~लक्ष्मण श्रेष्ठ~
समयलाई हतार भएको छ। घडीको सुई विस्तारै घुमिरहेछ। मलाई सकेसम्म छिटो पुग्नु छ। आजको दिन म छुटें भने आफैलाई आफैले माफ गर्न सक्दिनँ। पूर्वी क्षितिजमा फैलिएका रक्तिम किरणहरूले नयाँ युगको सन्देश बोकेजस्तो लाग्छ। बिहानी चिसो हावाले कानमा साउती मार्छ– ‘तिमी जागिसकेका छैनौं?’ प्रश्नले चिमोटेर जान्छ। एक प्याला चिया म उत्साहको पिउँछु। सिद्धान्तको निकोटिनले मेरो मस्तिष्कलाई ऊर्जा दिन्छ। म हतारिंदै जान्छु भक्तपुरको सूर्यमढी चोकमा। राता झण्डाहरू। राता ब्यानरहरू। जताततै रातैरातो। यस्तो लाग्छ भर्खरै जागेको घाम आफू सिङ्गै यहीं ओर्लिएको छ। सूर्यमढी चोकमा। मै भएछु अल्छि। हतारिंदै आउँदा पनि ढिलो भएछु।
“लौ तिमी भर्खरै?” नभन्दै टिप्पणी गरिहाली जिज्ञासाले।
मौन भएँ म। के पो भन्नु? झण्डा समातें र पङ्क्तिबद्ध भइहाले। हतारिदैं आइपुग्यो सौगात पनि।
“के हो मिस्टर? घडी हेर्नुपर्दैन?” जिज्ञासाले एक लाइन लेक्चर दिइहाली सौगातलाई पनि। उसले घडी हेर्यो। भन्यो, “भर्खर त साढे आठ बज्दै छ। नौ बजेबाट सुरु होइन?”
“हामी समयभन्दा अगाडि हुनुपर्छ मित्र। प्रकाशभन्दा छिटो।” जिज्ञासाले लत्तो छोडिन। मौन रहने पालो सौगातको। हातमा समात्यो माओत्सेतुङ्गको तस्विर र भयो पङ्क्तिबद्ध ऊ पनि।
म टोलाउँदै थिएा। हेर्दै थिएँ टाउको उचाली उचाली। लाग्यो, समुद्रका छालहरू मान्छेको आकृति बनाएर उभिएका छन्। यहाँ। भक्तपुरको सूर्यमढी चोकमा। जीवनमै यस्तो अवसरमा सहभागी हुने पहिलो अवसर थियो मेरो। समयमै हिंड्न थाल्यो मान्छेको र्याली।
लाग्न थाले नाराहरू।
गुञ्जिन थाल्यो आकास।
मच्चिन थाल्यो क्षितिज।
मान्छेको अदम्य साहस, हिम्मत र उत्साहसँग कसले खोज्नसक्छ जोरी?
