लोक कथा : चण्डीनाचको प्रारम्भ

~सङ्कलन : रामविक्रम थापा~

खोटाङ, भोजपुर, उदयपुर लगायतका पूर्वाञ्चलका जिल्लाहरूमा हरेक सालको नववर्षसितै बुद्धपूर्णिमाछेक ढोल-झ्याम्टा बजाएर राईहरू चण्डीनाच नाच्छन् । फागु वा चण्डी नाचेर साकेला पूजा गर्दै धुमधामले पितृपूजा गर्दै उँभौली पर्व मनाउँछन् । प्रागैतिहासिक ढुङ्गेयुग, शिकारयुग र कृषियुगका पुर्खाहरूका विविध कार्यको अभिनय गर्दै विभिन्न शीलीमा राईहरू फागुनाच गर्छन् । यस्तो साँस्कृतिक पर्व चण्डीनाचको प्रारम्भिक कथाको सोधीखोजी गर्दा खोटाङ जिल्लाको दक्षिणी छुलुवार भेग फाक्टाङका बयोबृद्ध धुर्वजित चाम्लिङ राई यस्तो किम्बन्दन्ती कथा सुनाउँछन् :

सत्य युगको प्रारम्भमा देवादिदेव महादेवलाई मानव सृष्टिको चाहना भएछ । अनि उनले (शिवजीले) फेमा नामको युवक सृष्टि गरेर पृथ्वीमा पठाइदिएछन् । युवक मात्र पठाएर त मानवको वंश विस्तार हुदैन भनेर त्यसको भोलिपल्ट सारुली नामकी युवतीको सृष्टि गरेर उनले भूतलमा पठाएछन् । युवक एकातिर र युवती अर्कातिर जङ्गलमा कन्दमूल र फलफूल खाँदै भौतारिएछन् ।

विस्तारै उनीहरू जङ्गली जनावर मारेर खान पनि थालेछन् । यसरी आ-आफ्नै पारामा घुम्दै हिँड्दा जङ्गलमा एकदिन युवक फेमा र युवती सारुलीको भेट भएछ । साथी भेटेकोमा खुशी भएर दुबैजना सँगै जङ्गल घुमेछन् । एकदिन युवक फेमा, युवती सारुलीलाई छक्याएर भागेछन् । सारुली पनि फेमालाई खोज्दै, खोलै खोला उकालो लागिछन् । मध्यान्हको टण्टलापुर घाममा सारुलीलाई प्यास लागेछ । खोलाको पानी पिउँन खोज्दा खोलै सुकेछ । खोला सुकाएर बुट्यानमा छलिएर फेमाचाहि सारुलीको चर्तिकला हेर्न थालेछन् । थकाइ र प्यासले आकुल-व्याकुल भएकी सारुलीले कर्कलाको पातमा भएको पानीका बुँद जम्मा गर्दै पिउँन थालिछन् । फेमालाई नभेटेपछि दिक्क हुदै सारुली किंकर्तव्यविमूढ अवस्थामा पश्चिमको जङ्गलतिर लागिछन् । फेमा पनि सारुलीलाई छक्याउन सफल भएकोमा मक्ख पर्दै पूर्वको जङ्गलतिर पसेछन् ।

यता, सारुली गर्भवती भइछिन् । युवक फेमाले कर्कलाको पातको पानीमा आफ्नो विर्य छाडेको र त्यही पानी पिउँदा आफूले गर्भधारण गरेको भन्ने विचरी सारुलीलाई के थाहा ! उता, फेमा भने सारुलीलाई अप्रत्यक्ष गर्भधान गराएर बेपत्ता । सारुलीलाई विर्सेर फेमा आफ्नै संसारमा रमाउँदै वनविहार गरिरहे ।

यता, सारुली भने बेपत्ता भएको साथी फेमाको सम्झनाले खोजिरहँदी भइन् । सारुलीले छोरो जन्माइन् र शुक्लपक्षको चन्द्रमाझैँ छोरो बढेर नवयुवक भयो । अनि उसले आफ्नो बाबुको खोजी गर्दै आमालाई सोध्न थाल्यो । आमा सारुलीले भनी- ‘तेरो बाबुको बारेमा मलाई थाहा छैन । यस धरामा मैले कुनै पुरुष देखेकी छुइनँ । त्यही फेमा नामको एउटा सुन्दर युवक पनि हराएको हरायै भयो ।’ एउटा धनुवाण लिएर छोरोचाहिँ बाबु खोज्न हिँड्यो । केही दिनपछि जङ्गलमा एउटा घाइते मृग देखेर त्यसलाई धनुवाणले हानेर ठहरै मा¥यो । आफूले घाइते बनाएको मृग खोज्दै फेमा पनि त्यहीँ आइपुग्यो । केटो र फेमाले मिलेर त्यो मृगको छाला काढे र मासु खाए । कुराकानीकै क्रममा बाबु र छोराको परिचय भयो । दुबैजना धेरै खुशी भए ।

मृगको छाला र बाँकी मासु लिएर बाबु फेमा र छोरा, सारुलीलाई भेट्न गए । छोराले आमा सारुली र बाबु फेमाको परिचय गराइदियो । यो सुखद पारिवारिक मिलनमा मृगको मासु खाएर छालाको ढोल बनाए । अनि फेमाले ढोल र सारुलीले झ्याम्टा बजाउँदै तीनैजना नाच्न थाले, धुमधामले खुसीयाली मनाए ।

यसरी शुभारम्भ भएको चण्डी अथवा फागुनाच पूर्वी नेपालका धेरै जिल्लाहरूमा अद्यावधिक कायमै छ -“सोई ढोले सोई,अर्को ढोले खोइ !?”

सुँगुरलाई चारो अथवा तरकारीको लागि कर्कलो टिप्दा पातमा खरानी छर्केर दोष मेट्दै टिप्छन् राई जातिहरू, अझै पनि । यस्तो देख्दा माथि उल्लेखित प्रागैतिहासिक कुराको यथार्थानुभूति हुन्छ ।

यसरी, प्रारम्भमा पारिवारिक मिलनको खुसीयालीमा मृगको छालाको ढोल तथा काठका टुक्रा र ढुङगाको झ्याम्टाकासाथ सामान्य रुपमा थालिएको चण्डीनाच ढुङ्गेयुग, शिकारयुग र कृषि तथा पशुपालनयुगमा क्रमशः सुधार र विकसित हुँदेै गयो । शिकार र कृषि तथा पशुपालनका विविध कार्यहरूको अनुकरण गर्दै अभिनयात्मक नाच नाच्दै जाँदा विभिन्न किसिमका शीलीहरूको आविष्कार भयो । कालान्तरमा यो चण्डीनाच राईहरूको अभिन्न संस्कार र संस्कृति भएर पुस्तापुस्तामा हस्तान्तरण हुँदै गयो ।

– फाक्टाङ-२ कृष्णगर्त, खोटाङ

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.