~गणेश घिमिरे~
चार दिनको लामो बिदा आकाशमा इन्द्रेणी लागेझैं सप्तरंगी तर आँखा झिमिक्क गरेजस्तै बित्यो । इस्टरको बिदा सदुपयोग गर्न आलिया र आइभी केही दिनअघि नै मामा घर गएका थिए । सायद दिउँसोतिर आउलान् ।
घरमा एक्लै सामाजिक सञ्जालको जञ्जालमा फस्नुभन्दा केही चाँडै अफिस पुग्छु । अफिस अलि ब्यस्त देखिन्छ । आज अफिसमा मेरो कार्य तालिका कामको चटारो छ । इस्टर बिदामा गएकाहरु काममा फर्की सकेका छैनन ।
‘हाई बिनय, हृयप्पी इस्टर ।’ टेबलमा स्टर एग चकलेटको एक पोका राख्दै चेल्सी मुस्कुराइ । उ अफिसमा छे तर मनमा अझै इस्टरको रौनक ओझेल भएको छैन भन्ने कुरा महसुस हुन्छ । चेल्सी मेरै अफिसमा जुनियर स्टाफ हो ।
‘थ्याङ्कयु । हृयाप्पी इस्टर टु यु टु । म पनि प्रतिउत्तरमा मुस्कुराएँ ।’
‘यु आर बेलकम, ओः इट्स अलरेडी लन्च टाइम….।’ चेल्सी जसरी हतारमा आई, औपचारिक कुराकानीसँगै मेट्रोको गतिमा मेरोअघि चकलेट राखेर गई ।
अफिसमा सुनसान त थियो । तर, चेल्सी बाहिरिएपछि त्यो अझै गाढा महसुस भयो । ‘चेल्सी एकछिन बस न’ भन्न मन नलागेको होइन तर बोली निस्किनुअघि नै उ निस्किहाली ।
नाम गोराको भए पनि गोरी छैन चेल्सी । नीला आँखा र छिनेको कम्मरमा अडेको फ्रक घुडा नपुग्दै सकिएको हेर्दैथिएँ, ऊ ओझेल भइ । मलाई चेल्सी साच्चिकै सुन्दर लाग्छे । आमा गोरी बाबु अफ्रिकन हुनुको काइदा हुनसक्छ यो सुन्दरताको ।
कामको व्यस्ततामा पनि मेरा आँखा ऊ निस्किएको कोअरिडोरमा अडिरह्यो ।
००००
लुकेमियाका कारण चाँडै आमालाई गुमाएकी चेल्सी निकै भावुक हुन्छे कहिले काँही । किनभने त्यो घाऊ ताजै छ । बेला बेला आमालाई खुब मिस गरेको कुरा सुनाउछे । जायजेथा सबै बैंकमा राखेर पनि आमालाई बचाउन नसकेको दुखेसो पनि छ उसँग ।
आफ्नो भन्नु अब यही एउटा काम हो र महिनै पिच्छे तिर्नु पर्ने बैकको ऋण ।’ उसको यो वाक्य म उसलाई देखे पिच्छे सम्झिन्छु । र सोध्न मन लाग्छ ।
‘आर यू ओके चेल्सी ? तर, आवाज निस्किँदैन ।
चेल्सीलाई मनबाट बिसाएर म आफ्नो नियमित काम तर्फ फर्किन्छु । मेरा आँखा टेबलमा रहेको चिठ्ठीको बिटो माथि पर्छन् । हिजो घरमा खोल्न नभ्याएका चिठीहरु अफिस लिएर आएको थिएँ । म प्राय यसै गर्छु ।
अफिसको कामलाई बिट मारेपछि फुर्सद निकाल्दै ब्यक्तिगत चिठ्ठीहरु खोल्न थाल्छु । धेरैजसो चिठ्ठीहरु बिज्ञापन प्रयोजनका लागि थिए । विद्युतीय समयमा पनि यो देशले हुलाकलाई जीवित राख्न चिठ्ठीपत्रलाई महत्व दिएको छ । सोच्दै म बैंकबाट आएको चिठी खोल्छु ।
‘तिमी चाहन्छौ भने पचास हजार डलरसम्म पर्सनल लोन लिन सक्छौ ।’ चिठीको व्यहोराले भनिरहेको थियो । चिठीमा निक्कैबेर अडिएर गम्न थाले । ढुंगा खोज्दा देउता मिलेजस्तो लाग्यो । पैसाले फिटफिटी परेका बेला बैंकबाट लोनका लागि अफर । आलियाको बालि जाने धोको पुर्याइदिन पाए ! उता बाआमाको यो तिहारमा केटाकेटीसहित नेपाल आइदेलान् भन्ने आशा निभेको छैन । घरमा सोलार पनि हाल्न सकिएको छैन । छिनमै अनेक योजनाहरु बुन्न भ्यायो मनले ।