हामी प्रत्यक्षदर्शी बन्नेछैनौं
र्याली हिंडिरहेथ्यो। नाराहरू लाग्दै थिए। पुग्यो दत्तात्रय। मुस्काए दत्तात्रयको ढोकामा वर्षौंदेखि पहरा बसिरहेका कुटुवहरू। भने, “जिन्दगीको अर्थ हिंड्नु हो। दौडनु हो। बसिह्यौ भने तिमी पनि कुटुव हुन्छौ र सीमित हुन्छौ जिन्दगीको एउटै चोकमा। देख्दा त चोक राम्रै हुन्छ। तर तिमी एकपल, एकक्षणमात्र यहाँ अटाउछौ। त्यसैले नबस छेउमा रमिता हेरेर। अरे दौडिहाल परिवर्तनको उत्साही बेगमा समाहित गर। जिन्दगीको अर्थ दौड्नुमा हुन्छ कुटुव बन्नुमा होइन।”
“बुझ्यौ ! जिज्ञासा आज मलाई साँचो अर्थमा जिन्दगी जिएको जस्तै लागिरहेछ।” मेरो ठ्याक्कै अगाडि नारा लगाइरहेकी जिज्ञासालाई कोट्याएँ मैले।
“किन अहिलेसम्म मरेको थिइस् र?” ठाडो जवाफ दियो सौगातले पछाडिबाट।
“हो त मरे बराबर त छौं हामी। समयको सीमामा उभिएर घटनाहरूको प्रत्यक्षदर्शी बन्नुभन्दा अरु के गर्न सकेका छौं र हामीले? आज भने मलाई साँच्ची जागेजस्तो लागेछ। उठेजस्तो लागेछ। बौराएजस्तो लागेछ।” म भावुक बनें सायद।
“के सनक चल्यो फेरि?” जिज्ञासाले पछाडि नफर्की टिप्पणी गरी नारा लगाउन व्यस्त भई।
उत्साहको आवाज गुनगुनाउँदै र्याली दौडिरह्यो। म पनि समाहित भएँ। लगाएँ नारा। चिच्याएँ जोडले। सल्लाघारी पुगेपछि बोलें– “हो त हामी कुटुव त बनिरहेका छौं। हाम्रै उमेरमा सकियो एउटा सताब्दी हामीले के गर्यौं? बित्थाको पटका पड्काएर बेफ्वाँकको हर्ष मनायौं। हामी जस्ताको तस्तै। देशमा द्वन्द्व भयो। जो सहरमा थियौं शान्तिको कविता लेखेर बस्यौं। जो गाउँमा थियौं पलायनको बाटो रोज्यौं। राजा फेरियो। हामीले पत्रिकाको समाचार पढेर बस्यौं। राजाले शासन हातमा लियो। हामीले गाली गर्यौं। जनआन्दोलन दोस्रो भयो रे। हो, नारा लगायौं। ज्यानको बाजी थाप्यौं। तर हामीलाई कहिल्यै थाहा भएन हामीले लगाएको नारा होइन विदेशीको इच्छा लागू भयो। हामी कुटुवमात्र भयौं। सधैँको प्रत्यक्षदर्शी। देख्छौं। के देख्छौं आफैलाई थाहा हुँदैन। सुन्छौं। के सुन्छौं पत्तै पाउँदैनौं। त्यो कुनचाहिं कविले भन्थ्यो नि हामी निद्रामा छौं। उठे, चिच्याए पनि निद्रामै हो। ठ्याक्कै त्यस्तै हो। तर आज मलाई लागिरहेछ अब हामी कुटुव बनिरहेका छैनौं। यो हाम्रो आवाज छ नि यसले हाम्रो आवाज बोकेको छ। हामीले लगाएको नारा छ नि यसले हामीलाई जिउँदो बनाएको छ। किनभने यो हाम्रो आवाज हो। हृदयको स्वर हो। आवश्यकताको ध्वनी हो।” थाहा छैन बर्बराएँ वा साँच्चै भनें। जिज्ञासाले भने सुनिसकिछे।
“किन तिमी हरेक विषयलाई निराशाको आँखाले हेर्छौ?” पोखिहाली तितो।
“निराशाको आँखा होइन यथार्थको भित्री रहस्य यहीं हो।” मैले गरें प्रतिवाद।
“त्यसो होइन तिमी हामी कुटुवमात्र भएका छैनौं। यी यो र्यालीका मान्छेहरू हेर। तिनीहरूको आवाज सुन। आवेग छाम। उत्साह महसुस गर। यिनीहरू कुटुव होइनन्। कहिल्यै पनि बनेनन्। हो, हरेक स्वरहरूले शिघ्र नतिजा दिंदैनन्। तर जिन्दगीका आवाजहरू शुन्य आकाशमा हराएर जाँदैनन् मित्र।” जिज्ञासाले लामै बोली।
