~माया ठकुरी~
“नमस्कार सर!” धेरै वर्षको अन्तरालपछि पनि उसले उनलाई चिनेकी थिई। बिर्सनु पनि कसरी ? आजभन्दा १५ – १६ वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेकी थिई मानौं त्यही क्षणलाई बाँधेर टक्क अडिएको झैँ। मझौला कद, गहुँगोरो रंग, ठुलो निधार र आँखामा मोटो लेन्सको चस्मा, अनि ती आँखाभित्रबाट चिहइरहेका दुई स्नेहशक्ति आँखा।
“को …. को हो ? मैले त ….,” उनले पढ्दै गरेको पुस्तक छेवैको टेबलमा राखेर भनेका थिए। “ए .. निरु ! बस बस कताबाट ? अहो !! चिन्नै नसक्ने भईछौ।” निरुले आफ्नो परिचय दिनुअघि नै सरले उसलाई चिनेका हुन्छन्।
त्यसपछि धेरैबेरसम्म उनीहरुको माझ कुरा भएको थियो। “तिमी एकछिन बस है, म दुई कप चिया बनाएर ल्याउँछु।” सरले आफूले ओढिराखेको एन्डीको पुरानो ओढने, जो अघिसम्म उनको शरीरलाई ढाकेको थियो त्यही आफू बसेको मेचमा लापरवाहीसाथ राख्दै भनेका थिए। “होइन सर, तपाईं बस्नोस् ; म बनाएर ल्याईहाल्छु नि चिया,” भन्दै ऊ भान्साकोठातिर लागेकी थिई। ” ए …. ” भन्दै सरले एक क्षण ऊतिर हेरेर स्वत; उही ठाउँमा बसेका थिए।
भान्साकोठाको प्रत्येक कुनादेखि परिचित ऊ अगेना बालेर एउटा पुरानो, ठाउँठाउँमा कुच्चिएको सिलावरको भाँडामा दुई गिलास पानी राखेर चिया बसालेकी हुन्छे। “अहो ! यो कोठामा उसका बाल्यकालका कति स्मृतिहरू अंकित छन् ! यसका भित्तामा, यसका कुनाकुनामा उसका ती अविस्मरणीय अनुभूतिहरू मुना भएर बसेका छन्।” ऊ त्यो कोठालाई आँखा भरिभरि माया बोकेर हेर्छे। धुँवाले कालो भइसकेको सानो चारकुने कोठा। एकातिर एउटा धमिराले खाएको पुरानो भाँडा राख्ने दराज। एउटा कुनामा तीनचार वटा काठका पिरा। अर्को कुनामा भित्तामा ठड्याएर राखेको सिलौटो। धेरैदिनसम्म गोबरमाटो नखाएको अगेना, जो एकातिर भत्किएर भाँडा ठड्याउनलाई ढुङ्गा राखेको र भारमा अलिकता सुकेको दाउरा ।
उस्तै थियो त्यो घरको रंगरुप जस्तो उसले छोडेकी थिई, त्यसमा कुनै प्रकारको परिवर्तन थिएन। सर पनि त …. तर होइन झ्वाट्ट देख्नासाथ सरलाई उस्तै लागे पनि आजको सरमा जीवनप्रति उत्साह देखिंदैन थियो। आजको सरको आँखामा स्नेह उस्तै रुपमा रहे पनि त्यसमा भएको चमक हराएको थियो जो उसले सरकहाँ पढन आउँदा देख्ने गरेकी थिई ।
साँच्चै नै सरलाई गुरुको रुपमा पाएर जीवनमा एउटा ठुलो उपलब्धि आर्जित गरेकी थिई उसले। त्यो क्षण उसको निम्ति सौभाग्यको क्षण थियो जुन घडी उसले सरलाई गुरुदक्षिणा नदिएर पनि गुरु थापना गर्न पाएकी थिई ।
साँच्चै नै सरकहाँ पढन जाने प्रत्येकले महिनैपिच्छे उनको पारिश्रामिक कुनै प्रतिवाद नगरेर नियमित रुपले दिने गर्दथे तर निरु भने संकोचले अधकल्चो भए तापनि गुरुको निम्ति पारिश्रामिक जुटाउने कुनै उपाय गर्न असमर्थ थिई। दरिद्री अवस्थाले पेटको ज्वालासम्म शान्त गर्न नसक्ने एउटी बालिकालाई अरुसरह विद्या अध्यनको भोका लाग्नु नै ठुलो भूल थियो। उसलाई अँझ पनि सम्झना छ ….. त्यसबेला ऊ अरुसँग पुस्तक मागी दिनभरि लाएर पढने गर्दथी। भोकले निमोठिएका रित्ता आन्द्रालाई पानीले भरेर पनि पुस्तकका अक्षरहरू पीइरहन्थे उसका आँखाले ।
