~कालूसिंह रनपहेंली~
शिशिरको कठ्याङ्ग्रिएको एउटा चिसो मन भएको कसै कसैको तातो बन्दै गएको रगत रोकियो, रोपेर चुप्पी छातीमा। हत्या कसले गऱ्यो? चुनौती भयो पुलिस विभागलाई। हत्याराको पत्तो लागेन। हत्याको रहस्य गाँठो फुस्केन।
घाम-पानी भयो, हिउँद-बर्खा आयो। दिन र रातको पल्लामा कालले समय तौलिरह्यो। गौंथलीहरूसितै उड़िरह्यो समय, खोलाहरूसितै बगिरह्यो त्यो।
अर्को एउटा शिशिरको याम थियो। साँझ हुन लागेको समय। घाम अस्ताचलको घरभित्र पसिसकेको थियो। एउटा लाश बगरको बालुवामाथि लमतन्न थियो। लाशको हातमा चुप्पी थियो अनि उसको छातीभित्र उसकै क्रिया-कर्मको कलमले लेखेको एउटा डायरी। डायरीको पन्नामा लेखेको लाग्दथ्यो, हत्या गरेको थिएँ मृत्यु लिएर, मृत्युलाई आफु दिएको छु अहिले। खेद्दै गएर मारेको थिएँ, भाग्दा-भाग्दै मरें तर आज। मृत्युको मुखमा हालिदिएको थिएँ, आज पस्न पुगें। कसको चक्रसित भाग्न म असमर्थ बनें।
(स्रोत : रचनाकार डट कम)