समीक्षा : मोहन कोइरालाको फर्सीको जरा कवितामा व्यञ्जना

~हेमन्तकुमार नेपाल~

शक्तिको प्रयोग

आधुनिक नेपाली कविता साहित्य विधाको पयोगशील कविताधाराका प्रवर्तक एवं प्रचारकका रूपमा सुपरिचित मोहन कोइराला प्रयोगधर्मी गद्यकवि हुन्। स्वच्छन्दतावादको समृद्धि कालसँगै कविताको फाँटिलो क्षेत्रमा कवित्वको वीज रोपी प्रसस्त उब्जनी गर्न तत्पर देखिन्छन् । उनको यो लगनशील प्रवृत्ति मूर्त प्रयोगवादी धारासम्म आइपुग्दा अविच्छिन्न गतिमा समयलाई तन्काएर प्रसस्त उब्जनी उब्जाव गरेकाले नेपाली साहित्य पिपासुहरू अझसम्म पनि पुष्टिएकै छन् । भाव वा विचारगत अमूर्तता भएकाले उनका कवितामा बाह्य लयको स्वल्पता पाइन्छ । अपरम्परित अभिव्यक्त्ति, भाषिक तथा आर्थी विचलन, वाक्य गठनगत जटिलता, दुरूह बिम्बप्रतीक प्रयोग आदिका कारण यिनको शैली शुष्क, जटिल, दुरूह, क्लिष्ट र दुर्बोध छ । उपरूक्त्त कारणहरू र आर्थी विचलनले गर्दा उनका कवितामा भरमार व्यञ्जना शक्त्तिको प्रयोग गरेको पाइन्छ । शब्द शक्त्तिको प्रभाव केलाउनु पूर्व कवितामा प्रयोग गरिएका केही जटिल पदवली र पदहरूको अर्थ बुझ्न आवस्यक हुन्छ । त्यसैले यहाँ सक्तो अर्थ्याउने प्रयास गर्दछु –

पद/पदावली अर्थ

फर्सी मानिस
जरा अस्तित्व
फर्सीको जरा मानवीय अस्तित्व
अनन्त हात व्यापक फैलावट
चील वर्तमान युग/दुष्ट शक्त्तिशाली व्यक्त्ति
चल्ला वर्तमान युगका निरिह मानिस
पूर्व बिदा विश्वीस भूत
आउने विश्वास भविष्य
बाँचिरहेको विश्वास वर्तमान
एक विश्वास वर्तमानको बाँच्ने आधार
काँक्रो मानिस
थाँक्रो सहारा वा आधार
माटो नलागेको हात असफलता
वजनविनाको डल्लो निरर्थक वस्तु
फर्सीको बियाँ उत्पत्तिको आधार/वर्तमान युगका मानिस
लाटीले धुमाएको जाँतो वर्तमान अनियन्त्रित यात्रा/ सङ्गतिहीन कार्य
अँगेनामा रोटी पोल्नु जिजीविषा
घट्टको तावा डरलाग्दो ठाउँ वा अवस्था
चीलले झैँ झम्टा मार्नु मानिसलाई वर्तमान युग /शक्त्तिशालीले दुख दिनु
आकाश अनन्तता
धर्ती आधारभूमि
समुद्र विशालता
हुटिट्याउँको आकाश थमाइ असम्भव कार्य
हुटिट्याउँ फुर्तीबाज मानिस
फर्सीको मुन्टा मानिसको गति
तोरियाको जरो मानिसको अस्तित्व
पारिजातको थुतुनो मानिसको कमजोर अवस्था
झुम्राको फुल कोरलिनु असम्भव कार्य
फर्सिको पात सम्भावित खतरालाई थाम्ने मानवीय फुर्ती
आकाश छेड्नु अनन्ततिरको यात्रा गर्नु
क्षितिज उचाल्नु अग्रगमन/ सुदुरताको यात्रा
पृथ्वी पक्रनु सङ्धर्षशील ढङ्गले बाँच्नु
आकाश खस्नु भयङ्कर समस्या आउनु
कानेगुजीको पाप्रा निरर्थक वस्तु
पेपरवटको पहाड लघुतर वस्तु

