समीक्षा : देवकोटाः शिशुभक्षकका पक्षमा

~प्रकाशमणि दहाल~

महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्ध गर्दछ ।

तर त्यतिले मात्र स्पष्टिँदैनन् देवकोटा । उद्भटता, अभिव्यक्ति प्रवाह-प्रभाव, त्यसका कलात्मकता र सन्देशहरूले मात्र पनि व्यक्तिँदैनन् उनी, चिनिँदैनन् वास्तविक अर्थमा । कारण उनी उचालिन सक्छन् आकाशजस्तै, गहिरिन सक्छन् सागरजस्तै, हुर्हुराउन सक्छन् आगोजस्तै, छङ्छङाउन सक्छन् छाँगोजस्तै र सक्छन् उनी कठोर हुन पत्थरजस्तै र कोमल हुन फूलजस्तै…..!

सबैभन्दा बढी त उनी भिन्न हुन सक्छन्, बेग्लै, विशेष, अलग-अङ्ग्रेजीमा युनिक भनेजस्तै । गरिबबाहेक कसैलाई सुखको धनी नदेख्ने, राजालाई गरिब देख्ने, सिकन्दरलाई गाली गर्ने, आम मानिसको सुनलाई फलाम ठान्ने, शब्दलाई देख्ने, दृश्यलाई सुँघ्ने……अनौठो, विशेष ! अझ गजब त के छ भने त्यो भिन्नता वा विशेषता-युनिकता त्यसको सामान्य अर्थमै मात्र टुँगिदैन, अघि बढ्छ सरासर द्विधाहिन, सम्झौताहिन, विश्रामहिन र भयहिन युद्धसम्मै तन्किन्छ हरेक विसङ्गतिका विरुद्ध, सङ्गीतका पक्षमा जुनै रूप-रङ, आकार-प्रकारको होला ।

यो युद्ध, यो एकनास युद्ध, प्रचलित सबै पाखण्ड विरुद्धको युद्ध नै त्यो भिन्नता हो र त्यही वास्तविक चिनारी हो उनको । उनमा न दिशाभ्रमको लकपक छ, न असमर्थता-बाधा व्यवधानको चिन्ता छ, न सुख-सम्मानको निहित चाहना छ, न परिआउने परिणामको वास्ता छ । यस्तो लाग्छ- सँगैका साथीभाइ-सहयात्री सबै अलकढलक भइसक्ता वा पछाडि नै कताकता छुटिसक्ता पनि लडिरहने उनी वानम्यान आर्मी हुन् छुसी कलमको टँुडोले बन्दुक-बम-रकेटजस्ता शस्त्र र हजारौँ किसिमका फस्ल्याङफुस्लुङजस्ता मन्त्र युद्ध दुवैविरुद्ध अचल पहाडझैँ डटिरहने, निरन्तर, नित्य, हरपल, हातमा सुलोचना, चम्पा, वनकुसुम, कृषिबाला, मुनामदन, प्रमिथस, साँढे, यात्री, मार्ग, पागल……उठाएर । पूरा शक्तिले पूरा समर्पण र पूरा आत्मविश्वासले “कर्मव्यावधिकास्ते….” भनेजस्तै एकनास लडिरहने उनको यो अथक युद्धले नै भिन्न विशेष र युनिक बनाउँछ उनलाई ।

तर उनको युनिकता यतिमै टुँगिदैन । उनी खुल्लै लड्न थाल्छन् अरू कसैले पनि आँट नगरेको सीमासम्म पुगेर, पाखुरा सुर्किएर मात्र नपुगी कोट, घडी, चश्मा आदि नै खोलेर जब उनी आफ्नो पात्र गनेलाई चोर बन्न उक्साउँछन् र बनाउँछन् नै । उनी सिशिलीलालाई पोइलो हिँडाउँछन् विवाहित पति छोडाएर । अर्की संस्कारपूर्ण कुलवधूलाई हिँडाउँछन् घरबाट विद्रोही पारेर कच्चा उमेर र खुल्ला संस्ाारको असुरक्षासम्म परवाह नगरी-अझ उसकै पतिमार्फत ।

