~दीपक समीप~
मस्त बैँसालु नजरसँग नजर लडाउनुको मजा बेग्लै
त्यही निहुँमा दुई चार बोतल चढाउनुको मजा बेग्लै ।
बेला यस्तो भयो, साँझपख अलिकति मातको रन्को लाग्यो
त्यही रन्कोमा तिमीतिर पाइला बढाउनुको मजा बेग्लै ।
न हुँ म पण्डित कुनै न त हुँ मास्टर पाठशालाको
र पनि तिमीलाई प्रेमशास्त्र पढाउनुको मजा बेग्लै ।
गए यदि धामी वैद्यकहाँ धेरैथोरै इलाज हुन्थ्यो कि
जानीजानी आफूलाई प्रेम रोगमा सडाउनुको मजा बेग्लै ।
लागे आगो घरमा पक्कै पनि हार गुहार माग्थेँ होला
तर तिम्रो बैँसको आगोमा चुपचाप डढाउनुको मजा बेग्लै ।
-सोतीपसल, लमजुङ, हालः पोखरा
(स्रोत : मधुपर्क, चैत्र २०६३)