~रमेश गोर्खाली~
विद्वान् र विश्लेषकहरूले आ-आफ्नो विद्वता, बौद्धिकता र चिन्तनअनुरूप महापुरुष र महापुरुषत्वको परिभाषा गरेको भेटिन्छ । निःसन्देह समतावादी, क्रान्तिवादी र मानवतावादी चेतना भएका व्यक्तित्वलाई अधिसङ्ख्यकले सङ्क्षेपमा ठूला र उच्च पुरुष ठान्ने गर्छन् । यौटा राजनीतिक पद्धतिमा आर्थिक, सामाजिक, सांस्कृतिक र बौद्धिक विविध दृष्टिले सर्वमान्य व्यक्तिसत्ताको महत्ता विश्लेषण गर्न मिल्छ तथा तिनलाई गौरवशाली पुरुषको दर्जा दिन सकिन्छ ।
सय वर्ष पूर्वका महाकवि लक्ष्मी प्र. देवकोटा धेरै लेखिए पनि थोरै लाग्ने र अन्तर्राष्ट्रिय क्षेत्रका सर्वाधिक सुपरिचित अमर नेपाली भाषिक कलमजीवी हुन् ! मान्छे कस्तो भन्ने बुझ्न तिनको बाह्यान्तरिक करनी, कथनी र क्रियाकलापलाई ठम्याउनुपर्ने हुन्छ । मान्छेलाई वस्तु र वस्तुलाई शिथिल वा निर्जीव मान्छेको दृष्टिले निरूपण गरी चेतनशील वस्तुतताको अर्थमा आत्मसात् गर्दा प्राप्त हुने गुण र दोषको परिणामबाट कोही उम्किन सक्दैन । यथार्थमा महात्मा गौतम बुद्ध, साई स्वर्गद्वारी प्रभु र गान्धी कोही होउन कहीँ कतै निरर्थकता र आलोच्य सूत्रले ती बाँधिएका हुन्छन् र छन् ।
महाकवि देवकोटापश्चात्का महाकाव्यिक स्रष्टालाई महाकाव्यकार मात्र भन्ने परम्परा केहीले चलाएका छन् । धेरथोर देवकोटीय सर्वोच्चतालाई बुझाउन, चिन्हाउन र अरूलाई प्रेरित गर्न यसो गरिएको हुनुपर्छ । केही वस्तुवादी गहिरा समालोचक र चिन्तकले आधुनिक नेपाली साहित्यमा समानुरूपका दोस्रो महाप्रतिभा र महाकवि जन्मेन समेत भन्छन् । अर्को सन्दर्भमा दृष्टि दिँदा एक्काइसौँ शताब्दीमा ‘नयाँ ईश्वरको घोषणा’ (२०६०) गर्ने प्रथम उत्तरआधुनिक चेतका रूपमा गोपाल पराजुलीजस्ता एक/दुई जनाको व्यक्तित्व अरूलाई लोभ्याउँछन् भने त्यो वाङ्मयिक सूक्ष्म संचेतना र सौम्य शिष्टाचार मात्र हो ।
पचास वर्षको जीवनावधि भन्नु शतायुको सम्पूर्ण जीवनको अर्द्ध हिस्सा हो । थोरै बाँचे पनि गर्नेले देवकोटा शम्भु, प्र. ढुङ्गेल, मोतीराम भट्ट र उत्तम कुँवरलेझैँ केही न केही गर्छन् नगर्ने र गर्न नसक्नेले कविवर माधव घिमिरे, डायमनशमशेर र सत्यमोहन जोशीभन्दा बढी बाँचे पनि र बढी डुले पनि केही पनि नगरेका हुन सक्छन् वा ती गौण मानिन सक्छन् । व्याख्येय र परिभाषित सर्जकको सुनाम श्रद्धावश त्यसै लिइएको हो, त्यसमा अन्यथा नसोचौँ ।
असङ्ख्य अजरामर रचना र कृति रची सिर्जनाका पूजा एवं अर्चना गर्ने अद्वितीय सरस्वतीपुत्र आयामवेत्ता देवकोटा आफ्नो उदाहरण आफैँ बनेका छन् । यहीँनिर कहीँ कतै देवकोटाको पौरखको असीम गरिमा र विराट बतारको अनुभूति हुन्छ । स्वजन र शुभेच्छुकहरूलाई आलेखनको बीज भूमिमा देवकोटा र समजस्ता युगपुरुष शताब्दी र सहस्त्राब्दीमा जन्मिने नेपालआमाका थोरै शताब्दीपुत्र तथा सन्तानबीच एक लाग्छन्, एक्काइसौँ शताब्दीमा त्यस्तो को होलान् तिनका तन्मयताले खोजी गरौँ । हुन त यिनीहरू समकक्षका अन्य केही नभएका होइनन् तर क्रान्तिवाद, शान्तिवाद र संचेतनावादका प्रणेता देवकोटा, देवकोटा हुन् एवं समतावादका प्रवर्तक सम यथार्थमा समता, ममता र भाषिक एकताका अनुतलनीय महापुञ्ज हुन् ।
