कथा : साइनो

~जयराम तिमल्सिना~

छोरीज्वाइ अस्ट्रेलियामा डाक्टर छन् । त्यही पिआर लिएर घर बनाएर बसेका छन् । हरेक महिना ३० हजार पठाउँछन् । पहिला घर खेत बन्दकी राखेर पढाइयो राम्रै गरिएछ क्यार । परार साल छोरी आएकी थिइ, पर स्कुलमा पुस्तकालय खोल्देर गइ । धेरै राम्रो गरी त्यस्ले । मेरो नाक ठूलो बनाइ ।

छोरो रोहित अमेरिकामा इन्जिनियर छ । बुहारी कलेज पढाउँछे । नाति नातिना स्कुल जान्छन्, ठूलै भइसके तर देख्न पाएको छैन । धेरै भयो, त्यो पनि घर नआएको । पोहोर त्यस्की आमा खस्दा पनि आउन भ्याएन, उतै सिदा दान गरेर  चोखियो ।

बैंकमा २० लाख राखिदिएको छ । महिनै पिच्छे व्याज आउने गरेर । अहिले हरेक महिना बैंकका मान्छे घरमै आउँछन् र पैसा दिएर जान्छन् ।

पेन्सन आउँछ महिनाको १२ हजार । ६/६ महिनामा निकाल्छु ।

पोहोर साल रोहितका आमा खसेपछि अर्जुन र म मात्र घरमा थियौ । अर्जुनको बाउलाई पनि क्यानसर भएछ । कस्तो दुःख पायो त्यसले, बाउ बिरामी भनेर घर गयो ।

चार महिना भयो, अस्ति फोन गरेथ्यो । बुबालाई छोडेर हिड्न सक्तिन हजुरबा भन्दै थियो । माया त त्यसले खुब गर्थ्यो ।

आफ्नो बाउलाई हेर्नछोडेर म कहाँ बस भन्न पनि मिलेन नि …

साँच्चि कोही राम्रो मान्छे पायो भने राखु १० हजारसम्म दिउँला भन्ने सोचेको, मान्छे नै पाएको हैन । मायाभन्दा पनि समयमा खान दिने र यसो ढोका खोल्ने साथी भएदेखि …। आफूलाई त ढोका खोल्न पनि मुस्किन पर्न लाग्यो अब …..

  • घण्टी बज्छ …. 

   हामी बरन्डाबाट नै हेर्छौ ।

साइकलमा तरकारी बेचेर फर्कँदै गरेका मान्छे सोध्छन ..

ठूलाबा ओखती कति बाँकी छ । आजलाई त पुग्छ नि …। बोलि अलिक नबुझिने खालको थियो …

पुग्छ .. । पर्सिसम्म पुग्छ । अलि खोकि बडेको छ । खोकिको ओखती पनि खानुपर्ला जस्तो छ ।

हुन्छ ठुलाबा म भरे मात्र आउँछु … । भात बुहारीले ल्याइदिन्छे है …।

  • उस्को कुराकानी र सोधाईमा धेरै जिम्वेदारी झल्केको लागेर उस्को बारेमा जान्न मन लाग्यो  …. 

भाइको छोरो हो । राम्रो पढ्न सकेन । एस.एल.सी. २ पटक फेल भएपछि बाउले कृर्षि तालिममा पठायो । त्यसो नगर अलिक गालि गरेर पढा भनेको उल्टै रिसायो ।

भाइले पनि प्रगति गर्न सकेन । किसानी नै गर्यो, छोरालाई पनि किसान नै बनायो ।

भनेको मान्दै मानेन उल्टै आउजाउ नै बन्द गर्यो ।

पोहोर रोहितकी आमा खसेपछि छोरोचाहिँ बोल्न थाल्यो । अर्जुन घर गएपछि चाहिँ यस्ले राम्रै ख्याल राख्छ । भाइ बुहारी पनि आउजाउ गर्न थाल्या छन् ।

घर पछाडितिरका लामा लामा टँडेल देखाउँदै ….

त्यहि हो त्यसको फार्महाउस अलि पर १५ वटा गाई पालेको छ । ५ जना काम गर्ने राखेको छ अहिले । अस्ति सबै हेरेर आए । सबैजना मिलेर काम गरेका छन् । महिनामा ८० हजार बचत गर्छ  सहकारीमा । फाइदा नै गरेर त जम्मा गरेको होला नि .. ।

छोरालाई जेटीए पढाउन पठाएको छ अचेल ।

हरेक दिन तरकारी पकाएर पुर्याँउन आउँछ । २ घण्टा बसेर जान्छ ।

उस्कै घरमा बस्नु रे म ….  तिम्रो छोरा मै हुँ भन्छ ।

खै के गरुँ के …

कहिले त लाग्छ त्यसै गरु …।

म मरेपछि लगेर फाल्ने यहि त हो नि … ।

अहिले उसैले हेर्छ । उस्का बाउआमा भन्दा फरक गरेको छैन ।

आफुले नसकेपछि आँगन परदेश हुँदोरै’छ । टाढाका मान्छे त सम्झनाबाट नै हराउने ।

………… 

त्यो रोहित म मरे भनेर के देश फर्केला र … । उतै ग्रीन कार्ड लिएर बसेपछि ।

झन् उस्का परिवार र सन्तानले त यो देश नै टेकेका छैनन् ।

म मरेको खबर पनि ढिलो गरी थाहा पाउला …

सिदा दानसम्म गर्ला उतैतिर ….

  • कुरा धेरै लम्विने जस्तो भएपछि बहाना बनाए निस्कने तरखर गरेँ । 

झोलाबाट बर्थडे केक झिकेर टेवलमा राखिदिए

उनैको छोराले अर्डर गरेर पठाएको 

त्यसपछि उनको झन सिरियस आवाज कानमा गुञ्जियो । 

 भरे उ आएपछि खानुपर्ला (भाइको छोरालाइ सङ्केत गर्दै)

आफ्नो रहर आफैलाई अचम्म लागिरहेको छ । रोहित पराइजस्तै लाग्छ अचेल … ।

किन किन मन मानिराको छैन …।

अहिले उ अमेरिकन … केक उपहार पठाउँछ । म नेपाली … ।

उस्को र मेरो राष्ट्रियता नै फरक छ ।

उसँग रगतको साइनो मात्र छ । भावनाको साइनो धमिलो छ ।

वोल्न नजान्ने भएपनि त्यहि प्यारो छ अचेल । हरेक दिन दर्शन गर्न आउँछ सन्चो विसन्चो ख्याल गर्छ ।

कमसेकम भोक लाग्यो त भन्न पाको छु नि मैलै … ।

जयराम तिमल्सिना
बागबजार, काठमाडौं ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.