यति पनि सामान्यै भनुला तर जब उनी आफ्नै सन्तान मारेर खाने हत्यारी आमालाई समेत सजायमुक्त गर्न पाखुरा सुर्किन्छन्, उनी -एक बी.ए.बी.एल. घरानियाँ संस्कारपूर्ण ब्राहृमण, मूर्धन्य महाकवि- तब लाग्छ उनी साँच्चै भिन्नै हुन् अरू सबै उनको सहयात्रीभन्दा, हामी आम सिभिल सोसाइटीका सिभिल मान्छे भन्दा । लाग्छ उनी मान्छे कम र मान्छेको संकल्प ज्यादा हुन् कृष्णको चक्र वा अर्जुनको तीर कम उनीहरूको निशाना ज्यादा हुन्, मात्र निशाना-छुटिसकेका तीर अथवा चक्रको निशाना ।

सायद त्यसैकारण भनेका होलान् जगदिश घिमिरेले- “देवकोटासँग तुलना गर्न खोज्दा विश्वमा म कविको अनिकाल पाउँछु । कुनै एक कवि उनी पुगेझैँ मलाई लाग्दैन । नाघ्छन्, उचाइमा । भासिन्छन्, वजनमा ।” भानु (दे.वि.पृ.८०) तब त शिशुभक्षण आरोपीका निमित्त क्षमाप्रार्थना गर्न पुग्छन् उनी, कसैले नगरेको, गर्न नसक्ने विशेष उचाइ वा गहिराइमा पुगेर ।

तर यो कोरा भावुकता मात्र होइन उनको । यसमा पनि उनी त्यस्तै सटीक छन् अङ्ग्रेजीमा करेक्ट भनेजस्तै, जस्तो उनी अन्यत्र छन् । मात्रै भनाइ उल्टो वा विपरीत वा अर्कापट्टबिाट प्रस्तुत छ आम मान्छेले गर्नेभन्दा विपरीत पाराले । जस्तो गर्ने गर्छन् प्रायः कविहरू ‘चाइल्ड इज द फादर अफ म्यान’ भनेजस्तै अथवा ‘एण्ड डेथ सेल बी नो मोरः डेथ, दाउ सेल्ट डाइ’ भनेजस्तै अथवा ‘गतासूनगतासूंच … नानुशोचन्ति पण्डिताः’ (क्रमशः वर्डस्वर्थ, जोन डन, वासुदेव कृष्ण) । साँच्चै, जब उनको एकमा एक घटाउँदा पनि एकै रहन्छ, अझ प्रस्टिन्छ विपरीतता अथवा युनिकता । त्यसैले विशेष छ, विशेष छ उनको उपस्थिति, बेजोड छ उनको अडान र आँधीजस्तै छ उनको आक्रमण ।

जहाँसम्म शिशुभक्षकका लागि क्षमाप्रार्थनाको कुरा छ, यो त्यस्तै विपरीतबाट प्रस्तुत छ तर उस्तै अकाट्य तर्कपूर्ण र यसलाई उनले उस्तै शालीनता र समर्थतापूर्वक प्रस्तुत गरेका छन् वकिलले इजलासमा पैरवी गरेजस्तै । आनन्द लाग्छ झन् त्यस दृष्टिले हेर्दा ।

नवाबको मदिरालाई खुन मान्ने देवकोटाले शिशुभक्षीका लागि क्षमाप्रार्थना गर्नु त्यति आश्चर्य नहोला तर आश्चर्य त हुन्छ उनको दलिलमा, उनले त्यसका निमित्त प्रस्तुत गरेको तर्कमा, त्यसका निमित्त पेश गरेको प्रमाणमा र त्यो सबै प्रस्तुत गर्ने उनको कवितामय वकालती शैलीमा र सबभन्दा बढी त यस तर्कको गहिराइमा ।