बाबुको साथ छँदासम्म त ऊ पनि अरुसरह स्कुल जाने गरेकी थिई तर हठात् एउटा सानो दुर्घटनामा घरको निम्ति चारो खोजेर ल्याउने प्राणीको नै मृत्यु भइदिंदा मानौं बज्र नै खसेको थियो उनीहरुको सानो संसारमा। उसलाई अँझ पनि सम्झना छ, उसकी आमाले उनीहरुको सास धान्नको निम्ति राता रातभरि जागा बसेर अरुको निम्ति स्वेइटर बुन्ने गर्दथीन्। दिनभरि अर्काकहाँ गएर धान चामल केलाउने गर्दथिन्। चांडबाँडले अरुको निम्ति खुशीयाली बोकेर ल्याउँदथ्यो। टीकाका दिन अरुले दिएको जडौरी लाएर टीका लाउन बस्दा टीका लाइदिदैं गरेकी आमा हिक्क हिक्क गरेर रुने गर्दथिन्। छिमेकीले दयाले दिएको केरा र सेलको निम्ति उसका भाइ – बहिनीहरू लुछालुछ गर्दथे। सबैभन्दा ठूलो भएकोले होला निरुचाहिं आफ्नो घरेलु अवस्थासँग परिचित थिई ।
त्यसै ताका सरले (त्यस बेला त्यही स्थानीय विद्यालयमा शिक्षक हुनुहुन्थ्यो) छिमेकीकहाँ आउँदा धेरैपल्ट निरुलाई पुस्तक पढिरहेकी देखेर होला एक दिन डाकेर भनेका थिए “तिमीलाई खुबै पढ्नु मन छ कि क्या हो ?” उत्तरमा उसले स्वीकृतिसूचक मुण्टो हल्लाएकी थिई। “भोलि देखि बिहान – बिहान मकहाँ पढन आउनु” सरले भनेका थिए ।
त्यसपछि दिनहुँ बिहान ऊ कापीकलम बोकेर सरकहाँ पढन जान लागेकी थिई। त्यहाँ उसकै छिमेकी केटाकेटीहरू पनि जाने गर्दथे। आमाको विरोध, छिमेकीको व्यंग्य र साथीहरुको ठट्टा सबैलाई निर्लज्जतापूर्वक लत्याएर गएकी थिई ऊ सरकहाँ पढनलाई “कस्ता कस्ता कहाँ गए मूसाकी छोरीको बिहे” कतिले उसलाई सुनाएर भनेका पनि थिए तर ऊ दृढतासाथ लम्किरहेकी थिई आफ्नो लक्ष्यमा पुग्नलाई ।
महादेवथानदेखि अलि पर चारओटा कोठा भएको पुरानो घरा थियो सरको ।छानामा हावाले जस्ता उडाउला भनेर ठाउँठाउँमा ढुङ्गा राखिएको थियो। घरको आँगनमा एउटा अम्बाको बोट पनि थियो तर त्यस बोटमा पाकेको अम्बा बिरलै हुन्थ्यो कारण चिचिला लागेदेखि ढुङ्गा हान्न थाल्थे बच्चाहरू। बिहान त्यस घरमा निक्कै चहलपहल देखिन्थ्यो कारण त्यहाँ पढ्न आउने विद्यार्थी र सरका चारभाइ छोराहरू मदन, सुदन, मोहनकुमार र त्यो आईमाई पनि थिई जसलाई सबैले सरकी कान्छी स्वास्नी भन्दथे। चौबिस पच्चीस वर्षकी त्यो आईमाई होची होची, डल्लो अनुहार भएकी पुष्ट देह, र चंचल आँखा भएकी थिई जसका ओंठ सदा पानाले रंगिएर राता भईराखेका हुन्थे। बिहान उसका आँखामा लतपतिएका गाँजल र गालामा लाली देख्दा अघिल्लो दिनको बासी शृंगारको आभास दिन्थ्यो। त्यहाँ जाने कसैले पनि उसलाई मन पराउँदैनथे न टा कसैले ऊसँग कुराकानी नै गरेको देखिन्थ्यो ।