उपरुक्त्त प्रमुख पदावलीहरूको अर्थको बोध भएपछि यो कविता भित्र वञ्जना शक्त्तिको प्रभाव स्पष्ट रूपले केलाउन सकिन्छ । त्यसका लागी क्रमगत रूपमा पद्यहरूको अर्थ केलाउनु पर्ने हुन्छ । प्रस्तुत मोहन कोइरालाको कवितामा व्यञ्जना सक्तिको प्रभाव भेदसहित खुट्याउन सकिन्छ । भेदसहित शब्दशक्तिको प्रभावलाई खुट्यउनु हो भने एउटै कविताको विश्लेषण अत्यन्त लम्बियेर एउटा ग्रन्थ आकारको बन्न सक्छ । त्यसैले अभिधा, लक्षणा र व्यञ्जना शक्तिको प्रभावले उत्पन्न वाच्यार्थ, लक्ष्यार्थ र व्याङ्यार्थलाई क्रमैले पंक्तिगत रूपमा स्पष्ट्याउने जमर्को कसेको छु ।

अनन्त विडम्बनाले अनन्त हातले
अनन्त चीलले झम्टा मारेको
वर्तमान एक टुक्रा समय, रक्ताचापको डिग्रीमा चढेको पारो
जसलाई पर्खिरहेछौं, चल्ला बनेरl
…. …. …. …… ….

उपरुक्त पङ्तिमा हात, वर्तमान, समय, पर्खिरहेछौं आदि अभिधा सक्तिद्वारा उत्पन्न साङ्केतिक अर्थ बुझाउने पदहरू हुन् । इनै पदहरूको सहयोगले उक्त पङ्क्तिको साङ्केतिक अर्थ केलाउन सकिन्छ ।वर्तमान मध्यम बर्गीय मानिसको परिचय बोध गराउन यि पदहरूको प्रयोग गरिएको छ। जो असक्त एवं अक्षम छ प्रगति गर्न। त्यसरी नै लाक्षणिक ढङ्गले अवस्था बोध गराउन प्रयोग गरिएका पदहरू हुन् विडम्बना, चील, झम्टा, समय, पारो, चल्ला आदि । यो प्रसङ्गमा परिचय बोधक साङ्केतिक अर्थबोधक पदहरू गौणरहेर अवस्थाबोध गराउने लाक्षणिक पदहरू प्रधान देखिन्छन्। त्यसैले लाक्षणिक पदको प्रधानताले प्राप्तहुने लक्षणामूला व्याङ्ग्यार्थ हो अनेकौं सङ्कटले ग्रस्त छ मानिस, त्यो पनि क्रमगतरूपमा होइन एकै चोटी। त्यो सङ्कट दुष्ट व्याक्तिका रूपमा पनि उपस्थित हुन सक्छ र प्राकृतिक आपद-विपदका रूपमा पनि। त्यही समयलाई निरिह चल्ला समान भएर मानिस पर्खिरहेछ।

खल्वाट देखाएर विश्वास दिइरहेछु
पूर्व बिदा विश्वास, आउने विश्वास,
बाँचिरहेको विश्वास,
रङ्गका विश्वासै विश्वास हामी नै विशवास गर्न सक्तैनौं
विश्वास कहाँ टाँसिएको छ जरा भएर,
मलाई एक विश्वास भए पुग्छ
मलाई एक वर्तमान भए पुग्छ
आउने जाने त्यसैमा, अनन्तको अनुहार हेर्न,

…. …. …. ….. ….. …..