हो, शिशुभक्षण त के नरहत्या नै जघन्य अपराध हो, अक्षम्य । त्यस्तो अपराधीले, झन् शिशुहत्या र त्यसको मांसाहर गर्ने अपराधीले सजाय नपाउनुपर्ने कुरै आउँदैन तर विधिको शासन भएको सभ्य समाजमा जहाँ अदालत र अदालती प्रक्रिया हुन्छ ! सजाय तोक्नुभन्दा पहिले अपराधलगायत त्यससँग सम्बन्धित घटनादिबारे विस्तृत परीक्षण गरिन्छ । आरोपितलाई आफ्नो पक्ष प्रस्तुत गर्ने पूर्ण अवसर हुन्छ र भनिन्छ, बरु हजारौँ अपराधी छुटुन् तर एउटै निरापराधले सजाय नपाओस् (यद्यपि भन्न मन लाग्छ- न कुनै अपराधी छुटोस् न कुनै निरअपराध फसोस्) । यहाँ देवकोटा पनि त्यस आरोपित अभियुक्ता तर्फबाट उसका पक्षमा प्रस्तुत हुन्छन् सफाइ लिएर । त्यसमा जुन तर्क पेश गरेका छन् उनले, त्यसले अपराध कानुनको मूलभूत सिद्धान्तलाई अँगालेको छ । अर्थात् कुनै कार्य-आपराधिक कार्य नै होस्, अपराध ठहर्न कतिपय तथ्य पूरा भएको हुनुपर्छ । ती सबै तथ्यमध्ये प्रमुख हो- अपराधको उद्देश्य अर्थात् अपराध वास्तवमै अपराध ठहरिने त्यो अपराध गर्ने उद्देश्यपूर्वक गरिएको हुनुपर्दछ । त्यसमा अपराध गर्नुपर्ने कारण, चाहना, योजना र कार्य हुनैपर्छ । अन्यथा अपराध सोच्दै नसोची काम-व्यवहारका सिलसिलामा अपराध हुन पुगे त्यो अपराध हुन सक्तैन । अदालती बन्दोवस्त अनुसार भवितव्य हुन्छ । यसैलाई अपराध कानुनमा Actusreus non facit reum nise mens sit rea भनिन्छ ।

प्रस्तुत केसमा पनि अपराध हुन्छ- आमाद्वारा शिशु मारिन्छ तर मार्ने सोच नभै । मारिन्छ अचानक, मारुँ नभनी । तर्क वकालती भए पनि, सिद्धान्त कानुनी भए पनि निबन्धकार कविले आफ्नो दाबी प्रस्तुत गरेका छन् स्थिति, घटना, पात्र आदिको बिम्बबाट एउटी भालुनीका बिम्बबाट जो कतिदिनदेखि भोकै हुन्छे । त्यसमाथि बच्चाले चुसेर, झगडा गरेर हैरान भएकी हुन्छे । बच्चो पनि कुपोषणका कारण क्षीण भइसकेको हुन्छ । बच्चाको भोकग्रस्त झगडाका कारण पोथी आवेशमा आउँछे र एक झापट लगाउँछे तर त्यसले उसलाई पूर्ण शान्ति नै दिन्छ, एकछिन मात्र नभएर । यस हत्यामा भालुनी दोषी छ कि छैन ? उसलाई सजाय हुनुपर्छ कि पर्दैन ? देवकोटा उसलाई दोषी देख्तैनन् र उसले सजाय नपाउनुपर्ने जिकिर गर्छन् । उनको यस दाबीभित्र निम्न तर्क समावेश छन्ः

प्रथमतः उसको शिशु मार्ने मनसाय थिएन । अतः त्यो हत्या हो तर अपराध होइन ।

दोस्रो, ऊ सो हत्याका बखत मनुष्य नभएर भालु थिई- पोथी भालु पशु, आहारामा बाँच्ने एउटा हिंस्रक जनावर । वस्तुतः जब जीवनको निणर्ायक घडी आउँछ- मानिस पनि मूलतः पशु हुन पुग्छ । आहाराकै लागि सन्तान जङ्गलमा त्यागिदिन्छन् । बिक्री गर्छन् । आफ्नैको/अर्काको हत्या गर्छन्, सायद खान्छन् पनि । मान्छे-उच्च प्राणी भए पनि आहाराबिना बाँच्तैन । आहारा नै जीवन हो । आहार, निद्रा, भय, मैथुन सबै जीवको प्रथम आवश्यकता हो, समान पनि । खासगरी आहाराको अभावमा ऊ मान्छे रहँदैन- पशुमात्र रहन्छ र जे पनि गर्न तयार हुन्छ ।

‘वुभुक्षितं किं नकरोति पापम् ।’ अतः प्रसङ्गको त्यस आमाले पनि शिशुभक्षण गरी जो मनसायबिनै भए पनि मारिन पुगेको थियो र त्यो भौतिक देह तह लाग्नु पनि पथ्र्यो किनकि उसको मानवीयता त्यतिले नै समाप्त हुँदैनथ्यो । अतः एकातिर भोकबाट बच्नु थियो पशु बचाइ भने अर्कातिर कानुनबाट बच्नुथियो मानिस बचाइ-कानुनको अपव्याख्या र दुरुपयोगबाट हुनसक्ने सजायबाट पनि । कारण मानिसमा मानवता मात्र हुँदैन मानवजन्य अवसरवादिता, पूर्वाग्रह, अज्ञानता, अतिज्ञानको भ्रम आदि पनि हुन्छ ।