त्यस ताका निरुलाई त्यस अईमइसँग खुब दकस लाग्थ्यो। उसको गुरुदक्षिणा दिन नसक्ने स्थिति आँकेर नै होला त्यस आईमाईले गुरुदक्षिणा असूल गर्ने अर्को सजिलो बाटो अपनाएकी थिई। बिहान निरु सबैभन्दा पहिला सरकहाँ पुग्दथी। ढप्काई राखेको दैलो घचेटेर भित्र पुगेपछि सधैंझै कमरसम्म मैलो खोल भएको सिरक ओढेर पछिल्तिरको झ्याल खोलेर भित्तामा अडेस लागेर पढिरहेका हुन्थे सर। निरुको पदचाप सुन्ने बित्तिकै सरको छेवैबाट, सिरकबाट मुण्टो झिकेर राता कलेटी परेका ओंठ र गांजलले लतपतिएका आँखा नचाउँदै ऊ भन्थी “ए… निरु आयौ ? त्यहाँ सोरसार गरेर चिया बनाउ है।” कोठामा लडिराखेको रित्ता शिशि, फुटेका काँचका गिलास, भुइँभरि छरिएको मुछेको भात र मासुका टुक्रा तथा हाडहरू सोहर्दा साँच्चै नै बान्ता आउन लाग्थ्यो निरुलाई। अर्को कोठामा भुइँंमा ओच्छ्यान भरि ठाउँठाउँमा कपास डल्लो परेको खोल नभएको मैलो पुरानो सिरक ओढेर कुम्भकर्णको निद सुतेका हुन्थे सरका छोराहरू ।
चियाको गन्ध पाउने बित्तिकै त्यो आईमाई, जिन्ग्रिंग परेको जगल्टा हातले सुम्सुमाउदै उठथी र चिया पिएपछि सरको हातदेखि चुरोट थुतेर दुईचार सर्को तानेपछि पुन: सिरकभित्र गुजुल्टिन पुग्दथी ।
त्यसपछि सरले पढाउन थाल्थे। वहाँको पढाउने तरिका पनि गजबको थियो। एकचोटी बुझाएपछि लाग्दथ्यो ती बचनहरू मानसपटलमा शिलापत्रझैँ बसेका छन्। हुन पनि उनले पढाएको एक – एक अक्षरले मष्तिस्कको द्वार एउटा एउटा गरेर खोल्दै गएको झैं, बसेको झैं लाग्दथ्यो ।
प्रत्येक दिन त्यस घरबाट फर्कंदा सरबाट पाएको अमूल्य ज्ञानको अघि ती घरभरिको जूठो सोराई नगण्य लाग्दथ्यो निरुलाई ।
कहिलेकाहीं सरको सांसारिक अवस्था, अव्यवस्थित गृहस्थी र सरको सहनशीलता देखेर अचम्म लाग्दथ्यो उसलाई। बाबुको प्रखर तिखो बुद्धी पाएका छोराहरू नियमित रुपले स्कुल जाने गर्दथे र वर्षे पिच्छे पहिलो दोस्रो स्थान ओगट्नु कुनै ठुलो कार्य थिएन उनीहरुको निम्ति तर उनीहरुको बढेको केश, मैलो लुगा र शरीरको स्याहार गर्ने कसले ?
त्यस आईमाईको विषयमा निरुले आफ्नै आमा, छिमेकी र साथीहरुबाट धेरै कुरा सुनेकी थिई। त्यो आईमाई त्यस्तै ठाउँबाट ल्याएको रे, त्यसलाई रातापर्यो कि रक्सी नभई हुँदैन रे, त्यो कपडा च्यातेर, भाँडा फुटालेर सरसँग लड़छे रे ईत्यादि ईत्यादि ।
हुनपनि त्यसरी घरभरि पढन आउने विद्यार्थीहरू जसमा त तन्नेरी केटाहरू पनि हुन्थे, तिनीहरुको अघि सरको छेवैमा, ओछ्यानमा सिरकभित्र गुटमुटिएर सुत्नु त्यस निर्लज्ज आईमाई बाहेक को सक्दथ्यो र। कहिलेकाहीं त विद्यार्थीहरू परिहास लिएर हाँस्ने पनि गर्दथे तर कुनै विद्यार्थीलाई अलजेब्राको सुत्र सिकाउनमा तल्लिन सरलाई भने ती कुराको पत्तो नै हुँदैनथ्यो ।
