~जयराम तिमल्सिना~
छोरीज्वाइ अस्ट्रेलियामा डाक्टर छन् । त्यही पिआर लिएर घर बनाएर बसेका छन् । हरेक महिना ३० हजार पठाउँछन् । पहिला घर खेत बन्दकी राखेर पढाइयो राम्रै गरिएछ क्यार । परार साल छोरी आएकी थिइ, पर स्कुलमा पुस्तकालय खोल्देर गइ । धेरै राम्रो गरी त्यस्ले । मेरो नाक ठूलो बनाइ ।
छोरो रोहित अमेरिकामा इन्जिनियर छ । बुहारी कलेज पढाउँछे । नाति नातिना स्कुल जान्छन्, ठूलै भइसके तर देख्न पाएको छैन । धेरै भयो, त्यो पनि घर नआएको । पोहोर त्यस्की आमा खस्दा पनि आउन भ्याएन, उतै सिदा दान गरेर चोखियो ।
बैंकमा २० लाख राखिदिएको छ । महिनै पिच्छे व्याज आउने गरेर । अहिले हरेक महिना बैंकका मान्छे घरमै आउँछन् र पैसा दिएर जान्छन् ।
पेन्सन आउँछ महिनाको १२ हजार । ६/६ महिनामा निकाल्छु ।
पोहोर साल रोहितका आमा खसेपछि अर्जुन र म मात्र घरमा थियौ । अर्जुनको बाउलाई पनि क्यानसर भएछ । कस्तो दुःख पायो त्यसले, बाउ बिरामी भनेर घर गयो ।
चार महिना भयो, अस्ति फोन गरेथ्यो । बुबालाई छोडेर हिड्न सक्तिन हजुरबा भन्दै थियो । माया त त्यसले खुब गर्थ्यो ।
आफ्नो बाउलाई हेर्नछोडेर म कहाँ बस भन्न पनि मिलेन नि …
साँच्चि कोही राम्रो मान्छे पायो भने राखु १० हजारसम्म दिउँला भन्ने सोचेको, मान्छे नै पाएको हैन । मायाभन्दा पनि समयमा खान दिने र यसो ढोका खोल्ने साथी भएदेखि …। आफूलाई त ढोका खोल्न पनि मुस्किन पर्न लाग्यो अब …..
- घण्टी बज्छ ….
हामी बरन्डाबाट नै हेर्छौ ।
साइकलमा तरकारी बेचेर फर्कँदै गरेका मान्छे सोध्छन ..
ठूलाबा ओखती कति बाँकी छ । आजलाई त पुग्छ नि …। बोलि अलिक नबुझिने खालको थियो …
पुग्छ .. । पर्सिसम्म पुग्छ । अलि खोकि बडेको छ । खोकिको ओखती पनि खानुपर्ला जस्तो छ ।
हुन्छ ठुलाबा म भरे मात्र आउँछु … । भात बुहारीले ल्याइदिन्छे है …।
- उस्को कुराकानी र सोधाईमा धेरै जिम्वेदारी झल्केको लागेर उस्को बारेमा जान्न मन लाग्यो ….
भाइको छोरो हो । राम्रो पढ्न सकेन । एस.एल.सी. २ पटक फेल भएपछि बाउले कृर्षि तालिममा पठायो । त्यसो नगर अलिक गालि गरेर पढा भनेको उल्टै रिसायो ।
भाइले पनि प्रगति गर्न सकेन । किसानी नै गर्यो, छोरालाई पनि किसान नै बनायो ।
भनेको मान्दै मानेन उल्टै आउजाउ नै बन्द गर्यो ।
पोहोर रोहितकी आमा खसेपछि छोरोचाहिँ बोल्न थाल्यो । अर्जुन घर गएपछि चाहिँ यस्ले राम्रै ख्याल राख्छ । भाइ बुहारी पनि आउजाउ गर्न थाल्या छन् ।
घर पछाडितिरका लामा लामा टँडेल देखाउँदै ….
त्यहि हो त्यसको फार्महाउस अलि पर १५ वटा गाई पालेको छ । ५ जना काम गर्ने राखेको छ अहिले । अस्ति सबै हेरेर आए । सबैजना मिलेर काम गरेका छन् । महिनामा ८० हजार बचत गर्छ सहकारीमा । फाइदा नै गरेर त जम्मा गरेको होला नि .. ।
छोरालाई जेटीए पढाउन पठाएको छ अचेल ।
हरेक दिन तरकारी पकाएर पुर्याँउन आउँछ । २ घण्टा बसेर जान्छ ।
उस्कै घरमा बस्नु रे म …. तिम्रो छोरा मै हुँ भन्छ ।
खै के गरुँ के …
कहिले त लाग्छ त्यसै गरु …।
म मरेपछि लगेर फाल्ने यहि त हो नि … ।
अहिले उसैले हेर्छ । उस्का बाउआमा भन्दा फरक गरेको छैन ।
आफुले नसकेपछि आँगन परदेश हुँदोरै’छ । टाढाका मान्छे त सम्झनाबाट नै हराउने ।
…………
त्यो रोहित म मरे भनेर के देश फर्केला र … । उतै ग्रीन कार्ड लिएर बसेपछि ।
झन् उस्का परिवार र सन्तानले त यो देश नै टेकेका छैनन् ।
म मरेको खबर पनि ढिलो गरी थाहा पाउला …
सिदा दानसम्म गर्ला उतैतिर ….
- कुरा धेरै लम्विने जस्तो भएपछि बहाना बनाए निस्कने तरखर गरेँ ।
झोलाबाट बर्थडे केक झिकेर टेवलमा राखिदिए
उनैको छोराले अर्डर गरेर पठाएको
त्यसपछि उनको झन सिरियस आवाज कानमा गुञ्जियो ।
भरे उ आएपछि खानुपर्ला (भाइको छोरालाइ सङ्केत गर्दै)
आफ्नो रहर आफैलाई अचम्म लागिरहेको छ । रोहित पराइजस्तै लाग्छ अचेल … ।
किन किन मन मानिराको छैन …।
अहिले उ अमेरिकन … केक उपहार पठाउँछ । म नेपाली … ।
उस्को र मेरो राष्ट्रियता नै फरक छ ।
उसँग रगतको साइनो मात्र छ । भावनाको साइनो धमिलो छ ।
वोल्न नजान्ने भएपनि त्यहि प्यारो छ अचेल । हरेक दिन दर्शन गर्न आउँछ सन्चो विसन्चो ख्याल गर्छ ।
कमसेकम भोक लाग्यो त भन्न पाको छु नि मैलै … ।
जयराम तिमल्सिना
बागबजार, काठमाडौं ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)