प्रस्तुत पङ्त्तिमा प्राय जसो कविले लाक्षणिक पदावलीहरू प्रयोग गरेको स्पष्ट हुन्छ थोरै मात्र साङ्केतिक पद प्रयोग भएका छन् तरै पनि तनिहरूले आर्थी विचलनको लागि प्रमुख भूमिका निर्वाह गरेका छन्। तिनीहरू हुन- खल्वाट, वर्तमान आदि इनैको सहयोगले मानिसको आशावदी प्रवृत्ति एवं भरोसोन्मुखी प्रवृत्ति स्पष्ट हुन्छ। लाक्षणिकताका दृष्टिकोणले हेर्दा उक्त पङ्तिपुञ्ज सम्पूर्ण लाक्षणिक हो भने हुन्छ किन कि यहाँ मानवीय अस्तित्वको मार्मिक चित्रण पाइन्छ। प्रत्येक व्यक्ति विगतको, वर्तमानको अनि भविष्यको सहाराले आशा साँच्ने एवं त्यसैमा भर पर्ने गरेको हुन्छ। वजनदार भनाउदा र दुष्टस्वभाव भएका व्याक्तिहरू पनि यिनै आशा देखाएर साधारण मानिसको भरोसा जित्ने प्रयत्न गरिरएका हुन्छन्। त्यहाँ मानवीय अस्तित्व निहित हुँदैन। त्यसैले खुइली सकेको छ सम्पूर्ण आशा एवं भरोसा त्यो केवल देखावटिपन मात्र हो। विगत र अनागतका भरले मानवीय अस्तित्व अन्योलमा छ फर्सीको झ्याँङ भित्रको जरा जस्तै भएर। मानिसलाई जीवन जिउन र प्रगती गर्न एउटै भरोसा भए पुग्छ त्यो हो वर्तमानको भरोसा। आफ्नो वर्तमान अवस्थाको बोध भयो भने त्यसैबाट मानवीय अस्तित्व, विगत एवं अनागतको बोध हुन्छ। यो व्याङ्ग्यार्थ हो। प्रस्तुत प्रसङ्ग हेर्दा के देखिन्छ भने लक्षार्थ भन्दा पद्यको वाच्यार्थ प्रधान भएर आएको छ। त्यसैले यहाँ अभिधामूला व्यञ्जना छ ।

किनकि समयहीन नै समय हिंडिरहेछ सडकहीन सडकमा

नै किनकि र समय बाहेक यो पङ्तिका सबै पद लाक्ष्यणिक हुन्। यि पदहरूको सहसोगले उत्पन्न भएको व्याङ्ग्यार्थ पनि लक्षणामूला नै छ। उद्देश्य र लक्ष्य विहिन भएपनि वर्तमान समयको मानिस व्यस्त छ।

यो काँक्रो आफैं थाँक्रसित पाकेको थाकोर
यसलाई टेविलमा राख यसलाई टेविलमा राख
यसलाई टेविलमा बाँड भेला भएर ।
हामी बितेका गीत हामी बितेका समय
भोज गर यसलाई टेविलमा काट ।
एक हतारमा हतार एक जीवनमा जीवन
हात फिंजाएको अनन्तमा ठीटलाग्दो विचार जे हामी रोप्न लागेका छौं,
नयाँ कोदालीले माटो नलागेको हातबाट
वजनबिनाको डल्ला फोरेर
टेविलको विश्वमा
फर्सीको शान्त बिँया समयको बारीमा
अस्तित्वको वर्तमान शान्त बिउमा जहाँ पर्खिन सक्तछ
एक मात्र अनन्तका कानो गुदी,
भोज गर……. …………. …………….. ………….

प्रस्तुत पङ्तिपुञ्जमा टेविल, बितेका, हतार, जीवन, ठीटलाग्दो, अस्तित्व आदि वाच्यार्थ उत्पन्न गर्ने साङ्केतिक पदहरू हुन्। उक्त साङ्केतिक पदहरूको प्रभावले वर्तमान समयका आर्थिक, सामाजिक, व्यवसायिक एवं वयगत आधारले मध्यम र निम्न वर्गका व्यक्तिको अवस्थालाई निर्दिष्ट गराउछन्। जो उच्चवर्ग एवं अग्रजहरूबाट सँधै दमित हुन्छन्। त्यसैले मध्यम र निम्नवर्गको व्याक्तिको अस्तिव बिहिन अवस्थाबोध नै उक्त पङ्तिको मुख्यार्थ हो। लाक्षणिक अर्थ भनेको व्यस्तता, निरासा, धरै परिश्रमको थोरै फल, समाज, कार्यलय, व्यवसाय, राजनीति आदि सम्पूर्ण स्थानमा उच्चवर्गका व्याक्तिको प्रभाव जनाउनु हो। इतिहास, संस्कृति, परम्परा आदिको उपभोक्ता वर्तमान समयको मानिस हो जसलाई मानिसले जीवन जिउने आधार वा सहारा मान्दछन्। अझ सबै दृष्टिकोणने पछाडीयेका एवं उमेरका आधारले साना व्यक्तिहरूले उच्चवर्गका व्याक्तिहरूलाई सहारा मानि समग्रता सुम्पिन्छन्। सबै क्षेत्रमा आदेश दिने, फल भोग्ने एवं यश कमाउने उच्चवर्गका व्याक्ति हुन्। तिनीहरूलाई पनि आदेश दिने इतिहास, संस्कृति, सभ्यता, परम्परा, विकासको भावना आदि हुन्। त्यसैले वर्तमान व्यस्त एवं समग्र परिस्थितिमा अस्तिवविहिन यिनै कुराको वीजारोपण गर्न गैरएका छन् भावी-पिडीलाई भनेर। साँचेका छन् भविष्य सोचेर। ती सबै असफल र निरर्थक हुन् विचार मात्र नयाँ। यिनै कुराको उत्पत्तिको आधार वर्तमान मानिस यिनिहरू मै सफलताको प्रतिक्षा गरिरएको छ। मानवीय अस्तित्वको भयले परिणाम पर्खिन बाध्य छ। परिणामले सन्तुष्टि उत्पन्न हुँदैन। नवीन सिर्जनाश्रोत विहिन परिणाम पुरानै हुन्छ त्यही पनि खोटिएको। यो व्याङ्ग्यार्थ हो। पद्यप्रधान साङ्केतिक अर्थको परिणामको कारणले उत्पन्न भएको व्यङ्ग्य हुनाले अभिधामूला व्यञ्जना पाइन्छ।