यहाँ देवकोटाले अगि सारेको गम्भीर पक्ष मानवले एकसाथ धारणा गर्नुपर्ने दोहोरो चरित्रको बाध्यता र अवसरको यथार्थ पनि हो । अर्थात् ऊ उसैबेला मानिस पनि हो बौद्धिकता हो । नैतिकता शासित भने पशु पनि हो फगत आहारा, निद्रा, भय र मैथुन शासित । यसका कारण ऊ यी दुवै स्थितिबाट पीडित पनि लाभान्वित पनि हुँदै गुजि्ररहेको हुन्छ सँगसँगै ।

तेस्रो, तर्क अझ गम्भीर लाग्छ । यहाँ उनी प्रकारान्तरले नै सही, वास्तविक हत्याराप्रति आक्रोश नपोखी सक्तैनन् । अर्थात् उनी यस शिशु हत्या र भक्षण पछाडि वास्तविक दोषी छ नभनी छोड्दैनन् जो त्यस आमाका पृष्ठ भागमा छेलिएको छ । त्यसैले त त्यस वास्तविक अपराधीलाई छोडेर परिबन्दका कारण दोषी हुन पुगेकी आमाले सफाइ पाउनुपर्ने दाबी गर्छन् उनी । को हुनसक्छ त्यो ? उनको यो भनाइ हेरु ः….. “व्यक्तिले जो चाप पाइरहेको छ त्यो माथिबाट तथा चारैतर्फबाट पाइरहेछ । यदि तिमी यी मानवपशुका दर्शकका रूपमा तिनका नरभक्षणको कुकर्मको दोष आफूमाथि नै रहेको छ भन्ने अनुभव गर्दैनौँ भने यस भीषण कर्मउपर फैसलाको आसनमा हुने तिम्रो बिलकुलै अधिकार छैन ।”

भनाइ स्पष्ट छ- त्यस कार्यको दोषी त्यो आमा नभएर न्यायका आसनमा बसेको मान्छेचाहिँ हो, हत्याकै नभए पनि हत्याको दर्शक भएको, हत्या हुन दिएको, त्यस्तो भीषण अपराध हुने परिवेश बनेको देखीदेखी बेवास्ता गरेको र प्रकारान्तरले अपराध होस् भन्ने चाहेको, गर्न प्रोत्साहितै गरेको ।

स्वभावतः अपराध भएको वा हुने थाहा पाइपाई पनि त्यसलाई रोक्तैन, हारगुहार गरेर, सम्बन्धित निकायमा खबर गरेर पनि रोक्ने पहल गर्दैन भने त्यस अपराधको दर्शक पनि दोषी हुन्छ । उसको मनसाय देखिन्छ र सजायको भागी हुन्छ । यो पनि सर्वमान्य सिद्धान्तै हो ।

अझ यहाँ त केवल दर्शकमात्र छैन ऊ, त्यस्तो परिवेशको उत्तरदायी नै छ- कारण ऊ सर्वसाधारण व्यक्ति नभएर न्यायको आसनमा बसेको छ । अर्थात् ऊ त्यस समाजका हुनु र नहुनुपर्ने सबै कार्यको नियन्ता नै हो, नियामक नै हो, किनकि ऊ राज्य सञ्चालक हो । अतः त्यस्तो भीषण कार्य हुने परिवेश-वातावरण जुन एकछिनमा बनेको होइन, जसमा कर्ताको चाहना छैन तर परिवेश हुन जान्छ- त्यस कार्यमा सो नियामकै उत्तरदायित्व हुन्छ, हुनुपर्छ । सीधा शब्दमा देवकोटा नागरिकबाट हुने कार्यको उत्तरदायित्व राज्यलाई बोकाइरहेका छन् । के यो स्वाभाविक हो ? राज्य-यहाँ त्यसको प्रतिनिधिस्वरूप न्यायाधीस-जवाफदेह हुनुपर्छ ?

