दशैंको मौसमलाई चङ्गाको मौसम भनेर चिनिन्छ । दशैं बिदा सुरुहुनु भन्दा एक दिन अगाडी एउटा स्कुलमा दशैंको बारेमा ज्ञान दिइदै थियो । जसमा चङ्गा उडान पनि समावेश थियो ।
बच्चाहरुले चङ्गा उडाउँदै थिए । शिरिष नाम गरेको एक जना बच्चाको चंगा स्कुल नजिकको घरको छतमा झर्यो । ऊ दौडिदै गएर अर्को बच्चालाई चङ्गा उडाउन सिकाइरहेका शिक्षकलाई गएर भन्यो, ‘ सर ! मैले मेरो चङ्गा साथीहरुको भन्दा माथी पुर्याउन, माथि उडेको हेर्नलाई धागो छोडेको थिएँ, तर चङ्गा त अर्को घरको छतमा खस्यो’ ।
शिक्षकले हाँस्दै जवाफ दिए, ‘ चङ्गा माथी उडाउनको लागि तिमीले त्यसको धागोलाई काट्नु हुँदैन । चङ्गा त तिमीले हातमा धागो राखेर त्यसलाई तिमीले दिशा दिइरहेको आधारमा उड्छ । जब तिमीले धागो काट्छौ, चङ्गाको सन्तुलन गुम्छ र त्यो तल झर्छ’ ।
कहिलेकाहीं हामीलाई लाग्छ कि, हाम्रा कर्तव्य र समस्याहरुले हामीलाई अगाडी बढ्नबाट रोकिरहेका छन् । तर, ती कर्तव्य र समस्याले हामीलाई अगाडी बढ्नको लागि एउटा दिशा दिइरहेका हुन्छन्, हामीलाई अगाडी बढ्न सिकाइरहेका हुन्छन् । यदि कर्तव्य र समस्या हुँदैनन् भने, हामीमा अनुभव र ज्ञानको अभाव हुन्छ, हाम्रो अगाडी बाटाहरु धेरै हुन्छन् तर कहाँ जाने भन्ने कुरामै हामी अलमलमा पर्छौं र भुइँमा झर्छौं ।