कथा : फौजी

~विपुल सिजापति~Bipul Sijapati

बसको झ्याल बाहिर कसैको लामो हाँसो सुनेर पढिरहेको किताब बन्द गरी त्यतैतिर हेरेँ । छलकपट बिनाको त्यस शुद्ध र उन्मुक्त हाँसोमा एक किसिमको मोहनी थियो । सम्भवतः त्यो हाँसो मैले पहिलो पटक सुनेको आकर्षक हाँसो थियो । त्यसैले नै मलाई झ्यालबाहिर हेर्न उत्सुक बनाएको थियो । सडकको किनारमा थापिएको छाप्रो पसलमा कस्सिएको जिउडालको एकजना अधवैंशे केही किन्दै थियो र ऊ अधवैंशे पसले युवतीसँग ठट्टा पनि गर्दै थियो । राजमार्गमा गुज्रिने अन्य सवारीका आवाजले गर्दा उनीहरूको कुरा मैले सुन्न भने सकिरहेको थिइन । पैसा तिरेर उसले पसलेको हातबाट एकमुठा सुर्तीको प्याकेट ज्याकेटको दायाँपट्टीको गोजीमा जतनले घुसा¥यो । पसलेले दिएको फिर्ता पैसा लिदै उसले के भन्यो कुन्नि, पसले युवती खित्का छाडेर हाँसिन् ।

सायद उनीहरूको कुरा निकैबेर चल्दथ्यो होला, तर खँलासीले ढोका ठोकेको सुनेर ऊ बसतिर फर्कियो र पसले युवतीलाई हात हल्लाउदै बसतिर सोझियो । ऊ फर्किदा पहिलो पटक मैले उसको अनुहार देखेँ । लगभग सैतीस–अड्तीस वर्षको मतवाली मोहडाको उसको गोरो अनुहार निकै आकर्षक लाग्यो । चौडा छाती, चिटिक्क मिलेका लुगा र तन्किएको शरीरले अझ आकर्षण थपेको थियो । उसले बसको ढोकामा आएर खलासीलाई केही सोध्यो, जवाफमा खलासीले माथि उक्लेर मसंगैको सिट देखायो । म उसका प्रतेक क्रियाकलाप नियाली रहेको थिएँ । ऊ बडो फुर्तिकासाथ मेरो सिट नजिकै आयो र सिट माथिको ¥याकमा आफ्नो झोला राख्यो । आफ्नो सिटमा बस्नु अगाडी उसले मलाई तौलिने नजरले एकपटक हे¥यो । एकछिनका लागि हाम्रा आँखा चार भए । उसले मेरो नजरबाट नजर हटाएर लगाइरहेको ज्याकेट खोल्यो । पाइन्टको खल्तीबाट रुमाल झिकेर आफू बस्ने सिट पुछ्यो र आफ्नै विशेष तरिकाले बस्यो ।

उसले केही सुँघेझैँ ग¥यो र मतिर उन्मुख हुँदै भन्यो, “अच्छा, त साहेवको अत्तरको वासना पो छ । त म सोचमा पडिगएँ कि यो पब्लिक गाडी कसरी खुसवुदार भयो !” बिनाकुनै चिनाजानी र परिचय उसको यो सिधा र सरल सम्बोधनले म अकमक्किएँ र प्रश्नवाचक नजरले आश्चर्य मान्दै उसले सम्बोधित गरेको शब्द नै उसलाई हेर्दै मैले दोह¥याएँ, “साहेव !”

उसले एकछिन् मलाई नियालेर हे¥यो र उही जोरदारको मोहनी हाँसो हाँसेर भन्यो, “वहि त म भन्दैछु साहेव, फौजमा हाम्रो साहेवहरू मात्र यस्तो अत्तर लगाउछन् । त्यसैले तपाईँ पनि साहेव नै हुनुभयो ।” उसले स्वरलाई अलिकति निचा गरेर फेरी भन्यो, “बुरा त मान्नु भएन साहेव ?”

