशेषप्रकारको अंगुरबाट उत्पादन गरिने यो वाइन पारखीले चाखेनन् भने ऊ पारखी नै होइन भन्ने मान्यता बनेको रहेछ । यो वाइन संसारका धनाढ्य व्यक्तिले आफ्नो घरको बारमा सजाउनुलाई गौरवको विषय बनाउँछन् भन्ने पनि सुनियो । म वाइनको त्यति ठूलो पारखी त होइन, तर दिनभरि यो वाइनको चर्चा यति सुनियो कि एकपटक यसको स्वाद लिइएन भने पछि परिने पो हो कि भन्ने लाग्यो । बजार आइपुगेपछि मैले त्यो वाइन किन्न खोजेँ । इस्टरको बिदा, त्यसमाथि आइतबारको दिन भएकाले त्यहाँका धेरैजसो पसल बन्द थिए । जति खुलेका थिए, त्यहाँ पनि ‘कमान्डेरिया’ वाइन पाइएन । सामान्य पसलमा समेत नपाइने यो वाइनप्रति मेरो आशक्ति झनै बढ्यो । होटल आएपछि डिनर गर्नुअघि मैले त्यही वाइन पिउन खोजेँ, तर त्यहाँ पनि कमान्डेरिया पाउन नसक्ने बताइयो । आखिर मनमा वाइन पिउने तलतल कतिसम्म बढ्यो भने होटेलमा उपलब्ध ‘क्याबरने सोभिन्यो’नामक वाइन घरबूढीसँगै चियर्स गरेर तलतल मेट्ने प्रयास गरेँ । रुसमा श्रीमान–श्रीमतीले अल्कोहल चियर्स गरेर सँगै पिउनु हुँदैन, यसो गरे घरझगडा हुन्छ भन्ने मान्यता छ । यस्ता कुरामा रुसी जनता निकै विश्वास पनि गर्छन् । ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो’ भन्ने संस्कृतिमा हुर्केका हामीले त्यसको पर्वाह नगरी सँगै चियर्स गरेर वाइन पिइयो । खासमा त्यो चियर्स इच्छाले भन्दा पनि कमान्डेरिया वाइन नपाएको झोकमा गरिएको रमाइलो मात्र थियो ।
यो वाइनले मलाई साइप्रस यात्राभरि कति सतायो भने त्यहाँबाट फर्कने क्रममा लार्नाका एयरपोर्टको ड्युटीफ्रिमा समेत मैले त्यो वाइन खोजेँ । आफ्नो देशको विश्वप्रसिद्ध वाइन प्रवद्र्धन गर्न पक्कै पनि एयरपोर्टमा त्यसलाई बिक्रीमा राखिएको हुनुपर्छ भन्ने मेरो विश्वास थियो । नभन्दै मैले एक साताभरि खोजेको त्यो वाइन ड्युटीफ्रीमा फेलाप¥यो । तर, त्यो बेला म आश्चर्यचकित भएँ जब घर आएर वाइन खोल्दा त्यसको स्वाद र गुणस्तर अरु वाइनझैँ सामान्य पाएँ । मलाई लाग्यो, कुनै बेलाका शक्तिशाली राजाले कुन मुडमा त्यो वाइनको प्रशंसा गरिदिएका थिए, त्यही आधारमा प्रसिद्ध भएको रहेछ । लाग्यो, कतिपय कमसल सामग्री शक्तिशाली मानिसले प्रशंसा गरेकै भरमा विशेष भएका छन् । सायद, यो नियम मानिसमा अझ बढी लागु भएको हुनुपर्छ ।
साइप्रस यात्रामा कमान्डेरिया वाइनको खोजी मात्र होइन, त्यहाँको राष्ट्रिय जनावरको खोजीमा पनि केही समय बिताइयो । यात्राका क्रममा साइप्रसको राष्ट्रिय जनावर एउटा लजालु प्रकृतिको भेडा हो भन्ने सुनियो । जुन देशमा घुम्न आइएको छ, त्यो देशको राष्ट्रिय जनावरप्रति चासो जाग्यो र खोज्न थालियो । तर, जतिसुकै सोधखोज गरे पनि साइप्रसमा त्यो जनावर कहाँ पाइन्छ भनेर कसैले यकिन साथ भन्न सकेनन् । हाम्रो राष्ट्रिय जनावर काठमाडौँका सडकमा समेत सजिलै देखिने अनुभव बोकेका हामीले साइप्रसको राष्ट्रिय जनावर देशबाटै बेपत्ता भएको सुन्दा अनौठो लाग्यो ।
