~तेजविलास अधिकारी~
सृजन लम्साल झन्डै ४५ वर्षदेखि साहित्य यात्रामा साधनारत देखिन्छन् । फुटकर रचनाका हिसाबले उनी २०२६÷२७ सालदेखि निरन्तर क्रियाशील रहेका छन् । हालसम्म जम्मा ७ ओटा साहित्यिक कृति प्रस्तुत गर्न सफल लम्साल प्रौढ जीवनलाई सिर्जनामा निरन्तर लगाइरहेका छन् । मैले धेरै बूढापाकाहरू देखेको छु, गाउँ र सहरमा बुढेसकालमा उनीहरूको एउटै चिन्ता छ, छोराछोरीले रेखदेख गरेनन्, पैसा भएन, आवश्यक वस्तुको जोहो गर्न सकिएन
आदि आदि । सहरका केही सेवानिवृत्त कर्मचारीहरू पनि राजनीतिक पार्टीका पछिपछि कुदिरहेका छन् । केही चाटुकारहरू पुरस्कार स्थापना गर्ने र पुरस्कार साट्ने धन्दामा काला धनको विनिमय गरिरहेका छन् ? यी उल्लिखित विषयभन्दा अलिपर एउटा सौम्य, भद्र र लगनले भरिएको व्यक्तित्वको परिचय दिइरहेका छन्– सृजन लम्साल ।
साहित्य लेखन र सम्पादनमा आफ्नो अतिरिक्त समय खर्च गर्ने लम्सालका मौलिक सात कृतिहरूमध्ये धेरै अर्थात् पाँच कृति निबन्ध विधासँगै सम्बन्धित छ । प्रकाशन यात्राको प्रथम चरणमा उनी समाज यथार्थको चित्रण निबन्ध विधा मार्फत् गर्न सफल भएका छन् भने २०६० सालपछि उनको लेखनले नियात्रात्मक निबन्धलाई माध्यम बनाएको छ । एक कविता सङ्ग्रह मलाई नक्साभित्रको देश चाहिन्छ (२०६९) र एउटा कथासङ्ग्रह विपतरामको मानचित्र (२०७०) ले उनलाई साहित्यको बहुविधामा कलम चलाउने स्रष्टाको परिचयमा पु¥याइसकेको छ । पीडाको सगरमाथा ः प्रेमप्रकाश मल्ल जस्तो महŒवपूर्ण ग्रन्थको सम्पादन समेत गरेका लम्सालले आफ्नो सम्पादकीय सीपलाई समेत चुस्तदुरुस्त रूपमा देखाएका छन् ।
नेपाली साहित्यले उनलाई मूलतः निबन्धकार व्यक्तित्वकै रूपमा चिन्छ किनकि नियात्रा पनि निबन्धात्मक प्रस्तुतिको एक भिन्न शैली हो, जहाँ गतिमय र सूचनात्मकताको मात्रा भरपुर हुन्छ । यसरी हेर्दा सृजन लम्सालका नैतिकता हराएको सूचना (निबन्ध सङ्ग्रह, २०५५), प्रजातन्त्र, गणित र डिप्रेसन (निबन्ध सङ्ग्रह, २०६०), आँगनदेखि सागरसम्म (नियात्रा सङ्ग्रह, २०६२), विस्थापित मुड (निबन्ध सङ्ग्रह, २०६८) र भित्रबाहिरका पाइला (नियात्रा सङ्ग्रह, २०७३) गरी ५ निबन्धात्मक कृतिले निबन्धकार व्यक्तित्वलाई उजिल्याएको देखिन्छ ।
२०५७ सालमा काठमाडौँ आएपछि मैले पुराना पुस्तक पसलमा नैतिकता हराएको सूचना (२०५५) किनेँ । लेखक को हुन् मैले धेरै सुनेको होइन तथापि मलाई पुस्तकको शीर्षकले तान्यो । मैले सबै निबन्ध पढिनँ तर केही निबन्ध पढेँ । २०४६ सालको परिवर्तनपश्चात् राज्यको नेतृत्व तहमा पुगेका व्यक्तिहरूमा आएको नैतिक सङ्कट र दिनदिन क्षयोन्मुख नेपाली समाजको प्रस्ट चित्र त्यतिबेला नै कोर्ने सृजन लम्साल प्रजातन्त्र, गणित र डिप्रेसन (२०६०) सम्म आइपुग्दा नगरेको कामबाट पीडा भोग्न बाध्य भएको तथ्यलाई बाहिर ल्याउँछन् । राज्यसत्ता र वैभवमै लठ्ठिने स्वभाव भएको भए उनले आफ्ना शक्तिलाई मात्र बाहिर ल्याउने थिए होला किन त्यसो गरेनन् ? यही हो लेखकीय धर्म । पीडालाई पनि आकार दिएर २०६८ मा विस्थापित मुड प्रकाशित गरेका लम्सालले २०६० देखि आपूmलाई नियात्रामा होमेका छन् । निबन्धकार व्यक्तित्वलाई भ्रमणीय चिन्तनमा प्रवेश गराएर उनले आफ्नो भूगोलसँगको सम्मोहनलाई साहित्यमा सरिक गराएको देखिन्छ ।