लन्च गर्न स्टाफ रुमसम्म पनि जान मन लागेन । अफिस डेस्कमै लञ्च गर्दै चिठ्ठीले अनुरोध गरेझैं पर्सनल लोनका लागि अनलाइन फर्म भर्न थाले । कमनवेल्थ बैंक । नाम, ठेगाना, भर्दै आबेदन फर्ममा आय ब्यय र अन्य लोनहरुको सेक्सनमा म निक्कैबेर घोरिए । र भर्दै गएँ – होम लोन, उदारो क्रेडिट कार्ड, कार लोन, बिभिन्न इन्सुरेन्स, तथा घरायसी बिल र अनुमानित मासिक खर्च । अब आय श्रोतको सेक्सन आयो । म इन्ट्री गर्छु आफ्नो र श्रीमतीको साधारण आम्दानी । आउने बाटो भन्दा जाने बाटो धेरै देखेर म चित खाएँ ।
मैले यसरी आय र व्ययको लेखाजोखा कहिल्यै गरेको थिइन । आवस्यकता नै परेको थिएन । आबेदन फर्ममा थप अगाडी जान मेरा औलाहरु रोकिए । अहिले नै आम्दानी भन्दा खर्च बढी देखियो । पर्सनल लोनको ब्याजदर सामान्यतया अन्य लोनहरु भन्दा बढी हुन्छ । बैंकहरु लोन दिन उदार तर ब्याज लिन र अन्य समस्याहरुमा अनुदार हुन्छ भन्ने मलाई राम्ररी थाह छ । तर समस्याका अगाडि घुँडा टेक्नुको बिकल्प हुँदैन ।
नियमित ब्याज तिर्न नसके ब्ल्याक लिस्टमा पर्न सकिन्छ । आफ्नो क्रेडिट रेकर्ड बिगि्रयो भने आर्थिक हिसाब किताब चौपट हुनसक्छ । क्रेडिट रेकर्ड बिग्रिए असर निक्कै पछि सम्म पर्न सक्छ ।
प्रसंगै प्रसंगमा मेरो दिमागमा अनेक घटनाहरु परिदृश्य बनेर छमछमी नाच्न थाले । केही समय अगाडि एउटा ब्यापारी दाइले भनेका थिए अहिले बिजनेश डामाडोल छ । मान्छेहरु भन्छन् यो ठूलो बिजनेस म्यान हो । सुन्दा गौरब लाग्छ । तर, नाम मात्र मेरो कारोबार बैंकको । आफ्नो ब्यवहार सबैलाई भन्दै हिँड्ने कुरा आएन । अन्य पात्रहरु पनि तँछाड-मछाड गर्दै मेरो दिमागमा पछ्याउन आइपुगे ।
गएको महिना एउटा नेपाली विद्यार्थीले निर्ममतापूर्वक आत्महत्या गरेका थिए । गाउँमा ४० लाख ऋण लिएर अष्ट्रेलिया पढ्न आएको युवा काम नपाएर भौतारिन थाले पछि आफूलाई अन्त्य गर्नुको विकल्प देखेन सायद । उफः कति डरलाग्दो जिन्दगी । दिमागमा दृश्य पौडिँदै जान थाले । क्रेडिट कार्डको रि-पेमेन्ट गर्न नसकेर रोएको प्रिय मित्रको एउटा अनुहार ।
निदाउन दैनिक स्लिपिङ ट्याब्लेट लिनु पर्ने मल्टी मिलेनियर प्रोपर्टी ओनरको अनुभवः आदि इत्यादि । त्यसपछि मैले आफ्नो होम लोन सम्झिएँ, क्रेडिट कार्ड सम्झिएँ, त्यसमाथि अब थपिने पर्सनल लोनको भार सम्झिएँ । आफ्नो मोर्गेज लोनको जम्मा रकम सम्झिएँ र लोन चुक्ता हुने ३० बर्षे समयलाई आफ्नो उमेरमा ल्याएर जोड घटाउ गरेँ । मेरो ओठ तालु सुक्यो । एक ग्लास पानी एकै सासमा पीएपछि मैले पर्सनल लोनका लागि भर्दा भदैको अपुरो एप्लिकेशनलाई बीचैमा छोडेर ल्यापटप बन्द गरेँ ।
म अफिसमा बसिरहन सकिनँ । अगाडि रोडमा निस्किए । छेवैको डेली सपबाट लङ्गबीच एक पाकेट चुरोट किनेर धुवा उडाउँदै ट्रेन स्टेशनको बाटो समातें ।
