~प्रवीण राई जुमेली~
आमाका दुइवटा फरियाहरु थिए
नयाँ उनी बजार जाँदा लाउँथिन्
र पुरानो चाहिँ घरधन्दा गर्दा
हिउँदको धुलोले ती फरियाहरुलाई
च्याङ्लिनमा उति सहयोग गर्न नसके पनि
बर्खाको झरीले दिन्हौं
त्यसलाई रुझाइरहन्थ्यो
र त्यो चिथ्रिन्दै जान्थ्यो
घाँसमा जाँदा रुझेको फरिया
खाना पकाइबस्दा सुक्ने गर्थ्यो
मनको सपना सरीरको दुःखलाई
बेवास्ता गर्दै बाँचिरहन्थ्यो
आमाभित्र
सपना खँदिलो भएपछि
जाडो गर्मी र बिमार सबै हार्दो रहेछ
आमालाई देख्दै-देख्दै अनुभूत गरें मैले
कान्लाका टोड्काहरुबाट
अनगन्ति छिचिमिराहरु निस्केका
बैशाखको कुनै साँझ
आकासको गड्याङगुडुङहरुसितै
झरीका पहिलो थोपाहरु झर्थे
र माटोको गन्ध पनि फैलिन्थ्यो हावामा
त्यस दिनदेखि यता जङ्गलहरुले
डडेलो देख्दैनथे
बसन्त भनेर छुट्याइएका महिनाहरु
बितिसके पनि
त्यसै दिनदेखि यता पाखा-पखेरामा
चिउलाहरु उम्रिन लाग्थे
र चौपायाहरु
नयाँ मुनामा पुरानो स्वाद चाखेर
बाँच्न पल्किन्थे
उमङ्गको असार हुन्थ्यो झरी
बल्झिँदै घाउहरुमा थरी-थरी
झरी नपरी प्रकृतिलाई सुखै छैन
हरेक मौसमले आफूभित्र
कथेर ल्याएको सत्य त्यो
हिज पर्थ्यो झरी
आज पनि पर्छ यसैले
तर आज पर्ने झरी
हिज झैं छैन मलाई
किनकि यो झरीले
मेरी आमालाई रुझाउँदैन
बल्झाउँछ मात्र
मेरी आमाको स्मृतिलाई ।।
-प्रवीण राई जुमेली
जुम बस्ती, पस्चिम सिक्किम
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)