कहिले कवितामा नक्साभित्रको देश चाहने लम्साल कहिले विपतरामको मानचित्र खोज्न पुग्छन् । आख्यान तन्तुलाई निबन्धमा समेत प्रवेश गराई सबल रूपमा पोख्न सक्ने उनको खुबी पछिल्लो समयमा भित्रबाहिरका पाइला नियात्रा सङ्ग्रह
(२०७३) मा प्रकट भएको छ । एउटा अनुसन्धानकर्ता जस्तो बनेर लम्साल आफ्नो देश र देश बाहिरको विविध भूगोलमा पुग्दछन् । त्यहाँको विविध पक्षको अध्ययन मात्र गर्दैनन् त्यसलाई ठोस विश्लेषण गर्दै कतै प्रशंसित र कतै आलोचित पनि गरिहाल्दछन् । जम्मा १७ ओटा नियात्रा समावेश यस नियात्रा सङ्ग्रहमा लेखकले आफ्नो यात्राको वर्णनलाई आफूकेन्द्री मात्र बनाएका छैनन् । प्राकृतिक परिवेश र धार्मिक पक्षको शक्तिलाई उनले अत्यन्त इमान्दार बनेर प्रस्तुत विषयप्रति न्याय गरेका छन् । जस्तै निबन्धको एक अंश हेरौँ—
तर त्यस दिन हामीले जादूको कुनै कुरा सुन्न वा कुनै दृश्य देख्न पाएनौँ । सबैले बाबालाई देख्न मात्र पाए । सामान्य मान्छेले बाबालाई गर्ने दर्शन यही हो, यस्तै हो । जो धनी छन्, ठूला ठूला थैली चढाउँछन् वा जो उच्च ओहदाका व्यक्तिहरू छन् । उनीहरूले बाबासँग विशेष भेट गर्छन् रे । बाबाले उनीहरूसँग कुराकानी गर्नुहुन्छ रे । प्रश्नको जबाफ पनि दिनुहुन्छ रे । त्यसो गर्नु कुनै अर्घेल्याइँ हो जस्तो पनि लाग्दैन मलाई, किनभने साई अभियान सञ्चालन गर्न आर्थिक स्रोत पनि त चाहियो । पृ. १२० (मनको झोलीभरि प्रेरणाको पोको बोकेर) ।
लेखकले एउटा यात्रमा देखेको, भोगेको र सुनेको कुराको संश्लेषण पेचिलो पारामा योभन्दा कति मिलाएर भन्ने हो र ? लेखक आस्तिकताको नाममा मान्छे मान्छेहरूलाई कसरी झुलाइ भुलाइरहेका छन् भन्ने प्रस्ट प्रमाण जुटाइदिन्छन् र त नियात्रा जीवन्त बन्दै अगाडि बढ्छ ।
धेरै मान्छेहरू यात्राका क्रममा गाडी चढ्छन्, झर्छन्, खान्छन्, शौचालय जान्छन् । फर्कँदा अलिकति जल लिएर गाउँमा बाँडिहिँड्छन् । जल दूषित छ वा केकस्तो प्रसाद भनेपछि खानै प¥यो । सृजन त्योभन्दा फरक स्वाद तीर्थाटनको समाजमा बाँड्छन् र त्यहाँको सांस्कृतिक, आर्थिक र नैतिक चिन्तनलाई कसरी कसरी सबैका सामु मीठो लयमा पस्किन्छन् । उनले स्थानको वर्णन गरेको पढ्दा लाग्छ हामी पनि सोही ठाउँमा पुगिसक्यौँ ।
पुट्टपर्ती पुग्नेबित्तिकै बडो आनन्दको अनुभूति गर्दछु म । क्याम्पभित्र प्रवेश गरेपछि त झन् बढी आनन्द मान्दछु । पुट्टपर्तीमै पनि बाहिरको भन्दा भित्रको संसार भिन्न रहेछ । चिटिक्क परेका धवल भवनहरू, सिनित्त परेका सुग्घर बाटा–घाटाहरू, सुन्दर पुष्पवाटिकाहरू, गौशालादेखि लिएर त्यहाँभित्रका क्यान्टिन, कफीसप, रेस्टोरेन्ट, भान्साघर, डिपार्टमेन्टल स्टोर्स वा सभा–समारोहस्थलमा देखिएको अनुशासन र कुशल व्यवस्थापन, त्यहाँका क्रियाशील स्वयम्सेवकहरू, साई मिसनप्रति समर्पित अनुयायीहरू, त्यहाँभित्रका सस्ता र सुलभ र स्वादिष्ट खानपिनका परिकारहरू देखेपछि र यथार्थमै भोगेपछि ममा आएको मनोवैज्ञानिक असर हो वा के हो ? म त पुट्टपर्तीमा स्वर्गीय सुखको अनुभूति गर्दछु ।
वास्तवमा स्वर्ग भनेको के हो ?