उसको र मेरो यो अपर्झटको पहिलो भेट थियो, तर उसको आवाजमा कहिँकतै कुनै अन्जानपनको सँकुचन थिएन, छनक थिएन । उसको हाँसो, उसको निश्चिन्त व्यहोराले मलाई गाँज्यो । कुनै औपचारिक परिचय बिना नै मलाई आफ्नो बनाएको थियो उसले । म सोच्दै थिएँ, संसार जति बिचित्र छ, त्यो भन्दा नि मानिसको सोचाई, व्यवहार र क्रियाकलाप बिचित्रको छ । प्रकृतिलाई ऋतुको असर पर्दछ तर मानिस सदाबहार छ । प्रकृतिसँग पौंठेजोरी खेल्छ र जित्छ पनि । प्रकृतिलाई काँटछाँट गर्ने कला जानेको छ, छकाउन माहिर छ । त्यसैले आत्मसमर्पण गर्नुको साटो आफैलाई प्रकृतिको अनुकूल बनाएर प्रकृतिलाई आत्मसात गर्दै गिज्याउछ । माहुतेले सानो अंकुशको भरमा विशाल हात्तीलाई आफ्नो बसमा पारेझैँ उसको आवाजमा अन्तरनिहित अपनत्वयुक्त बोलीले म वशिभूत भैसकेको थिएँ । यो यात्रामा उसको साथ जहाँसम्म प्राप्त भए पनि ऊ मेरो राम्रो सहयात्री हुनसक्छ भन्ने ठानेर मैले सोधेँ, “कहाँ सम्म जाँदै हुनुहुन्छ ?”

उसले मेरो अनुहार निहा¥यो तर कुनै जवाफ दिएन । मैले फेरी उसको नजरमा नजर गडाएँ ।

“अरे साहेव, कुछ मुस्कानका साथ सोधिलिनुस् न, तब पो बात बन्छ !” उसको प्रतिउत्तरले पहिलो पटक आफैलाई आफ्नो गंम्भीर प्रवृतीप्रति खेद लागेर आयो । म मुसुक्क हाँसे । ऊ चहकियो, “बस् …, त बात बनी गयो साहेव, अच्छा बताउनुस्, कहाँ जाँदै हुनुहुन्छ ?”

“म लखनउसम्म जाँदैछु ।”

“अरकककरे वाह साहेव ! म पनि लखनउ जाँदैछु । उसको बादमा कानपुरसम्म जान्छु । अब तपाईँसँग मुलाकात जो भै हाल्यो, सफर अच्छा कट्छ ।”

म धेरै हदसम्म उसंग घुलीसकेको थिएँ । उसको बोलिचालीमा आउने हिन्दी शब्दहरूले उसले निकै समय भारतमा बिताएको अन्दाज गर्न गाह्रो भएन । सोधेँ, “तपाईँ उतै बस्नुहुन्छ कि ?”

उसले मेरो प्रश्नमा उही उन्मुक्त हाँसो हाँस्दै भन्यो, “अरकककरे, म त उल्लुको उल्लु रहिगएँ,” उसको आवाजमा उत्साह थपियो, आफ्नो दाहिने हात अगाडी बढाउदै बडो रवाफका साथ भन्यो, “म सेरसिंह पुन । इण्डियन आर्मिको गोरखा राईफलमा सुवेदार छु । सुवेदार सेरसिंह पुन ।” उसले सुवेदार शब्दलाई विशेष जोर दिएर आत्मसन्मान दर्शाउदै गर्व गरेर भन्यो ।

मैले उसको हात आफ्नो हातमा मिलाउदै भने, “फौजको सुवेदार हुनुहँुदो रहेछ, नाम पनि सेरसिंह, त्यसैले त तपाईँको हाँसो पनि बाघको गर्जन जस्तो रहेछ ।”