प्रेमकी देवीको कथा
सन् २००५ मा पहिलो पटक मस्कोबाट मणिराज पोखरेल र रुसी मित्र अलेग गुबानोभसँग साइप्रस घुम्न आउँदा ‘ट्रोडोस माउन्टेन’ ले आकर्षित गरेको थियो । त्यसकारण यसपटक पनि हामी ‘ट्रोडोस माउन्टेन’ जाने भयौँ । पहाडको टाकुरासम्म पुग्नका लागि नागबेली आकारको झन्डै ७५ किलोमिटर लामो यात्रा तय गर्नुपर्छ । हाम्रोमा पाइने सल्लाजस्तै रुखहरूले ढाकिएको सुन्दर जंगल छिचोल्दै हामी अघि बढ्यौँ । बाटो झुक्किएर हामी अर्कै पहाडतिर लागेछौँ । हामीले ट्रोडोस माउन्टेन त भेटेनाँै, तर प्रसिद्ध ओलिम्पस माउन्टेन पुगियो । ओलिम्पस माउन्टेनको टुप्पामा अझै पनि हिउँ पग्लिसकेको थिएन । यही कारण त्यसको आकर्षण ट्रोडोस भन्दा कम लागेन । माथिल्लो स्थानमा २ वटा सैनिक क्याम्प रहेछन् । एक टुकडी बेलायती सेनाको थियो, अर्कोचाहिँ साइप्रस सेनाको । सायद यी सैनिक क्याम्पले साइप्रस विभाजनको लामो कथातिर संकेत गरिरहेका थिए ।
तर, यी पहाडहरूले मलाई प्रेमकी देवी आफ्रोडाइटीको सम्झना गराइरहेको थिए । प्रेमकी देवी आफ्रोडाइटी यिनै पहाडमा देवताहरूसँग बस्ने गर्छिन् भन्ने विश्वास गरिन्छ । स्थानीय गाइडहरू पनि आफ्ना ग्राहकलाई आफ्रोडाइटीको कथा सुनाएर यो क्षेत्रको भ्रमण गर्न उक्साइरहन्छन् । ग्रिक किम्बदन्तीअनुसार ‘आफ्रोडाइटी’ प्रेम, सुन्दरता, यौन र कामुकताकी देवी थिइन् । उनको रोमन नाम ‘भेनस’ थियो । उनको उत्पत्ति र सुन्दरताका विषयमा अनेक किम्बदन्ती सुन्न पाइन्छ । उनलाई ‘सिथेरिया’ र ‘सिप्रिस’ आदि नामले पनि बोलाइन्थ्यो । उनको जन्मका बारेमा चलेको एउटा किम्बदन्तीअनुसार ‘युरेनस’को जननेन्द्रिय काटेर समुद्रमा फ्याँक्दा त्यसको फिँजबाट नै पाफोसनजिक समुद्रीतटमा उनको जन्म भएको थियो । हुन त ग्रिक आदिकवि होमर र चर्चित दार्शनिक प्लेटोले उनको जन्मका बारेमा फरक तवरले व्याख्या गरेका छन् ।
आफ्रोडाइटी सर्वांग सुन्दरी थिइन् । उनी सर्वोच्च देवताहरूसँगै ‘माउन्ट ओलिम्पस’मा बस्ने गर्थिन् । उनको सुन्दरताका कारण देवताहरूबीच एकापसमा दुश्मनी बढेर भयंकर युद्ध होला भन्ने भय सिर्जना भयो । हिन्दु अप्सराहरू उर्वसी, रम्भा, मेनका, तिलोत्तमाले बेलाबेलामा इन्द्राशन र ऋषिमुनिहरूको तपस्या डगमगाइदिएजस्तै होला सायद ! त्यही डरका कारण उनको विवाह ‘हिफिस्टस’ नाम गरेका कुरूप अग्निदेवतासँग गराइयो । तर पनि उनले धेरै देवता र मानवलाई आफ्नो प्रेमी बनाएर असंख्य सन्तान जन्माइन् भन्ने किम्बदन्ती छ ।
फर्कंदाफर्कंदै