यसको उत्तर सकारात्मकै हुन्छ, कम्तीमा यो र यस्ता कार्यमा । कारण मानिस अब प्राकृतिक अवस्थामा जस्तो यातायात हड्ताल हुँदा धेरै मानसिको चुलो बल्दैन । उसबाट त्यस अवस्थामा जानीजानी नै अपराध हुनसक्छ- चोरी, ठगी, त्यसैसँग गाँसिएर आउनसक्छ कुटपिट, हत्या… । के त्यस परिस्थितिको जिम्मा राज्यले लिनु पर्दैन ? आजको मान्छे प्रसूति गराउन अस्पताल लान्छ । प्राकृतिक प्रथा हराइसक्यो । अझ अस्पताल लान प्रोत्साहन र नलाँदा आलोचना हुन्छ, जोखिम हुन्छ विभिन्न किसिमको तर यातायात बन्द, अस्पतालमा हड्तालले मृत्यु हुन्छ भने त्यसको जिम्मेदार राज्य हुनुपर्छ कि पर्दैन ? समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैन, हड्ताल आदिका कारण विद्यालयमा पढाइ हुँदैन, शिक्षक-सञ्चालकबाट लापरवाही हुन्छ, विद्युत्-मट्टतिेल उपलब्ध हुँदैन, ग्यास र अन्य आपूर्तिको अभावले भोजन व्यवस्था चौपट हुन्छ, घरमा तनाव हुन्छ… विद्यार्थी अनुत्तीर्ण हुन्छ । के यसमा विद्यार्थीमात्र उत्तरदायी हुन्छ ? के उसलाई अनुत्तीर्ण हुने रहर हुन्छ ? कहीँ त अनुत्तीर्ण भएर आत्महत्या गरेपछि भूलसुधार हुन्छ उत्तीर्ण भएको ।

यस्ता पचासौँ उदाहरण हुनसक्छन् आधुनिक सङ्गठित सामाजिक जीवनमा भरिभराउ विसङ्गतिको । त्यसैले देवकोटाले अत्यन्त आधारभूत सवाल उठाएका छन् यस निबन्धमार्फत, एकएक मनको पीडा उजागर गरेका छन् । मानिसलाई यसरी पशुवत् व्यवहार गर्न बाध्य पार्ने सामाजिक-राजनीतक-कानुनी सत्तालाई त्यस पशुमाथि सजाय गर्ने अधिकार हुन्छ ? सुहाउँछ त्यसो गर्न ? उनी भन्छन्- “पशुलाई तिम्रो ऐनकानुनको कालो अक्षर सामु बलिदान गर्न सक्छाँै अथवा तिम्रो न्यायको अँधेर गोलघरमा सड्नलाई लगेर छोड्न सक्छौ ।” वस्तुतः राज्यले जे जे पारे पनि गराए पनि मानिस मानिस नरहेपछि के फरक पर्छ र ? कानुन बनाउने लागू गर्ने तर तद्नुसार आवश्यक व्यवस्थापनचाहिँ नगर्ने राज्यको गैह्रजिम्मेवारीका कारण अनगिन्ती मान्छे सडीगली मरिरहेकै छन् । विभिन्न किसिमले, यो कुनै नौलो कुरा होइन । सडकमा खाते र त्यसबाट बढुवा भई रोगी/अपराधी भएका मात्र पनि कम छैनन् राज्यको लापरवाहीका शिकार ।

बरु यति कसिएर, यति गहिरिएर र यति किटानीसँग राज्यको अँधेरगर्दीलाई उदाङ्ग पारिकन पनि उनी त्यस घटनाकी तथाकथित दोषीलाई सजाय नगर्न मात्र माग गर्छन्, उसलाई त्यस सीमासम्म पुर्‍याउने राज्यको प्रतिनिधिलाई वास्तविक दोषीलाई चाहिँ सजाय माग्दैनन् । यसमा अलिकति आश्चर्य लागिदिन्छ । यद्यपि कवि/लेखक अभिव्यञ्जनामै भन्छन् सबै कुरा, ऐनको दफा किटेर, कारणी किटेर किटानी कारबाहीको दाबी गर्ने वकिलहरूको उल्टो । कारण वकिल कारणीका पक्षमा लड्छन्- ऊ दोषी नै भए पनि, लेखक समग्र मानवीय मूल्यका पक्षमा वास्तविक दोषीका विरुद्ध । तैपनि कवि लायक पाराले, कवि लायक सीमासम्म । तापनि हामीलाई सुनेजस्तै लाग्छ उनले आक्रोशमा दाँत कड्कडाएको पोलेजस्तै अनुभव हुन्छ त्यस बडवानलको आँचले जब उनी ठोकवै गर्छन्ः “हाम्रो राष्ट्र बालभक्षक पितृत्वमा त्यत्तिकै सफासँग प्रतिबिम्बित छ जत्तिको कुनै भाले वा पोथी भालुले रगतको मोजमज्ज्ाापछि निर्मल जलमा आफ्नो छायालाई स्पष्टतया चिन्न सक्नेछन् ।” अर्थात् समाजलाई पशुवत् स्तरमा राख्ने तथाकथित व्यवस्थापन र त्यसको नेतृत्व झन् ठूलो भालु हो जसको रक्तरञ्जित अनुहार देख्न मिहिनेत पर्दैन । आज त हामी यस्ता पीडित बालक र नबालक मानिसको झन् ठूलो सङ्ख्या पैदा गरिरहेका छौँ युद्धद्वारा, शोषणद्वारा, किनबेचद्वारा… ।