मेरो कुरा सुनेर ऊ अघिजस्तै जोरले हाँस्यो र आफ्नो देब्रेहात मेरो हातमाथि राख्यो । उसका दुवै हातका गर्मी मेरो हातमा प्रसारित हुँदा अनौंठो आत्मियता महसुस गरेँ । एउटा फौजिको साथले भारतीय भूमिमा पाइन सकिने झमेलाबाट बचिने विश्वासले राहत मान्नु भन्दापनि एक वीर गोर्खाली फौजीको परदेश यात्रामा पाइने साथले आफू एक्लो भएको अनुभूति भएन, छाती उसकोझैँ चौडा भयो । स्वदेश, विदेश दुवैमा कति भरोसा लाग्छ नेपाली फौजीको !

बसको खलासीले यात्रुको टाउका गनेर सन्तुष्टिमा ढोका ठोक्यो । गाडी पर्वतबाट पोखरातिर हानियो । गाडी गुडने बित्तिकै उसले ज्याकेटको खल्तीबाट अघि किनेको सुर्ती निकालेर सोध्यो, “सुर्ती च्याप्नुहुन्छ ?”

मेरो टाउको हल्लाइको अस्वीकृतीले उसलाई खासै प्रभाव पारेन, सुर्ती माड्दै आफ्नै धुनमा भन्दै गयो, “यो सुर्तीको आदत जो छ, बहुत बुरा छ साहेव, एक पटक लागिहाल्यो त कहाँ छुट्छ, कान्छीको माया जस्तो !”

“कहाँ सुर्ती ! कहाँ कान्छीको माया !” तर उसले गरेको दुवैको तालमेल निकै घतलाग्दो थियो । म खित्का छोडेर हाँसे ।

“अरकककरे ! साहेब पनि हाँस्नु हुँदोरहेछ,” भनेर ऊ पनि हाँस्यो ।

“कान्छी भनेको अघिको पसलको साहुनी त हैन, निक्कै गाढा माया बसेको जस्तो छ नि ?” मैले पनि उसैले बोल्ने अन्दाजमा भने, “कतै तपाईँको दिल त आएन प्यारमा ?”

“अरकककरे साहेव, व्याडलक नै खराब छ मोरीहरूका, नै त मेरो दिल पनि आईहाल्थ्यो नि प्यारमा ।” ऊ फेरि त्यही मनमोहक ढड्डले हाँस्न थाल्यो ।

बस पोखरा पुगेर रोकियो । यहाँसम्मको यात्रा कटेको पत्तै भएन । उसले मलाई चिसो पिउनको लागि आग्रह ग¥यो, जुन मैले नकार्न सकिन, उसंगै तल झरेँ । उसको नजर चिरपरिचित पसलतिर नै दौडियो ।

“ऊ त्यो पसलमा जाऊ साहेब, त्यस पसलको साहुनी रमाइली छे, मीठो बात गर्छे, दिलकी साफ छे ।”

हामी त्यतै गयौँ ।

“के छ हौ सोल्टिनी, दुकान त फस्टाएछ, तिमी चाँही सुकिछौ ।” उसले बिना संकोच भन्यो ।

“के गर्नु लाटा मगरको मायामा परेपछि यस्तै हो !” साहुनीले पनि रसिलो अन्दाजमा जवाफ फर्काउदै सोधिन्, “के दिऊ ?”

“अरे पिलाउनुस् न ठण्डा वण्डा, और के नै छ र यो दुकानमा ?” साहुनीले दिएको चिसो एक हातले समात्दै उसले फेरि सोध्यो, “मन बदलियो कि नाइ तिम्रो । नत्र हिँड अहिले नै ।”

“जान्थे नि जान त, लाहुरेको भर नभएर पो त !”