दुईवटा गिलासमा दुधबिनाको चिया लिएर निरुले एउटा गिलास सरको अगाडि राखिदिन्छे। “ल … दुध पनि पो सिद्दिएछ त … ” भन्दै शुष्क हाँसो हाँसेका हुन्छन् सर। अतितको स्मृतिले भरिएकी ऊ एकछिनसम्म वार्ताको छेउ खोज्न लागेकी हुन्छे। ” तिमीले त एम ए पनि गर्यौ होइन ? के विषय लिएर गर्यौ त ? ” सुरु सरबाट नै हुन्छ। “ज्यू … अंग्रेजी लिएर !” उसले उत्तर दिएकी थिई। एकछिनसम्म सर मौन भई दिन्छन्। निरुलाई लाग्छ सरको स्मृतिमा धेरै कुरा सल्बलाइरहेका छन् ।
“मेरो विषयमा त तिमीले सुन्यौ होला ! लामो नि:श्वास लिएर भनेका थिए उनले ” बाणी धेरै बिग्रिसकेको थियो,” उनी भन्दै जान्छन्, “रक्सी नभए त दिनमै पनि बस्न नसक्ने भई। होटलमा कसैसँग पक्राउ परेर पुलिसले अड्डामा लागेका थिए। एउटी नारीको जीवन उद्दार गर्नको निम्ति समाज र आफन्तहरुको दुत्कार र व्यंग्यलाई पन्छाएर आश्रय दिएँ। बिस्तारै सप्रेली भनेर बाटो हेरें। तर उसको सरीरमा रगतको सट्टा रक्सी बग्दो रहेछ, उसलाई पेटको ज्वालाभन्दा शरीरको ज्वाला शान्त गर्ने पुरुषको कामना रहेछ,सो गई अभागीनी फर्केर त्यही नर्कमा .. ।” उनले यो कुरा आफैसँग बात मारे जस्तो गरेर भनेका थिए। यी सब कुरा निरुले आमाको मुखबाट सुनिसकेकी थिई। तर यत्तिका वर्षसम्म उसको हृदयभित्र आसन जमाएर बसेको ” कौतुहलको अनुहार यसरी प्रष्टिएला भन्ने किन्चित मात्र पनि सोंचेकी थिइन उसले। सहासा उनी बोल्दा बोल्दै थकित देखिएका हुन्छन्। आँखाबाट चस्मा फुकालेर ओढनेले पुछन लाग्छन उनी। अब उनको पहेंलो रुग्ण अनुहारमा भित्र गढ़ेका ती आँखामा कता कता तरलता देखिन लाग्दछ ।
” छोराहरू पनि सबै ईश्वरको कृपाले आफ्ना खुट्टामा उभिने भए ” त्यसोभन्दा उनको आँखामा क्षणभरको निम्ति वर्षौअघिको चमक देखापरेको थियो। जे भए तापनि छोराहरुलाई भने बेसरी पढाए मास्टरसाहेबले तर के गर्नु अहिले त्यत्तिका कमाउने छोराहरू हुँदा पनि ट्युशनको भरमा जिउ पाल्नु परेको छ। ” बरा बुढेसकालमा एक्लो भए ” आमाले हिजो मात्र सरको कुरा उठ्दा भनेको सम्झन्छे निरु। “अब कहिले फर्कंछ्यौ त?” केही सजग भएर सोधेका थिए सरले। “महिना दिन जति बस्छु होला सर,” उसले उत्तर दिएकी थिई। “सरलाई भनेर एउटा सानो उपहार ल्याएकी थिएँ !” उसले ब्यागबाट एउटा नाडी घडी झिकेर सरतिर बढाउँदै भनेकी थिई। “मेरो निम्ति ! उपहार …. ,” भन्दै सरले घडी लिएर उत्तिनैखेर नाडीमा बाँधेका हुन्छन् ।
त्यसदिन सरको घरबाट फर्केर आउँदा उसको मन सरप्रति अँझ संवेदनशील भएको थियो। सरको आजको रिक्त जीवन देखेर उसलाई भित्र भित्र विरक्त्ति लागेर आएको थियो। सरकहाँ ऊ नियमित रुपले करीब चार वर्ष जति विद्या अध्यन गर्न गएकी थिई तर सरले ऊसँग कहिल्यै पनि गुरुदक्षिणाको माग गरेका थिएनन्। बरु उल्टो उसको निम्ति किताब, कलम र अरुका पुराना किताबहरू खोजेर दिने गर्दथे। त्यसपछि उसले प्राईभेट तौरमा एस एल सी को जाँच दिएकी थिई। अँझ पनि सम्झना छ उसलाई .. उनीहरुको जाँचभरि सर जाँच छुट्ने बेलामा जाँच केन्द्रको बाहिर फाँटमा कुरिरहन्थे र उनीहरुको प्रश्नपत्र हेरेर प्रश्न सम्बन्धी अनेक प्रश्न गर्थे। “कसले भन्छ तिमी पास हुन्नौ भनेर ?” जाँचको अन्तिम दिन सरको स्वरमा चुनौती थियो ।
