कविता : धनकुटा

~कृष्णप्रसाद शर्मा वस्ती~

बग्छन् अनेक जल शीतल पूर्ण खोला,
धारा कुवा र जरुवा त गनिन्न होला ।
पैंतीस गाउँ अहिले गनिने यहाँ छन्,
भिन्नै छ यो नगर एक पहाडको झन् ।।१।।

गौंडा भनी धनकुटा पहिले चिनिन्थ्यो,
सामान घेर कपडा मसला किनिन्थ्यो ।
अड्डा अदालत लगायतका तमाम,
हुन्थे अनेक जनका परिपूर्ण काम ।।२।।

ठाडो बजार घर छन् लहरै बनेका,
सामानका पसल बैंक दुई गनेका ।
कोप्चे बजार बिहिबार छ हाट लाग्ने
माथ्लो भनिन्छ बरका तरु ताप भाग्ने ।।३।।

कोप्चे छ अन्य चिनिने भनिएर तल्लो,
हो छेउको नगरको टुँडिखेल पल्लो ।
यो हो कि झैं छ अहिले स्थल साटिएको,
आरा लिएर बरका रुख काटिएको ।।४।।

पात्ले दुई त कचिँडे र हिले निगाले,
हो सेउले सब मिली वन–बाँस पाले ।
बाटो पुरानु रमिते अनि टेकुनाला,
तर्साउने मन झसंग कडा उकाला ।।५।।

हावा सुशीतल छ सर्र घुमाउनेको
बस्तै थुचुक्क मनमा नरमाउने को ? ।
छाया छ झयाम्म बरको कुँदिएर ढुंगा,
सत्कर्मले सुजनको मन हुन्छ चंगा ।।

छन् गाउँमा नर परिश्रममा डुबेका,
नारी उसै तरहले शिरमा पुगेका ।
गर्छन् परिश्रम सधैं पसिना बगाई,
हाँस्छन् मिलेर बलले पृथ्बि रँगाई ।।

– कृष्णप्रसाद शर्मा वस्ती, धनकुटा–६
इतिहास पुराण साहित्याचार्य, एम.ए.

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.