लाटीले घुमाएको जाँतोमा पालो छाडेर वर्तमान दौडेको छ।
कानो गोरूको हरियो चौरमा निम्त्याएर वर्तमान फर्केकेको छ।
चट्टानले मिचेको अगेनोमा रोटी पोलेर वर्तमान लम्बेको छ।
छकिनबाट घटाउ गर अनन्त घट्टको तावामात्र हो
काट भोज गर बितेको भुङ्ग्रे रोटी टेबिलमा
किनकि अनन्तले हामीलाई छली चील झैं झम्टा मार्छ
भुत्ले नङ्ग्रा लिएर
यद्यपि हामी अनभिज्ञ छैनौं परमाणुको लागि पनि
ज्ञानले चहचहाइरहेका चाहान्छु, तिमी जे………….. म जे
हरेक पदार्थ हरेक हरेक अर्थमा अर्थसित विभिन्न अर्थ
बिउजस्तै फराकिला बिउजस्तै फराकिला अनन्तजस्तै
सिङ्गै आकाशजस्तै धर्तीजस्तै समुद्रजस्तै
बिउजस्तै फराकिला ।

……………… ……………………. ………………….. ………………….

उपरुक्त पद्यमा क्रियाबाचक पद एवं परमाणु, पदार्थ, अर्थ आदि साङ्केतिक अर्थलाई उत्पन्न गर्न सक्षम पदहरू हुन्। यो प्रसङ्गले उत्पन्न गरेको वाच्यार्थ मानिसले यथार्थ ज्ञानको अपेक्षा हुँदा-हुँदै गर्ने सङ्गतिविहीन कार्यव्यपार हो। अन्य लाक्षणिक पदहरू हुन यि पदद्वारा प्राप्त हुने लाक्षणिक अर्थ विगतको अन्धानुसरण गर्नाले वर्तमान मानिसले भोग्दैगरेको सङ्कटग्रस्त परिणामको वास्तविक ज्ञानको अभाव। जसले मानिसको भविष्य अझ विकट बनाउन सक्छ त्यसैले मानिसले समयमै सचित हुनु पर्छ भन्ने हुन्छ। यो उपदेशकमूलक अर्थ हो तर यहाँ यो गौण भएर अवस्था एवं इच्छामूलक अर्थ प्रमुख बन्न गएको छ त्यसैले याहाँ पनि अभिधामूका व्यञ्ना नै प्रधान छ। समय अनियन्त्रित एवं मानिसको क्रिया सङ्गतिहिन छ। त्यसैले विगतकै प्रभाव वर्तमानमा दोहोरिरएको छ। त्यो अत्यन्तै डरलाग्दो छ। मानिसलाई सङ्कट उत्पन्न गर्ने दुई कारणहरू छन् दुष्ट व्याक्ति र खराब समय। यिनिहरूले मानवीय अस्तितवको संहार गरिरएका छन्। यस्तो सङ्कटकालिन परिस्थितिमा मानिसको जीवनको कुनै निश्चय नै छैन तरै पनि मानवमा जिजिवीषा छ। अर्को पट्टी वर्तमान परिस्थिति सन्त्रस्त अनन्त एवं विशाल छ। मानिस अनभिज्ञ छैन किनकि हरेक वस्तुको ज्ञानको जिज्ञासा राख्दछ तर सबै अत्यन्त विस्तृत छ भन्ने पद्यमा प्रयोग गरिएका दृष्टान्तका माध्यमले स्पष्ट हुन्छ।

हामी माटो………. हरेक अर्थ माटो अर्थ

…….. …….. ……. ……. …….