अझ मज्जाको कुरा-देवकोटा आफ्ना तर्कको थालनी आर्थिक वा जैविक आवश्यकताको प्राकृतिकताबाटै गर्छन् । एउटा पशुले उमेर पुगपछि भालेपोथीमा संसर्ग हुने, त्यसबाट सन्तान हुने र त्यसको जिम्मेवारी बहन गर्नुपर्नेसँग चासो राख्दैन । यौनभाव मानिसमा पनि जैविक प्रकृति नै हो पशुमाजस्तै । उमेर पुगेपछि संसर्ग हुन्छ र सन्तान जन्मिन्छ । प्राकृतिक (पशुजगत्मा) जङ्गली अवस्थामा त्यसको जिम्मा प्रकृतिकै हुन्छ- मातापिताले गर्ने जति प्राकृतिक आधारमै गर्छन् । नगरे, गर्न नसके त्यसको सजाय पनि प्राकृतिकै मात्रै हुन्छ । त्यहाँ कोही न्यायाधीस हुँदैन सजाय तोक्ने, कुनै प्रहरी हुँदैन पक्राउ गर्ने न हुन्छ कुनै जेल वा प्रशासन बन्दी बनाउने वा अन्य कारबाही गर्ने । यहाँ डेस्मोन्ड मोरिसको भनाइः “Under normal conditions, in their natural habitats, wild animals do not mutilate themselves, masterbate, attack their offsprings, develop stomach ulcers, become fetishists, suffer from obesity, form homosexual pair–bonds or commit murder.” नसम्झी सकिँदैन ।

आजको सभ्य समाजले पनि कतिपय देशमा यसको जिम्मेवारी लिने गर्छ । भनिन्छ-बेलायत र कतिपय पश्चिमा मुलुकमा अविवाहित अबस्थामै बच्चा नजन्माउन विद्यालय/कार्यशालाहरूमा परिवार नियोजनका साधन उपलब्ध गराइन्छ । गर्भपतन र जन्मिगएकाहरूको व्यवस्था सरकारले गर्छ । बेरोजगारीको भत्ता दिइन्छ । नत्र तिनीहरूलाई मासुको रूपमा बेच्ने सुझाव दिन थाल्छन् लेखकहरू । साँच्चै देवकोटाको यो क्षमाप्रार्थना र जोनाथन स्वीफ्टकोकक मोडेस्ट प्रोपोजलको तात्विक सार एउटै छ- नागरिकको जिम्मा राज्यले लिनैपर्छ, सजाय मात्र तोकेर धर पाउँदैन । जीवनयापनको अभावमा नागरिकले अपराध वा अपमानमा गिर्न पुग्ने स्थिति ल्याउनु हुँदैन । दुई लेखकको प्रस्तुतिमा फरक छ भने स्थान, समय, बिम्ब र ध्वनिको मात्र । देवकोटाको ध्वनि विवेचनात्मक र बिम्ब मानव-पशुको छ भने स्वीफ्टको क्रमशः वक्रोक्तिपूर्ण र उद्योग/व्यापारको ।