बाटाभरि मनमा अनेक तर्कनाहरु जन्मिरहे । देखिएका यी सबै मान्छेहरु किन गम्भीर लाग्छन् ? श्रीमतीले भने झैँ के म पनि अरुहरु जस्तै गम्भीर छु ? आफूले आफैं लाई कमजोर देख्न थाले । आफ्नै बारेमा गहिरिएर यसरी सोचेको जिन्दगीमा पहिलो पटक हुन सक्छ । आफूलाई सधैं आत्मविश्वासी र सफल हुँ भन्ठान्ने मेरो मनले अस्ट्रेलिया आउनुलाई सफलताका रुपमा लिएको थियो ।
के सोच्नु र हुनु फरक कुराहरु हुन् ! मान्छे स्वतन्त्र हुन चाहँदैन या हुन दिइँदैन ? कि मान्छे स्वतन्त्र हुनै सक्तैन ? नत्र मैले आफू जन्मिएको देश हजार पटक भन्दा बढी फर्किन्छु भने होला । तर, एक पटक पनि आँट गर्न सकिरहेको छैन । यो वास्तविकता मेरो मात्रै होइन, सबै गैरआवासीय नेपालीहरुको हो । यो दुनियाँलाई केले रोकेको छ ? मनमा यस्तै यस्तै कुराले डेरा जमाई रहृयो ।
हिन्द महासागरमा ओर्लिएको घाम महसुस गर्दै घर फर्किन ट्रेन चढेँ । ट्रेनको एउटा कुनामा बसेर वेस्ट अस्ट्रेलियन पत्रिकाका पानाहरुमा आँखा कुदाउन थालेँ । पत्रिकाको मध्ये पृष्ठमा डेट सपोर्ट एजेन्सीको एउटा विज्ञापनमाथि मेरो आँखा पर्यो । विज्ञापनको अन्तिम लहरमा लेखिएको थियो ।
‘आधुनिक दासहरु सिक्रीमा बाँधिएका हुँदैनन् उनीहरु सिर्फ ऋणमा डुबेका हुन्छन् । हामीसबै किसिमका ऋणबाट मुक्ति दिलाउन तपाईलाई कुरेर बसेका छौँ ।’
मैले विज्ञापन दोहोर्याई तेहर्याई पढें । होइनजस्तै लागेन । यो प्रविधिको जमानामा जे पनि सम्भव छ । सोच्दासोच्दै पुनः आफैसँग प्रश्न गरेँ, ‘म कतै बढी त सोचिरहेको छैन ?’ एक पटक लामो सास तानें र आफुलाई सजग बनाउन अर्को हातमा चिमोटें । ट्रेनभित्र वरिपरि आँखा डुलाएँ । कसैले पनि मलाई नियालेजस्तो लागेन । सबै व्यस्त देखिन्थे । तर, चुपचाप ।
समय परिवर्तनको अर्को नाम हो भन्ने सुनेको मलाई आज पत्यार लागेन । समयसँगै हर वस्तुमा परिवर्तन भएको भान हुन्छ । तर, सार, के समयको सार परिवर्तन भएको छ ? अहँ मैले कतै देख्दिनँ । यहाँ विभेद र दासत्व उस्तै छन् केवल फेरिएको छ परिभाषा । अथवा एउटा नाम । मैले पटक-पटक आफुलाई सिक्री बिनाको एउटा दास प्रतिनिधि पात्रका रुपमा भेटेको छु । फलामे जन्जिर र हतकडीभन्दा पनि शक्तिशाली यन्त्रहरुले घेरिएको मेरो मानसिकताले हरेक दिन यो दासत्व स्वीकार गरेको छ । कहिलेकाँही त लाग्छ, मानिस भएर जन्मनु नै दास हुनु हो ।
स्टेसनमा मलाई उतारेर ट्रेन अगाडि बढ्यो । यन्त्रवत् मेरा खुट्टा घरतर्फ सोझिए ।
श्रीमती र छोरी घर फर्किसकेका थिए । भान्सा कोठामा पुगेर एक गिलास पानी पिएँ । झ्यालबाट ब्याक यार्ड देखियो । सानो करेसाबारीमा केही थान गुलाब र पिङ्क रक आर्किडका बोटहरु झुलिरहेका थिए । छेवैमा पर्खालको आड लाएर तितेकरेला माथि उक्लिदैँ थियो । म फूलबारीतिर लागेँ, धारा खोलेर पानी हाल्न थालेँ ।
‘एक युट माटो किन्न पर्ने भो आलिया, यो बलुवाको मात्रै भर भएन ।’ फूलबारीमा एकसरो आँखा कुदाएपछि मैले भने, ‘घाम भुइमै ओर्लिएको छ । बोटविरुवा मर्न थालिसके ।’
आलिया भान्सामा काम गरिहेकी थिइन् क्यारे । नेपाली शैलीमा त्यहीँबाट आलियाले अलि उँचो स्वरमा भनिन्, बगरमा खेती गरेर हुने भए यो अस्ट्रेलिया मरुभूमिको देश भनेर किन चिनिन्थ्यो ?’