साँच्चै नै निरुले राम्रो नम्बर ल्याएर दोस्रो श्रेणीमा एस एल सी पास गरेकी हुन्छे। त्यसदिन सरले उसको घरमा एक थुंगा मिठाई ल्याएर आमा, भाइबहिनीहरुलाई दिएका थिए। त्यसदिन निरुकी आमाका आँसुले भरिएको आँखाले सरलाई ईश्वरको रुप देखेकी थिइन् रे। अनि सरकै सहयोगले ऊ एउटा प्राईमरी स्कुलमा शिक्षिका भएकी थिई। अब ता उसका भाइहरुले पनि अध्यनको साथै कमाउन सक्ने भइसकेका थिए। घरको अवस्थामा परिवर्तन आउनु स्वाभाविकै थियो। आमाका ओंठमा मुस्कान धेरै वर्षापछि फर्केर आएको देखिन्थ्यो। त्यसपछि बिहे भएर नेपाल आएकी थिई निरु। नेपालमै आएर उसले एम. ए. पनि गरेकी थिई। आज निरुको पारिवारिक जीवन सन्तोषपूर्ण छ। शिक्षित पति, दुई सन्तान र एउटी आमाजस्ती माया गर्ने सासू पाएर ऊ अति खुशी छे। ऊ आफैं पनि एउटा क्याम्पसमा प्राध्यापिका थिई ।
बिहेपछि प्रथम दुई एक वर्ष त उसले खुबी चिठी लेख्ने गर्दथी, तर यता केही वर्षपछि जीवनमा आईपरेका व्यस्तताले पत्रलेखनमा शिथिलता आएको थियो ।
धेरै वर्षपछि आफ्नो बाल्यकाल बितेको ठाउँमा आउँदा विगतका तिता मिठा स्मृतिले रोमाञ्चित तुल्याएको थियो निरुलाई। यो मेरो शैशवकाल बितेको ठाउँ,जहाँ मलाई जनमा दिने आमा, मेरा साथी –संगी र सर छन् जसले मेरो अँध्यारो जीवनमा आफ्नो ज्ञानको ज्योति बालेर बाटो देखाए, मलाई मेरो गन्तव्यमा पुर्याए, तिनै साधु पुरुषको यो एक्लो, शून्य जीवन …. “हे ईश्वर !! रक्षा गर !!” उसले मनमनै ईश्वरलाई पुकारेकी हुन्छे ।
त्यसपछि महिना दिनभित्रमा ऊ धेरैचोटी गएकी थिई सरलाई भेट्न। वृद्ध अवस्थाको सानोतिनो रोगको तोकईलेभन्दा आफन्तहरुको रुखो र निर्मम झापडले लस्त भएका सरको शरीरको रगत सुक्दै गएजस्तो देखिन्थ्यो। उनी दिनरात पुस्तकमा आँखा गाडेर बस्दथे। बिहानबेलुकी पढाउन छोडेका थिएनन् ।
जानुभन्दा अघिल्लो दिन ऊ सरसँग बिदाबारी हुन गएकी थिई ।
सदाझैं सर त्यही मैलो एन्डीको ओढने ओढेर पुस्तकमा आँखा गाडेर बसेका थिए। चिया पिएर एकछिन कुरा गरेपछि “सर ! म भोलि फर्कदैछु,” उसले आँखाबाट ओर्लन लागेको आँसुलाई बलजफ्ती पिउने प्रयत्न गर्दै भनेकी हुन्छे। “ए .. महिनादिन पुगिसक्यो !” अनि मायालु स्वरमा “जाऊ ..जाऊ आफ्नो घर गृहस्थी राम्ररी सम्हालेर बस – ईश्वरले सदा सुखी राखून .. !” पीडाले व्यथित उनको स्वरको कम्पाहटले निरुको मुटुमा परेको गाँठो फुकइदिन्छ। उसको मुखबाट वाक्य फुटदैन तर ढोग्दाखेरी उसका आँखाबाट झरेका अविरल आँसुका धाराले सरको गोडा भिजाएका हुन्छन्। सायद त्यही उसको गुरुदक्षिणा थियो ।
(स्रोत : कथासङ्ग्रह “चौतारो साक्षी छ”बाट सभार)