~विश्वराज अधिकारी~
भदौ महिनामा गाउँका सबै बाटाहरू हिलोले गर्दा हिंड्न नसकिने हुनु गाउँका मानिसका लागि अप्रत्यासित भने थिएन । अप्रत्यासित थियो भने गाउँका चौकीदारले साँझ सुनाएको खबर । चौकीदारले सारा गाउँ घुमेर भनेको थियो– आज राति मुखिया साहेबको दुरामा जम्मा हुनु, पञ्चायती छ। सबैले आउनुपर्ने मुखिया साहेबको आदेश छ। यो खबरले सबैलाई अचम्म र दिक्कदारी, दुवै स्थितिमा उत्तिकैमा पुर्याएको थियो । त्यस्तो हुने कारणहरू पनि थिए। एक त, पाँच/सात दिनदेखि लागेको झरी बल्ल त्यो दिन बिहान रोकिएको थियो र अर्को त्यो दिन रोपाइँ
धूमधामले गाउँभरि चलेकोले सबै थाकेर घर फर्केका थिए, आराम गर्ने मनस्थितिमा थिए। त्यति मात्र होइन, त्यो दिन औंसीको रात परेको थियो, रातिमा हिंड्दा छेउको मानिस पनि नदेखिने स्थिति थियो, को अगाडि छ अनि को पछाडि, आवाजले थाहा पाउनुपर्ने समस्या थपिएको थियो । तर मुखिया साहेबको आदेशको अटेरी गर्ने हिम्मत कसैमा थिएन पनि। गाउँको त्यो टोलबाट, कैलशियाको छरछिमेकबाट त प्रत्येक घरबाट एकजना जानै पर्ने आदेशथियो, मुखिया साहेबको।
पञ्चायतीको मुख्य विषय थियो– कैलशियालाई जरिवाना गर्ने अनि आउने दिनहरूमा त्यस्तो नगर्न कडा चेतावनी दिने। उता कैलशियाले छरेको हल्ला पनि एक कान दुई कान हुँदै मैदान भएको थियो। कैलशियाले भनेकी थिई,“मलाई दण्ड, जरिवाना, यसो उसो केही गरे भने यो गाउँ नै छाडेर जान्छु ।” कलैशियाको धम्की चैत वैशाखको आगलागी जस्तो फैलिएको थियो, गाउँभरि। उसको यो धम्कीले गाउँका धेरैलाई हल्लाएको थियो, तर सबैभन्दा बढी हल्लेका थिए मुखिया साहेब नै।
पञ्चायती प्रारम्भ भयो अनि साथै कैलशियामाथि आरोप लगाउने सिलसिला पनि। जयमङगलले कड्केर भने,“यो छिनार मौगीले गाउँलाई बिगार्नु सिवाय केही गरेकी छैन। केटा र केटीलाई एक अर्कासँग मिलाइदिनेबाहेक कुनै राम्रो काम गरेकी छे, यसले ? छ भने भन्नुस्, पञ्च भलादमीहरू।”
जटाशङकरले हातमा रहेको बाँसको, तेल पिलाएको, पाँच हातको लठ्ठी भुइँमा बजार्यो अनि कड्किंदै भन्यो,“एक महिना पहिले एक जोडी उढरा उढरी भागे यो गाउँबाट, सबैलाई थाहा भएकै कुरा हो, छ कसैबाट छिपेको ? तिनीहरूलाई मिलाउनमा र उडाउनमा यै कैलशियाको हात छ, बच्चाबच्चालाई थाहा छ, यो कुरा।”
जामुनले थप्यो,“गाउँका जवान केटाकेटी त के उमेरदारहरू पनि बिग्री सके कैलेशियाको कारणले गर्दा। रातबिरात केही बूढाहरूसमेत पस्न थालेका छन्, अर्काको घरमा। यस्तो आइमाईलाई त यो गाउँबाट नै निकाल्नुपर्छ। एउटा सडेको आलुले बाँकी सब आलुलाई सडाउँछ। अब त्यै सड्न बाँकी छ, सारा गाउँ, यो कैलशियाले गर्दा।”
आरोपहरूको क्रम चुलिंदै गएको स्थितले नन्दलाललाई यति बढी उत्प्रेरित गर्यो कि उसले आफूलाई रोक्न सकेन। मुखिया साहेबले सुनाउनुभन्दा पहिले नै उसले पञ्चायतीको फैसला सुनाएझैं गरी भन्यो,“यस्तो छिनार मौगीलाई त चार/पाँचजना पठ्ठाहरूले लग्नुपर्छ रहरीको खेतमा, अनि ठीक गर्नुपर्छ । अनि मात्र तल आउँछ यसको बढेको करतुत, कहिल्यै नामसमेत लिन्न त्यस्तो कामको, यो सतभत्तरीले।”
केवल कैलशियाको विपक्षमा रहेको बलियो जनमत लामो समयसम्म भने कायम रहन सकेन। गोगाइले हाँस्दै भन्यो,“कैलशियालाई भेट्न त तिमी नै पुग्छौं धेरै, नन्दलाल। अस्ति पूर्वारी टोलाको, त्यो मुस्मातको घरमा आधा रातमा तिमी पसेर हल्ला हुँदा बिस्र्यौं त्यो घटना। पञ्च भालदमीहरूले केवल दण्ड गरेर छाडिदिए तिमीलाई, अरू बढी केही गरेनन्, गरेको भए अङगभङग हुन सक्थ्यो। अहिले कैलशियामाथि कुनै रिस साँधेको जस्तो छ, तिमीले। तिमी कस्तो छौं भन्ने कुरा त जगजागेर छ, कि छैन, पञ्च भलादमीहरू ?”