एक साता लामो यात्राले साइप्रसका धेरै कुरा स्पष्ट भयो । त्यहाँ वित्तीय सेवा, पर्यटन र कृषि आयको प्रमुख स्रोत रहेछ । एकपटक राति होटल फर्कने क्रममा बाटो अल्मलिँदा एउटा गाउँतिर पुगिएछ । अलिपर पुगेपछि कृषि फर्म भेटियो । त्यहाँ सुन्तला लटरम्म फलेको देख्दा हामीले मन थाम्न नसकेर गाडी रोकेर थुप्रै सुन्तला टिपेर होटेल फर्किएका थियौँ । साइप्रसजस्तो सानो मुलुकले सुन्तला र जैतुनको तेल बिक्रीबाट ठूलो आम्दानी गर्छ भन्ने सुनेको थिएँ । आँखैअघि रुखै नुहिने गरी फलेका लटरम्म सुन्तलाले त्यसको छनक दिएको थियो ।
त्यहाँको पर्यटन व्यवसाय फस्टाउनुको मुख्य कारणचाहिँ एकै यात्राबाट पर्यटकले हिउँमा स्की र समुद्रीतटको आनन्द लिन सकिने भएकाले रहेछ । ६ हजार ४ सय फिटको उचाईंमा रहेको ट्रोडस हिमालमा स्की खेल्नेहरू र त्यहाँबाट ७५ किमी पर लिमासोल र पाफोस समुद्रीतटमा स्नान र सौर्यपान गरिरहेका मानिस देखेरै त्यहाँको पर्यटन बुझ्न सकिन्छ । त्यतिमात्र होइन, पुराताŒिवक भग्नावशेष भएको पूरै पाफोस सहरलाई युनेस्को विश्वसम्पदा सूचीमा राखिएको छ । पाफोस सहरमा एउटा अनौठो रुख रहेछ जसमा आफूले मन पराएको व्यक्तिले लगाएको कुनै कपडाको टुक्रा बाँध्यो भने केही समयपछि त्यो व्यक्ति फर्केर आउँछ भन्ने विश्वास रहेछ । यही कारण रुमाल अथवा आफ्ना प्रेमी–प्रेमीकाको कपडाको टालो बाँध्ने मानिस प्रशस्त हुँदा रहेछन् ।
यो यात्रा जतिसुकै रमाइलो भए पनि विभाजित साइप्रसको नियतिले मलाई पीडाबोध भइरह्यो ! हुन त निकोसिया विभाजित हुने पहिलो राजधानी सहर होइन । सन् १९६७ को अरब–इजरायल युद्धअघिसम्म जेरुसलम सहर यसरी नै विभाजित थियो । अहिले त्यो सहर इजरायलीहरूको अधिनमा आएको छ । त्यसै गरी १९८९ सम्म पूर्व र पश्चिममा विभाजित बर्लिन सहर अहिले एक भएको छ । आशा गरौँ विभाजित राजधानीको नियति अरु कुनै सहरले व्यहोर्नुपर्ने छैन । र, निकोसिया नै अन्तिम विभाजित राजधानी बन्नेछ । यी शब्द लेखिरहँदा म कल्पना गरिरहेको थिएँ, जर्मनहरूले पर्खाल भत्काएर बर्लिनको पुरानो गौरवगाथा फर्काएझैँ सिप्रियोटहरूले पनि कुनै दिन एकीकृत निकोसिया सहरको पुरानो रौनक फिर्ता गर्नेछन् !
पंक्षीहरू आफूले चाहेको ठाउँमा उड्न स्वतन्त्र छन् ! जनावर विचरण गर्नका लागि कुनै देशको दसगजाले छेकबार लगाउन सक्दैन ! बुद्धिजीवी मानिएका मानवजाति सिमानाकै लागि युद्ध र मारकाट गरेको थाहा पाउने हो भने जनावरलाई कति उदेक लाग्दो हो ! जबजब दसगजाको विषयलाई लिएर देश–देशबीच विद्वेष र लडाईं भएको देख्छु, चराचरजगत्का लाखौँलाख जीवमध्ये मानिसमात्रै निरीह प्राणी भएझैँ मलाई लाग्छ ! यसपटकको साइप्रस यात्रामा मानिसको यस्तै निरीहपना मैले महसुस गरिरहेँ !