कविता : रुपान्तरण

~गीता त्रिपाठी~Geeta Tripathi

दूरन्त कहीँ मेरो आँखाबाट ओझेल
अहिले ऊ
फर्किरहेछ- अनिश्चित गन्तव्यतिर

उसको वरिपरि निर्लिप्त रात
लक्षित उतिरै भुकिरहेछ सायद
र, म
शुभ-चिन्तनमा आकुल गीत
यतिबेलै उसमा प्रतिध्वनित हुन चाहन्छु

टाढा कतै निर्वासित
मेरो दुर्गम सपना
घरिघरि बतासमा
घरिघरि बर्षातमा

फेरि आँसुमा
रुपान्तरण भएर फर्किरहन्छ

अल्मल्लिइरहन्छु आफैभित्र एउटा प्रश्नले-
त्यो निर्जन बाटोतिर मोडिएर जाने
कहिले फर्किन्छहोला आफ्नै गन्तव्यमा

यद्यिप
स्पष्ट छ ऊ
अर्थभेदक उज्यालो भएर
ऊ बोल्छ-

“बाहिर अन्धकार छ
अन्धकारभित्र म छु

मभित्र तिमी छौ ।”

-वालुवाटार, काठमाडौं

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.