“ल ! यो पनि कुनै बात भयो ! जान्छुजान्छु भन्दाभन्दै तिम्रा दुई नानी भै सके । म त अल्झिएँ नि हौ ।” उसले चिसोको घुटको लगाउँदै भन्यो ।

“अर्को साल तपाईँ आउदा पक्कापक्कि गरेर बस्छु पुन दाइ ।”

“दाइ नभन न हो सोल्टिनी, इन्सासको गोली लागे जस्तो हुन्छ छातीमा,” उसले छाती थिचेर मुख बनायो, पसलकी साहुनी खित्का छाडेर हाँस्न थालिन् ।

गाडी जति ठाउँमा रोकिन्थ्यो ऊ सबै ठाउँमा तरुनी र आईमाइ भएको पसलमा नै जान्थ्यो र यसरी नै ठट्टा गर्दथ्यो । पसलमा बसेका तरुनी र आईमाइहरु पनि उसका कुरामा उत्तिकै सरिक हुन्थे र रसिएर कुरा गर्दथे, छिल्लिन्थे, हाँस्थे र रमाइलो मान्दथे । उसको कुरा झट्ट सुन्दा कोही उसका पुराना प्रेमीका जस्तो लाग्दथ्यो भने कोही उसैलाई विवाहको लागि कुरेर बसेका जस्ता लाग्दथे । ऊ घुमाउरो पाराले छेड हान्दै यौनजन्य कुरा पनि गर्दथ्यो तर सालिन ढड्डले, यस्ता कुरा गर्दा उसका आँखामा न उत्ताउलो चमक हुँन्थ्यो, न त सम्बोधितहरू नै अप्ठेरो मान्दथे, उल्टो उसलाई नै छेड हान्दै र जवाफ सवाल गर्दै कुरालाई अघि बढाउथे ।

यात्रा रमाइलै कट्दै थियो । भैरहवा नाकामा आईपुग्दा उसले सीमा काट्नुअघि उत्तर फर्किएर निहुरिँदै भुँईको माटो छोएर निधारमा लगाउदै मपट्टि फर्किएर भन्यो, “देशको मिट्टि हो साहेव, न जाने कति दिनलाई छोड्दैछु ।”

हामी गोरखपुर जाने बसमा चढ्यौ । सीमा कटेपछि भने उसको अनुहारमा अघिको चंचलता देखिएन । ऊ केही गंम्भीर देखिन्थ्यो तर चाल र रवाफमा भने अलिकति वृद्धि भएको थियो । गोरखपुरमा ओर्लिएपछि उसले एकजना नेपालीको लजमा लग्यो र हाम्रो सामानको जिम्मा लगाउदै मलाई घुमाउन लिएर गयो ।

साँझ हामी लखनउ जान रेलस्टेसनमा गयौँ । उसले मेरो बुकिड्ड गरेको टिकट लिएर काउन्टरमा गयो र आफ्नो फौजी परिचयपत्र देखाएर त्यसलाई बदली आफ्नै डिब्बाको टिकट कटायो । हामी लखनउ जान रेल चढ्यौँ । यहाँसम्मको यात्रामा उसले दाजुले समान मेरो सहायता गरेको थियो र मेरो हिफाजतको लागि ऊ तैयार देखिन्थ्यो ।

रेल लखनउको लागि गुड्यो । म उसको बारेमा सोच्दै थिएँ । यहाँसम्मको यात्रामा न उसले मेरो बारेमा केही सोध्यो न त मैले नै उसको बारेमा केही सोधेको थिएँ । नाम बाहेक उसको बारेमा मलाई केही थाहा थिएन । आधा घण्टाको सफरपछि मैले भने, “यहाँसम्म आइपुगियो, हाम्रो त राम्ररी चिनापर्चि समेत भएको छैन ! ”
“छोड्नुस् साहेब, चिनापर्चिपछि भेट्न मन लाग्छ,  भेटेपछि प्यार बढ्छ । यो प्यारमा परेपछि धेरै तकलिफ दिन्छ । हाँस्यो, बोल्यो, भेटियो, राम्ररी छुट्टियो, खलास । म त यस्तै सोच्छु साहेब ।”