गोगाइको यो प्रतिवादपछि नन्दलालको मुखमा दही नै जम्यो। उता कैलशिया भने पञ्चायती भइरहेको आँगनको छेउमा बसेकी थिई तर मौन । कैलशियाबाहेक अरू कुनै महिलाको उपस्थित थिएन, यो पञ्चायतीमा, त्यो भरि सभामा । औंशीको त्यो रातमा, चलिरहेको त्यो पञ्चायतीमा, को कता बसेको थियो, राम्रो गरी देखिने स्थिति थिएन। एउटा पुरानो लालटेन थियो, मुखिया साहेबको छेउमा। त्यो लालटेनबाट प्रकाश कम धुवाँ भने बढी आइरहेको थियो। लालटेनको सिसाको आधा भागमा कालो पोतिएको थियो, बाँकी आधा भागबाट आएको प्रकाशले धानेको थियो उज्यालोको जिम्मेवारी, त्यो सारा पञ्चायतीका लागि।
मुखिया साहेबले मौनता तोडे,“पञ्च भलादमीहरू, भन्नुस्, के मुनासिब सजाय हुनुपर्छ कैलशियालाई ?” अनि, भिखरलाई लालटेनको सिसा पुछ्न आदेश पनि दिए । मुखिया साहेबको आग्रह मिश्रित त्यो निर्देशनमा कसैले तत्काल प्रतिक्रिया जनाएन। वातावरण लामो समयसम्म मौन रहयो, छेउमा कराइरहेका कीरा, फट्याङ्ग्रा र भ्यागुताहरूको ध्वनिबाहेक, भदवारीको त्यो कालो रातमा।
झगडुले असहमति प्रकट गर्यो,“कसैमाथि त्यत्तिकै आरोप लगाएर हुन्छ ? कैलशियाले धेरैका छोराछोरीहरूलाई बिगारेको प्रमाण पनि त हुनुपर्यो नि। कोही आफ्नै मनले उडेर जान्छ भने त्यसमा पनि कैलशियाकै दोष ?”
मुखिया साहेबलाई नजिकबाट बुझेको बलदेवले भन्यो,“कसैले बिनामतलबको नालिस, उजुरी दिंदैमा मुखिया साहेबले पञ्चायती गराउनु जरुरी नै थिएन। पञ्चायती नभएको भए, खेती, गृहस्थी, रोपनीको कामबाट हारे थाकेकाहरू मस्तसँग सुतेका हुन्थ्ये, यतिबेला। एक त त्यसै पनि लामखुट्टेले सुत्न दिंदैन रातभर, जस्तोसुकै ठूलो घुर लगाउँदा पनि। धुवाँ धुकुर गर्दा पनि ।”
वातावरण निकै बेर शान्त रहयो । कैलशियाको विरोधमा कुनै स्वर निस्केन । केही समयपछि रामसहाय कड्क्यो,“कोही आपैंm इनारमा डुब्न जान्छ भने यसमा कैलशियाको के दोष ? सबैसँग कैलशियाले हाँसेर बोल्दैमा ऊ छिनार हो भन्नु मुनासिब हो ? भन्नुस् पञ्च भलादमीहरू ।”
रामसहायले थप्यो,“कैलशियालाई कमजोर देखेर सबैले दबाउन खोजेका हुन्, बाँकी केही पनि होइन।” रामसहायले सचेत पनि पार्यो,“कैलशियाको बारेमा मतलब बेमतलबका पचास कुरा चलेकोले रिसाएर, ऊ मोरङ जान थालेकी छे । उतै खाने कमाउने रे, यो गाउँ सदाका लागि छोडिदिने रे।”
पञ्चायती भइरहेको ठाउँको पुछारबाट मधुरो आवाजमा कोही बोल्यो,“कैलशियालाई अर्को गाउँ जानबाट रोक्नुपर्यो, पञ्च भलादमीहरूले । कैलशिया हिंडी भने यो गाउँमा।” यति भनेर त्यो भन्ने मान्छे अँध्यारोमा कता हरायो देख्न सकिएन। तर त्यो हराउने व्यक्तिको आवाजलाई भने बीसौंजनाले बुलन्द पार्दै भने,“को हो त्यो टाढाबाट भन्ने ? यहाँ, यो भरि सभामा, बीचमा आएर भन्नुपर्यो ।”