‘प्रयास गरेँ नहुने चैँ हुदैन है । मरुभूमिमा पनि खेती गरेकै छन् क्यारे मानिसले ।’ मनमा गुन्गुनाउँदै बोटमा म पानी हाल्न तिरै एकोहोरीए ।
‘ए बुढा, घरबाट आमाको फोन आएको थियो । जाडो साह्रै बढेको छ रे ।’
‘अरु के भन्नुहुन्थ्यो ?’ आलियाको बोली भुइँमा खस्न नपाउँदै मैले प्रश्न गरेँ । ढल्किदै गरेको बाआमाको उमेर माथि शंकाको बादल उठ्यो ।
‘डाक्टरकहाँ जानु भाको थियो रे । बुवालाई दमले अलि च्यापेछ । आमाले भन्नु त भएन, तर जाडोले खुबै सताएजस्तो छ । फेरि हिजो छिमेकी दिदी आएर मन अमिलो पारिदिइछन् ।
“छोराबुहारी ठुलो देशमा भएर पनि तपाईंका दुःख घटेनन् झन् बढे काकी । बरु मेरो सानेले साउदी गएर घरमा गिजर हालिदिएको छ । तातो चाहिए तातो, चिसो चाहिए चिसो पानी । फेरी ट्वाइलेट बाथरुम पनि घर भित्रै सारिदियो ।’
त्यसका छोराले के गर्यो हामीलाई किन सुनाउनुपर्यो भन्दै हुनुहुन्थ्यो । आवश्यकताको कुरा हो, चाहिए हामी पनि राख्न सक्छौं भनिदिनु भयो रे ।
मेरो आँखाभरि घर कुद्न थाल्यो । जीर्ण बन्दै गएको बाको अनुहार झल्झली याद आयो । आफू जन्मिनुभन्दा पाँच बर्षअघि बनेको पक्का घर जहाँ मैले आफ्नो बाल्यकाल बिताएको थिए । ऊ बेला त्यो घरलाई मुन्डा घर भन्थे । मुण्डा घर भनेपछि कोष टाढाका मान्छेले पनि आँखा लगाउथे । मुण्डाघरे कोइराला जिल्ला मै कत्रो नाम थियो । बालाई नचिन्ने मान्छे थिएनन । बाको वास्तविक नामलाई मुन्डा घरले जितेको थियो ।
सिधासिधी कोठा ठड्याएर प्लास्टर गरिएको घरको भित्तामा ठाउँ ठाउँमा किला ठोकिएका थिए । किलामा मैला लुगाफाटा झुन्डिएका हुन्थे । वर्षौंदेखि प्रयोगविहीन । मानौं उनीहरुले आत्महत्या गरेका हुन । खाटको छेउमा भोटे ताल्चा झुन्ड्याइएको पुरानो टीनको बाकस थियो । बाकसभित्र बा-आमाको पसीना लुकेको हुन्थ्यो । छोराछोरीका चिना टिपन र यो घर लगायतका कागज पत्र ।
‘हजुरको यही बानी मलाई मन पर्दैन । सुन्यो बस्यो कुनै जवाफ दिनु छैन ।’ आलियाले अलि चर्को स्वरमा गुनासो गरी ।
उसलाई के थाहा, शरीर पो यहाँ थियो । मन त सुदुर गाउँमा पुगेर अमिलो भइरहेको थियो ।
‘कि घर रेनोभेट गरिदिउँ । कति नै लाग्ला र ? बीस हजार डलर भए त सबै काम सकिएला नि ! नेपाली लगभग १७/१८ लाख न हो ।’
मनले फेरि पर्सनल लोन र नेपाली रुपैंयाको हिसाब-किताब गर्दै बैंकलाई सम्झिएँ । बाआमालाई पनि छोरा बुहारीले केही गरे भन्ने लाग्ला । शान्त तलाउमा ढुंगा हानेझैँ भयो ।