रात छिप्पिँदै थियो । उसले ज्याकेटबाट जेबी रुमाल र एउटा डायरी झिक्यो । ज्याकेट फुकालेर ज्याकेटलाई राम्ररी दोबारेर सिरानी बनायो । झोलाबाट नुहाउने रुमाल निकालेर बर्थमा फैलायो ।

“ल !, मेरो बिस्तरा त तैयार भयो साहेब । के गर्ने फौजीलाई हरेक कुरामा फिट हुन सिकाएको जो छ,” उसले हाँस्दै भन्यो, “साहेब, म एकैछिन् ल्याट्रनि अमेरिका गएर आउछु ।”

ऊ सौचालयतिर गयो ।

उसले सिरानीको छेउमै राखेको डायरी अलि मोटै थियो । मैले सकसक लागेर उठाएँ र पाना पल्टाउन थालेँ । अगाडीका पानाहरूमा उसले बोल्ने जस्तै नेपाली र हिन्दी मिश्रीत भाषामा मुक्तकहरू लेखिएका रहेछन् । म रमाइलो मानेर रेलको मधुरो प्रकाशमा पढ्न थालेँ । ऊ सौचालयबाट कतिखेर आएर मैले पढेर बसेको हेरिरहेको थियो, मैले पत्तो पाइन । आठ दशवटा पढेपछि मात्र ऊ मेरो छेउमै उभिरहेको देख्दा अर्काको डायरी पढेकोमा अप्ठेरो लाग्यो ।

उसले हाँस्दै भन्यो, “कस्तो लाग्यो साहेब ?”

“राम्रा छन्, निक्कै राम्रो लेख्नुहुँदो रहेछ, मैले हाँस्दै भने ।

“अलिकति सायरी वायरीको शोख छ साहेव । तपाईँलाई पनि छ कि ?”

मैले हो, छ भन्दै मुन्टो हल्लाएँ । ऊ हौसियो र मेरै छेउमा बस्यो । मैले उसको डायरीका पाना पल्टाएर पढन लागेँ र आफ्नो प्रतिक्रिया पनि दिन थालेँ । ऊ नावालकले इच्छित खेलौना पाएर खुसी भएझैँ खुसी हुँदै थियो ।

“अच्छा साहेब, यो सेर हेर्नुस् त साहेब ।” ऊ आफ्ना रचनाहरू एकपछि अर्को पाना पल्टाएर देखाउदै थियो । म उसको लेखाइको तारिफ गर्दै पढदै थिएँ, ऊ औधी खुसी थियो । पढ्दै जाँदा डायरीको बिचौंबिचमा एक नारीको पोष्टकार्ड साईजको तस्बिर पल्टिदा हामी अडकियौँ । मैले आश्चर्य प्रकट गर्दै जिज्ञासु नजर लगाएँ ।

एक्कै निमेषमा उसको अनुहारको भावभंगीमा परिवर्तित भयो, एकमुस्लो पीडाका हुस्सुले उसका आँखाभरि शीत छरेर गयो । आँखाका डोराहरू राता भए, पाताल धसिएको स्वरमा उसले भन्यो, “मेरी राधा पियारी हुन् साहेब, दश वर्षकी छोरी नासो फालेर आँखा चिम्ली । छोरी पाल्दै उसैको सतमा बाँचेको छु साहेब ……….”

ऊ नेपथ्यमा हेरेर केहिबेर टोलायो र एकै छिनमा फेरि पुरानो सेरसिंहमा बदलियो र डायरीको पाना पल्टाउँदै भन्यो, “अच्छा साहेब, सेरसिंहको यो सेर हेर्नुस् त साहेब ……”

यात्रा अझै जारी थियो ।

(स्रोत : कथा-सङ्ग्रह “कास्कोल”बाट )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.