मलाई भने महसुस भइरहेथ्यो। म कुटुव बनेको थिइनँ। सम्झें जर्मन कवि ब्रतोल्त ब्रेख्तलाई। भनेका थिए उनले–
‘मान्छे मरेपछि सोच्दैन
मान्छे मरेपछि बोल्दैन
नबोल्दा र नसोच्दा नै
मान्छे मर्ने गर्छ’
उत्साह बुढो हुँदैन
“ऊ हेर। ती बुढीआमालाई। तिनी कुटुव हुन्?” जिज्ञासाले छोडिन। सोधी। कोट्याई कोट्याई। हेरें मैले अर्कोतर्फको पङ्क्तिमा उमेरले डाँडाको उक्लेको एक बुढीआमा माओत्सेतुङ्गको तस्विर बोकेर उत्साही आवाजले नारा लगाइरहिथिन्।
तिनको अनुहारमा थकानको थोरै पनि सङ्केत थिएन। उनको मुहारमा चम्किरहेथ्यो जवानी जोश।
हो त। केही मान्छेहरू छन्। जो आफ्नो वरिपरिको घटनाबारे आँखा चिम्लेर बस्छन्। आँखै अगाडि अन्यायले शासन गर्छ तिनीहरू आफ्नी प्रेमिकाको अधर र ओठको बयान गरिबस्छन्। तिनीहरूको शरीर तन्नेरी होला। तर विचार सत्र शताब्दीजत्तिकै पुरानो हुन्छ। तिनीहरूको जिउमा नयाँ–नयाँ लुगा होला। तर विचार थोत्रो हुन्छ। लुसुनले तिनैलाई त भनेका थिए– तन्नेरी कुमका बुढा टाउका।
तर यी आमा। युवा जोश बोकेर हिंडिरहिछिन् यो घाममा। यिनी कसरी बुढी हुन सक्छिन् र? अहँ होइनन् ती बुढी। किनभने उत्साह बुढो हुँदैन।
अनि कविताका पङ्क्तिहरू गन्तव्यमा पुग्यो र्याली। उत्साही आवाज गुञ्जियो आकासमा। उमङ्गको रङ्ग फैलियो क्षितिजसम्म। फेरि थपियो आशाको अर्को किरण समयको रङ्गमञ्चमा। नेमकिपाको छैटौं महाधिवेशनको आँगनमा जिन्दगीको अर्को रङ्ग थपियो। खुलामञ्चमा सुरु हुँदै थियो उद्घाटन कार्यक्रम। जिज्ञासाले कोट्याईमलाई र सौगातलाई। हामीले हेर्यौं। उसले खल्तीबाट निकाली कागजको पाना। भनी, “भर्खरै लेखेको”। “वा, सुनाउन” हामीले गर्यौं आग्रह। खुलामञ्चको कुनामा उभिएर सानो सानो आवाजमा उसले सुनाई ताजा कविता–
आजको दिन
१.
म उभिनेछु
जीवनको गोल्मढी चोकमा
पिउनेछु उत्साहको एक प्याला चिया
पुग्नेछु
आन्दोलनको टौमढी
समाउनेछु सङ्घर्षको झण्डा
मेरा पाइलाहरूमा छैनन् साग्लाहरू
म बन्धनको बार भत्काउन हिंडिरहेछु।
२.
साहेब !
तिमीले थुकेको सडकमा
मैले भर्खरै रोपेको छु
उत्साहको मखमली फूल
तिमीले अन्धकार पोतेको आकासमा
मैले भर्खरै सल्काएको छु
ज्ञानको मैनबत्ती
म तिम्रो भ्रमको ग्रेटवाललाई
भत्काइदिन्छु यथार्थको मुक्काले
म तिम्रो षड्यन्त्रको पर्दालाई
च्यातिदिन्छु सत्यको नङ्ग्राले
तिमीले फैलाएको दुर्गन्धि धुँवाले
उकुसमुकुस यो वर्तमानमा
म प्वाल पारिदिन्छु विज्ञानको टर्चलाइटले
जहाा जहाा तिमी इतिहास जलाउछौ
त्यहीं त्यहीं म अर्को गाथा लेखेर हिंडिदिन्छु
३.
र, एउटा सगरमाथा विश्वासको
र, एउटा प्रशान्त महासागर समपर्णको
र, एउटा ज्वाला भविष्यको
एकसाथ खडा हुनेछन्
देशको खुलामञ्चमा
गर्नेछन् नयाा युगको घोषणा
झुठ महाशय !
त्यो तिम्रो मृत्यु हुनेछ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)