प्रस्तुत पङ्तिमा प्रयुक्त अर्थ पद बाहेक अन्य सबै पद साङ्केतिक हुन्। त्यसैले उत्पन्न व्याङ्ग्य अभिधामूला व्यञ्जना छ। वास्तवमा मानिसको बाह्य शरीरलाई पार्थिव शरीर भनिन्छ त्सैले मानिसले जे जस्तो गर्छ, आर्जन गर्छ त्यो आफ्नो माटोको लागी हुन्छ चाहे राम्रो होस या नराम्रो। अर्को कुरा मानिसले वर्तमानमा जे जस्तो पनि गर्दै छ त्यो सबै निरर्थक र निस्प्रयोजन हुदैछ भन्ने हो।

हुटिट्याउँको आकाशमाथि आकाश खस्तछ।
मलाई हिंडने हिम्मत देऊ म फर्सीको मन्टा हुँ।
मलाई घुस्रिन क्षितिज देऊ म तोरियाँको जरो हुँ
मलाई उभिन दिशा देऊ म पारिजातको थुतुनो हुँ
मलाई अनन्त फोर्न देऊ म आँफै समय हुँ
हुटिट्याउँको आकाश आकासिन्छ
झुम्रोको फूल कोरलिनु प्रथम
हुटिट्याउँको आकाशे खुट्टा माटोमा उभिन्छ मलाई हिंडन देऊ
अनन्त फोरेर
म फर्सीको मन्टा हुँ आकाश छेडिरहेको
म फर्सीको पात हुँ, क्षितिज उचालिरहेको,
म फर्सीको जरा हुँ पृथ्वी पक्रिरहेको,
हामी अनन्त हाँगा अनन्त जरा हामी अनन्त लहरा
मलाई हिंड्न देउ हुटिट्याउँको आकाश खसालेर,
म फर्सीको मन्टा हुँ म आफैं समय हुँ म आफैं अनन्त हुँ।
प्रूफ रीडर मेरो कानको कानेगुजीको पाप्रा
मेरो कानको कानेगुजी
पेपरवेटको पहाडमा लुकामारी
विचारमाथि विचार अभियान
मसीको अरालो उकालो
कागते कारखानाको स्वर
टाइपराइटरको पदचाप ध्वनि

……….. …………. …………. …………… ……………….

पूर्ण प्रतिकात्मक शैलीमा विरचित प्रस्तुत कवितांसमा हिडने, हिम्मत, क्षितिज, दिशा, माटोमा, हिड्न, खुट्टा, विचार, अभियान आदि साङ्केतिक अर्थ उत्पन्न गर्न सक्षम पदहरू हुन्। यिनिहरूको सहयोगले उत्पन्न हुने साङ्केतिक अर्थ हो एउटा फुर्तीबाज मनिसले गर्ने नरर्थक र निस्प्रयोजन प्रयास एवं उच्च आकांक्षा। प्रतिकात्मक एवं लाक्षणिक पदहरूले मानिसले सफलता विहिन गरिरएको निरन्तर प्रगतीको प्रयास। जसद्वारा मानिसले आफ्नु लक्ष्य निश्चित गर्न सकेको छैन, सफलता पाएको छैन र केवल आफ्नो अस्तित्व बोध गर्न पनि सकेको छैन। मानिसको व्यवहारिक गती अक्षुण्ण छ तर फर्सीको मुन्टा जस्तै छ त्यो कसैले परक्क टिपेर तरकारी बनाइदिए, कसैले हिंडदा कुल्चिदिए, कुनै वजनदार वस्तुले लागे, कहीँ ठोक्किए पनि अस्तित्व विहिन हुन्छ। यस्तो मानवीय अस्तित्वको संवेदशील स्थिति जन्दा-जान्दै पनि मानिसले कदापि फुर्ती देखाउन छोडदैन। केवल आकांक्षा गर्छ त्यो हो मानवीय अस्तित्वको आकांक्षा। आफ्नो कमजोर अवस्थाको उसलाई बोध हुन्छ तरै पनि उ विवस छ। त्यसैले आफैलाई समयको निर्धारक सम्झन्छ र असम्भव कार्यको प्रयास गर्दछ। असम्भव कार्य थालिनु पूर्व र फुर्ती बाजले फुर्ती देखाउनु पूर्व प्रत्येक व्याक्ति आफू सक्षम बनौँ भन्ने सोच्छ अवस्यम्भावी खतरालाई छेक्ने प्रयास गर्दछ। मानिस आफैलाई समग्र सम्झन्छ निरर्थक वस्तु उपलब्धिको अभिलाषाले अत्यन्त सामान्य व्यवहारमा झेल्लिरहन्छ। पहिला विचार र बादमा अभियान यि दुई विचार र अभियानमा नै मानिसको समग्र जिन्दगी जान्छ। यहाँ पूर्ण विसङ्गतिको भाव व्यक्त भएको छ विसङ्गतिका माझबाट मानवीय अस्तित्वको खोजिगर्ने प्रयास नै उक्त कवितांसको व्याङ्ग्यार्थ हो। यहाँ पनि अभिधामूला व्यञ्जना प्रधान छ।