मेरो विचारमा भोगविलासको थलो स्वर्ग होइन । इन्द्रले अत्याचार र विलास गर्ने ठाउँलाई स्वर्ग भन्न मिल्दैन (पृ. ११५) ।
यी माथिका पङ्क्तिहरूबाट नै प्रस्ट हुन्छ । उनी एक भौतिकवादी चेतनाका अनुयायी र व्याख्याता समेत हुन् । नदेखेको विषयप्रतिको अतिशय मोह उनमा नरहेको कुरा प्रस्ट छ । कल्पना जन्य विचारभन्दा भोगाइजन्य आनन्द वा पीडा कता हो कता सुन्दर हुन्छ र चेतनाको स्रोत पनि । भारतका विभिन्न भागमध्ये चर्चित पुट्टपर्ती घुम्न जान चाहने पर्यटक वा धर्ममा आस्थावानलाई योभन्दा राम्रो मार्गनिर्देश के हुनसक्छ ? कलम चल्ने मान्छेहरू पनि आफूलाई मनमा लागेको विषयवस्तुको प्रस्तुतिको नाममा जेजे पनि लेख्ने र विभिन्न ब्रान्डका पुरस्कार थापेर अन्तर्वार्ता दिने ठाउँमा पुगेको कुरा भनिरहनु नपर्ला । साहित्यले त सही गन्तव्य देखाओस् आदर्श पनि सिकाओस् । व्यवहारमा परिपक्क पनि बनाओस,् बल्ल लेखक सृष्टिकर्ता वा सर्जक यस हिसाबले पनि लम्साल आफ्नो भूमिकामा रिठ्ठो नबिराई अविचल लागिरहेको प्रस्ट हुन्छ ।
यस नियात्रा सङ्ग्रह पढ्दै जाँदा मलाई बाहिरका पाइलाले बढी आकर्षित ग¥यो । मैले सुनेको बैङ्लोर र सपना जस्तो बैङ्लोरमा निकै समानता पाएँ । भौतिक नियतिलाई लेखकले अनुभूतिमा साँधेर मीठो तुल्याएका छन् । त्यसै गरी गन्धमादन पर्वतमा उभिएर नियात्रामा लेखकले साहित्यको समीक्षा मार्फत् साहित्यलाई जीवन्त बनाउने कार्य गरेका छन् ।
जतिबेला म नरेन्द्र कोइलीको उपन्यास अभ्युदयको कथावस्तु स्मरण गर्दै रामको पुण्य कर्मभूमि गन्धमादन पर्वतमा उभिएर चारैतिर दृष्टि दौडाइरहेको थिएँ …
आफ्ना विगतका ज्ञानलाई वर्तमान र आगतमा जोड्ने शैली लम्सालको बेजोडको छ ।
यस नियात्रा सङ्ग्रहभित्रको परिचय र पहिचानको विषयलाई अन्तर्हृदयबाट स्वीकारिएका केही नियात्रामध्ये वंशजरा खोज्दै लम्सुतिर, यात्रामा जन्मभूमि नोस्टाल्जिक अनुभूति १ र २ दुवै बेजोड देखिन्छ । मान्छे आफ्नो विगतलाई खोज्छ । दुःख पाए पनि सुख पाए पनि आफ्नो थातथलो चहार्न खोज्छ । सायद यही नै हो कि पहिचान । फरक यत्ति हो यसरी आफ्नो जन्मभूमि खोज्न नसक्ने नपाउने र नचाहने धेरै होलान् । लम्साल हामीलाई कहिले दैलेख जिल्लाको लम्सुगाउँ पु¥याउँछन् त कहिले यहीँ तनहुँको आफ्नो बाल्यकालको रमाइलोमा डुलाउँछन् । उनी यो किन गरिरहेका छन् ? उनले यो हामीलाई आफ्नो जन्मस्थान र उद्गमस्थलप्रतिको दायित्वको पाठ नपढाएर पनि पढाइरहेका छन् । नघोकाएरै पनि घोकाइरहेका छन् । क्या ! चमत्कारपूर्ण प्रस्तुति । यही तथ्यहरूमा टेकेर हामीले हाम्रो विगतको ऐतिहासिक परिचय र आगामी सुन्दर योजना किन बनाउने ! उनका नियात्रामा हरहिसाबको प्रस्तुति पनि त्यत्तिकै राम्ररी गरिएको छ ।