‘पैसाले सुबिधा त थप्ला तर के त्यो घर बन्ला ? आलिया भावुक भएर बोली । पैसाले मात्रै घर बन्ने भए यी धनीमानी सधै खुसि देखिनु पर्ने हो नि ।’
भान्साको ढोकाबाट निस्किएपछि फूलबारीमा पुगिन्छ, जहाँ म गोडमेल गर्दैछु । ऊ कोठाबाहिर निस्किएर मेरो हात समात्न आइपुगी ।
‘नेपालबाट फर्किए यता छोरी पनि उताको मात्रै कुरा गर्छे । उ पनि सबै कुरा बुझ्ने भैसकी । छोरीका बारेमा सोच्न ढिला गर्न हुन्न । बाजे बराजु बाँचेको माटोमा बाँच्ने अधिकार छोरीसँग पनि त छ । भाषा सकिए जिन्दगी सकिन्छ भन्छन् । फेरि हजुरबा हजुरआमाले जति माया अरु कस्ले गर्न सक्ला आइभिलाई । आउँदो दशैमा नेपाल जाने भनेर हुटहुटि लगाएकी लगायै छे । बच्चाको इच्छा मर्न दिन पनि भएन । उतै रमाउछे भने हाम्रो पनि के लाग्छ र ।’
अहिले नै झिटिगुन्टा कसेर छोरीलाई नेपाल पुर्याउँ झैं गरी आलियाले ।
‘हुन्छ नि सोच्दै गरौंला ।’ यती बोलेर म फेरि निःशब्द भएँ ।
एउटा सपना थियो बाले देखाउनुभएको । छोरोले विगतलाई उत्खनन गर्नेछ । एउटा घर सिमेन्ट र ईंटाको थुप्रो मात्र नभएर साँच्चिकै घर बनाउने छ । त्यो घरभित्र बा आमा हुनेछन् । आफू भइनेछ । छोराछोरी हुनेछन् । र, त्यो सुखदु:ख बराबर बाँड्न मिल्नेछ ।
‘यो एक मुठ्ठी सासचाँहि तेरै काखमा फाल्न पाइयोस्, जिन्दगी सार्थक हुने छ कान्छा ।’
बा बोलेको ताजा भएर सम्झना आउँछ । मेरो अनुहार झन्भन्दा झन अँध्यारो हुन्छ । ‘तपाईँलाइ के भएको छ हँ आजकल ? जतिबेला पनि एकोहोरिएको मात्र देख्छु ।’
आलियाको ठूलो आवाजले झसंग बनाउँछ । ऊ कुनबेला हो, फेरि भान्सामै पुगिसकी छे ।
‘आजबाट यो महिना पनि सकिएर मार्च लाग्दैछ । फेब्रुअरीमा तिर्नु पर्ने बिलहरुको भाका काट्न लागेको छ । ए बुढा, सबै बिलको पैसा तिर्नु है ।’ खाना खाँदै गर्दा आलियाले सम्झाउँछे ।
बाउ आमा र एउटा छोरी छौं घरमा । घर एउटा सुरुङजस्तो छ, को कता हराउँछ पत्तै हुँदैन । खाना खाँदा मात्रै हो सँगै देखिने । म दराजबाट फाइल निकालेर पन्ना पन्ना केलाउन थाल्छु । साथमा छ कमन वेल्थ बैंकको क्रेडिट कार्ड । एउटा क्याल्कुलेटर । एप्पल ल्याप्टप एकथान र हातमा मोटो चश्मा ।
महिनाको अन्तिम दिन, ओछ्यान पस्न अघि तिरो तिर्न पर्ने बिलहरुको लाइन शुरु हुन्छ । बिजुलीको बिल, पानीको बिल, ग्यास, फोन, इन्टर्नेट, लाइफ इन्सुरेन्स, कन्टेन्ट इन्सुरेन्स, … यसरी मासिक बिलहरु तिरिसकेपछि अनलाइन बैंकिङ खाता लगइन गर्छु । लाग्छ, बैंक खातामा पहिरो गएको छ । सरकार भनँु या यो व्यवस्थाले साच्चिँकै लिन मात्रै जानेको छ, यो र त्यो बाटो भएर कागती निचोरेझैं निचोर्छ ।