मुखिया साहेबले भने,“सबैको कुरा सुनियो। कैलशिया अन्त कतै जान्न। र ऊ कुनै खराब कामका लागि कसुरवार पनि छैन। न त उसको विरोधमा कुनै दषि प्रमाण नै छ।” यो घोषणा गरेपछि मुखिया साहेबको मुखमा तेजिलो चमक देखियो। लालटेनको ज्यादै कमजोर प्रकाशमा उनको मुहारमा फैलिएको रौनकता कसैले पनि देख्न पाएन। मुखिया साहेबको मुहारमा झैं उपस्थित धेरैको मुहारमा खुशीको बिजुली चम्मेको थियो, कलैशियाको विरोध गर्ने दुई/चारजनालाई छाडेर।
कैलशिया भने मनमनमैं हाँसिरहेकी थिइन्। लाग्थ्यो त्यो पञ्चायतीको निर्णय के हुने हो उसलाई पहिलेदेखि नै थाहा भए जस्तो।
एउटा कालो छाया कैलशियाको नजिक हुँदै, उसँग टाँसिने किसिमले अगाडि बढ्यो। छायाले भन्यो–कैलशियाक्क्क्क्क्क्क्……………..।
पहिले त डराइ कैलशिया त्यो आवाजबाट। तर आवाज परिचित भएकोले क्षणभरमैं ढुक्क भई। कालो छायाले कैलशियाको काननजिक मुख लग्दै भन्यो,“हेर कैलशिया, योपटक त जोगाइदिएँ तिमीलाई, तर अब गार्हो छ, त्यसरी जोगाउन। किन गछ्र्यौं यस्तो काम छाडिदेऊ न, हुँदैन ?”
कैलशियाले हाँस्दै भनी,“यो काम छोडिदिए भने फेरि ?”
आजभन्दा चालीस वर्ष पहिले, म र पाण्डे मास्टर साहेब गौर जाँदै थियौं, पाण्डे मास्टर साहेबले जग्गा किन्नुभएको थियो, त्यै जग्गाको रजिस्ट्रेसन पास गर्न, आफ्नो गाउँबाट पैदल सात/आठ घण्टाको बाटो। त्यसबेला अहिले जस्तो चन्द्रनिगाहापुर र गौरको बीचमा न त बस चल्थ्यो, न त कुनै अन्य सवारी नै, बैलगाडीबाहेक। यो कथा बाटोमा सुनाउनुभएको थियो मास्टर साहेबले। पूरै कथा बाटोमा सकिएको थिएन, गौरको गुदरी बजारनजिक रहेको एउटा होटलमा दही चिउरा खाँदा भने कथा सकिएको थियो। कथा सकिएपछि मास्टर साहेबले भन्नुभएको थियो,“देखो, दिनकर, कपडे के अन्दर सब नङगे है।” त्यसबेला म मात्र दश/एघार वर्षको भएकोले मास्टर साहेबको भनाइको आशय बुझ्न सकेको थिइनँ, न त त्यो कथाको अर्थ नै । कथा मेरो आग्रहमा होइन, आठ/दस कोषको, पट्यारलाग्दो बाटो काट्नका लागि भन्नुभएको थियो, मास्टर साहेबले । उमेरले आधा शताब्दीको यात्रा पार गर्दा बल्ल बुझ्दैछु, राम्रो गरी, मास्टर साहेबको त्यो भनाइ– “कपडे के अन्दर सब नङगे है,”को आशय। अनि त्यो कथाको अर्थ । त्यो बेला, त्यो कथा पटक्कै नबुझे तापनि ।
br2063_adhikari@yahoo.com
(स्रोत : प्रतीक दैनिक पत्रिका)