विश्वास नगर्ने मलाई काट र टेविलमा……… ………. ………… ……
….. विश्वास गर । म फर्सीको आकाश हुँ,
आकाश हुँ म, फर्सीको……. ……… ………

प्रस्तुत पङ्तिमा विश्वास पद साङ्केतिक हो र अन्य लाक्षणिक पद हुन्। उक्त अंशबाट मानिसको मानिससँग नै विश्वास नभएको भाव स्पष्ट हुन्छ। यो लाक्षणिक अर्थ हो। यसैको सहयोगले वर्तमान मानिसको एक-अर्कामा विश्वास छैन। यही अविश्वास र होडबाजीले गर्दा मानवीय अस्तित्व एवं प्रगतीको हनन् भएको छ। मानवको मानवमा विश्वास भए मानवीय अस्तिवको जगेडा हुने र आकांक्षा पूर्ण हुने संकेत निर्दिष्ट छ। मानवको उच्च आकांक्षा प्रकट गर्नु नै उक्त पङ्तिको व्याङ्ग्यार्थ हो यो लक्षणामूला छ।
निस्कर्षः- मोहन कोइरालाको उक्त कवितालाई यसरी स्थूल दृष्टिले शब्दशक्तिको प्रभावका आधारमा अध्ययन गर्दा के देखिन्छ भने उनको कवितामा साङ्केतिक पदवलिहरूको प्रयोग कम्ति मात्रमा भएका छन्। धेरै मात्रामा अर्थीविचलनयुक्त लाक्षणिक पदावलिहरू छन् तरै पनि तिनीहरू व्याङ्ग्यार्थ उत्पन्न गर्न सक्षम नभएर अक्षम छन्। किनकि विचलन साधारण नभएर विशाष्ट हुनाले शाब्दिक अर्थ लाक्षणिक भएपनि प्रकरणार्थ एवं प्रसङ्गार्थ लाक्षणिक नभएर साङ्केतिक वा वाच्यार्थ प्रधान देखिन्छन्। प्रत्यक्ष कुनै पनि भावलाई स्पष्ट केलाउन नसकिने र भाव केलाउनलाई व्याङ्ग्यार्थको सहयोग लिनुपर्ने हुन्छ। कुनै-कुनै छोटा पङ्तिमा लक्षणा प्रधान छन्। यस्तो प्रकरण लामो नहुनाले गर्दा हो भन्न स्पष्ट सकिन्छ। जुन प्रकरण लामो छ त्यो प्रकरणमा प्रकरण प्राप्तार्थ लक्ष नभएर वाच्य प्रधान हुन गएको छ। त्यो सबै वाच्यार्थ प्रतिपादक पद प्रधान रहनाले गर्दा हो। त्यसैले समग्र कवितको अर्थ लक्ष्यप्रधान नभएर वाच्य प्रधान छ। उक्त वाच्यार्थ प्रकरणार्थबाट प्राप्त व्याङ्ग्यार्थ पनि प्रकरणप्रधान वाच्यार्थमूला या अभिधामूला छ।।

सहयकप्राध्यापक नेपाली विभाग
सिक्किम सरकारी महाविद्यालय
ग्यालसिङ पश्चिम सिक्किम

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.