००००
‘बुढा उठ्नुस न ।’ आलिया झक्झक्याउँछे ।
यो आलियाले गरेको तेश्रो प्रयास हो । तर, म कोल्टो फेर्छु ।
‘यी मान्छे कति सुत्न सकेका होलान ! कुम्भकर्ण सुत्थ्यो रे यसरी । त्यसैको आत्मा पसे जस्तो छ ।’
आलिया फत्फताउन थाल्छे, ‘अफिस जादा अफिसलाई समय, घरमा हुँदा कि करेसाबारी कि ओछ्यान प्यारो । बाँकि समय न्युज च्यानल कि स्पोर्ट्स । परिवार भन्ने चाही छैन क्यारे यो मान्छेको दिमागमा ।’
नेपालमा राम्रो जागिर खाएकी मेरी श्रीमती आज यो विरानो ठाउँमा गुनासो गरिरहन्थे । सयम बित्यो तर गुनासो यथावत छन् । मलाई उसप्रति होइन, मानिसको जीवनप्रति मुस्कुराउन मन लाग्यो ।
‘यी बाउ छोरीले मेरो मासु खाएका छन् ।’ आलिया भुत्भुताइरहेकी बेला यी कुरा भन्दै थिई ।
उसका कुरामा म र मेरा कुरामा ऊ अभ्यस्त भइसकेका छौं । उसको स्वर बिस्तारै मधुरो हुन्छ र शुन्यतामा हराउँछ । म निन्द्रा नपुगेर नउठेको होइन । अचेल मन पहिलेभन्दा गरुङ्गो हुन थालेका छ । शरीर गल्न थालेको छ । मनमा अनेक कुराहरु खेल्न थालेका छन् ।सायद पहिले जस्तो जोश अहिले रहेन ।
आलियाले टीभी खोली । समाचार च्यानल खोल्दा मेरो आँखा र कान चनाखो हुन्छ र म उठ्छु भन्ने कुरा उसले बुझेकी छ ।
‘बिद्यार्थी भिसामा आएकी अन्तर्राष्ट्रिय बिद्यार्थी प्रमिला कार्कीको आत्माहत्या ।’ सेभेन न्युजले एक्स्क्लुसिभ समाचार सुनायो । ‘एकै महिनामा पुनः अर्को नेपाली विद्यार्थीको मृत्यु ।’ म जुरुक्क उठेँ । एकछिन मौन भएर बसेँ । को हो यो प्रमिला ? जिन्दगीसँग किन डराई ऊ ? भौतिक रुपमा मर्नु भन्दा अघि कतिपटक मानशिक रुपमा मरी होला ? कल्पना गर्नु पनि बेकार लाग्यो । कल्पना र भाबुकतासँंग जिन्दागीको मेल कहाँ हुन्छ र !
‘यहाँ बिद्यार्थीलाइ काम पाउनु भन्दा मर्न सजिलो छ ।’
टेलिभिजनमा प्रमिलाको फेसबुक स्ट्याटस हाइलाइट भइरहेको थियो । पछि सुसाइड नोट पनि पुलिसले प्राप्त गरको समाचार आयो । आफू अस्ट्रेलिया आउदा बैंकमा धरौटी राखेको घरबारी माथि बैंकको वार्निंग उसको क्षमताले सहन गर्न सकेनछ ।
ऊफ् पुन त्यही कुरा । मेरो टाउको फनफनी घुम्न थाल्यो ।
‘आधुनिक दासहरु सिक्रीमा बाँधिएका हुँदैनन् उनीहरु सिर्फ ऋणमा डुबेका हुन्छन् ।’ पत्रिकाको विज्ञानपको चित्र मेरो वरपर चक्कर काट्न थाल्यो । म बन्दी भए जसरी फेरि ब्ल्यान्केटभित्र गुटमुटिएँ ।