“हामीले रात्री गुजारा गर्ने त्यो होटेल विशेषतै विशेषतायुक्त रहेछ । कस्तो रहेछ भने– नाम सुन्दा चिटिक, भोजन गर्दा बलपूर्वक घुटुक्क, शयनकक्ष ढुँसीदार ठुसुक्क, बिजुलीबन्द उत्सवको असरले कोठामा सास फेर्नै सकस उकुसमुकुस ! लामखुट्टेको आतङ्कले माओवादी द्वन्द्वकालमा प्रजिअहरू रातभरि अज्ञात ठाउँमा लुक्न गए जस्तै निद्रादेवी पनि लुक्न जाँदी रहिछन् । हामीले आतङ्ककारी लामखुट्टेलाई आफ्नो रगत भोजन गर्न दिएर ज्यान जोगायौँ । ४० प्रतिशत समय सुत्यौँ, साठी प्रतिशत समय उठ्यौँ र शतप्रतिशत रात्रीको समय बितायौँ ।”
एउटै अनुच्छेदभित्र होटल व्यवसायीको अवस्था, राज्यको द्वन्द्वकालीन चित्रण र आफ्नो रात्री जीवन क्या मज्जाले चित्राङ्कित । तथापि उनमा आफ्नो वंश खोज्ने हुटहुटी सायद मान्छेको सभ्यताको सही खोजी यही नै हो । त्रिपालभित्रको नेपाल एउटा दुःखद परिस्थितिमा अनेक घटनालाई घोलेर तयार पारिएको नियात्रा हो । यस नियात्रामा स्वरका धनी प्रतिभाका त्रिवेणी प्रेमप्रकाश मल्लको अन्त्य र भूकम्पको सन्दर्भ उल्लेख भएको छ ।
“प्रेमप्रकाश मल्लले दुःख बिसाउनु र पृथ्वी कम्पायमान हुनु एउटा यस्तो संयोग हुन गयो, मानौँ प्रेमप्रकाशले नै पृथ्वीलाई काँधमा बोकिरहेका थिए ।
——-
नेपालगन्जका दुई जना नानीहरू धरहरा चढ्न गएका त्यहाँबाट निस्कनै पाएनछन् । भूकम्प प्रभावित अन्य क्षेत्रको हाल पनि त्यस्तै छ ।”
समयको सन्दर्भलाई बेलामा रेखाङ्कन गर्न सिपालु सृजन लम्साल आफूलाई अरूको दुःख सुखको मित्रको रूपमा उभ्याउन पुगेका छन् । आफैँ काल खोज्न आएको जस्तो डाँफेको लेक होस् वा आनन्दमा रमाएको बन्दीपुरको क्याफे उनको प्रस्तुतिमा भावानुकूल मनोसंवाद रहेको छ । यस नियात्रा सङ्ग्रहमा बेढङ्गी यात्रा गर्दा गर्न खोज्दा झन् हराउने डर पनि छ । सबैसँग लम्सालको जस्तो लेखनकला र मननकला हुँदैन । यहाँ भूमिका लेखक जय दाइले भनेजस्तो उनले नेपाली साहित्यको नियात्रा लेखनमा एउटा यस्तो दस्तावेज प्रस्तुत गरेका छन् कि यसका माध्यमबाट नेपालभित्र र बाहिरको आर्थिक, राजनैतिक, धार्मिक, सामाजिक, मानवशास्त्रीय अध्ययन तथ्यपूर्ण मात्र होइन, औचित्यपूर्ण समेत बन्न सक्छ ।
अन्त्यमा, बुझिने भाषा, सुनिएको शैली, तथ्यहरूको सरल र सहज रखाइले नियात्राका अनुभूति पाठकको मन मस्तिष्कमा समेत झंकृत हुन खालको बनेको छ । धेरै नपढीकन अड्कल काट्न सक्छन् गन्थन होला, मिथ्या होला । मेरो ठहर ठिक उल्टो छ । यहाँ त मन्थन र तथ्य तँछाड मँछाड गरेर सृजनका अनुभवलाई सत्य साबित गर्न र पर्यटकको पथप्रदर्शक बन्ने गरी उभिन नियात्रा हाजिर भएको देखिन्छ ।
(स्रोत : सुलेख साहित्यिक मासिक पत्रिका, २०७३ फाल्गुन)