हो, व्यक्तित्वमा विरोधाभास र अन्तर्विरोध केलाउन सकिन्छ वस्तु-तात्विक अन्तर्वस्तुको गुणावगुण कोट्याएर । उदय र विलय एवं शेष र अशेष, जीवनको सबभन्दा टड्कारो पक्ष हो । यो क्रम चलिरहेको छ र चल्नेछ द्वन्द्वात्मक विश्व जीवनमा । सम र देवकोटा भनौँ वा देवकोटा र सम आधुनिक नेपाली साहित्यमा एकअर्काका पर्याय वा समपूरकझैँ छन् र छन् ती असङ्ख्यको हृदयका नछुट्टनिे स्पन्दनझैँ ।
प्रगतिवादी यथार्थ र सांस्कृतिक सद्भावलाई सर्वाधिक सुदृढ बनाउन देवकोटा आजीवन अघि सरेका पाइन्छ ।
भारद्वाज गोत्रका महाकवि देवकोटा र वत्सगोत्री सम नेपाली साहित्यका विख्यात भाषासेवी तथा महापुरुष कहलिएर आ-आफ्नो गोत्र परम्परालाई नै उच्च बनाएका छन् ।
प्रतीक्षाधीन कतिपय कुरामा भावना र आशावादिताको बीजाङ्कुर हुन्छ र त्यसको आस्वादन मधुर हुन सक्छ । सिर्जना क्षेत्रका घोषित र अघोषित वादशाहका रूपमा देवकोटीय वा यस्तै केही सामर्थ किन परीक्षेय छ भने याथार्थिक जीवनमा यी निश्चयतः सरल, इमानदार र निष्कपट रहे । कतिपय दुष्ट, कपटी र वाग्जालीहरूले साधनाजगत्को प्राञ्जल शाश्वततालाई धमिल्याएको यथार्थ हो । वाङ्मयको विशिष्ट तीर्थ र अक्षरधामलाई तिनीहरूले दूषित तुल्याएकोमा द्विविधा छैन, भनौँ वा रहेन ।
महामानव ठानिनु र बन्नुको जुन मानक छ, लाखौँ/करोडौँ नेपाली जनमानसमा त्यो र त्यस्तो प्रसङ्ग त्यसै झुल्किँदैन । अमिट र अमर प्रभावको रूपमा थुप्रैको मन एवं मथिङ्गललाई संप्रेषणीय ढङ्गमा त्यसै जितिदैन । प्रतिभा र अभ्यासको अहर्निश प्रयासले अजम्मरी रचना र कृति रचिन्छ, कोरिन्छ तथा मातृत्वको पूर्ववर्ती गर्भकाल सफल रहेको मानिन्छ ।
जगत् र जीवनको क्षणिकता, विषय सुखको मायाचक्र भन्दा सिर्जना सुखको अपरम्पार अवसर हो भन्ने अवधारणा देवकोटाजस्ताले मात्र अथ्र्याएको हुन्छ । वर्गीय नेपाली समाज र वर्गीय असमानताले प्रादुर्भूत सामन्ती परिवेशको दारुण तस्बिरलाई सामाजिक न्याय र परिवर्तनका दृष्टिले जसरी देवकोटाले आफ्नो समयमा खिचे र दर्शाए, करोडौँ नेपाली र विदेशीको हृदयमा त्यही रूपमा लामो कालखण्डसम्म त्यसको प्रतिबिम्ब त्यही ढङ्गमा अरूमा नझुल्किएको स्पष्ट छ ।
यथार्थमा महाकवि देवकोटाको उदार दृष्टिमा समाहित विश्वशक्तिको व्यापकतालाई सूक्ष्मता र गम्भीरताले विश्लेषण गरिनुपर्छ । कहीँ कतै प्राकृतिक पर्यावरणमा रसाएको र भुल्भुलाएको जलस्रोतझैँ तिनको प्रवाहले सार्वभौमिक र सार्वकालिक मान्छे अभिभूत छ एवं यसको सङ्ख्यामा प्रतिदिन सम्वृद्धि हुँदै जाने निश्चित छ ।
मूलतः मानवतावादी र संचेतनावादी चिन्तनधारालाई भाषा र साहित्यमा सिञ्चन गरी विश्वमानवको विशेष र अशेष सेवा पुर्याउने महाकवि देवकोटा आफ्नो शतवाषिर्की (संवत् १९६६-२०६५ कात्तिक)पश्चात् सहस्त्राब्दीयौँ सहस्त्राब्दीयौँसम्म पनि झन्झन् अत्यधिक लोकपि्रय हुँदै जाने स्पष्ट छ । देवकोटालाई कहीँ नभएको साहित्यिक देउताको रूपमा मान्नुको आफ्नो पृथक् मज्जा छ ।
-वीरगन्ज, पर्सा
(स्रोत : मधुपर्क २०६६ साउन)