~निराजन बतास~
मेरो अबोध मर्मको
अकल्पनीय उचाई नाघ्दै
आफनो बुताले भ्याएको
शिल्प चातुर्य झिकेर गयौ तिमी
मेरो भविष्यमाथि औलो ठड्याउदै
बर्तमानलाई लुड्याउदै
भूतलाई उसै गरी जगायौ र
अँध्यारोलाई सोहोरेर दिनहरुमा अग्लिदै
निरीह मुटुको सम्वेदनालाई बाटो बनाएर
राम्ररी घस्सिएर गयौ तिमी
म माथि प्रदर्शित तिम्रा काँतर शक्तिहरुमा
बेढंगले कस्सिएर गयौ तिमी
निर्दोष यो छातीमा पाइतालाई छोडेर
एक असमयलाई पिल्साउँदै
दुवो धरी घाइते हुने गरी परेड खेलेर
गयौ तिमी
भन्न नहुने हो तर,
तिमी गइरहदाँ
म घाऊहरुमा गहिरीरहें
आक्रोशमा उम्लिरहे
दुखाइ अठोट हुन सक्थ्यो
कुल्चाइ विद्रोह हुनसक्थ्यो, जान्दा जान्दै
मलाई धकेलेर गयौ तिमी
यि दोषी आँखाहरुमा
निर्दोष आफूलाई ठेलेर लग्यौ
मेरो दृढ छाती भित्र
पहिरो बनेर गयौ
कालो–कालो कुहिरोसँगै
मेरो सङला सपनाको बाटो भएर गयौ
तिम्रो त्यो मामुली चालहरुलाई
म कसरी खेलाची भन्न सक्थे
त्यसैले तिमी भित्र म अचेल
ज्वालामुखी बनेर बसेको छु
आफैलाई थाम्न बल गर्नुपर्ने
धरासायी बनेको छु
म भित्र लाभाहरु उफ्रिरहेछन् जताततै
र हावा खरानी भएर उड्ने तरखरमा छ सायद,
र म गुराँसका बोटहरु सजाएर
फुल्ने सम्भावनामा छु
हुन नसक्ला,
यो कठिन संकल्प होइन
मध्यरातको सन्नाटा
उज्यालो क्षितिजको सपना देखिरहेछ
र सुसाउदै भनिरहेछ, घर किनाराको खोला
एउटा आगमन नयाँ सुनामी हुनेछ
तर,
फेरी विछोडिन नपाउँदै
नआउनुपर्ने गरी आईपुग्यौ तिमी
जसरी जानु अघि देखिएथ्यौ
त्यसैले म कसरी हाँस÷रमाऊँ
तिम्रो असत्यता र कुरुप वास्तविकतालाई कल्पेर
तर अब छोड्न चाहन्न
तिम्रो कुरकुरे बैंशलाई
म उपभोग गर्न चाहन्छ सकेसम्म
जिब्रो पड्काई पड्काई
तिम्रो लातले दिएको आशिर्वादले
म मान्छे भन्न लायकको भैसकेको छु
तिमी भित्र सञ्चार हुने इच्छा अन्तिम हुनेछ
तिम्रो नशा नशामा कुपोषित म ब्याप्त हुनेछु
अनि म आफै
एक विहान
तिमी भएर, डङरङ्ग ढल्नेछु
मेरै बलियो काखमा
हो, स्वागत छ तिमीलाई यसैको लागि
नौलो वस्त्र फेरी वरी
अप्रायश्चित मूलहरु अस्वीकार्न
अर्कोपल्ट समय भएर आयौ तिमी
अब म तिमीलाई कहाँ त्यसै छोडुला र ? ‘मेरी मायालु’
तिमी त मेरो बाँच्ने आधार हौ ।