जे होस् देवकोटाको दाबी अत्यन्त गम्भीर छ- मानव समाजलाई निर्देशित र नियन्त्रित गर्ने भनेर (त्यसको आवश्यकता नभएको पनि होइन) समाजको उपल्लो तहमा बसेको दायित्ववाल आफ्नो दायित्व पूरा गरिरहेको छैन । त्यसको परिणामस्वरूप मानिस हजारौँ समस्या र विसङ्गतिले आक्रान्त छ । अझ त्यस नेतृत्वबाट जानी बुझी गर्नु हुनुपर्नेको विपरीत नगर्नु नहुनुपर्ने चाहिँ भइरहेको छ तर ऊ त्यसको जिम्मा लिनु त कता हो कता उसको त्यस गैह्र जिम्मेदारीका कारण साधारण मानिसबाट बाध्यतावश हुन पुगेका गल्तीको पनि उसैमाथि सजाय थोपरेर आफूचाहिँ पानीमाथिको ओभानो भइरहेको छ । अर्थात् साधारण मानिस तेहरो सजायको शिकार भइरहेको छ । एउटा त नागरिक हुनु, मातहतमा प्रतिबन्धित रहनु र अव्यवस्थित, असुरक्षित, अभाव इत्यादिको यातनामय हालतमा बाँच्न बाध्य हुनुपर्ने सजाय! दोस्रो त्यस दुर्दान्त अवस्थामा जैविक बाध्यतावश नचाहेर पनि हुन पुगेका घटनाको पनि -त्यसबाट स्वयं दुःखित/पीडित हुनुबाहेकै) सजाय खेप्नु र तेस्रो सामाजिक स्तरमा समेत त्यसलाई बढाइ चढाइ, घटीबढी, पारेर, बङ्ग्याएर, अपव्याख्या गरेर अपमान र न्यायिक निकायको बाहेकै सजाय खेप्नु अर्थात् समाज पनि नेतृत्वको त्यस क्रूर व्यवहारमा सामेल हुनु र पीडितलाई झन् पीडा दिएर रमाउने गर्नु-‘स्याडिजम’मा जस्तै । देवकोटाको यो उद्धरण पनि हेरौँ … यताउता मुन्ट्याइएका, केही गर्विला बाउन्ने पुलिसहरूले विजयी भावसाथ डोरीले बाँधेका युगल मानव पशुझैँ घिच्याइँदा र विचारहीन जनताले प्रतिशोध र विजयको भावनाले उत्तेजित भएर जिज्ञासापूर्वक लक्ष्य बनाइएका … ।”

यसरी देवकोटा आम पीडितका पक्षमा, ठालुहरूका विपक्षमा, आम मान्छेका दासवत निर्विवेकका विपक्षमा वकालत गरिरहेछन् उनका अन्य कृतिमा जस्तै । यसको सोझो अर्थ छ- कि ठालुहरूले ठेकेदारी छोड्नुपर्छ कानुन-व्यवस्थाको (जुन सम्भव छैन) कि व्यवस्था गर्नुपर्दा जनताका जीवन रक्षा र विकासको । आममान्छेले पनि यस अमानुबिकतामा रमाउनु, सघाउनु नगरेर ठालुहरूमाथि दायित्व बहन गर्न दबाब पुर्‍याउनुपर्छ । उनका शब्दले यही भन्छन्ः “मेरा लागि अब यो (परिवार र त्यसको आर्थिक स्थितिको-प्रमद) भयको रूप रहेन । जहान र छोराछोरी मेरा मात्र हकदार होइनन्, समाज पनि हकदार छ । समाजले यहाँ हाम्रो रक्षा गर्दैन भने मैले ढुङ्गामा गएर टाउकै फोडे पनि यिनीहरूको रक्षा हुनसक्तैन ।” (भानु, देवकोटा विशेषांक, पृ. ३४२)

अर्को शब्दमा राज्य नेतृत्वको अकर्मण्यता तथा गलत कर्मण्यताका कारण नागरिकले भोग्नुपरेको अकथनीय अन्यायजनित पीडाको दस्तावेज भएको छ यो निबन्ध र त्यसका विरुद्ध अर्को सशक्त प्रहार, एउटा लेखकले सक्नेसम्मको प्रहार । यो अन्यायको यो पीडा आज पनि जस्ताको तस्तै छ स्पार्टकसका र त्यसअघिका समयमा जस्तै र देवकोटा बितेको पचास वर्षपछि पनि उस्तै छ उनको युद्ध यस अमानवीयताका विरुद्ध लगातार लगातार हाल अशरीरै भए पनि … र यही अथक युद्ध नै भएको छ उनको वास्तविक चिनारी, उनको युनिकता !

(स्रोत : मधुपर्क २०६५ कार्तिक)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.